अवरुद्ध पुँजीवादको भ्रामक कल्पना
- आश्विन २५, २०८२
छिन शह्वाङ चीनलाई पहिलोपटक एकीकरण गर्ने सामन्ती महाराजा थिए । सुरु सुरुमा उनले ऐतिहासिक विकासका आवश्यकताहरूलाई प्रतिनिधित्व गरेका थिए । तर, उनी आडम्बरी थिए र आफूले गरेका कामकाजहरूलाई बढाइचढाइ गर्न औधि रुचाउँथे । उनले कर र महसुलहरूको दायरा अत्यन्तै बढाएका थिए र जनतालाई उनीप्रति वितृष्णाले उम्लने बनाएका थिए । तर, जे होस् उनको शासनकाल दोस्रो पुस्तामा पुग्दानपुग्दै छिन राजवंश लोप भएर गयो । पश्च थाङ राजवंशका प्रसिद्ध कवि तु मुले लेखेको ‘अफाङ दरबार’ नामक गद्य कवितामा भनेका छन् :
“छिन महाराजासँग थिएन आफैलाई शोकमा पार्ने समय, तर उनका सन्तानले पारे उनलाई विलापमा ।
सन्तानले विलापमा पारे तर उनलाई ऐना मानी सबक सिकेनन्, बरु अझ पछिल्ला सन्तानले यी सन्तानलाई सन्तापमा पारे केबल ।”
थाङ राजवंश स्थापना भएपश्चात् थाङ थाईचोङ [Emperor Taizong वास्तविक नाम लि शिमिन (Li Shimin), जीवनकाल सन् ५९८–६४९ साल, राजगद्दीमा रहेको समय सन् ६२६ सालदेखि सन् ६४९ सालसम्म] नामक महाराजाले हरसम्भव प्रयासहरू लगाएर आफ्नो राज्यलाई समृद्ध बनाउन आत्मबोध गरे । तसर्थ, उनले अर्थशास्त्री, दार्शनिक र राजनैतिक विद्वानहरूसँग परामर्श गरी उनीहरूका सुझावहरूलाई ग्रहण गर्दथे र स्वच्छ नैतिक आचरण भएका व्यक्तिहरूलाई राजप्रासाद सेवामा लगाउँथे, जसको कारणले गर्दा उनले इतिहासमै प्रसिद्ध तेइसवर्षे आर्थिक समृद्ध शासनकाल (सन् ६२७–६४९ साल) हासिल गरेका थिए । तर, थाङ राजवंशका पछिल्ला शासकवर्गहरूले त्यो कुरालाई विस्तारै विस्तारै भुल्दै गए र उनीहरू भने गीत, सङ्गीत, सुरासुन्दरी आशक्ति, वन्यजन्तु शिकार, घोडचडी आदिको आनन्दमा लठिएर डुब्दै गए । थाङ स्युआनचोङको पालामा आउँदा ‘छोटो सुहागरातसँग विद्वेष, पलकझपकमै उदाएका रवि, सन्दरीको गाढा मायामा डुबेका महाराजा, त्यसपछि कहिल्यै नआएको बिहानी’ भएको थियो । उनको समयमा हरेक तहका सरकारी पदाधिकारीहरू घुसखोरी, भ्रष्टाचारमा लिप्त रहेका थिए र जसको नतिजा ‘दरबारनजिकै युयाङ क्षेत्रमा विद्रोही सैन्यहरूका कानै छेड्ने युद्ध ढोलकको गुञ्जन, दरबारभित्र भने मन्दमन्द रोकिँदै गएको श्वेतपङ्खी अप्सराको मधुर सङ्गीत धुन’ मा परिणत भएको थियो र थाङ राजवंशका आन लुशान र श समिङको विद्रोह उत्पन्न भएको थियो । त्यसपछि थाङ राजवंश पनि उन्नतिबाट अवनतितिर धकेलियो । अन्ततोगत्वा वाङ स्यानत्रि (Wang Xianzhi सन् ८७८ साल, थाङ राजवंशको अन्त्यतिरको किसान विद्रोहका नेता) र ह्वाङ छाओ (Huang Chao सन् ८२०–८८४ साल, थाङ राजवंशको अन्त्यतिरको किसान विद्रोहका नेता) ले विद्रोह गरेर छाङआन सहरमाथि आक्रमण गरे र केही समय नबित्दै थाङ राजवंशको आफ्नै राज्यमा देहान्त भयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ केन्द्रीय अनुशासन निरीक्षण समितिको दोस्रो पूर्ण बैठकमा दिनुभएको भाषण, सन् २०१३ जनवरी २२ का दिन ।
विस्तारित व्याख्या
छिन राजवंश (Qin Dynasty, ई.पू. २२१–२०७ साल) चीनको इतिहासमा पहिलो विशाल एकीकृत राजवंश थियो । छिन शह्वाङ (Qin Shihuang, ई.पू. २५९–२१०) महाराजाले चीनलाई एकीकरण गर्ने उपलब्धि हासिल गरेका थिए । साथसाथै ‘लेखपढमा समान लिपि, सवारीमा समान मार्ग, नापतौलमा समान व्यवस्था र समाजमा समान नियम कानुन’ बनाउने श्रेय पनि उनैलाई जान्छ । उनी एकदमै आडम्बरी थिए र आफूले गरेका कामकाजहरूलाई बढाइचढाइ गर्न औधि रुचाउँथे । उनले कर र महसुलहरूको दायरा अत्यन्तै बढाएका थिए । ठ्याक्कै ‘ऐतिहासिक अभिलेख’ नामक प्राचीन पुस्तकले उल्लेख गरेजस्तै “त्यो बखत छिन राजवंशका शासकहरूको अति निर्दयी र निर्मम शासन जनताले व्यहोर्नुपरेको ज्यादै लामो समय भइसकेको थियो ।” छिन शह्वाङले राज्याभिषेक गर्ने बित्तिकै आफ्नो लागि समाधि बगैँचाको निर्माण गर्न सुरु गरेका थिए र ई.पू. २०८ सालमा आएर मात्र त्यो बगैँचाको निर्माण सम्पन्न भएको थियो । यस कार्यको लागि ३९ वर्षको समय लागेको थियो र जम्माजम्मी सात लाख बीस हजार मानिसलाई श्रमदानमा लगाइएको थियो । कसैले गरेको अनुमानित हिसाबअनुसार छिन श्रह्वाङले आफ्नो समाधि बगैँचाको निर्माण गर्न श्रमदानमा लगाएका मानिसहरूको सङ्ख्या लगभग इजिप्टको हुफु पिरामिड बनाउन लागेका मानिसहरूको आठ गुणा बढी थियो । ‘हान राजवंशको इतिहास’ नामक पुस्तकमा ‘छिन राजवंशमा दोस्रो पुस्ताको सोह वर्षमै पतन भएका महाराजा, कारण भने अत्यधिक सुखसयलको जीवनयापन र जनताबाट अत्यन्त मोटो कर र महसुल उठान’ लेखिएको छ । हान राजवंशका प्रख्यात साहित्यिक व्यक्ति च्या ई (Jia Yi ई.पू. २००–१६८ साल) ले ‘छिन राजवंशका दस अपराध’ नामक पुस्तकमा भनेका छन् : “एउटा सामान्य नागरिकले सुरु गरेको राजद्रोहले विनाश गरेको छिन राजवंश, महाराजाको प्राणसमेत एउटा व्यक्तिको हातबाट मर्नुपर्ने र जगतभर हाँसोको पात्र बन्नुपर्ने, आखिर यसको कारण के होला ? दया र न्यायसङ्गत नीतिहरू अवलम्बन नहुनुले आक्रमण र प्रतिरक्षाको अवस्थालाई पूर्णतः फरक बनाउँछ ।” पश्च थाङ राजवंशका प्रसिद्ध कवि तु मु (Du Mu सन् ८०३–८५२) ले पनि लामो सास तान्दै विलापको भाव पोखेका छन् : “छिन राज्यकालका वंशहरू, छिन नै हुन्, अलौकिक ।” यसबाट के भन्न सकिन्छ भने छिन राजवंशको विनाश हुनुको कारण घमण्ड, विलासिता, सुरासुन्दरी आशक्ति, सुखसयल प्रवृत्ति तथा दया र न्यायका नीति अवलम्बन नगर्नु नै हुन् ।
थाङ राजवंश उन्नतिबाट अवनतितिर जानुको पछाडि शासकवर्गहरू लोभलालच, भ्रष्टाचार र मोजमस्तीमा लिप्त रहनु तथा घुसखोरी र नैतिकता पतन हुन नै प्रमुख कारण रहेका छन् । पश्च थाङ राजवंशका प्रसिद्ध कवि तु मु ले आफ्नो प्रसिद्ध कविता ‘ह्वाछिङ दरबारलाई फर्केर हेर्दा’ मा यस प्रकारको चिनियाँ सातअक्षरे छन्द लेखेका छन् :
“वेगाश्व सिर्जित धुलाम्य नभ रखौटीको हँसिलो मुहार, कसैलाई ज्ञात थिएन त्यहाँ दक्षिणी लिचीको उपहार ।”
उनको यस कविताको अंशले रखौटी रानी याङ युह्वान (Yang Yuhuan सन् ७१९–७५६, चिनियाँ इतिहासका चार महासुन्दरीमध्ये एक) लाई दूरदराजको दक्षिणी राज्यबाट वेगवान् घोडचढीहरूले ताजा लिची फल उपहार पु¥याउने घटनालाई वर्णन गरेको छ र थाङ राजवंशका शासकहरूले आफ्नो मुख र पेटको वासनालाई पूरा गर्न आवश्यकताभन्दा धेरै राज्यशक्ति र सैन्यबल प्रयोग गर्ने, जनतालाई हतोत्साही गर्ने तथा राज्यसत्ता र ढुकुटी दोहन गर्न कत्ति पनि नहिच्किचाउने प्रवृत्तिलाई नमुनात्मकरूपमा उजागर गरेको छ । महाराज थाङ स्युआनचोङ (Emperor Tang Xuanzong वास्तविक नाम लि लोङचि (Li Longji), जीवनकाल सन् ६८५–७६२ साल, राजगद्दीमा आसीन रहेको समय सन् ७१२ देखि सन् ७५६ सम्म, थाङ राजवंशमा सबैभन्दा लामो समय शासन गरेका महाराजा) विलासिता र मोजमस्तीमा चुर्लुम्मै डुवेका थिए । उनले याङ क्वोओचोङ (Yang Guozhong सन् ७५६, रखौटी रानी याङ युवानका पुस्तौली दाजु) जस्ता देशद्रोहीलाई थाङ राजवंशको प्रधानमन्त्रीमा नियुक्ति दिएपछि राजवंशको राजनीतिमै गम्भीर विपत्ति आइलाग्यो । फलस्वरूप आन ल्युशान (An Lushan सन् ६८५–७६२, थाङ राजवंशका ऐतिहासिक पात्र) ले सैन्य टुकुडीहरूलाई पुनर्जीवित गराई राज्य विद्रोह गरे । यसप्रकार थाङ राजवंश आन ल्युशान र श समिङ (Shi Siming सन् ७०३ – ७६१, थाङ राजवंशका विद्रोही सैन्य जर्नेल) को सैन्य विद्रोहमार्फत समुन्नतिबाट अवनतितिर ओरालो लाग्यो ।
स्वच्छ छवि र असल चरित्रले राजनैतिक समृद्धि ल्याउँछ भने दुष्चरित्र र भ्रष्टाचारले राजनीतिलाई निमिट्यान्न पार्दछ । यो नै ऐतिहासिक कठोर नियम हो । राष्ट्रपति सी चिनफिङले दोस्रो पुस्तामै पतन भएको छिन राजवंश तथा समुन्नतिबाट अवनतितिर ओरालो लागेको थाङ राजवंशको उदाहरण वर्णन गर्नुको अर्थ भनेको भ्रष्टाचार नै असाध्य सामाजिक रोग हो भनी जोड दिनु हो । साथै अडिग र अविचलित भएर भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई अनिवार्यरूपमा समाजको जरैसम्म लैजानुपर्नेमा जोड दिनु हो ।
– सी चिनफिङले सुनाएका कथाहरुबाट
Leave a Reply