भर्खरै :

युवाहरूको बाटो समाजवादी गणतन्त्रको बाटो हुनुपर्ने

युवाहरूको बाटो समाजवादी गणतन्त्रको बाटो हुनुपर्ने

भक्तपुर, २९ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर सूर्यविनायक नगर समितिको आयोजनामा नेमकिपाको आठौँ महाधिवेशनको सन्देश, धन्यवाद ज्ञापन तथा नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले पार्टीको महाधिवेशनमा जिल्ला जिल्लाबाट प्रस्तुत प्रतिवेदन सुनेपछि जिल्ला फरक भए पनि समस्या उही रहेको बताउँदै नेपालको सन्दर्भमा राजतन्त्र, पुँजीवादी गणतन्त्र असफल साबित भइसकेको चर्चा गर्नुभयो ।
अबको बाटो समाजवादी गणतन्त्र स्थापनाका लागि युवाहरूले रूसी डिसेम्बरवादीहरूको सङ्घर्षशील जीवनीबाट प्रेरित भई सङ्घर्षको मोर्चामा अग्रसर रहन आह्वान गर्दै पुँजीवादी सरकारले तरकारी, खाद्यान्नमा जस्तै आन्दोलनमा सहभागी जनतालाई समेत म्याद नाघेको अश्रु ग्यासले हमला गरेकोमा उहाँले खेद प्रकट गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका थापामगरले भारतीय नाकाबन्दीको विरोधमा सडक र संसद्मा नारा लगाउने एक्लो पार्टी नेमकिपा रहेको दाबी गर्दै जडीबुटीमा रहेको सन्चो उद्योग ध्वस्त पार्नु नेपालका उद्योग कारखानाहरू बन्द गराई परनिर्भरतातर्फ धकेल्ने विदेशी दलालहरूको योजना जनतासामु उदाङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा आमूल परिवर्तनको लागि माक्र्स, लेनिन, माओ, किम इल सङ, किम उन सुक, फिडेल, चेग्वे भारा, रोजा लक्जेम्वर्ग जस्ता अन्तराष्ट्रिय क्रान्तिकारीहरूको जीवनी अध्ययन तथा मजदुर आन्दोलनहरूबारे जानकारी राख्नु आवश्यक छ ।”
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले पार्टीको महाधिवेशन राजनीतिक कक्षाको रूपमा सञ्चालन भएको जानकारी गराउँदै महाधिवेशनको सन्देशबारे स्पष्ट पार्नुभयो ।
नेक्रायुसङ्घ केन्द्रीय समितिका सदस्य महेन्द्र बखुन्छेँले सैद्धान्तिकरूपमा स्पष्टता र राजनीतिकरूपमा परिपक्वताको निम्ति नेमकिपाले समाजवादी गणतन्त्र प्रचार अभियान थालेको बताउँदै अबको गन्तव्य समाजवाद हो भन्नुभयो ।
नेक्रायुसङ्घ १२ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका एच. एस. सुवालले देशलाई आत्मनिर्भरता उन्मुख बनाउन कृषि उत्पादन वृद्धि, उद्योग कलकारखाना सञ्चालन, पर्यटन व्यवसाय, स्थानीय उत्पादनमा जोड दिनुपर्ने विचार व्यक्त गर्दै सङ्गठित शक्तिको महत्वबारे प्रकाश पार्नुभयो ।
नेक्रायुसङ्घ सूनस अध्यक्ष रोशन मचामसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य बुद्ध लामा, नारायण ठकुरीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *