भर्खरै :

समाज परिवर्तनमा शिक्षकको योगदान महत्वपूर्ण हुने

समाज परिवर्तनमा शिक्षकको योगदान महत्वपूर्ण हुने

शिक्षकहरू विद्यार्थीका गुरूमात्र होइनन् समाजका मार्गनिर्देशक पनि हुन् । शिक्षकहरू पेसागत हक हितका निम्ति मात्र होइन समाज पविर्तनको निम्ति पनि अग्रसर हुनुपर्छ । शिक्षक तुलनात्मक रूपले पढेलेखेका र बुझेका हुन्छन् । शिक्षकहरूमा सम्झाउने बुझाउने क्षमता हुन्छ । समाजमा व्याप्त अन्धविश्वास, कुरीति, कुसंस्कार र विकृति हटाउनेमा शिक्षकको योगदान महत्वपूर्ण हुन्छ । अवकाश प्राप्त शिक्षकहरूको सम्मान गर्नु स्वागतयोग्य कुरा हो । सार्वजनिक मावि संयुक्त परीक्षा समितिले सेवा निवृत्त शिक्षकलाई गरिरहेको सम्मानलाई निरन्तरता दिनु आवश्यक छ । शिक्षक आन्दोलनबाट प्राप्त शिक्षक हक अधिकारको स्मरण गर्दा नयाँ नयाँ शिक्षकहरूमा विगतमा भएको शिक्षक आन्दोलनको स्मरण हुन्छ । यस हिसाबले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र सार्वजनिक मावि संयुक्त परीक्षा समितिले चैत २९ गते शिक्षक दिवस मनाउनु सान्दर्भिक नै छ ।
शिक्षित भएकाले उनीहरू तुलनात्मक रूपमा अरू सर्वसाधारणभन्दा सुझबुझका हुन्छन्† चरित्रवान, नैतिकवान, अनुशासित हुन्छन् । अध्ययनशील भएकाले उनीहरूमा देश विदेशका घटनाबारे जानकारी हुन्छ । सुसंस्कृत समाज र समुन्नत समाज निर्माणमा शिक्षकहरूको महत्वपूर्ण हात हुन्छ । शिक्षकहरू पठनपाठनमा रहे पनि नरहे पनि समाजमा भिजिरहनुपर्छ; क्रियाशील भइरहनुपर्छ । आफूसँग भएको सीप, कला, अनुभव या ज्ञान युवा, विद्यार्थी, किसान, मजदुर, व्यवसायी, कर्मचारी र सर्वसाधारण जनतामा बाँडिरहनुपर्छ । अवकाश प्राप्त शिक्षकहरूमा फूर्सद हुने हुँदा जिल्ला र जिल्ला बाहिर गएर जनतालाई सुसूचित पार्ने काममा खट्नुपर्छ; खटाउनुपर्छ । देशको वस्तुस्थितिबारे बताउने, बुझाउने काममा शिक्षकहरू लागिरहनुपर्छ । निरन्तर खटिरहेमा आफ्नो दिमाग सुसजित र धारिलो हुन्छ । फूर्सदको समयलाई विश्रामको समय भनेर त्यसै दिन कटाउनु उपयुक्त हुँदैन । दिमागलाई उपयोग गरिएन भने खिया लाग्छ, दिमागको स्मरणशक्ति घट्दै जानेछ । विगतका घटना र अनुभव बिर्सदै जानेछ । अतः बगिरहेको पानी बासी हुँदैन, ढोकाको कब्जा कीराले खाँदैन भनेझैँ क्रियाशील भइरहनुपर्छ ।
राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता र शिक्षकहरू समाज परिवर्तनका संवाहक हुन् । उनीहरू समाज या जनताको घर–आँगनमा जति भिज्छन्, गाउँ घर पुगेर शिक्षा दिन्छन् त्यति नै जनता सचेत र सङ्गठित हुन्छन् । यसले समाज परिवर्तनमा सहयोग गर्छ । तर, कति शिक्षकहरू समाजबाट अलग्ग रहन्छन् या समाजमा भिज्न चाहँदैनन् । त्यस्ता शिक्षकलाई समाजले पनि चिन्दैन या चिन्ने पनि वास्ता गर्दैन । शिक्षक भएको बेला र नभएको बेला परिवारबाहेक समाजको कुनै चासो नराख्ने शिक्षकहरू पनि यहाँ नभएका होइनन् । कति शिक्षकहरू आफ्नो कर्तव्य पूरा गर्दैनन् । कति शिक्षकहरू चिया गफमा जीवन बिताउँछन् र धूमपान गर्छन् । त्यस्ता शिक्षकहरूले विद्यार्थी, युवा र समुदायलाई के मार्गनिर्देश गर्लान् ?
हो, गुरूबाट प्राप्त शिक्षा र स्नेहलाई ग्रहण गर्नुपर्छ । शिक्षकले प्रदान गरेको विद्यालाई आत्मसात गर्नुपर्छ । शिक्षक दिवस मनाउनुको अर्थ शिक्षक आन्दोलनको स्मरण गर्नु हो; हरेक शिक्षकको मनमा गहिरो अन्तर्भावना उत्पन्न गराउन अभिप्रेरित गर्नु हो । शिक्षकको मूल्यप्रति आदरभाव व्यक्त गर्नु हो । असल, नैतिक चरित्र भएका शिक्षकहरूको अनुसरण गर्ने नैतिकताको कडी स्थापना गर्नु हो; दिशा निर्देशित गर्नु हो । आत्म–अनुशासनमा कडाइ गर्नु हो; आफ्नो भावना, विचार या मनलाई सधैँ ताजा बनाउनु हो ।
हरेक शिक्षकमा उच्च नैतिक आदर्श हुनुपर्छ । इमानदार हुनुपर्छ । उनीहरूमा अटल विश्वास हुनुपर्छ । विचार अविचलित हुनुपर्छ । सार्वजनिक हितको लागि व्यक्तिगत स्वार्थ भुल्नुपर्छ । शिक्षकहरू सक्रिय नहुनु भनेको समाज पछि पर्नु हो, सर्वसाधारण जनतालाई पछाडि पार्नु हो । भनिन्छ, शिक्षकहरू नदेखिन क्रान्तिकारी हुन् । अतः एक्काइसौँ शताब्दी सुहाउँदो समाजवादी व्यवस्था स्थापना गर्न गाउँ गाउँमा, बस्ती बस्तीमा समाजवादी शिक्षा दिनुपर्छ; समाजवादी शिक्षा दिएर आमूल परिवर्तनको निम्ति बाटो तयार गर्नुपर्छ । यसकारण, शिक्षकहरू समाजमा भिजिराख्नुपर्छ, जनतामाझ गइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *