भर्खरै :

समाजवादी व्यवस्था नआई जनताले सुख शान्ति नपाउने

समाजवादी व्यवस्था नआई जनताले सुख शान्ति नपाउने

कालीकोट, ३० चैत । नेपाल मजदुर किसान पार्टी, कालीकोटले आयोजना गरेको दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार सुरु भएको छ ।
प्रशिक्षणको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपाले समाजको आमूल परिवर्तनको लक्ष्य लिएको प्रस्ट पार्नुभयो । उहाँले व्यवस्था परिवर्तन नगरेर अवस्था परिवर्तन हुँदैन भन्दै समाजवादी व्यवस्था नआई जनताले सुखशान्ति नपाउने विचार राख्नुभयो ।
उहाँले गरिब किसानको अवस्था अझै परिवर्तन नभएको भन्दै वर्षभरि काम गरेर पनि ६ महिना खान नपुगेको अवस्था स्पष्ट पार्नुभयो । केन्द्रीय सदस्य शाहीले सिद्धान्तमात्र राम्रो भएर नपुग्ने बरु व्यवहार पनि राम्रो हुनुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले संवैधानिक राजतन्त्र र पुँजीवादी गणतन्त्रमा तात्विक भिन्नता नहुने कुरा दोस्रो जनआन्दोलनकै क्रममा जनतासमक्ष राखेको भन्दै आज त्यो कुरा सही प्रमाणित भएको धारणा राख्नुभयो । उहाँले नेमकिपाले समाजवादी गणतन्त्रको नारा दिएको भन्दै नेमकिपालाई राजावादी भन्नु पूर्वाग्रहमात्र हो भन्नुभयो ।
नेमकिपाले क्रान्तिकारी संसद्वादको सिद्धान्तअनुसार निर्वाचनलाई उपयोग गर्दै आएको भन्दै उहाँले संसद्लाई देश र जनताको सेवामा उपयोग गर्ने काम गरिरहेको भनाइ राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले नेमकिपाले इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने राजनीति गरिरहेको भनाइ राख्नुभयो ।
नेमकिपा, कालीकोटका अध्यक्ष खड्गराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव धनञ्जय अधिकारी, सूर्यबहादुर शाहीले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *