ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
यस वर्ष हिउँदमा पानी परेन । पानी नपरेको कारण खेतीपाती पनि राम्रो भएन । यस वर्ष गहुँबाली उल्लेख्य रूपले घट्ने निश्चित छ । पानी नपरेको कारण काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि उच्च रह्यो । वायु प्रदूषणको कारण केही दिनयता काठमाडौँ उपत्यका विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचिकृत भयो । विश्वमा निकै प्रदूषित सहर भनेर चिनिने दक्षिण एसियाका दिल्ली, ढाका र लाहोरभन्दा काठमाडौँ प्रदूषित बन्यो । यो नेपालको शासकहरूका निम्ति लज्जाको विषय हो ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार वायु प्रदूषणको एक्युआई (एयर क्वालिटी इन्डेक्स) ०–५० सम्म रहँदा स्वास्थ्यलाई उपयुक्त हुन्छ भने ५१ देखि १०० सम्म हुँदा मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहका लागि अस्वस्थ र ३०१ भन्दा माथि भए खतरनाक तह नजिक पुगेको मानिन्छ । तर, ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार २०८१ चैत २१ गते बिहीबार मध्याह्नसम्म काठमाडौँ उपत्यकामा वायु प्रदूषण ३४८ एक्युआईसम्म पुग्यो । यो साताभरि भक्तपुर, शङ्खपार्क, रत्नपार्क, भैँसेपाटी, खुमलटारलगायत क्षेत्रमा वायु गुणस्तर (एक्युआई) दुई सय ५० एक्युआईको हाराहारीमा रह्यो ।
अहिले काठमाडौँ उपत्यकाको आकाश धुवाँ, धुलोले ढाकिएको देखिन्छ भने धुवाँ, धुलोको कारण दिउँसै घाम देख्न मुश्किल छ । काठमाडौँ उपत्यकाका मान्छेमा आँखा पोल्ने, खोकी लाग्ने, घाँटी खसखस हुनेलगायत श्वासप्रश्वासजन्य समस्या पनि बढेको पाइन्छ । यहाँका मानिसहरू बिरामी हुने क्रम दिनप्रतिदिन बढ्दो छ । संवेदनशील रोग लागेका तथा वृद्धवृद्धाहरू मृत्युवरण गर्दै छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा वायु प्रदूषणले बर्सेनि ३० हजार मानिसको ज्यान जाने गरेको छ ।
नेपालमा वायुको गुणस्तर मापन गर्ने प्रविधि भरपर्दो नभएको विज्ञहरूको मत छ । वातावरण विभागको वायु गुणस्तर अनुगमन ड्यासबोर्डमा वायुको गुणस्तर मापन गर्ने २९ स्टेसनमध्ये १८ स्टेसन बन्द छन् । सरकारले अझै पनि यसलाई सञ्चालनमा ल्याउने प्रयास गरेको छैन ।
विज्ञहरूवायु प्रदूषणको ८० प्रतिशत कारण डढेलो भएको बताउँछन् । चैत २० गते बुधबारमात्रै देशको २५३ स्थानमा डढेलो लाग्यो । अहिलेसम्म मकवानपुर जिल्लामा मात्रै १४७ स्थानको करिब २ हजार ४९५ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको समाचार प्रकाशित भयो भने देशभर ४२ जिल्ला डढेलोबाट प्रभावित हुन पुग्यो । वन तथा वातावरण मन्त्रालयले जनाएअनुसार यस वर्ष डढेलो नियन्त्रणका लागि २ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । तर, डढेलो नियन्त्रण भएन । सरकारले प्रदूषण नियन्त्रणकै निम्ति बर्सेनि तीन अर्बभन्दा बढी प्रदूषण शुल्क नेपाली जनताबाट उठाउँदै आएको छ । आयल निगमले प्रदूषण शुल्ककै नाममा पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ पचास पैसा सङ्कलन गर्छ । पछिल्लो तीन आ.व.मा आयल निगमले ९ अर्ब ८० करोड रकम सङ्कलन ग¥यो । तर, सरकारले उठाएको प्रदूषण शुल्कको रकम सम्बन्धित क्षेत्रमा खर्च गरेन ।
विगत पाँच वर्षमा वनमा डढेलो लागेर ४ सय ७६ जनाको मृत्यु भयो । डढेलोले २ हजार ५४ जना बेपत्ता भए भने १२ अर्ब ८५ करोड ६७ लाख ९ हजार रुपैयाँको भौतिक क्षति भयो । (अन्नपूर्ण, २०८१ चैत २१) डढेलो लाग्दा ‘कार्बन मोनोअक्साइड’ जस्ता अत्यन्त सूक्ष्म कणहरू अर्थात् पीएम २.५ लगायत उत्सर्जन हुन्छ । पीएम २.५ जस्ता सूक्ष्म कणहरूले सन् २०१९ मा नेपालमा ४८ हजार मानिसको मृत्यु भएको थियो । ‘क्लिन एयर फन्ड’ ले हालै जारी गरेको एक अध्ययन प्रतिवेदनअनुसार वनजङ्गलमा हुने आगलागीबाट उत्सर्जन हुने कालो कार्बन वा धुवाँले हिन्दुकुश (हिमालयको मध्य र पश्चिमी अफगानिस्तानदेखि उत्तरपश्चिमी पाकिस्तान र सुदूर दक्षिणपूर्वी ताजकिस्तानसम्म फैलिएको ८०० किलोमिटर लामो पर्वत श्रृङ्खला) हिमालय क्षेत्रका हिमनदीलाई पनि तीव्र रूपमा पगाल्दै छ । यसले वर्षामा थप बाढी पहिरोको समस्या निम्त्याउने निश्चित छ ।
काठमाडौँ उपत्यकामा बढ्दै गरेको वायु प्रदूषणको कारण यस वर्ष विदेशी पर्यटक भित्रिनेमा पनि कमी भयो । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना पर्यटकमात्र नेपाल भित्रिए । गत वर्षको मार्चमा १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल भित्रिएका थिए । काठमाडौँ उपत्यकामा बढ्दै गरेको वायु प्रदूषणले मानव स्वास्थ्य प्रतिकूल हुने आकलन गरेरै विदेशी पर्यटक नेपाल आउन हिच्किचाएका हुन् । यसले सरकारहरू जनताप्रति जवाफदेही नभएको पुष्टि गर्छ ।
काठमाडौँ उपत्यकामा प्रदूषण बढ्नुका कारणहरूमा उपत्यका बाहिर वनजङ्गलमा लागेको डढेलो, धुवाँ धुलो फाल्ने कलकारखाना र पुराना सवारी साधन, समयमा पानी नपर्नु आदिलाई लिइएको छ । तर, उपत्यकामा बसाइँसराइ बढेकोलाई बेवास्ता गरिएको छ । सरकारमा गएका शासक दलहरूले देशको सन्तुलित विकास नगर्दा काठमाडौँ उपत्यकामा बसाइँसराइ बढ्दो छ । काठमाडौँ उपत्यकामा खेतीयोग्य जमिन मासिँदै छ भने कङ्क्रिटको जङ्गल बढ्दो छ । उपत्यका वरिपरिका वनजङ्गल मासिँदै छन् । वनजङ्गल मासिएको कारण पानीका मूलहरू पनि सुक्दै छन् । मान्छेको सङ्ख्या बढ्दै गएपछि फोहोरमैला र प्रदूषण बढ्नु स्वाभाविक हो । यसर्थ काठमाडौँ उपत्यकालाई प्रदूषण मुक्त बनाउने हो भने नेपाल सरकारले यहाँ बसाइँसराइ नियन्त्रण गर्नु जरुरी छ । जिल्ला जिल्लाका गाउँहरूमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गरेर विकास गर्नु आवश्यक छ । तत्पश्चात काठमाडौँ उपत्यकामा जनसङ्ख्याको भार पर्ने छैन र वायु प्रदूषण पनि कम हुनेछ । सन्तुलित विकासको निम्ति एक जिल्लाबाट अर्को जिल्लामा भइरहेको बसाइँसराइ नियन्त्रण गर्ने कानुनी व्यवस्था जरुरी छ ।
२०८१ चैत २४
Leave a Reply