भर्खरै :

सम्पदा स्थलहरू संरक्षण र संवद्र्धन गर्नु आवश्यक

सम्पदा स्थलहरू संरक्षण र संवद्र्धन गर्नु आवश्यक

भोलि विश्व सम्पदा दिवस हो । विश्वमा भएका सांस्कृतिक तथा प्राकृतिक सम्पदाबारे नयाँ पुस्तामाझ जानकारी दिन, सम्पदाको महत्व जनतामाझ पु¥याउन र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हेतुले प्रत्येक वर्ष विश्वमा विभिन्न देशमा विश्व सम्पदा दिवस मनाइँदै आएको हो । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल १८ मा विश्व सम्पदा दिवस मनाउँदै आएको छ । कुनै पनि देशको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वको वस्तु या सम्पदालाई जीवन्तता दिन पनि यो दिवस मनाउनु समय सान्दर्भिक हुन्छ । तर, सम्पदाको संरक्षण र संवद्र्धन गर्न विश्व सम्पदा दिवस कुर्नु आवश्यक छैन । विश्व सम्पदा स्थलहरूको आवश्यकताअनुसार पुनः निर्माण, जीर्णोद्धार, मर्मत सम्भार भइरहनुपर्छ । यो स्थानीय तह, संस्कृति मन्त्रालय, सम्पदा संरक्षण तथा दरबार हेरचाह अड्डा, पुरातात्विक आदि निकायहरूको जिम्मेवारी हो ।
नेपालको सन्दर्भमा घोषित विश्व सम्पदा स्थलहरूमा भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, काठमाडौँ दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भूनाथ, सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज रहेका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा परेका यी १० विश्व सम्पदा स्थलहरू विश्वभरि नै चर्चित छन् । अन्य सम्पदा स्थलहरू पनि विश्व सम्पदा स्थलको सूचीमा राख्ने विषयमा अध्ययन अनुसन्धान भइरहेको छ ।
विश्व सम्पदा स्थललाई युनेस्कोद्वारा सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक वा अन्य महत्वको आधारमा सूचिकृत गरिएको देखिन्छ । सांस्कृतिक र प्राकृतिक महत्वको आधारमा मात्र विश्व सम्पदा स्थल सूचिकृत गर्ने होइन । सूचिकृत भएअनुसार सबै सम्पदा स्थलहरूको संरक्षण र संवद्र्धन पनि गर्नु आवश्यक छ । विश्व सम्पदा स्थललाई सधैँ जीवन्तता दिन त्यस स्थलको मौलिकता कायम गर्नुपर्छ । विश्व सम्पदामा सूचिकृत गरेर मौलिक सम्पदा कायम गरिँदैन या मौलिक सम्पदा बिगारेर आधुनिक ढङ्गका भवनहरू निर्माण हुन्छ भने त्यो सम्पदा स्थल नाउँ मात्रको हुन्छ । सम्पदा स्थलमा आधुनिक भवनका संरचनाहरू निर्माण हुन थालेकै कारण युनेस्कोले खतराको सूचीमा राख्छ । काठमाडौँको विश्व सम्पदा सथललाई जीवन्तता दिन सरकारले पनि सर्वसुलभ काठको व्यवस्था गर्नुपर्छ; आवश्यक नीति तथा बजेटको व्यवस्था गर्नुपर्छ । सम्पदाहरूको निश्चित स्थान र क्षेत्रलाई सांस्कृतिक स्थलको घोषणा गर्नुपर्छ । त्यसो भएमा ती सम्पदाहरूको संरक्षण र संवद्र्धन हुन्छ र विश्व सम्पदा स्थलले निरन्तरता पाउँछ ।
२०७२ सालको भूकम्पले विशेषतः काठमाडौँ उपत्यकाका सम्पदाहरूमा ठुलो क्षति पु¥याएको थियो । विश्व सम्पदा सूचीमा नपरे पनि देशमा रहेका सबै सम्पदाहरू जोगाउनुपर्छ । पुर्खाले सिर्जेको कला र संस्कृतिलाई हामीले जीवन्तता दिन सकेनौँ भने अर्को के बनाउँछौँ ? भक्तपुर नगरको पुरानो बस्तीलाई जीवित सङ्ग्रहालय भने पनि फरक पर्दैन । यहाँका वडा वडामा मठ–मन्दिर, सत्तल, पाटी, डबु, इनार, पोखरी, विहार, चैत्य, चोक, ढुङ्गेधारा आदि छन् । पहिलेका पुराना घरहरू सबै मौलिक शैलीमा बनाइएको थियो । यसलाई निरन्तरता दिने उद्देश्यले भक्तपुर नगरपालिकाले मौलिक शैलीमा घर बनाउने घर धनीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । यो स्वागतयोग्य कुरा हो । सम्पदा स्थलमा आधुनिक शैलीका घरहरू निर्माणमा रोक लगाउनु आवश्यक छ ।
एकातिर विकासको नाउँमा सम्पदा स्थलमा आधुनिक भवन ठड्याउन थालेको छ भने अर्कोतिर मठ, मन्दिर, पाटी, ढुङ्गेधारा र पोखरीमा रहेका साना–ठुला कलात्मक मूर्तिहरू चोरी भएका छन् । बजेटको अभावमा कति भत्केका, बिग्रेका मठ मन्दिर बनाउन सकिएको छैन । यसतर्फ सरकार, संस्कृति मन्त्रालय र पुरातत्व विभागले ध्यान पु¥याउन सकेको छैन । देवताका मूर्तिहरू जोगाउने, विदेश पु¥याइएका मूर्तिहरू स्वदेश फर्काउने र जीर्ण अवस्थाका सम्पदाहरू मर्मत सम्भार गर्नुपर्ने तड्कारो आवश्यकता छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानेछ । अनि मात्र विश्व सम्पदा दिवस मनाउनुको सार हुनेछ । नत्र विश्व सम्पदा दिवस नाउँ मात्रको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *