भर्खरै :

साम्राज्यवादविरोधी सङ्घर्ष गर्नु आवश्यक

साम्राज्यवादविरोधी सङ्घर्ष गर्नु आवश्यक

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (प्रजग) समाजवादी देश हो । प्रजग कोरियाले साम्राज्यवादविरोधी राष्ट्रिय मुक्ति क्रान्ति, सामन्तवादविरोधी जनतान्त्रिक क्रान्ति र समाजवादी क्रान्ति तथा समाजवादको निर्माण मजदुरवर्गको नेतृत्वमा सम्पन्न भएको थियो । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अरुहरूमाथि जवरजस्ती लाद्न खोजेको पुँजीवादी प्रजातन्त्र जनविरोधी प्रजातन्त्र हो । यसले मुठीभर शोषकवर्ग, पुँजीपतिवर्ग र सामन्तवर्गको सेवा गर्छ । साम्राज्यवादी र प्रतिक्रियावादीहरू पुँजीवादी संसदीय व्यवस्था र पुँजीवादी व्यवस्थालाई प्रजातन्त्र भनी प्रचार गर्छन् । अमेरिकी साम्राज्यवादले लडाइँबाट ठुलो नाफा लिएको संसारका सबै मुलुकका सचेत जनतालाई थाहा छ । लडाइँबाटै फाइदा उठाएर अमेरिका विश्वको सबभन्दा सम्पन्न र शक्तिशाली देश बनेको कसैलाई द्विविधा छैन । अमेरिकी साम्राज्यवादले आर्थिक र सैनिक दृष्टिले पुँजीवादी देशहरूमा आधिपत्य जमाएको थियो । त्यो देश समाजवादी देशको विरोधमा निरन्तर लडिरह्यो; आक्रमण गरेर ध्वस्त पार्ने काम गरिरह्यो । त्यस्तै साम्राज्यवादविरोधी देशमा पनि आक्रमण गर्ने, नाकाबन्दी गर्ने काम पनि अमेरिकाले छोडेन । यसैले अमेरिका संसारलाई आतङ्कित पार्ने आक्रमणकारी देश हो, साम्राज्यवादी देश हो । साम्राज्यवादी नीति र विचार अन्त्य नभएसम्म संसारका देश र जनताले शान्ति र सुरक्षाको अनुभूति गर्न पाउने छैनन् ।
साम्राज्यवादी देशहरू आफ्नो प्रभाव कायम राख्न, अरु देशको स्रोत र साधन आफ्नो कब्जामा लिन आफ्नो शस्त्रास्त्र उद्योगहरू बढाउन समाजवादी देशहरूलाई ‘कम्युनिस्ट खतरा’ भनी हो–हल्ला गरिरहन्छन् । उनीहरू ‘स्वतन्त्र विश्व’ को रक्षा गर्ने नाउँमा समाजवादी मुलुकविरुद्ध करयुद्ध मात्र होइन शीतयुद्धको नीति अँगाल्छन् र अन्तर्राष्ट्रिय तनाव बढाउँछन् । अमेरिकी र अन्य साम्राज्यवादी देशहरूले पुँजीवादी देशहरूलाई आर्थिक पुनरुत्थान गर्ने नाउँमा ‘सहायता’ दिने उद्घोष गर्छन् । गरिब मुलुकको अर्थतन्त्र कब्जा गर्ने नीति अपनाएर विभिन्न खानी हातमा लिने काम साम्राज्यवादी देशले गर्दै छ । अहिले भर्खरै अमेरिकाले युक्रेनमा सैनिक र आर्थिक सहायता गरेको भनी सो बराबरको युरेनियम माग्यो । साम्राज्यवादीहरू आ–आफ्नो मुलुक र अन्य समाजवादी मुलुकका मजदुरवर्गीय आन्दोलन, कम्युनिस्टहरूको आन्दोलनलाई भित्रभित्रै कमजोर नपारिकन, उनीहरूभित्र आन्तरिक कलह बढाएर कमजोर नपारिकन पुँजीवादी पद्धतिलाई कायम राख्न सक्दैनन् भन्ने कुरा राम्ररी थाहा छ । त्यही कारण साम्राज्यवादी देश अमेरिकाले विशेषतः चीन, क्युवा, प्रजग कोरिया, बोलिभिया, भियतनाम, रुसविरुद्ध अनेक जाल बुन्छन्, बुनिरहेका छन् । यथार्थमा साम्राज्यवादी देशहरू उपनिवेशहरूलाई शोषण र लुट गरेर नै बाँचिरहेका हुन्छन् ।
साम्राज्यवादको लुटाहा या कब्जा गर्ने प्रवृत्ति अहिले पनि हटेको छैन । साम्राज्यवादीहरूद्वारा गरिएको नव–उपनिवेशवादी शोषण र लुटले गर्दा विकासोन्मुख देशहरूमा समस्या बढेको हो । संयुक्त राज्य–अमेरिकाले दर्जनौँ सशस्त्रधारी सेना तैनाथ गर्ने, सेना पठाएर आक्रमण गर्ने, आतङ्कित पार्ने र समाजवादी देशको विरोधमा आक्रमण गर्न हतियारसहितको सेना पठाउने गरेको कारण अमेरिका ठुलो ऋणी मुलुक बनेको छ । एक आपसमा मिलेर विकास गर्न, शान्ति छर्न र सद्भाव कायम गर्न समाजवादी देशहरू लागिरहेको बेला साम्राज्यवादी नीतिको नेतृत्व गर्ने अमेरिकाले अरू देशमा आक्रमण गर्दै संसारलाई आतङ्कित पार्ने काम गरिरहेको हुँदा अमेरिका संसारमा बदनाम हुँदै छ; एक्लो हुँदै छ । क्युवामा दशकाँै पहिलेदेखि लगाइरहेको आर्थिक नाकाबन्दी हटाउने विषयमा संसारका ९९ प्रतिशत देशका मुलुकले समर्थन गरे पनि अमेरिकाले नाकाबन्दी हटाउन चाहेन ।
पुँजीवादीहरू बिलासिता, भ्रष्टाचार र दुव्र्यसनलाई बढावा दिन्छन्; मानिसको विचार या मनलाई बिगार्ने उपाय रच्छन् । यसले गर्दा देशमा नसालु औषधिका दुव्र्यसनी र दुराचारीहरूको सङ्ख्या बढ्नेछ । उनीहरू अनैतिकता, कलुषित, हत्या, बेपत्ता पार्नेजस्ता सामाजिक अपराधलाई बढावा दिन्छन्; सभ्य, समुन्नत र संस्कारयुक्त समाज भड्काउन बढावा दिन्छन् । पुँजीवादी समाजको मुख्य स्वरूप भनेकै भ्रष्ट भौतिक जीवन, तुच्छ मानसिकता र सांस्कृतिक जीवन तथा शोषणमा आधारित प्रतिक्रियावादी जीवन हो । साम्राज्यवादी, सामन्तवादी र पुँजीवादीहरू जनताको सांस्कृतिक स्तर उठाउन चाहँदैनन्; सक्षम, योग्य, असल र देशभक्त नागरिक तयार गर्न चाहँदैनन् । उनीहरू इज्जत, आस्था र विश्वासको कुरा फुक्दैनन्; श्रमिक जनताको सांस्कृतिक, वैचारिक र सैद्धान्तिक स्तर उठाउने र अन्धविश्वास, कुरीति, कुप्रथा अन्त्य गराउनेतर्फ पाइला चाल्दैनन् । उनीहरू श्रमिक जनताको राजनीतिक स्थिति र जीवनको विकासलाई रोक्ने काम गर्छन् । नेपालमा नेकाको सरकारले किसानको मोही हक कायम नगर्दै द्वैधस्वामित्वका अन्त्य र कमैमा मुक्ति घोषणा गर्नु यसकै दृष्टान्त हो । सामन्तवादी र पुँजीवादी शासकहरू देशमा असमानता र असन्तुलन बढाउने नीति तय गर्छन् । पुँजीवाद आफैले विनास निम्त्याउँछ भनेको यही हो ।
साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादीहरू शान्ति र प्रगतिका विरोधी हुन्; श्रमजीवी जनताका विरोधी हुन् । साम्राज्यवादी देशमा झन् सङ्कट बढेपछि त्यसको आक्रमणकारी स्वभाव बढ्छ । हाल अमेरिका त्यही स्थितिमा छ । साम्राज्यवादीहरू जतिजति आक्रमणकारी हुन्छन् त्यति त्यति नै उन्मत्त प्रयासहरू गर्छन्; शान्ति बिथोल्ने काम गर्छन्; अरु देशमा आन्तरिक द्वन्द्व चर्काएर कमजोर पार्ने काम गर्छन् । प्रतिक्रियावादी र पुँजीपतिहरूको त्यस्तै काम र विचारले जनतामा क्रान्तिकारी भावना जागृत हुन्छ, कम्युनिस्टहरूप्रति जनताको विश्वास बढ्छ र क्रान्तिको बाटो तयार हुन्छ । तर, साम्राज्यवाद आफै पतन हुँदैन न त पुँजीवाद नै पतन हुन्छ । पतनको कारण आफ्नो हैकम या प्रभुत्व जमाउने कारक हुनसक्छ । त्यसको लागि संसारका साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादविरोधी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ । संसारका सबै देशको विकास गर्न, शान्ति पाउन र यसले अर्कालाई सहयोग गरेर मित्र बढाउने काम गर्नुपर्छ । आ–आफ्नो देशमा विज्ञान र प्रविधिको विकास गरेर आत्मनिर्भर बनाउने प्रयत्न गरिरहनुपर्छ । यस कार्यमा समाजवादी देशहरू लागिरहेका हुन्छन् । श्रमिक जनताको वैचारिक, सैद्धान्तिक र सांस्कृतिक स्तर उठाएर क्रान्तिकारी बनाउनुपर्छ; कम्युनिस्ट पार्टीलाई विचारधारात्मक र सङ्गठनात्मकरूपले सुदृढ पार्नुपर्छ । यसको लागि सिद्धान्तको आधारमा आफूलाई सुदृढ पार्नुपर्छ । सामाजिक परिवर्तनसँगै आर्थिक परिवर्तनको निम्ति जुट्नुपर्छ । सामन्तवादभन्दा पुँजीवाद र पुँजीवादभन्दा समाजवाद अगाडि बढेको समाज हो । वास्तवमा समाजवादी मुलुकले नै श्रमजीवी वर्गको सेवा गर्छ । समाजवादको बाटो शोषण र उत्पीडनबाट मुक्त हुने समाज हो । समाजवादी समाज भनेको मजदुर, किसान, बुद्धिजीवी, देशभक्त पुँजीपतिवर्गको सेवा गर्ने व्यवस्था हो । समाजवादी निर्माणमा नेतृत्व गर्ने मजदुर वर्गीय पार्टीले समाजलाई उन्मत्त पारेर क्रान्तिको बाटो तयार गर्छ । बाह्य र देश, काल र परिस्थिति मिलेपछि क्रान्तिको बाटो बन्छ, क्रान्ति हुन्छ र देशमा श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्टको सरकार बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *