यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बिस्का जात्रा भक्तपुर नगरको तौमढीमा रहेको भैरवनाथको मूर्तिलाई रथमा राखी सँगसँगै भद्रकालीको रथसहित हरेक नयाँ वर्षको चार दिनअघि (यो वर्ष चैत २८, २०८१) देखि रथलाई तानेर योसिंख्यो अर्थात् चुपिंघाट पु¥याई आठ रात नौ दिनसम्म मानिने भक्तपुरको एक विश्व प्रसिद्ध जात्रा हो ।
यस जात्राको सुरुआत लिच्छविकालमै सुरु भएको भनिए तापनि मध्यकालीन समयमा (छ सय वर्षदेखि) रथसहितको जात्रा मनाउँदै आएको इतिहासबाट बुझ्न सकिन्छ । यस जात्रा विज्ञानसम्मत रहेको इतिहासविद्हरूको भनाइ रहेको छ । त्यति बेला यो पर्व ६ ऋतुमध्ये पहिलो वसन्त ऋतुबारे सर्वसाधारणलाई बुझाउने हेतुले मनाउन थालिएको विश्वास रहेको छ । उक्त दिन, दिन र रातको समय बराबर हुने दिनको रूपमा लिने गरिएको छ । ल्योगु सिं (लिङ्गो) ठड्याएर मनाउने गरिन्छ । यो ल्योगु सिं उठाउने जात्रा योसिंख्योमा हुन्छ । यसबाट जनताले बालीनालीको लागि तयार रहन सङ्केत गरेको बुझ्न सकिन्छ ।
यो जात्रा एक धार्मिक पर्व मात्र नभई सामाजिक एवं सांस्कृतिक पर्वको रूपमा मान्दै आएको छ । यो जात्रा त्यतिबेलाको प्रविधिको विकासलाई मनोरञ्जनको रूपमा प्रदर्शनी गर्न मनाइएको पर्व हो भन्न सकिन्छ । किनभने, यस जात्राको प्रमुख आकर्षण भैरवनाथको भीमकाय रथ र भद्रकालीको रथ हो । त्यस समयको यो एउटा प्रविधिको आविष्कार पनि हो । यो जनतालाई नै सहभागी गराई प्रदर्शन गर्ने अवसरको रूपमा मनाइएको जात्रा हो भन्न सकिन्छ । यस्ता आविष्कारहरू अहिले पनि चीन, भारतजस्ता विभिन्न देशमा प्रदर्शन गर्दै आएको हामीले टी.भी. मा देखेका छौँ ।
भैरवको रथलाई प्राविधिक अर्थात् इन्जिनियरिङ दृष्टिकोणबाट हेर्दा यस जात्रामा पाँच किसिमको इन्जिनियरिङको सम्मिश्रण भएको मान्न सकिन्छ । जस्तैः–
१. वास्तुकला शास्त्र–आकर्षक मन्दिरको स्वरूप ।
२. स्ट्रक्चर इन्जिनियरिङ – मौलिक प्रविधिबाट निर्माण गरिएको फलामको प्रयोगबिना पुरानो प्रविधिको काठको चुकुलको प्रयोग ।
३. भूकम्पीय इन्जिनियरिङ – रथलाई दुवैतिरबाट हुने कम्पनको प्रविधि
४. ट्राफिक इन्जिनियरिङ – भक्तपुरको स–साना बाटाहरूमा ठुलो पाङ्ग्रा गुडाउने ज्ञान/प्रविधि
५. सामाजिक इन्जिनियरिङ – स्वतस्फूर्त रूपमा नागरिकहरूबाटै सञ्चालन हुने ।
यस्तो अभूतपूर्व बिस्का जात्रा हरेक नागरिकले बुझेर शालीन र सभ्य किसिमले मनाउनु आवश्यक छ । यसरी मनाइएको खण्डमा अझ यस जात्राको महत्व बढ्ने छ । यसरी अनन्तकालसम्म विश्व प्रसिद्ध जात्रा मनाउँदै गरे नयाँ पुस्ताले हाम्रो सभ्यताको जगेर्ना गर्दै जानेछ । यसबारे हामी सबैले मनन गर्नुपर्छ । हाम्रो संस्कृति जोगाई सभ्य नागरिकको परिचयलाई कायम राख्न एकबद्ध भई अघि बढ्नुपर्छ ।
Leave a Reply