कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ४ वैशाख । नेपालको भलिबल खेल विकासको लागि सन् १९७६ मा नेपालमा भलिबल प्रशिक्षकको भूमिकामा नेपाली भलिबल टीमलाई प्रशिक्षण दिन आएका जापानिज प्रशिक्षक हारुयो हाइसो सांस्कृतिक नगर भक्तपुर भ्रमणमा आउनुभएको छ ।
उहाँलाई भक्तपुरमा नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवा, जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, नगर खेलकुद समितिका पूर्वसंयोजक रवीन्द्र खर्बुजा, जिल्ला भलिबल सङ्घका उपाध्यक्ष दीपक थापालगायत जिल्ला भलिबल सङ्घका पदाधिकारी र खेलप्रेमीहरूले स्वागत गर्नुभयो ।
जापानिज भलिबल प्रशिक्षक हारुयो हाइसोले सन् १९७६ र १९७७ दुई वर्ष नेपालको राष्ट्रिय भलिबल टीमलाई स्वयम्सेवक भई प्रशिक्षण दिनुभएको थियो । नेपालमा भलिबल खेलको प्राविधिक स्तरको विकास र विगतका खेलाडी र प्रशिक्षकहरूको भलिबल खेलमा निभाइरहेको भूमिकाबारे छलफल गर्न उहाँ नेपाल आउनुभएको बताउनुहुन्छ ।
नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवाले जापानको भलिबल प्रशिक्षक र प्राविधिकहरूबाट नेपालले समय–समयमा सिक्ने अवसर पाएको र ऐतिहासिक सांस्कृतिक नगर भक्तपुरमा जापानिज भलिबल प्रशिक्षक, निर्णायक र खेलाडीहरू भ्रमणमा आइरहेको बताउनुभयो । उहाँले छलफलमा नेपालको राष्ट्रिय खेल भलिबलको विकास गर्न नयाँ–नयाँ प्रविधिहरू प्रशिक्षणको क्रममा लागु गर्ने प्रयास भइरहेको पनि बताउनुभयो ।
कार्यक्रममा जिल्ला भलिबल सङ्घ भक्तपुरका अध्यक्ष विनोदचरण रायले नेपालको भलिबल खेलको विकासको आधार तयार गर्न जापानिज प्रशिक्षकको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हाल नेपालका प्रशिक्षक र खेलाडीहरूलाई आधारभूत प्रविधिदेखि निपुण हुने गरी तालिम दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपालको भलिबल खेलका पूर्व मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले जापानिज गुरु हारुयो हाइसोले प्रशिक्षण दिँदाको क्षणलाई स्मरण गर्दै खेलाडीहरूलाई अनुशासित र प्रविधियुक्त बनाउने कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपाल भलिबल सङ्घका सल्लाहकार रेशम गुरुङ र नगर खेलकुद समितिका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले पनि खेलकुद विकास र अनुशासनबारे आफ्नो धारणा राख्नुभयो ।
छलफल कार्यक्रम हुनु अगाडि जापानीज प्रशिक्षक हारुयो हाइसोले भक्तपुरको दरबार क्षेत्र र टौमढीको ङातापोल्हँ मन्दिरको चित्र कोर्नुका साथै राष्ट्रिय कला सङ्ग्रहालय अवलोकन गर्नुभयो । उहाँले भक्तपुरको सम्पदा संरक्षणको प्रशंसा गर्दै यो सहर मन्दिर नै मन्दिरको सहर जस्तै भएको बताउनुभयो ।
Leave a Reply