भर्खरै :

बाँकेमा जिल्ला भेला तथा प्रशिक्षणात्मक कार्यक्रम

बाँकेमा जिल्ला भेला तथा प्रशिक्षणात्मक कार्यक्रम

नेपालगञ्ज, ७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अन्तर्वार्ता सङ्कलन ‘समय र विचार’ भाग २ को अन्तरक्रियात्मक कार्यक्रम शनिबार नेपालगञ्जमा सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टी बाँकेको जिल्ला भेला तथा प्रशिक्षणात्मक कार्यक्रममा उक्त ‘समय र विचार’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी लुम्बिनी प्रदेश समिति संयोजक हरिसुन्दर वासीले ‘समय र विचार’ मा सङ्कलित अध्यक्ष रोहितको विचारले कामदार जनतालाई मार्गदर्शन गरेको स्पष्ट पार्दै समकालीन नेपालको राजनीतिक समस्या समाधानको लागि नेपाल मजदुर किसान पार्टीको दृष्टिकोणबाट अगाडि बढ्नु अपरिहार्य छ भन्नुभयो ।
नेपालका शासक दलहरू विदेशी पुँजीका मालिकहरूको चाकडीबाज बन्दै गएको र प्रधानमन्त्री र मन्त्रीहरू विदेशी शासक दलहरूको अधिकारविहीन कारिन्दा बनिरहेकोमा अध्यक्ष रोहितको अन्तर्वार्ताले खबरदारी गरेको बताउँदै संयोजक वासीले नेपाली शासक दलहरूको चरित्र हेर्दा ‘सरकार पुँजिपतिवर्गको सञ्चालक समिति हो’ भन्ने कम्युनिस्ट घोषणापत्रको दाबीलाई पुनः पुष्टी गरेको छ भन्नुभयो ।
शासक दलहरू आफूलाई मतदान गर्ने नेपाली जनताप्रति उत्तरदायी नभई विदेशी पुँजीको सेवामा लागिरहेकै कारण देशमा अराजकता बढिरहेको चर्चा गर्दै संयोजक वासीले संवैधानिक राजतन्त्र र पुँजीवादी गणतन्त्र दुवैले पुँजीपति र शोषकवर्गकै सेवा गर्ने हुँदा कामदार जनताको हितको लागि नेमकिपाले समाजवादी गणतन्त्र स्थापना गर्ने सङ्घर्ष अगाडि बढाइरहेको छ भन्नुभयो ।
संयोजक बासीले सत्तापक्षीय दलहरूकै शिक्षकहरूको लामो शैक्षिक हडतालले सरकारी विद्यालय ध्वस्त पार्ने र निजी तथा विदेशी विद्यालयलाई पोस्ने छ भन्नुभयो । अमूर्त शिक्षा ऐन माग गरी आन्दोलन गरिरहेका शासक दलका शिक्षकहरू शिक्षा ऐन जारी भएपछि स्वार्थ बाझिएर झन् द्वन्द्व बढ्ने सम्भावना रहेको चर्चा गर्दै संयोजक बासीले आन्दोलनमा लागेका शिक्षकहरू देश र जनताप्रति जिम्मेवार नभएकै कारण देशमा भ्रष्ट राजनीतिक दल र नेताहरूको जगजगी रहेको दाबी गर्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समिति सदस्य नारायणी चौधरीले समाजवादी गणतन्त्रमा मात्र कामदारवर्गका महिला र पुरुषहरूले समान राजनीतिक, सामाजिक र आर्थिक अधिकार प्राप्त गर्नेछ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवीन शाही, अन्जिरबहादुर शाही, वीरबहादुर थारु, शेरबहादुर शाही, खड्गराज थापा, हीराबहादुर शाही, प्रकाश शाही, गौरीकान्त आचार्यलगायतले अध्यक्ष रोहितको अन्तर्वार्ता सङ्कलन ‘समय र विचार’ भाग २ को अध्ययन सार प्रस्तुत गर्नुभएको थियो ।
नेमकिपा बाँकेको जिल्ला भेलाले बखत थापाको संयोजकत्वमा नेमकिपा बाँकेको तेस्रो जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *