भर्खरै :

लेनिन जयन्तीको अवसरमा अध्ययन गोष्ठी

लेनिन जयन्तीको अवसरमा अध्ययन गोष्ठी

भक्तपुर, १३ वैशाख । लेनिन जयन्तीको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ‘मजदुर’ र ‘श्रमिक’ पत्रिकामा प्रकाशित लेख रचनाको अध्ययन गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र हुने कुरा मानव समाजको विकासक्रम र विश्व इतिहासले प्रमाणित गरिसकेको बताउँदै नेमकिपाले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादी गणतन्त्रको प्रचार अभियानलाई दशकौँदेखि अघि बढाएको बताउनुभयो ।
राजधानीमा भइरहेको विभिन्नखाले जुलुस र प्रदर्शनीलाई लक्षित गरी उहाँले भन्नुभयो, “सङ्घीयता र गणतन्त्रको मर्म विपरीत अहिले प्रतिगामी तत्वहरूको सक्रियता बढिरहेको छ । नयाँ पुस्तामा सतही ज्ञानको अध्ययन गर्ने र स्वतन्त्रताको नाउँमा अरुको लहलहैमा लाग्ने प्रवृत्तिले गर्दा पालैपालो भ्रष्ट पार्टीहरूलाई नै विकल्पको रूपमा रोज्ने गरेको छ ।”
नयाँ पुस्तालाई सही बाटोमा हिँडाउने बलियो पक्ष शिक्षण पेसा भएकोले शिक्षकहरूले विद्यार्थीलाई सानो उमेरदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तु बताइरहनुपर्ने बताउँदै अध्ययन गोष्ठीले वैचारिक स्पष्टता प्रदान गर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले शिक्षकहरूको पठन संस्कृतिलाई विकास गराउन नियमितरूपले अध्ययन गोष्ठी, अन्तरक्रिया र छलफल कार्यक्रम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोशनराज तुइतुईले लेनिनको जीवनी, शिवराम बोहजूले वकालत पेसा र बारमा राजनीतिको प्रश्न लेख र पूर्णशोभा हाडाले ‘मजदुर’ दैनिकको सम्पादकीयबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *