भर्खरै :

पाठेघर तथा स्तन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर

पाठेघर तथा स्तन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, १३ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार वागीश्वरी मावि च्याह्मासिंहको प्राङ्गणमा महिलाहरूको पाठेघर तथा स्तन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. युजिन श्रेष्ठ र डा. ओसिन छुस्याकीको नेतृत्वमा वडा नर्सहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको टोलीले शिविरमा सहभागी १९४ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरेको आयोजक समितिले बताएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले डाक्टरलाई स्वास्थ्य परीक्षण सामग्री हस्तान्तरण गरेर शिविरको शुभारम्भ गर्नुभएको थियो । त्यस क्रममा उपप्रमुख जोशीले महिलाहरूलाई स्वस्थ र प्रतिस्पर्धी जनशक्तिको रूपमा देश र समाजको विकासमा भूमिका निर्वाह गराउन सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले बारम्बार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले नगरवासीहरूको भावनाबमोजिम नेपाल मजदुर किसान पार्टीको निर्देशनमा कार्य गर्दा कामदार जनताबाट उत्साह प्राप्त भइरहेको चर्चा गर्दै जनताकै साथ र सहयोगमा एक दशकअघिको विनाशकारी भूकम्पको क्षतिबाट भक्तपुरवासीहरू माथि उठ्न सकेको बताउनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले दसवटै वडामा पाठेघर तथा नाक, कान घाँटीको परीक्षण शिविर सञ्चालन गरिरहेको चर्चा गर्दै विद्यालयका विद्यार्थीहरूलाई केन्द्रित गरी शिविर चलाउने तयारी भइरहेको पनि बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले रोग लुकाउन नहुनेमा जोड दिँदै भक्तपुरमा निरन्तर स्वास्थ्य शिविरहरू सञ्चालन भएकैले पाठेघरको क्यान्सरको जोखिम घटेको बताउनुभयो ।
उहाँले वडावासीहरूको नजिकको सरकार वडा कार्यालय र नगरपालिका भएको उल्लेख गर्दै खानेपानी, फोहरमैला व्यवस्थापन, बाटो मर्मतलगायत विभिन्न विषयमा वडामा सहजै जनताले आफ्नो कुरा राखिरहेको बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविका मनेश्वरी कोजूले शिविरको औचित्यताबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *