कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
भक्तपुर प्राचीन बस्तीको नगर हो । कला, संस्कृति र सम्पदाले भरिपूर्ण यो सुन्दर नगर विश्वकै परिचित सहर हो । यहाँका कला, संस्कृति र सम्पदा देशकै गौरव र विश्वको सम्पत्ति बनेको छ । टोल–टोलमा चल्ने जात्रा, पर्व, मेला, नाचगान, वाद्यवादन, भजन, दाफा र गुठीले यहाँको संस्कृतिलाई जीवन्तता दिएको छ । कलाको अनुपम भक्तपुर नगर कलाकारहरूको वासस्थल पनि हो । इँटा, काठ, ढुङ्गा, कागज र धातुमा कुँदिएका विभिन्न आकारका कलात्मक मूर्ति, टुँडाल, देवीदेवताका प्रतीकका मूर्ति, पशुपन्छी, मानव आकृतिको संरचनाले भक्तपुर उहिल्यै सिपालु कलाकारहरूको स्थल रहेछ भन्ने बुझिन्छ । यहाँको नाचगान र वाद्यवादनले भक्तपुर कलाकारको सहर भएको प्रस्ट हुन्छ । कलाका पारखी जगदीश शमशेर राणाले भक्तपुर सहरलाई ‘नाचगानको राजधानी’त्यसै भनेका होइनन् । पावेल ई.ए.ले “नेपालमा अरु केही नहोस् तर भक्तपुरको दरबार क्षेत्र सुरक्षित रहोस्” त्यसै भनेका होइनन् ।
स्कूल, कलेज या शिक्षाध्ययनको बन्दोबस्त नभएको बेला विश्व प्रसिद्ध र नेपालको सबभन्दा अग्लो पाँचतले मन्दिर र पचपन्न झ्यालको दरबारको निर्माण के कलाकौशल र कार्यकुशलको अद्वितीय नमुना होइन ? मन्दिरको डिजाइन शैली, मन्दिरमा प्रयोग भएका काठका मूर्ति, टुँडाल, मन्दिरको बनोटले त्यतिबेलै शैक्षिक प्रमाणपत्र नभए पनि पारखी इन्जिनियरहरू रहेको थाहा हुन्छ । कुनै देशको नक्कल नगरी आफ्नै मौलिक शैलीका इँट, काठ, प्रस्तर, धातुकला, वास्तुकला, चित्रकला, मूर्तिकला र त्यससित सम्बन्धिन अन्य कलाकारहरूको रहेको यो ठाउँ कलाकारहरूको खुला विश्वविद्यालय कसरी होइन भन्ने । अतःयिनीहरू वाद्यवादक, नाचगान र कलाका उत्कृष्ट गुरु मात्र होइनन् इँटा, काठ प्रस्तर र धातुकलाका इन्जिनियरहरू हुन् । यो कार्यकुशलताको बेजोड नमुना त हो नै । यो विचार र चिन्तनको सबल पक्ष पनि हो । वाद्यवादनको आकार, बनोट, स्वर, ताल, लय, नाचगानको भेषभूषा, हाउभाउ, नाचको प्रारम्भ, मध्य र अन्त्य, त्यसको कथावस्तुको निर्माण कम चिन्तनको विषय होइन ।
यहाँ निर्मित मठ मन्दिर, सत्तल, पाटीपौवा, देवालय, शिवालय, मूर्ति, चैत्य, विहार पोखरी, इनार, ढुङ्गेधारा, चोक, दबु, मण्डप, यहाँको नाचगान, जात्रापर्व, बाजा आदिको जीवन्तताले भक्तपुर सहर सांस्कृतिक नगर हो । भक्तपुर एसियाकै सफा नगर, सुन्दर नगर, एसिया महादेशकै स्मारक र सांस्कृतिक नगर हो । यो नगरलाई सांस्कृतिक नगर घोषणा गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सदनमै आफ्नो विचार व्यक्त गर्नु भएको थियो । नेमकिपाले घोषणापत्रमा पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक महत्वका मठ मन्दिरको संरक्षण गरेर जीवन्तता दिनुपर्ने कुरा उल्लेख गरेको थियो† प्राचीन नाचगानको संरक्षण र विकास गर्न जोड दिँदै आएको थियो । नेमकिपाको प्रयासबाटै नवौँ पञ्चवर्षीय योजना (२०५४–०५९) मा ‘भक्तपुर नगरलाई सांस्कृतिक नगरको रूपमा विकास गर्ने सिद्धान्त तय गरिनेछ ।’ भन्ने नीति तय गरिएको थियो । सोही नीतिको आधारमा स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८८ (४)मा (कुनै नगरको ऐतिहासिक, पुरातात्विक वस्तु र कला संस्कृति संरक्षण गर्न सरकारले तोकेको आधारमा सांस्कृतिक नगर घोषणा गर्नसक्नेछ ।’ उल्लेख भएको थियो । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम ७४ मा कुनै नगरपालिकाको सम्पदा विश्व सम्पदा संरक्षण सूचीमा समावेश भएको रहेछ भने सो कुराको समेत विचार गरी यस्तो नगरपालिकालाई सरकारले सांस्कृतिक नगर घोषणा गर्नसक्नेछ’ उल्लेख भएको छ । यसको आधारमा सम्पदा संरक्षण भएको जीवित सङ्ग्रहालयको रूपमा रहेको भक्तपुर नगरलाई ‘सांस्कृतिक नगर’ घोषणा गर्न सकिन्छ । देशकै सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुर सहरलाई सांस्कृतिक नगर घोषणा गर्न विलम्ब गर्नुपर्ने जरुरी छैन ।
यहाँ सांस्कृतिक नगरका सबै पूर्वाधार छन् । भक्तपुर नगरपालिकाले कला र संस्कृतिको मात्र होइन सम्पदा संरक्षण गरिरहेको छ । यहाँका अधिकांश मठ, मन्दिर, सत्तल, द्योछेँ, पाटी पौवा, पोखरी पुनः निर्माण, जीर्णोद्वार तथा मर्मत सम्भार भइसकेको छ । नेपाल हरेक सडक, गल्ली, चोकमा इँटा र ढुङ्गा छपाइ गरिरहेको छ† ढुङ्गेधारा र इनारको मर्मत सम्भार गरिरहेको छ† चैत्य र विहारको संरक्षण गरिरहेको छ† नाचगान र वाद्यवादनको संरक्षण र जीवन्तता दिन प्रत्येक वर्ष प्रतियोगिता र प्रदर्शन गरिरहेको छ । नगरको पुरानो क्षेत्रमा संरक्षण गर्ने उद्देश्यले संरक्षित स्मारक क्षेत्रको मापदण्ड लागु गरी भवन निर्माण गर्न दिने व्यवस्था गरिएको छ । मौलिक शैलीको घर निर्माण गरे आर्थिक सहयोग प्रदान गरिरहेको छ । सरसफाइ र स्वास्थ्योपचारमा जोड दिइरहेको छ ।
भक्तपुर विश्व सम्पदा सूचीमा परेको सहर हो । भक्तपुर दरबार क्षेत्र सम्पदा स्थल हो । देशकै सबभन्दा अग्लो र विश्व प्रसिद्ध पाँचतले मन्दिर, ५५ झ्याले दरबार, सुनको ढोका यही सहरभित्र छ । भनपा, जनताको आर्थिक सहयोग र श्रमदानबाट पाँचतले मन्दिर, भैरवनाथ मन्दिर र पचपन्न झ्याले दरबार मर्मत सम्भार भइसकेको छ । प्रत्येक महिनामा कुनै न कुनै उत्सव, पर्व मेला हुन्छ । गाईजात्रामा नौ दिन नाचगान चल्छ । नगरको २१ स्थानमा माघ २ गतेदेखि नवदुर्गा गणको ङालाकेगु (माछा मार्ने) जात्रा हुन्छ । दीपङ्कर मेला हुन्छ । हरेक दिनझैँ कहीँ बिहान र कहीँ साँझपख टोल–टोलको पाटी, मन्दिर प्राङ्गण र पेटीमा भजन चलिरहेको हुन्छ । समय–समयमा देवगणहरूको टोल–टोलमा जात्रा हुन्छ । पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरूको लागि मौलिक शैलीमा घर निर्माण गरेमा घरको मोहडामा लाग्ने इँटा, झिङ्गति र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान नगरपालिकाले दिइरहेको छ । गाईजात्रामा प्रदर्शित हुने नाटक, नृत्य, प्रहसन, घिन्ताङघिसीलाई प्रतियोगितात्मक मूल्याङ्कन गरी जात्रा व्यवस्थित गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिरहेको छ । हरेक वर्ष एउटा एउटा वाद्यवादनको प्रतियोगिता गरी पुरस्कृत गरिरहेको छ । सांस्कृतिक संरक्षणमा लागेका वाद्यवादन, गीत, नाचगानका अग्रज गुरु एवं संस्कृतिकर्मीहरूको उच्च मूल्याङ्कन गरी प्रत्येक वर्ष प्रत्येक वडाका दुईदुई जना संस्कृतिकर्मीहरूलाई नपाले सम्मान गरिरहेको छ । बेलाबखत विभिन्न अवसरमा यहाँको सांस्कृतिक झाँकीहरू देखाउने काम भइरहेको छ । यहाँका ठुलठुला पोखरीहरू भाज्या पोखरी र रानीपोखरीलाई जीवन्तता दिन पुनः निर्माण, मर्मत तथा सरसफाइको काम भइरहेको छ ।
भक्तपुर नगर मध्यकालीन मल्ल शासनकालको प्रतिनिधिमूलक नगर हो । यहाँका परम्परागत सांस्कृतिक, धार्मिक र कलात्मक संरचनाको संरक्षण र संवद्र्धन गर्न, विद्यमान सांस्कृतिक धरोहर भावी पुस्तामा हस्तान्तरण गर्न र मध्यकालीन नेपालको गौरवपूर्ण निर्माणहरूलाई अविच्छिन्न रूपमा कायम गर्न २०५३ सालमै ‘स्मारक क्षेत्र निर्धारण अध्ययन, अनुसन्धान र सुझाव टोली’ गठन गरिएको थियो । टोलीको बैठकले नक्साको अध्ययन र संस्कृतिका विभिन्न पक्षका महत्व तथा नगरस्थित सम्पदाहरूकै स्थितिबारे गहिरो अध्ययन, अनुसन्धान र खोजीनीति गरी नगरका सांस्कृतिक सम्पदालाई समेटिने गरी मध्यकालीन नगरको मूल क्षेत्रलाई स्मारक क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव गरेको थियो । नगरलाई आन्तरिक र बाह्य खतराबाट सुरक्षित राख्न नगरको अष्टबिन्दुमा अष्ट भैरवसहित अष्ट मातृका स्थापना गरिएको थियो । राजा यक्ष मल्लको पालामा नगरको सुरक्षाको लागि नगरलाई चारैतिरबाट पर्खालले घेरी आठ वटा नगर प्रदेशद्वार निर्माण गरिएको थियो । मङ्गलतीर्थमा अद्यापि पर्खालको अवशेष बाँकी रहेको छ ।
यहाँ विश्वकै उत्कृष्ट कलाहरू रहेका छन् । यहाँ वास्तुकलाको अनुपम भण्डार छ । भक्तपुर सहर पाटीपौवा मात्र होइन मन्दिरै मन्दिरको सहर भने पनि फरक पर्दैन । भक्तपुर विभिन्न शैलीका कलाकारितायुक्त मन्दिर, द्योछेँ, दवी देवताका मूर्ति, मठ, चैत्य, विहार, दरबार, द्वार आदिबाट सुशोभित सहर हो । हरेक टोलमा ढुङ्गेधारा, साना–ठुला पोखरी, इनारको माध्यमबाट खानेपानी वा अन्य प्रयोजनको लागि आवश्यक पानीको व्यवस्था मिलाइएको छ । उत्तर र दक्षिण दिशाबाट बग्ने खोला नगरका बासिन्दाबिच श्राद्ध, जन्म, मृत्यु संस्कार र दैनिक जीवनका अन्य पक्षसँग सम्बन्धित कार्य अद्यापि चालु छ । यहाँका परम्परागत नाचगानको लागि टोल–टोलमा दबुहरूको व्यवस्था गरिएको छ । विभिन्न वाद्यवादनको स्वर, ताल र लयमा साँझ बिहान भजनियाँहरू भजन गाउँछन् । सरकारी वा जनस्तरमा निर्मित देवालय, शिवालयमा स्थापित देवीदेवताको बेलाबखत पर्व पूजा, नित्य पूजा भइरहेको छ । यसरी भक्तपुर सहरमा इँटा, काठ, प्रस्तर र धातुबाट निर्मित उत्कृष्ट कलामात्र होइन विभिन्न शैलीमा निर्मित मठ, मन्दिर, विहार, विश्राम पाटी, सत्तल, भजन घर, शिवालयको व्यवस्थापनले भक्तपुर सांस्कृतिक दृष्टिकोणले सुव्यवस्थित सहरको रूपमा परिचित भएको देखिन्छ । यसकारण, पुख्र्यौली सम्पदा, पुख्र्यौली आस्था र विश्वासलाई जीवन्त राख्ने भक्तपुर सहरको पुरानो बस्तीलाई सांस्कृतिक नगर घोषणा गर्नु जरुरी छ ।
ऐतिहासिक नगरको मौलिक स्वरूपलाई कायम राख्नु आवश्यक छ । पुरानो बस्तीभित्र रहेका सम्पदालाई जीवन्तता दिन सकिएन भने कालान्तरमा पुरानो बस्तीको क्षेत्र सुनसानको क्षेत्र हुन बेर लाग्दैन । अहिले नै पुरानो बस्तीभित्रका कति बासिन्दाहरू नयाँ नयाँ बस्तीमा स्थानान्तरण भइसकेका छन् । २०७२ सालको भूकम्पले झन् यहाँका बासिन्दाहरू नयाँ स्थानमा सरेका छन् । बस्तीको विकाससँगै पुरानो बस्ती बाहिर बजारको विकास भइरहेको छ । पुरानो बस्तीको बजार सुक्ने होकि भन्ने चिन्ता छ । आन्तरिक र बाह्य पर्यटकहरूको चहल–पहल गर्न र गराउन या आवतजावत गराउन पनि सम्पदा संरक्षण गर्नु आवश्यक छ । सांस्कृतिक नगर घोषणा गर्नुपर्ने चर्चा हुँदा केही मानिसहरूले भक्तपुरलाई खोर बनाउन लाग्यो, भक्तपुरवासीलाई खोरभित्र राख्न खोज्यो भनी विरोध गरेका थिए । सहरलाई सफा, स्वच्छ र सुन्दर बनाएर भविष्यसम्म आफ्नो जीवनको जोहो गर्न या सुनिश्चित गर्न ल्याइएको अवधारणालाई बुझ्दै नबुझी या बुझेर पनि बुझ पचाएर या विरोधको निम्ति विरोध गर्न सांस्कृतिक नगर घोषणा गर्नुपर्ने अवधारणाको विरोध गरियो । त्यसबेला विरोध गरेका केही मानिसहरू भनपाले गरिरहेको सम्पदा संरक्षणको कारण अहिले बिउँझेका छन् । यहाँको कला, संस्कृति र सम्पदाको संरक्षण आफ्नै लागि हो रहेछ भन्ने कुरा उनीहरूले महसुस गर्न थालेका छन् । ढिलो घर फर्केकोलाई हराएको भनिदैन भनेझैँ ढिलै भए पनि कला, संस्कृति र सम्पदा संरक्षणको महत्व बुझ्न थालेको राम्रै हो ।
सांस्कृतिक सम्पदाको संरक्षण पनि पर्यटन व्यवसायको एउटा भरपर्दाे आधार हो । यहाँको संरक्षित कला, संस्कृति, नाचगान र सम्पदा अवलोकन गर्न नै देश विदेशका लाखौँ पर्यटकहरू भक्तपुर आउँछन्, आइरहेका छन् । भक्तपुर आफैमा पर्यटकहरूको आगमन केन्द्र हो । देशको पर्यटन विकास र भक्तपुरका पर्यटक व्यवसायीहरूको जीवन जोहो गर्न पनि कला, संस्कृति र सम्पदाको संरक्षण आवश्यक छ ।
यहाँका सम्पदाहरू पुरानो बस्तीको एकै ठाउँमा केन्द्रित छैन । सम्पदाहरू नगरको सबै वडाहरूमा छरिएर रहेका छन् । त्यसमध्ये पनि महत्वपूर्ण केन्द्र लाय्कु दरबार, टौमढी र दत्तात्रय हुन् । अस्टमातृका र अन्य देवीदेवताका द्योछेँहरु सबैजसो वडामा छन् । बिस्केट जात्रा, गाईजात्रा, नवदुर्गा गणको ङालाकेगु (माछा मार्ने) जात्रा यहाँका नाचगानसम्बन्धी महत्वपूर्ण जात्रा हुन् । यहाँका पुराना घरहरू सबै चारतले छन्, झिँगटी छानाका छन् । यहाँ बेजोडामुखी झ्याल हुन्छ । घर इँटा–माटोले बनाइएको छ । तर, अहिले घर जीर्ण, पुरानो भएसँगै नयाँ बनेका घरहरू आधुनिक शैलीको बन्न थालेका छन् । नपाले पुराना बस्तीमा मौलिक शैलीकै घर बनाउन जोड दिइरहेको छ र अनुदानको व्यवस्था पनि गरिरहेको छ । दत्तात्रय मठहरूको केन्द्र भने पनि फरक पर्दैन । तथापि, मठहरू अन्य वडामा पनि छन् । यहाँका मल्लकालीन मठहरू पनि उत्कृष्ट काष्ठकला र वास्तुकलाले बनेका छन् ।
सामान्यतः चैत २७ ÷२८ देखि वैशाख ५ गतेसम्म बिस्केट जात्रा चल्छ । यस अविधिमा भैरव र भद्रकालीको रथ तान्ने, चैत मसान्तमा लिङ्गो उभ्याउने र बाराही, माहेश्वरी आदिको जात्रा हुन्छ । वैशाखमा चासुपुन्ही, बुद्ध पूर्णिमा हुन्छ । भक्तपुर र बनेपामा चण्डेश्वरी जात्रा हुन्छ र बुद्धको प्रतिमासहित नगर परिक्रमा गरिएको हुन्छ । जेठमा सिठि नःखा (चाड) हुन्छ । इनार सफा गर्ने र देवाली पूजा हुन्छ । असारमा भगष्ठी (भलभल अष्टमी) हुन्छ । नवदुर्गा नगर परिक्रमा गरिएको हुन्छ । साउनमा घण्टाकर्ण
(गाठामुग चह्रे) को पर्व हुन्छ । भदौमा गुँलाधर्म , गुनीपुन्ही, जनै पूर्णिमा र गाईजात्रा हुन्छ । यही समयमा पञ्चदान पर्व (दीपङ्कर) मेला हुन्छ , कृष्णाष्टमी, बुबाको मुख हेर्ने र गोकर्ण औँसी हुन्छ । असोजमा चोठाः गणेश चौथी (गणेशको जन्मदिन) र यन्यापुन्ही– अर्थात् इन्द्रको प्रतीक यम द्योको जात्रा हुन्छ । यसै समयमा पुलुकिसी (इन्द्रजात्रा) र मुपात्रको मेला हुन्छ । कार्तिकमा तिहार हुन्छ । यो समयमा काग पूजा, कुकुर पूजा, म्हा पूजा (गोवद्र्धन पूजा) र भाइटीका हुन्छ । मङ्सिरमा सकिमा पुन्ही हुन्छ । टोल–टोलको देवस्थलमा र यातु महादेव स्थानमा पूजा र भजन हुन्छ । यही महिना बाला चतुर्दशी हुन्छ । पशुपतिमा सतबीज छर्छ । योमारी पुन्ही पनि सामान्यतः मङ्सिर पुसमा पर्छ । माघमा माघे सङ्क्रान्ति हुन्छ । स्वस्थानी व्रत प्रारम्भ हुन्छ । यसै महिनामा श्रीपञ्चमी पर्छ र विवाह, व्रतबन्ध र बेलविवाह आदि हुन्छ । फागुनमा शिवरात्रि, होली पूर्णिमा हुन्छ र चैतमा पाहाँच¥हे हुन्छ । नेवार समुदायमाझ गुठी सञ्चालन हुन्छ । यसरी नै अन्य चाडपर्वको अवसरमा निजी गुठीहरू चलेका हुन्छन् । यसरी बाह्रै महिना यहाँ एउटा न एउटा मेला, पर्व हुन्छ ।
यहाँ अनेक नाचगानहरू पनि छन् । भैले प्याखं, देवी प्याखं, फाकंदली प्याखं, कलाँलीचा प्याखं, माक प्याखं, लाखे, नागाचा, नटुवाचा, भालु, गाइँचा, धुँ (बाघ), हनुमान, लुसी, म्हेखा, जङ्गली र कवांचा नाचहरू छन् । यहाँका अन्य नाचहरूमा ख्या, खिचा, हाँय्, महाद्यो–पार्वती, शेर सिंह, सलाँ, म्ये प्याखं आदि नाचहरू छन् । यसबाहेक एकाङ्की विधामा कपाय् फेनेगु, थाज्या थाय्गु, किजापूजा, काची मचा वां छोयेगु, सिलु वानेगु आदि विधाहरू छन् ।
यहाँ वाद्यवादन पनि अनेक छन् । पछिमा, लालाखीं, पस्ताखीं ताताली बाजा, करखीं बाजा, धिमे बाजा, धाँ बाजा, धिमय्, काःखी बाजा, ढोलक, तँ, झ्यालिचा, ख्वालिमालिचा, सिं क्षाय् भुछ्याँय्, कान्ताडबडब (डमरु) नगरा, सारङ्गी आदि छन् । मुखले बनाउने बाजामा बाँसुरी, ङक, पोँगा, महालीं, बेको महालीं, कँ बाजा आदि छन् ।
यसरी अनेक चाडपर्व, अनेक नाचगान, अनेक बाजा र अनेक कलाकारहरू रहेको यो भक्तपुर सडकलाई सांस्कृतिक नगर घोषणा गर्न विलम्ब गर्नु अन्याय नै हो ।
अहिले नयाँ पुस्ताका कलाकर्मीहरू पनि मठ–मन्दिर बनाउन हौसिए, देखिए, मूर्ति बनाउन, कलात्मक देवी देवता र टुँडाल बनाउन खप्पिस भए । भक्तपुरका ती युवाहरू काष्ठकला, प्रस्तरकला बनाउन मुक्ति क्षेत्र, सुर्खेत, दैलेख, नुवाकोट, जनकपुरलगायत जहाँ जहाँ मन्दिर, देवालय छन् त्यहाँ त्यहाँ पुगेर आफ्नो सीप र कला देखाएर जोहो गर्न लागे । काष्ठकला, धातुकला, प्रस्तरकला मात्र होइन माटोका अनेक भाँडाकुँडा बनाउने मृत्तिकाका कलाकारहरूको सङ्ख्या पनि यहाँ कम छैन । जन्मेदेखि मृत्यु हुँदासम्म चाहिने माटाका भाँडाकुँडा यही भक्तपुरमा बनेको हुन्छ ।
यहाँका शिल्पकारहरू काठै काठद्वारा निर्मित भैरव र भद्रकालीको रथ बनाउँछन् । यहाँ अन्नका कलाकारहरू पनि छन् । अन्नबाट प्रतीकात्मक मन्दिर बनाइन्छ । अन्नबाट भैरवको रथ, दत्तात्रय मन्दिर, लिङ्गोलगायत अन्य स्वरूपमा देवता बनाएर भजन गाउँछन् । बाजा बजाउने, नाच्ने, गीत गाउने मात्र होइन नाच सिकाउने, बाजा बनाउने नाचका लागि भेषभूषा बनाउने, मकुन्डो बनाउने काम पनि सामान्य होइन । काठ, इँट, कागज, धातु र ढुङ्गामा अभिलेख लेख्ने गुरुहरू पनि आखिर कलाकार नै हुन् । यसरी अनेकानेक कलाकृतिको अध्ययन, खोजीनीति र विश्लेषण गर्दा यहाँ माटोकला, काष्ठकला, प्रस्तरकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला, वाद्यवादनकला, नृत्यकलाले नेपाली जनतामा अमित छाप परेको छ । यही भएर सन् १९७९ अक्टोबरमा इजिोरको लुजरिमा सम्पन्न विश्व सम्पदा समितिको तेस्रो सम्मेलनले भक्तपुरको लाय्कु दरबार, चाँगुनारायण क्षेत्रसहित काठमाडौँ उपत्यकाभित्रका सात वटा विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।
Leave a Reply