कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
छङ तु र छोङछिङ सहरको लगभग बिच बाटोमा पर्छ, नेच्याङ सहर । ठुलठुला सहरहरू छङ तु र छोङछिङ हेरी नेच्याङ सानो सहर हो । छङ तुबाट नेच्याङ दुई सय किलोमिटरको दुरीमा पर्छ । अप्रिल महिनाको दोस्रो साता हामी छङ तुबाट तेज गतिको रेलमा झन्डै ४० मिनेटको यात्रा पछि नेच्याङ पुग्दा छङ तुको तुलनामा त्यहाँ गर्मी अनुभव गर्यौँ । नेच्याङबाट लगभग छङ तुकै दुरीमा दक्षिण पर्ने छोङछिङमा अझ गर्मी हुनुपर्छ । तथापि, नेच्याङको सफा आकाश, सेता बादल र कम सङ्ख्यामा सवारी साधन गुडिरहेका चौडा सडकले त्यो सानो सहर आकर्षक देखिएको थियो ।
नेच्याङको सय वर्ष पुरानो एउटा विद्यालयमा आयोजित विशेष कार्यक्रममा सहभागी बन्न हामी एक रात बास बस्ने गरी नेच्याङ सहर पुगेका थियौँ । नेच्याङ नम्बर २ माध्यमिक विद्यालयले शतवार्षिकीको अवसरमा आफ्ना विद्यार्थीलाई विभिन्न देशको संस्कृतिबारे बुझाउन आयोजना गरेको कार्यक्रमको लागि हामी आमन्त्रित थियौँ । ६ देशका हामी दसजना विदेशी विद्यार्थी विद्यालयको प्रवेशद्वारमा पुग्दा भव्य विद्यालय भवनभित्र विद्यार्थीहरू कक्षा कक्षामा व्यस्त थिए ।
कार्यक्रमअनुसार हामी दस जनालाई विद्यालय प्राङ्गणकै विभिन्न अलग अलग ठाउँमा बस्न भनियो । अनि केही बेरपछि हामी बसेकै ठाउँमा आउने विद्यार्थीहरूसँग हामीले लगभग दुई घण्टा कुराकानी गर्नुपर्ने कार्यक्रम थियो । तपाईँहरू हाम्रा विद्यार्थीका प्रश्नको सामना गर्न तयार हुनुहुन्छ त ? कार्यक्रम संयोजकले हँसिलो मिजासमा सोधिन् । उमेर र पढाइले स्कूले विद्यार्थीको तुलनामा हामी पाका भएर पनि चिनियाँ विद्यार्थीहरूका प्रश्नको वर्षाले रुझिने पो हो कि भन्ने मनमा कुरा खेलिरह्यो ।
म विद्यालयको बगैैँचाको एउटा कुनामा स्कूले विद्यार्थीको प्रतिक्षा गर्दै बसेँ । केही बेरमा एक हुल विद्यार्थी हाँस्दै म भएतिर आए । सफा चिटिक्क पोशाकमा सजिएका हँसिला मुहारका फुर्तिला विद्यार्थीहरू देखेर म पुलकित भएँ । उनीहरू सबैले बाक्लो चिनियाँ लवज मिसिएको अङ्ग्रेजी बोलेर मलाई अभिवादन गरे, हामीले हार्दिकता साटासाट गर्यौँ । उनीहरू मसँग गफिन ज्यादै उत्सुक देखिन्थे, म पनि कम उत्सुक थिइनँ । त्यो दिन हामीलाई एकाधबाहेक चिनियाँ शब्द प्रयोग गर्न छुट थिएन किनभने त्यो कार्यक्रमको एउटा उद्देश्य ती चिनियाँ विद्यार्थीलाई विदेशीसँग अङ्ग्रेजीमा बोल्न धक फुकाउनु पनि थियो । छोटो परिचयपछि उनीहरूले मलाई प्रश्न सोध्न थाले अङ्ग्रेजीमा । उनीहरूका अङ्ग्रेजी त्यति नराम्रो थिएन । बाक्लो चिनियाँ लवजका कारण कतिपय कुरा भने बुझ्न सजिलो थिएन । उनीहरू आफै भने अङ्ग्रेजी बोल्न जान्दिनँ भन्ने सोचाइको कारण खुम्चिएर बोलिरहेका थिए ।
उनीहरूको सङ्कोचलाई सहज बनाउन मैले हौस्याउँदै भनेँ, मैले बोलेको अङ्ग्रेजी पनि बेलायती र अमेरिकीले बोल्नेजस्तो शुद्ध होइन । अङ्ग्रेजी मेरो तेस्रो भाषा हो । हामीले अङ्ग्रेजी मातृभाषीबाट भाषा सिकेका होइनौँ । त्यसकारण, मानक अङ्ग्रेजी हेरी हामीले बोल्दा शुद्ध सुनिँदैन । तर, हामी आपसमा संवाद गर्नसक्छौँ । आपसमा केही कुरा सिक्न र सिकाउन सक्छौँ । सकेसम्म शुद्ध बोल्ने कोसिस भने छोड्नु हुन्न ।
केही मिनेटको मेरो सानोतिनो मन्तव्यपछि उनीहरू प्रश्न गर्न तम्सिए । उनीहरूले मलाई धेरै थरी प्रश्न गरे । जस्तैः– चीनमा नै किन पढ्न आएको ? नेपालमा विद्यालयहरू कस्ता छन् ? सिछुवानमा बस्दा के कस्ता समस्या आइलागे ? तपाईँको रुचि के के हुन् ? अङ्ग्रेजी भाषा राम्रो बोल्न के सुझाव दिनुहुन्छ ? पढाइ सकेपछि तपाईँका योजना के के छन् ? उनीहरूले सोधेका प्रश्नमध्ये कतिपय त मैले आफैलाई सोध्ने प्रश्नहरू पनि थिए । मैले सक्दो छरितो पाराले उनीहरूलाई जवाफ फर्काएँ ।
उनीहरूका लागि पनि मेरा केही प्रश्न थिए, तिमीहरूलाई चिनियाँ हुनुमा गौरव लाग्छ कि लाग्दैन ? हामीजस्तै तिमीहरू पनि भविष्यमा विदेशमा पढ्न जाने सोच छ कि ? कुन देश जाने इच्छा छ ? तिमीहरूलाई अङ्ग्रेजी भाषा किन सिक्नुपर्छ जस्तो लागेको हो ? आदि ।
केही बेरको संवाद पछि नै उनीहरू खुलिसकेका थिए । एक जना छात्राले सोधिन्, तपाईँको चिनियाँ नाम छ कि छैन ?
मैले भनेँ, छैन नि ।
अर्को छात्रले भने, हामी दिन्छौँ नि त एउटा नाम, हुन्छ ?
मैले खुसी हुँदै भनेँ, पक्कै हुन्छ ।
केही बेर उनीहरूले गम खाए । एकाध नाम उनीहरूमध्येबाटै कसैले भन्थे, अनि उनीहरूमध्येबाटै कसैले हुँदैन हुँदैन भन्थे । त्यहीबिच होची कदकी एक छात्राले भनिन्, स्याओ स्वाई । त्यसको अर्थ हुन्छ, सुहाइलो ठिटो । झन्डै सबैले एकै स्वरमा भने, हो हो त्यो नाम ठीक छ ।
म लाजले भुतुक्क भएँ ।
उनीहरूसँग बस्दै गर्दा मलाई पनि नेपालमा विद्यार्थी हित समितिका विद्यार्थी भाइबहिनीहरूसँग गफिरहेको जस्तो अनुभव भइरहेको थियो ।
xxx
चिनियाँ अभिभावकहरू आफ्ना छोराछोरीलाई अङ्ग्रेजीमा निपुण बनाउन निकै जोड दिन्छन् । धेरै अभिभावक छोराछोरीले सकेसम्म सानै उमेरमा मानक अङ्ग्रेजी सिकून् भन्ने चाहना मात्र राख्दैनन्, बरु त्यसको लागि आफै मिहिनेत पनि गरिरहेका हुन्छन् । आफ्ना छोराछोरीले अङ्ग्रेजी बोलेको सुन्दा आमाबुबा गौरव अनुभव गर्छन्, मख्ख पर्छन् । केही अभिभावकले त चिनियाँ भाषा पढ्न चीन आएका विदेशी विद्यार्थीलाई तलब दिएर आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउने काममा लगाउँछन् । त्यसैले अमेरिकी, बेलायती वा कुनै पनि मानक अङ्ग्रेजी उच्चारण बोल्ने विदेशीलाई चीनमा न्यूनतम आम्दानी गर्न आजभोलि कठिन छैन ।
छङ तु सहरका विभिन्न ठाउँमा हरेक हप्ता इङ्गलिश कर्नर नामको कार्यक्रम हुने गर्छ । फरक फरक ठाउँका इङ्गलिश कर्नरका आआफ्ना विशेषता भए पनि सबैको साझा विशेषता भने त्यस्ता कार्यक्रममा सहभागी सबैले अङ्ग्रेजीमात्र बोल्ने गर्छन् । अनौपचारिकरूपमा हुने इङ्गलिस कर्नरमा अनेक विशेषता, पेसा, पृष्ठभूमिका मानिस आउँछन्, अङ्ग्रेजीमा अनेक विषय र सन्दर्भका कुराकानी गर्छन् । कुनै इङ्गलिस कर्नरमा छलफललाई व्यवस्थित बनाउन निश्चित विषय टुङ्गो लगाइएको हुन्छ । तर, अधिकांशमा भने कुनै निश्चित विषय हुँदैन, स्वतन्त्र विचार मन्थनको शैलीमा त्यस्ता संवाद हुने गर्छन् ।
हरेक शुक्रबार साँझ हुने सिछुवान विश्वविद्यालयको इङ्गलिस कर्नर भने पूर्णतः अनौपचारिक शैलीमा हुन्छ । त्यहाँ कोही पनि संयोजक छैन । कुनै निश्चित विषय पनि तोकिँदैन । स्वतःस्फुर्त हरेक शुक्रबार साँझ मानिसहरू अनेक दिशाबाट विश्वविद्यालय रङ्गशालाको प्राङ्गणमा भेला हुन्छन् र ढिला रातिसम्म पनि गफिँदै बस्छन् । मानिसहरू आउने जाने क्रम पनि चलिरहेकै हुन्छ । पुराना सहभागीहरू आफ्ना अभ्यस्त मित्रजनसँग हप्ता दिनको हालखबरबारे गफिन्छन् । आफूले हालसालै सुनेका वा हेरेका नयाँ कुराबारे साथीहरूलाई सुनाउँछन् । नयाँ सहभागीहरू पनि त्यस्ता गोलाकार बैठकहरूमा मिसिन्छन् । केही बेर धक माने पनि उनीहरूलाई त्यो गोलामा मिसिएर गफिन धेरै बेर लाग्दैन ।
छोराछोरीले अङ्ग्रेजी बोल्न सिकून् भनेर इङ्गलिस कर्नरमा आउने आमाबुबा पनि कम हुँदैन । कतिपय आमाबुबा आफै पनि अङ्ग्रेजी बोल्छन् र संवादमा भाग लिन्छन् भने कतिपय आफू बोल्दैनन् तर छोराछोरीलाई अङ्ग्रेजीमा बोल्न हौस्याउँछन् । त्यसरी त्यहाँ आउने स्कूले केटाकेटीहरू पनि फूर्तिका साथ अङ्ग्रेजी संवादमा भाग लिइरहेका हुन्छन् । तीमध्ये कतिपयले राम्रो अङ्ग्रेजी बोल्छन् । आफ्ना कुरा निकै प्रस्ट अङ्ग्रेजीमा पस्किन कतिपय निपुण भइसकेका छन् । छोराछोरीले अङ्ग्रेजी बोलेको सुनेर आमाबुबा मख्ख पर्छन् । सानो उमेरका केटाकेटीले यसरी फूर्तिका साथ अङ्ग्रेजी बोलेको देखेर कतिपय कलेजका विद्यार्थीहरू भने भुतुक्क हुन्छन् ।
हरेक साताको इङ्गलिस कर्नरमा कोही न कोही विदेशी पनि आइरहेका हुन्छन् । चिनियाँ अनुहारसँग नमिल्ने कोही नयाँ मानिस आउँदा उनीहरूको वरपर माहुरी झुमेजस्तै चिनियाँहरू झुम्छन् र नयाँ देशका नयाँ मानिससँग केही नयाँ कुरा सिक्न उत्सुक हुन्छन् । विशेषतः मानक अङ्ग्रेजी बोल्ने कोही आए त उनलाई आफ्नो परिचय दिन भ्याइनभ्याई हुन्छ । मानक अङ्ग्रेजी बोल्ने कोही आए उसको अलगै इज्जत हुन्छ । त्यही भएर कुनै बेला इङ्गलिस कर्नरमा आएका र धेरै वर्षपछि छङ तु घुम्न आएका विदेशीहरू पनि कम्तीमा एक साँझ इङ्गलिस कर्नरमा आएर आफ्ना पुराना सम्झना नवीकरण गरिरहेका हुन्छन् ।
चिनियाँ विद्यालयमा सानै उमेरदेखि नै अङ्ग्रेजी भाषा पढाइन्छ । तर, अङ्ग्रेजीबाहेक अन्य भाषा भने चिनियाँ भाषामै पढाइन्छ । विश्वविद्यालयमा पनि चिनियाँ भाषामा शोधपत्र लेख्ने, अनुसन्धान गर्ने भएकोले अङ्ग्रेजी भाषाको उति खाँचो पर्दैन । अधिकांश अङ्ग्रेजी भाषाका पुस्तक पनि चिनियाँ भाषामा अनुवाद भइसकेकोले पनि चिनियाँ विद्यार्थीलाई अङ्ग्रेजी सिक्नै पर्ने कुनै बाध्यता छैन । नेपालमा भने उच्च शिक्षाको लागि अङ्ग्रेजी अनिवार्यजस्तै हुने गर्छ किनभने अधिकांश सन्दर्भ सामग्री नेपाली विद्यार्थीले अङ्ग्रेजीमै पढ्नुपर्ने बाध्यता छ ।
सहरी चिनियाँ परिवारको लागि अङ्ग्रेजी भाषा सामाजिक प्रतिष्ठाजस्तै भइसकेको छ । फलानाको छोराछोरीले कति राम्रो अङ्ग्रेजी बोल्छन् भनेर आमाबुबाबिच कुराकानी हुन्छ । अङ्ग्रेजीमात्र जानेर भएन, मानक अङ्ग्रेजी बोल्न जानेको चिनियाँ विद्यार्थीको आत्मविश्वास नै अर्कै तहको हुन्छ ।
मैले भेटेका केही चिनियाँ विद्यार्थीहरू भने आफ्नो अङ्ग्रेजी राम्रो नभएको भन्दै सधैँ दुःखेसो पोख्ने गर्छन् । उनीहरूले चिनियाँ भाषामा राम्रै सङ्ख्यामा शोधपत्रहरू प्रकाशित गरिसकेका छन् । तर, त्यही कुरा अङ्ग्रेजीमा लेख्न नसकेको र अझ प्राज्ञिक सम्मेलनहरूमा अङ्ग्रेजीमा शोधपत्र प्रस्तुत गर्न नसकेको भन्दै दुःख पोख्छन् । सायद त्यस्तै खालको गुनासो अहिले आमाबुबाहरूमा पनि छ । त्यसैले आफूले पूरा गर्न नसकेको सपना आफ्ना सन्तानबाट पूरा गर्न उनीहरू अनेक गरेर पनि छोराछोरीलाई अङ्ग्र्रेजीमा दख्खल भएको हेर्न चाहन्छन् ।
xxx
नेच्याङका विद्यार्थीहरूसँग संवादका लागि निर्धारित दुई घण्टा कतिबेला सकियो, पत्तै भएन । अझ कति कुरा गर्न बाँकी नै थियो । उनीहरूसँग अझ पनि धेरै पुरक प्रश्न बाँकी नै थिए । उनीहरूलाई चीनप्रति नेपालीहरू के सोच्छन्, नयाँ चीनले कसरी नेपाललाई पनि धेरै कुरा सिकायो भन्ने कुरा सुनाउन बाँकी नै थियो । अनि कसरी हामीले उनीहरूजस्तै कलिलो उमेरमै चम्किला रातो तारा उपन्यास पढेका थियौँ, युवाहरूको गीतबारे छलफल गरेका थियौँ र पहेँलो नदीको दुःखु चलचित्र हेरेका थियौँ भन्ने कथा सुनाउन बाँकी नै थियो । तर, दुई घण्टामा पनि हामीले धेरै कुरा गर्यौँ । मैले नेपालका विद्यार्थीहरूका कथाहरू सुनाएँ । अनि एउटा अङ्ग्रेजी गीत गाउँदै हामीले विद्यालय एक फन्का मार्यौँ । सेल्फी खिच्दै बिदाबारी भयौँ ।
अरु सबै समूहमा पनि त्यसरी नै विद्यार्थीहरूले आपसमा अनेक विषयमा कुराकानी सकाए । केही बेर हामी विद्यालयका विद्यार्थीका निम्ति स्टार कलाकारजस्तै भयौँ । सबै हामीसँग फोटो खिच्न, नाम लेखी माग्न आउँदा हाम्रो खुसीको सिमाना रहेन ।
निर्धारित कार्यक्रम सकाएर विद्यालयबाट निस्कँदै गर्दा केही विद्यार्थीहरू अझै हामीसँग कुरा गर्न नपुगेजस्तो गरी परबाट बिदाको हात हल्लाइरहेका थिए ।
Leave a Reply