भर्खरै :

‘प्रतिनिधिसभामा का. रोहित’ पुस्तक अध्ययन योग्य

‘प्रतिनिधिसभामा का. रोहित’ पुस्तक अध्ययन योग्य

‘प्रतिनिधिसभामा कामरेड रोहित’ युवा अध्ययन गोष्ठी, काठमाडौँले २०४८ माघ ४ मा प्रकाशित गरेको पुस्तक हो । उक्त पुस्तकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेँ (का. रोहित) ले प्रतिनिधिसभाको पहिलो अधिवेशनमा व्यक्त गर्नुभएका अभिव्यक्तिहरू सङ्कलन गरिएका छन् ।
२०४६ सालमा सम्पन्न राष्ट्रिय जनआन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापना भएपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन २०४८ असार ६ गते प्रारम्भ भई २०४८ असोज १३ गते अन्त्य भएको थियो ।
उक्त अवधिमा अध्यक्ष एवम् सांसद बिजुक्छेँले देश र जनताको हितमा अभिव्यक्त गर्नुभएका विचार र दृष्टिकोणको सँगालो हो यो पुस्तक ।
नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि लिँदै आएको नीतिलाई थप प्रस्ट्याउँदै अघि बढ्ने क्रममा निरङ्कुश पञ्चायती व्यवस्थाको क्रान्तिकारी उपयोग, वर्गशत्रुलाई उदाङ््ग्याउने ठम्याइ सही भएको तथ्य प्रजातन्त्रको पुनःस्थापनापछि पनि झन् स्पष्ट भएको अनुभव हुन्छ ।
शोषकवर्गका प्रतिनिधिहरूको बहुमत भएको पुँजीवादी संसद्मा कामदारवर्गको हितमा खबरदारी गर्ने कार्य ‘क्रान्तिकारी संसद्वाद’ को असल अभ्यास अध्यक्ष रोहितको नेतृत्वमा सम्पन्न भएको दृष्टान्त हो यो ।
यस पुस्तकको अध्ययनले ज्ञानको क्षितिज फराकिलो मात्र हुने नभई सङ्घर्षशील भावनामा आयाम थपिने छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेँले संसद्को बैठकमा भाग लिँदै अत्यन्त सान्दर्भिक, गहकिला विचार र दूरगामी दृष्टिकोणहरू प्रस्तुत गर्नुभएबाट यो पुस्तक पाठकको अध्ययनको लागि रुचिकर बनेको छ ।
२०४८ असारमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै नेमकिपाका अध्यक्ष एवं सांसद बिजुक्छेँले नेपाली काङ्ग्रेसको अस्पष्ट समाजवाद र आकार नभएको भन्दै कार्यक्रममाथि टिप्पणी गर्नुभएको थियो ।
वैचारिक दरिद्रताबाट गुज्रिएको कार्यक्रम र नोकरशाही पुँजीवाद हाबी भएको कार्यक्रममा सानातिना मौलिक त्रुटीहरू जकडिएको कार्यक्रम भएको औँल्याउँदै उहाँले सम्पूर्ण रूपले नयाँ कार्यक्रम ल्याउनुपर्दछ भन्नुभएको थियो ।
कार्यक्रममा भाग लिँदै उहाँले थप्नुभएको थियो, “हामीसँग दुईवटा स्रोत छ तीमध्ये एउटा हो प्राकृतिक स्रोत र अर्को हो मानवीय स्रोत । प्राकृतिक स्रोतमा नदीनाला पर्छन् । कोसी र गण्डक अब हाम्रो कब्जामा छैन । त्यसरी नै मानवीय स्रोतहरूमा हामी आफै मानिसहरू हौँ । स्वदेशमै रोजगारीको बन्दोबस्तको कार्यक्रम नभएकोले हाम्रा थुप्रै युवाहरू बिदेसिनुपर्ने बाध्यता छ । जसको परिणामस्वरूप मानवीय स्रोत पनि हाम्रो कब्जामा छैन । तसर्थ, यस कार्यक्रमलाई पूर्णरूपले फिर्ता पठाउनुपर्दछ र नयाँ कार्यक्रम ल्याउनुपर्दछ ।”
आ.व. २०४८/४९ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटबारे छलफलमा भाग लिँदै उहाँले पञ्चायत र काङ्ग्रेस एउटा सिक्काको दुईपाटा खुकुरी र त्रिसुलजस्तै भएको, कृषिमा झाराटार्ने ढङ्गले रकम विनियोजन गरिएको, त्यस्तै यातायातलाई सा¥है ध्यान नदिइएको, अनुत्पादक क्षेत्रमा खर्च भयावह गरेको, यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराखिएको र भ्रष्टाचारबारे बजेट मौन रहेको अवस्था किमार्थ राम्रो होइन भन्नुभएको थियो ।
उहाँले अगाडि भन्नुभयो, “गाउँ क्षेत्र भन्नु कृषि क्षेत्र हो । कृषि क्षेत्रमा अपेक्षित लगानी देखिँदैन† प्रहरीमा बजेट बढाउनु जनतालाई दबाउनु त होइन ? यसरी छलफलमा भाग लिंँदै अत्यन्त गहकिलो ढङ्गले पार्टीको दृष्टिकोण राख्नुभएको थियो । यसले पार्टीको महिमा थप उजिल्याएको अनुभव हुन्छ ।”
विनियोजन विधेयक २०४८ अन्तर्गत अर्थ मन्त्रालयबारे भएको छलफलमा भाग लिँदै सांसद बिजुक्छेँले धेरै करले खुसी हुन नहुने, भन्सारमा गएपछि मालामाल हुन्छ भन्ने संस्कार देशको हितमा नभएको, बजेट राष्ट्रिय योजना आयोगसँग कुनै सरसल्लाह नगरी ल्याइएको जस्तो देखिने उल्लेख गर्नुभयो । उहाँले भन्सारबाट आउने राजस्वको आधा भाग पनि राष्ट्रिय ढुकुटीमा जान नसक्नुको मूल कारण भन्सारमा व्यापक भ्रष्टाचार भएको धारणा राख्दै भन्सारमा काम गर्ने कर्मचारीको सम्पत्ति जाँचबुझ गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्वास्थ्य मन्त्रालयबारे भएको छलफलमा अध्यक्ष एवम् सांसद बिजुक्छेँले स्वास्थ्य क्षेत्रमा समयानुकूल सुधार नभएको धारणा राख्दै रोगीहरूका निम्ति मात्र बाँच्ने डाक्टर नर्मन बेथुन, डाक्टर कोटनिस र डाक्टर चे ग्वेभाराले निर्वाह गर्नुभएको समर्पणको भावनालाई नेपाली डाक्टरहरूको निम्ति प्रेरणाको स्रोत बन्ने वातावरण निर्माण गर्न सक्नु राम्रो हुने दृष्टान्त प्रस्तुत गर्दै उहाँले नेपाली डाक्टरहरूले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्नुभएको थियो ।
छलफलमा उहाँले “काठमाडौँमात्र नेपाल होइन । कर्मचारीको स्वास्थ्य बीमाको प्रयोग न्यायोचित हुनुपर्ने, गाउँ–सहरको भेद हटाउने समाजवादी सिद्धान्त लागु गर्नुपर्ने, स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने धारणा राख्दै देशमा क्यान्सर अस्पतालको स्थापना आवश्यक भएको विचार राख्नुभयो । उहाँले भन्नुभयो, भक्तपुर क्यान्सर अस्पतालको स्तरोन्नतितर्फ उचित ध्यान पु¥याउनुपर्छ, राम्रा र सबै दक्ष डाक्टरहरू सबै काठमाडौँमा मात्र केन्द्रित भएकोले दुर्गम क्षेत्रहरूमा सरुवा गर्नुपर्छ, दुर्गम क्षेत्रहरूमा कार्यरत डाक्टरहरूलाई पदोन्नतिको मौका दिनुपर्छ, यी यावत् कामहरू गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आवश्यक छ ।”
उहाँले उद्योग मन्त्रालयबारे भएको छलफलमा भाग लिँदै हाम्रो देशमा औद्योगिक प्रगतिको राम्रो सम्भावना रहेको उद्योगलाई भित्री मधेसतिर लैजानुपर्ने र हाम्रो देशको अवस्था ‘सुनमाथि बसेको गरिब’ झैँ भएकोले खनिज उद्योगतर्फ ध्यान दिनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
भुमिसुधार मन्त्रालयबारे भएको छलफलमा भाग लिँदै सांसद बिजुक्छेँले बिनाआन्दोलन हदबन्दी नहुने, ज्यान दिने तर जग्गा नदिने चीनको उदाहरण प्रस्तुत गर्दै जग्गाको मूल्यको आधारमा हदबन्दी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
पुनः नापीको आवश्यकता रहेको, हदबन्दीभन्दा बढी जमिन सरकारले अधिग्रहण गरेर उद्योगधन्दाको विकास गर्नुपर्ने र मालपोत कार्यालय भ्रष्टाचारको अखडा बनेको प्रसङ्ग जोड्दै नियमनको खाँचो औँल्याउनुभएको थियो ।
शिक्षा, संस्कृति र पर्यटन मन्त्रालयबारे भएको छलफलमा भाग लिँदै अध्यक्ष रोहितले कलात्मक वस्तु चोरिनुबाट कसरी सुरक्षित गर्ने, दुर्लभ जन्तु हुचिलको संरक्षण गर्नुपर्ने, शिक्षा क्षेत्रमा पनि वर्गीय भेद हुनु राम्रो नभएको, प्राज्ञिक निष्ठा घट्नु चिन्ताको विषय भएको र विश्वविद्यालयको स्वायत्ततालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने, छात्रहरूले बिचैमा विद्यालय छोड्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने, छात्राहरूलाई विशेष सहुलियतको बन्दोबस्त मिलाउनुपर्ने, अनौपचारिक शिक्षामा जोड दिनुपर्ने र ज्यामीलाई कापी जाँच्न दिन नहुनेजस्ता विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।
जलस्रोत र सञ्चार मन्त्रालयबारे भएको छलफलमा भाग लिँदै उहाँले हाम्रो देशको हालत ‘सुनको पहाडमाथि बस्ने गरिब’ जस्तै बनेको, ऊर्जाको अभावमा रूख काट्नुपर्ने बाध्यता हटाउनुपर्ने, वैकल्पिक ऊर्जाको विकास गर्नुपर्ने, कृषिमा सिँचाइको महत्व शरीरमा रगतको जस्तै हुने लगायतका अत्यन्त सान्दर्भिक विषयमा संसद्को बैठकमा रचनात्मक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, विनियोजन विधेयक २०४८ अन्तर्गत मन्त्रिपरिषद् सचिवालय, रक्षा, परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग सचिवालयबारे भएको छलफलमा भाग लिँदै नेमकिपाका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेँले आक्रामक शक्ति बिलाउँदै गएको, अब भिडन्त पुँजीवादी देशहरूकै बिचमा हुने, हतियारमा भन्दा जनताको मनोबलमा ध्यान दिनुपर्ने, सेनाको पाठ्यपुस्तक नै गलत भएको, ठेकेदारहरूसँग मिलेर देशको सेवा गर्नेलाई कमसल खाना दिने गरेको र राष्ट्रिय योजना आयोग काङ्ग्रेसी भर्ना गर्ने ठाउँ नबनोस् भन्ने दूरगामी महत्वका गहकिला सुझावहरू पेस गर्नुभएको थियो ।
यसैगरी, प्रेस काउन्सिल विधेयक २०४८ माथिको छलफलमा भाग लिँदै सांसद एवं अध्यक्ष रोहितले भन्नुभयो, हरेक सरकारले आफ्नो सत्ता शक्तिलाई टिकाइराख्न दुईवटा पल्टन राख्ने गर्छ, एउटा हो – सेना र प्रहरी – शस्त्र पल्टन र अर्को हो – प्रेस काउन्सिल कलमको पल्टन ।
राम्रो वा नराम्रोको मतलब नराखी प्रेस काउन्सिल सिधै सरकारको रक्षा कवच बन्ने गरेका, संसद्बाट दुईजना प्रतिनिधि प्रेस काउन्सिलमा पठाउँदा घुमाइफिराइ दुई पार्टी डिक्टेटरसीप (दुई पार्टी तानाशाही) अन्तर्गत प्रतिनिधि पठाउनु राम्रो नभएको चर्चा गर्नुभएको थियो ।
२०४८ भदौमा सार्वजनिक महत्वको प्रस्तावमा ‘शान्ति सुरक्षाको अभाव’ बारे भएको छलफलमा भाग लिँदै अध्यक्ष रोहितले एक प्रसङ्गमा प्रहरी नै चोर हो र डी.एस.पी. कार्यालय अपराध केन्द्रको रूपमा दर्ज भएको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै भन्नुभएको थियो ।
नागरिकतासम्बन्धी समस्याबारे भएको छलफलमा भाग लिँदै अध्यक्ष रोहितले नागरिकले नागरिकताको प्रमाण–पत्र पाउनुपर्छ, मजदुरवर्गको कुनै देश हुँदैन र नागरिकतामा कञ्जुस्याइँ र पक्षपात उचित छैन भन्ने अत्यन्त सान्दर्भिक तर्क प्रस्तुत गर्नुभएको थियो । एवम् प्रकारले तत्कालीन परिस्थितिमा जल्दाबल्दा एवं समसामयिक विषयमा पार्टीको दृष्टिकोणलाई छर्लङ्गै हुने गरी संसद्को बैठकमा भाग लिने कार्य ऐतिहासिक महत्वको विषय हो । यस पुस्तकको गहन अध्ययनबाट तत्कालीन परिस्थितिबारे जानकारी हुनुको साथै नेपाल मजदुर किसान पार्टीले देश र जनताप्रतिको दायित्व पूरा गरेको कुरामा दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *