भर्खरै :

लेनिनका सम्झनाहरू – २

लेनिनका सम्झनाहरू – २

“निःसन्देह यो दर्शकहरूका निम्ति मात्र हो, वास्तवमा उनीहरू पनि छिटो काम गर्न सक्तैनन्,” इल्यीचले भन्नुभयो । “तर, स्पष्ट छ, उनीहरू त्यहाँ पनि बञ्चरो नै चलाउँछन्, अनगिन्ती रुखहरू काम न काजका टुक्रामा परिवर्तित गर्दछन् । देख्नुभयो, सभ्य अङ्ग्रेजहरूको चाल !”
उहाँले पुँजीवादी पद्धतिमा उत्पादनको कुव्यवस्थाबारे, विनसित्ति खर्च गरिने कच्चा पदार्थको ठुलो भागबारे बताउन थाल्नुभयो र दुःख प्रकट गर्दै के भन्नुभयो भने आजसम्म यस विषयमा किताब लेख्ने अक्किल कसैलाई पनि आएन । यस भनाइमा केही कुरा मेरा लागि अस्पष्ट थियो, तर भ्लादीमिर इल्यीचलाई सोध्न भ्याइनँ, उहाँले ‘लवार–पाँडे–कला’ एक विशेष प्रकारको नाट्यकलाबारे चाखलाग्दो वर्णन गर्न थालिसक्नुभएको थियो ।
“यहाँ हामी आम मान्यताप्रति एक किसिमको व्यङ्ग्य अथवा सन्देहात्मक दृष्टिकोण फेला पार्दछौँ, उसलाई उदाङ्ग पारेर देखाउने, सामान्य चलन–प्रचलनको बेकायदालाई अलिकति बङ्ग्याएर प्रस्तुत गर्ने चेष्टा गरिएको हामी पाउँदछौँ । रनभुल्ल, तर चाखलाग्दो ।”
झन्डै दुई वर्षपछि काप्रीमा अ.अ. बोग्दानोभ–मालिनोभ्स्कीसँग कल्पनावादी उपन्यासबारे कुरा गर्दै उहाँले भन्नुभयो :
“पुँजीवादी हिंस्रकहरूले कसरी जमिनमा डकैती गरे भन्नेबारे, सबै तेल, फलाम, वनजङ्गल, कोइला कसरी सखाप पारे भन्नेबारे मजदुरका लागि एउटा किताब लेखिदिनुस् न, तपाईँ । माखवादी ? महोदय, यो अति उपयोगी पुस्तक हुने थियो ।”
लण्डनमा बिदा हुँदा उहाँले आराम गर्न अवश्य पनि काप्री आउने कुरा मलाई बताउनुभयो ।
तर, उहाँ आइपुग्नु अगावै उहाँलाई पेरिसमा विद्यार्थीको जस्तो कोठामा भेटेँ । यस कोठाको लम्बाइ–चौडाइले मात्र छात्रावासको सम्झना गराउँदथ्यो, तर सफासुग्घर सजावटले हैन । चिया दिएर नादेज्दा कोन्स्तान्तीनोभ्ना कुन्नि कता हो निस्कनुभयो, कोठामा हामी दुई जना मात्र थियौँ । त्यसबेला ‘जानिये’ प्रकाशनगृहको स्थिति दयनीय थियो, म भ्लादीमिर इल्यीचसँग नयाँ प्रकाशनगृहको स्थापनाबारे कुरा गर्न आएको थिएँ, यसका वरिपरि हाम्रा धेरैजसो साहित्यकारहरू एकगठ हुन सक्ने थिए । प्रकाशनगृहको सम्पादन कार्यमा, परदेशमा, मैले भ्लादीमिर इल्यीच, भा. भा. भोरोभ्स्की र अर्को एक जनाको नाम प्रस्तावित गरे, रुसमा उनीहरूको प्रतिनिधित्व भ.अ. देस्नीत्स्कीस्त्रोएभले गर्ने थिए ।
मलाई के लागेको थियो भने पश्चिमा साहित्य र रुसी साहित्यको इतिहासबारे, संस्कृतिको इतिहासबारे यस्ता किताबहरू तयार गर्नु जरुरी छ जसले मजदुरहरूसम्म स्वशिक्षा र प्रचारका निम्ति गठिला राम्रा तथ्यहरू पु¥याउन सकून् ।
तर, भ्लादीमिर इल्यीचले यो योजना भताभुङ्ग पारिदिनुभयो । उहाँले जाँचकी (सेन्सर) को उल्लेख गर्नुभयो, यस कामका लागि आफ्ना मानिसहरू सङ्गठित गर्नु गा¥हो छु, धेरैजसो मानिसहरू पार्टीको व्यावहारिक काममा लागेका छन्, लेख्नका लागि उनीहरूलाई फुर्सदै छैन भन्नुभयो । तर, सबभन्दा मुख्य र मेरो चित्त बुझेको कारण करिब यसप्रकार थियो ः मोटा ठेलीको समय छैन, मोटामोटा पुस्तक बुद्धिजीवीहरू चाट्दछन्, जस्तो तपाईँ देखिरहनुभएको छ । उनीहरू समाजवादबाट पछि हटी उदारवादतिर लाग्दै छन् र उनले रोजेको बाटोबाट हामी उनलाई मोड्न सक्दैनौँ । हामीलाई अखबारको, पुस्तिकाहरूको जरुरत छ, ‘ज्नानिये’ प्रकाशनका पुस्तिकाहरू पुनः निकाल्न सुरु गरेमा बेस हुने थियो, तर यो काम सेन्सरको कारणले गर्दा रुसमा र यातायातको असुविधाले गर्दा यहाँ सम्भव छैन । हजारौँ–लाखौँ प्रति पर्चाहरू जनसमुदायका बिच फैलाउनु जरुरी छ, तर यत्रो थुप्रो रास गोप्य तरिकाले कसरी त्यहाँसम्म पु¥याउने । राम्रा दिन नउदाउँदासम्म प्रकाशनगृहका लागि पर्खनु नै प¥यो ।
सधैँ अन्तर्निहित अद्भूत तत्परता तथा स्पष्टतासाथ उहाँ द्युमाबारे, ‘अक्टुबरे हुन लाज मान्ने’ कादेतहरूबारे, “उनीहरूका सामु एक मात्र बाटो दायाँतिर छ” भन्नेबारे बताउन थाल्नुभयो, अनि युद्ध नजिकिँदै छ, “एउटा मात्रै हैन, सम्भवतः कैयौँ युद्धहरू” नजिकिँंदै छन् भन्ने कुरा साबित गर्न थाल्नुभयो । उहाँको यो भविष्यदर्शन छिट्टै नै बाल्कानमा साँचो सिद्ध भयो ।
लेनिन उभिनुभयो, आफ्नैपनाले हातका औँलाहरू काखीमुनि इस्टकोटभित्र घुसार्नुभयो र आँखा झिम्झिमाउँदै तथा चम्काउँदै साँगुरो कोठामा सुस्तसुस्त हिँड्डुल गर्न थाल्नुभयो ।
“युद्ध हुनेछ । अवश्यम्भावी छ । पुँजीवादी संसार गन्हाउँदो गोलमाल स्थितिमा पुगिसकेको छ, अहिले नै मानिसहरू मपाईँवाद र राष्ट्रवादको विषले विषाक्त हुन थालिसकेका छन् । मेरो विचारमा हामीले अझै अखिल युरोपली युद्ध देख्नुपर्नेछ । सर्वहारा ? रक्तपात रोक्न सर्वहारावर्ग सायदै समर्थ होला । कसरी यो सम्भव हुनसक्छ ? मजदुरहरूको युरोपव्यापी हडतालले ? यसका निम्ति उनीहरू पर्याप्त मात्रामा सङ्गठित र सजग छैनन् । यस्तो हडतालको अर्थ हुन्थ्यो, गृहयुद्धको थालनी; हामी, यथार्थवादी राजनीतिज्ञहरू यस्तो आशा गर्न सक्दैनौँ ।”
रोकिएर, जुत्ताको तलुवा भुइँमा घसार्दै दिक्दारीसाथ उहाँले भन्नुभयो :
“सर्वहारावर्गमाथि निःसन्देह भयङ्कर चोट पर्नेछ, हाल यस्तै उसको भाग्य छ । तर, उसका शत्रुहरूले पनि एकअर्कालाई कमजोर पार्नेछन् । यो पनि अवश्यम्भावी छ ।”
अनि मेरो नगिचै आएर आश्चर्य लागेको जसरी, निकै बलपूर्वक तर सुस्तरी भन्नुभयो :
“हैन, तपाईँ भन्नुहोस् त– केको निम्ति डम्ब डकारेकाहरू भोकानाङ्गाहरूलाई एक–अर्काका विरुद्ध युद्धमा लखेट्छन् ? के योभन्दा बढी बहुलट्टी र घृणित अपराध अरू कुनै हुनसक्छ ? मजदुरहरूले यसमा भयङ्कर कष्ट सहनुपर्ने छ तर अन्ततोगत्वा जीत उनकै हुनेछ । यो इतिहासको हुकुम हो ।”
उहाँ इतिहासबारे प्रायः कुरा गरिराख्नुहुन्थ्यो तर उहाँको भनाइमा मैले कहिल्यै पनि यसको हुकुम र बलअगाडि अन्धभक्त बनी टाउको निहु¥याइएको देखिनँ ।
बोल्दाबोल्दै उहाँ उत्तेजित हुनुभयो, टेबुलनेर बसेर निधारको पसिना पुछ्नुभयो, एक घुटको चिसो चिया खानुभयो र अचानक सोध्नुभयो :
“अमेरिकामा तपाईँको यो कस्तो बदख्वाइँ भएको ? के भयो भन्ने कुरा अखबारबाट थाहा पाएँ, तर किन यसो भयो ?”
मैले आफूसँग घटेका कुराहरू छोटकरीमा उहाँलाई सुनाएँ । भ्लादीमिर इल्यीचजस्तो सरूवा हाँसो हाँस्ने मानिस मैले आजसम्म देखेको छैन । अचम्म पनि लागेर आउँथ्यो, महान् सामाजिक सङ्कटहरूको अवश्यम्भावितालाई राम्रोसँग बुझ्ने, गहिरोसँग जान्ने, पुँजीवादी संसारको कट्टरविरोधी, त्यसलाई हुनसम्म घृणा गर्ने यस्तो कडा यथार्थवादी मानिस पनि यसरी आँसु आउँदासम्म, पेट दुख्दासम्म केटाकेटीझै हाँस्न सक्दारहेछन् । यसरी हाँस्ने क्षमताका लागि ठुलो, बलियो आन्तरिक आरोग्यता जरुरी हुन जान्छ ।
“उफ् ! तपाईँ त व्यङ्ग्यकार नै हो !” – बेसरी हाँस्दाहाँस्दै उहाँले भन्नुभयो, “अड्कलै गरेको थिइनँ । उपद्रव नै यो कस्तो हाँसो लाग्दो …”
अनि हाँसोका आँसु पुछ्दै गम्भीरतापूर्वक, रमाइलो, मृदु मुस्कानसाथ उहाँले भन्नुभयो, “राम्रो हो, तपाईँ असफलताहरूलाई व्यङ्ग्यको दृष्टिले हेर्नसक्नुहुन्छ । व्यङग्य–अति राम्रो, औधि स्वस्थकर गुण हो । व्यङ्ग्य म निकै बुझ्छु तर यसमा पोख्त छैन । अनि जीवनमा हाँसोलाग्दा कुरा दुःखलाग्दाभन्दा कम छैनन्, साँच्चिकै कम छैनन् ।”
पर्सिपल्ट फेरि उहाँकहाँ गई कुराकानी गर्ने पक्का ग¥यौँ, तर मौसम खराब थियो । उसै दिन साँझ म निकै रगत खोक्न थालेँ र भोलिपल्ट त्यहाँबाट हिँडी पनि हालेँ ।
उहाँमा एक किसिमको यस्तो चुम्बकत्व थियो जसले कामदार मानिसहरूका सहानुभूति र हृदय उहाँतिर तान्दथ्यो । उहाँ इटालियाली बोल्नुहुन्नथ्यो, तर शाल्यापिन र अरू कैयौँ ठुलठुला रुसी मानिसहरूलाई देखेका काप्रीका माझीहरू कुन आन्तरिक ज्ञानले हो कुन्नि लेनिनलाई विशेष महत्व दिन पुगे । उहाँको हँसाइ बडो आकर्षक थियो – यो त्यस्तो मानिसको निष्कपट हाँसो थियो जो मानिसहरूको मुख्र्याइँको बेढङ्गीपना र बुद्धिको नटुवा धूर्ततालाई अति राम्रोसँग बुझ्न जानेर ‘साधारण हृदयका’ मानिसहरूको केट्यौलो अबोधपनलाई रमाइलो आँखाले हेर्न सक्दछ ।
बुढा माझी जिओभान्नी स्पादारोले उहाँबारे कुरा गर्दै एकपटक भने : “इमानदार मानिस मात्र यसरी हाँस्न सक्दछ ।”
डुङ्गा चढेर आकाशजस्तो पारदर्शक र नीलो छालमा हल्लिँदै लेनिन ‘औँलाले’ माछा मार्न सिकिराख्नुभएको थियो : ‘औँलाले’, अर्थात् बल्छीबिना, डोरीको सहायताले मात्र । माझीहरूले उहाँलाई के प्रस्ट गरे भने औँलाले डोरी हल्लिएको अनुभव गर्नासाथ बल्झाउनुपर्छ :
“कोजी : द्रिन–द्रिन । कापिश ?”
उहाँले उत्निखेरै माछा बल्झाउनुभयो, तान्नुभयो, केटाकेटीको झैँ खुसीले कराउनुभयो, सिकारीझैँ जोशिलो स्वरमा चिच्याउनुभयो :
“हँ–हँ ! द्रिन–द्रिन !”
माझीहरू पनि कानै खाने गरी जोडसँग केटाकेटीझैँ हाँस्न थाले र यस माझीको नामकरण गरे :
“सिन्योर द्रिन–द्रिन”
उहाँले त्यहाँबाट प्रस्थान गर्नुभयो तर उनीहरू सोधिराख्थे :
“सिन्योर द्रिन–द्रिनलाई कस्तो छ ? जारले उनलाई पक्रने त छैन, छैन ?”
… १९१९ को भीषण भोकमरीको सालमा साथीहरूले, गाउँका किसान र सिपाहीहरूले उहाँलाई पठाएका खानेकुरा खान पनि उहाँ लाज मान्नुहुन्थ्यो । उहाँको अडभङ्गे कोठामा उपहारहरू पु¥याइँदा उहाँ निधार खुम्च्याउनुहुन्थ्यो, अनकनाउनुहुन्थ्यो र रोगी वा खाना नपुगेर कमजोर भएका साथीहरूलाई पिठो, चिनी, तेल बाँड्न हतारिनुहुन्थ्यो । मलाई खाना खान बोलाउँदै उहाँले भन्नुभयो :
“सुकाएको माछा छ – आस्त्राखानबाट पठाएका ।”
अनि सोक्रेटसको जस्तो ठुलो निधार खुम्च्याउँदै सर्वद्रष्टा आँखालाई एकातिर तान्दै भन्नुभयो :
“पठाउँछन्, साहेब नै हुँ जस्तै । कसरी यसबाट बच्ने ? अस्वीकार गरौँ, न लिऊँ – पिर मान्नेछन् । यता चारैतिर भोकमरी छ ।”
रक्सी, चुरोट–तमाखु खाने बानी नभएका, लत नरुचाउने लेनिन बिहानदेखि साँझसम्म जटिल एवम् कठिन काममा व्यस्त हुनुहुन्थ्यो र आफ्नो हेरचाह गर्न पटक्कै जान्नुहुन्थ्यो । तर, साथीहरूको भने ध्यानपूर्वक हेरविचार गर्नुहुन्थ्यो । आफ्नो कक्षमा टेबुलनेर बस्नुहुन्थ्यो, छिटोछिटो लेख्नुहुन्थ्यो र कलम नरोकेरै भन्नुहुन्थ्यो :
“नमस्ते, सञ्चै ? एकैछिन, सिध्याइहालेँ । एउटा साथी गाउँमा दिक्क भइसकेछन्, थाके क्यार । मद्दत गर्नुपर्यो । मनस्थिति भनेको कम महत्वको कुरा होइन ।”
एकपटकको कुरा हो, म मस्कोमा उहाँकहाँ पुगेँ । उहाँले सोध्नुभयो :
“खाना खानुभयो ?”
“खाएँ ।”
“कुरा बनाएको त होइन ?”
“साक्षी छन्, क्रेमलिन भोजनालयमा खाएको हुँ ।”
“त्यहाँ चौपट्टै नराम्रो पकाउँछन् भन्ने सुनेको छु ।”
“चौपट्टै त हैन, तर राम्रो पकाउन सक्नुपर्ने हो ।”
उहाँले तुरुन्तै सोध्नुभयो, किन नराम्रो भयो, कसरी राम्रो पार्ने ? अनि रिसाउँदै गुनगुनाउन थाल्नुभयो :
“के हो यो, जान्ने भान्से खोज्न सक्दैनन् ? मानिसहरू मुर्छा पर्दासम्म काम गर्छन्, उनीहरूलाई स्वादिष्ट भोजन खुवाउनुपर्छ । अनि पो धेरै खान सक्दछन् । मलाई थाहा छ, खाद्यपदार्थको कमी छ र चीजबीज राम्रा छैनन् – त्यसैले अझ पोख्त भान्से चाहिन्छ ।” अनि खानामा एवम् पाचनक्रियामा राम्रा मसलाहरूको महत्वबारे एक जना स्वच्छताविशारद हाइजेनिस्टको विचार उद्धृत गर्नुभयो ।
मैले सोधेँ :
“तपाईँ यस्तो विषयबारे पनि सोच्न कसरी भ्याउनुहुन्छ ?”
उहाँले प्रश्नै अगाडि सारिदिनुभयो :
“सन्तुलित भोजनबारे ?”
यसरी आफ्नो भनाइबारे के प्रस्टयाइदिनुभयो भने मेरो प्रश्न युक्तिसङ्गत छैन । मेरा पुराना परिचित, सोर्मोभवासी कोमल हृदयका मानिस पे. आ. स्कोरोखोदोभले चेका (सुरक्षा विभाग) मा काम निकै मुस्किलको छ भनी गुनासो गरे । मैले उनलाई भनेँ :
“मलाई के लाग्छ भने यो तिमीलाई सुहाउँदो, तिम्रो स्वभाव सुहाउँदो काम भएन ।”
उनले दिक्दार साथ यो कुरा माने :
“एकदम स्वभाव नमिल्दो काम ।”
तर, अलिकति सोचेर भने :
“तर, इल्यीचलाई पनि त प्रायः आफ्ना हृदयका पखेटा समातिराख्न पर्दो होला भन्ने सोचेर आफ्नो कमजोरीमा आफैलाई लाज लागेर आउँछ ।”
मैले धेरै मजदुरहरूलाई चिनेको थिएँ र चिनेको छु, जसलाई आफ्नो कार्यको विजयका लागि दाँत किटेर ‘हृदयका पखेटा समात्नु’ आफ्नो निजी ‘सामाजिक आदर्शवाद’ लाई बलजफ्ती दबाउनुपर्दथ्यो र परिरहेको छ ।
के लेनिनलाई पनि ‘हृदयको पखेटा समात्नु’ पर्दथ्यो ?
उहाँले आफूमा एकदम कम ध्यान दिनुहुन्थ्यो, अनि कहाँबाट आफूबारे अरूसँग कुरा गर्ने । उहाँ आफ्नो हृदयको आँधी–बेहरीबारे केही नभनी चुप लाग्न असाध्यै जान्नुहुन्थ्यो । तर, एकपटक गोर्कीमा कसैका केटाकेटीलाई मुसार्दै भन्नुभएको थियो :
“यिनीहरूको जीवन हामीहरूको भन्दा राम्रो हुनेछ, हामीले खप्नुपरेका धेरै कुरा यिनीहरूले सहनुपर्ने छैनन् । यिनीहरूको जीवन कम कठोर हुनेछ ।”
अनि टाढा पहाडतिर, जहाँ गाउँ जमेर बसेको थियो, हेरेर भावमग्न हुँदै थप्नुभयो,
“तैपनि, उनीहरूलाई देखेर म लोभाउँदैन । हाम्रो पुस्ताले अद्भूत ऐतिहासिक महत्वको काम पूरा गर्न सकेको छ । परिस्थितिले बाध्य गराएको हाम्रो जीवनको कठोरता बुझिनेछ र अनिवार्य प्रमाणित गरिनेछ । सब बुझिनेछ, सब !”
केटाकेटीहरूलाई उहाँ सावधानीसाथ, कसोकसो बडो सुस्त र होसियारीसाथ मुसार्नुहुन्थ्यो ।
एकपटक उहाँकहाँ गएको बेला टेबुलमा ‘युद्ध र शान्ति’ को ठेली देखेँ ।
“हो, तोल्सतोइ ! सिकार खेलेको चित्रण पढ्न मन लागेर आयो, तर साथीलाई चिठी लेख्नुछ भन्ने झ्वाट्ट सम्झेँ । पढ्नका लागि एकदमै समय पुग्दैन । आज राति मात्र तोल्सतोइबारे तपाईँको किताब पढ्न भ्याएँ ।”
मुसमुसाउँदै, आँखा झिम्झिमाएर उहाँ आनन्दसाथ आरामकुर्सीमा तानिनुभयो र धीमा स्वरमा भन्दै जानुभयो :
“कस्तो धुरन्धर, हँ ? कस्तो खग्गु मानिस । यस्ता पो हुन् गुरु कलाकार… अँ, थाहा छ, अझ आश्चर्य केमा छ ? यी साहेबभन्दा पहिले साहित्यमा साँचो खेतालो नै थिएन ।”
अनि खुम्च्याइएका आँखा मतिर फर्काउँदै सोध्नुभयो :
“युरोपमा कल्लाई उनको छेउमा राख्न सकिन्छ ?”
आफैँ उत्तर दिनुभयो :
“कसैलाई पनि सकिन्न ।”
र हात मुसार्दै सन्तोषसाथ हाँस्नुभयो ।

क्रमशः
स्रोत : हुरी चराको गीत र अरु कथाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *