भर्खरै :

स्थानीय पाठ्यक्रममा इतिहास, भूगोल र कलासंस्कृतिबारे जानकारी समावेश हुने

भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिकाले नयाँ पुस्तालाई भक्तपुरको इतिहास, भूगोल र कला, संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गर्न लागेको हो ।
भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम तयारी गर्न भक्तपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयका अभिभावकहरूको कार्यशालाका प्रमुख अतिथि नगर प्रमुख प्रजापतिले उक्त कुरा बताउनुभएको हो ।
उहाँले भक्तपुरको मौलिकता बचाउन भक्तपुरवासी नै अग्रसर हुनुपर्ने बताउँदै भन्नुभयो–‘नेपालभाषा, यहाँका कला, संस्कृति, सम्पदाहरू, भेषभूषा आदि हाम्रो पहिचान हुन् । यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । हामीले आफ्नो पहिचान गुमाउनुहुँदैन ।
भक्तपुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन क्षेत्र २०७४ अनुसार आधारभूत र मा.वि तहका जिम्मेवारी लिएर कक्षा ८ को परीक्षा सञ्चालनको तयारीको साथै अन्य कार्यहरू पनि अगाडि बढाएको जानकारी उहाँले दिनुभयो ।
उहाँले नीति निर्माण तहमा बस्नेहरू, पाठ्यक्रम तयार गर्नेहरू विदेशीको निर्देशनमा चल्ने गरेको  कारण हाम्रो देशको कलेज र विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू हाम्रोभन्दा विदेशीको आवश्यकता पूर्ति गर्ने खालको भएको बताउनुभयो ।
पाठ्यक्रम तयारी कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले बोल्नुभन्दा काम महत्वपूर्ण भएको बताउँदै विषय विभाजन गरी समूहगत रुपमा प्राप्त सुझावलाई ध्यानमा राखेर कार्य दल अगाडि बढ्ने बताउनुभयो ।
स्थानीय पाठ्यक्रम तयारी कार्यदलका सदस्य सिद्धिरत्न शाक्यले विद्यार्थीहरूसँग स्थानीय जानकारी नभएमा आफ्नो ठाउँप्रति मायामोह नहुने बताउनुभयो ।
उहाँले पाठ्यक्रम सबैको साझा विषय भएको हुँदा सबैसँग छलफल गरेर तयारी गर्न लागेको बताउँदै स्थानीय जानकारी नपाएका मान्छे स्थानीयमा समायोजन हुन गा¥हो हुन्छ भन्नुभयो ।
पाठ्यक्रम तयारी कार्यदलका अर्का सदस्य रोसनराज तुइतुइले देशअनुसार स्थानीय पाठ्यक्रम फरक फरक हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *