भर्खरै :

विश्व औँलो दिवसको अवसरमा अभिमुखीकरण कार्यक्रम

विश्व औँलो दिवसको अवसरमा अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १२ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विश्व औँलो दिवसको अवसरमा शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले लामखुट्टेको टोकाइबाट सर्ने औँलो रोग निकै जोखिमयुक्त रोग भएको हुँदा मलेरिया रोकथामका लागि जनसमुदायलाई सचेत पार्नु आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सरकारले औँलोमुक्त नेपाल बनाउने घोषणा मात्र गरेर हुँदैन, सचेतनाका कार्यक्रमहरूलाई व्यापक बनाउनुपर्छ भन्नुभयो ।
औँलोको बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले ज्यान जान सक्छ, सबैलाई सतर्क पार्नु आवश्यक छ भन्दै उहाँले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै राजनीतिक, सामाजिक, स्वास्थ्य आदि क्षेत्रमा सचेत बनाउँदै लानुपर्ने बताउनुभयो ।
विदेशीको मुख ताक्ने प्रवृत्तिले नेपालको विकासमा ढिलाइ भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले २०७२ को भूकम्पपश्चात् यहाँका सांस्कृतिक महत्वका सम्पदाहरूको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले रोगविरुद्ध लड्न मानसिकरूपमा तयार रहनुपर्ने बताउँदै रोग लाग्नै नदिन सचेतना नै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तिव्रता शर्माले नेपालमा औँलो रोगको वर्तमान अवस्था, औँलो दिवसको पृष्ठभूमिबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *