भर्खरै :

समाजवाद स्थापनाको निम्ति नागरिक भावनामा परिवर्तन आउनु जरुरी

समाजवाद स्थापनाको निम्ति नागरिक भावनामा परिवर्तन आउनु जरुरी

भक्तपुर, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुरहरू एक हुनु जरूरी रहेको बताउनुभयो ।
समाजवाद स्थापनाको निम्ति नागरिक भावनामा परिवर्तन आउनु जरुरी रहेको उल्लेख गर्दै उहाँले समाजवाद ल्याउन समाजवाद स्थापनाका आधारहरू तयार गर्नुपर्ने र अन्य देशको समाजवादबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बौद्धिक र शारीरिक श्रमलाई जीवन्त बनाइराख्न अध्ययन र व्यायाममा जोड दिनुपर्छ । ऋणमा चलेको देशको स्थायित्व नहुने र ऋणले देशलाई परनिर्भरतातर्फ धकेल्ने भएकोले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्छ, उहाँले भन्नुभयो ।
जनप्रतिनिधि वा सांसद बन्नु सुविधा उपभोगको लागि नभई जनताको निःस्वार्थपूर्वक सेवा गर्नको लागि हुनुपर्ने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले सांसदहरूलाई पेन्सनको सुविधा दिने पक्षमा नेमकिपा नरहेको बताउनुभयो ।
सामान्य नागरिकहरूको भन्दा कर्मचारीहरूको कर्तव्य बढी हुने गर्छ । कर्मचारीहरू सङ्घर्ष गर्न र आफ्नो कर्तव्य पालन गर्नबाट विमुख हुनुहुँदैन, उहाँले भन्नुभयो ।
युवाहरू घरखेत बेचेर विदेश जानुभन्दा देशमै लगानी गरेर रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालका कम्युनिस्ट नाम गरेका शासक पार्टीहरूले सिद्धान्त र उद्देश्यहरू काम नगरेको र तिनीहरूले सत्तामा जानको लागि सिद्धान्तहीन गठबन्धन गरिरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा मजदुरहरूको जीवनको कुनै मूल्य नहुनेतर्फ सचेत हुनु जरुरी रहेको धारणा राख्दै उहाँले समाजवादी गणतन्त्रमा श्रमको सम्मान हुने र कामदार जनताले सुख पाउने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाले स्वयम्सेवा गर्ने भावनाले प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रमको आयोजना गर्दै आएको छ । राजनीति र सङ्गठनबारे चासो राखी कर्मचारीहरूले अध्ययनमा जोड दिनुपर्छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजवादी गणतन्त्र कामदार जनताको लागि उपयुक्त व्यवस्था भएको उल्लेख गर्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई नारामा मात्र सीमित पार्न नहुने, प्रगतिशील ढङ्गले मनाउनुपर्ने आवश्यकता औँल्याउँदै कामदारवर्गको योगदान र भूमिकाबारे चिन्तन मनन गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल, भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले मई दिवसको सान्दर्भिकताबारे प्रस्ट पार्नुभएको उक्त कार्यक्रममा विकास प्रजापति, रामकृष्ण प्रजापति, सुन्दर ब्यान्जु र कृष्णराम ह्यंगोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *