भर्खरै :

आम जनतामा केन्द्रित कोरियाली समाजवाद

आम जनतामा केन्द्रित कोरियाली समाजवाद

साम्राज्यवादी मुलुकहरू अरू स्वाधीन र सार्वभौम देशमा आफ्नो हैकम जमाउन खोज्छन्; आफ्नो मातहतमा राख्न खोज्छन्; देशका महत्वपूर्ण स्रोत र साधन आफ्नो हातमा पार्न खोज्छन् । ती देशहरूले अरु मुलुकमा पुँजीवादी बजार अर्थतन्त्र लाद्न कुटील चाल चलाइरहेका हुन्छन्; ‘आर्थिक सहयोग’, ‘सहायता’ र ‘विकास’ को लोभ देखाएर स्वाधीन देशहरूको अर्थतन्त्रभित्र अतिक्रमण गरिरहेका हुन्छन् । यसरी साम्राज्यवादी शक्तिहरूको चलखेल भइरहेको यो समयमा समाजवादी शक्तिहरू अझ बढी सक्रिय हुनु जरुरी छ । ती देशका समाजवादीहरू समाजवादी अर्थतन्त्र निर्माण गर्ने सिद्धान्त तयार गरी अघि बढ्नुपर्छ । यो कुनै पनि देशका सच्चा कम्युनिस्टहरूको दायित्व हो । त्यो दायित्व सत्तामा रहेका कम्युनिस्टहरूले भुल्नु हुँदेन ।
पुँजीवादी समाजमा साम्राज्यवादीहरू र एकाधिकार पुँजीपतिहरूले समाजमा पुँजीवादी विचारधारा लागु गर्ने प्रयत्न गरेका हुन्छन् । एकाधिकार पुँजीपतिहरूले पत्रपत्रिका, रेडियो, टेलिभिजन प्रसारणलगायत धेरैजसो प्रचारमाध्यमहरू पैसाले नै आफ्नो हातमा लिएका हुन्छन् र आफ्नो पुँजीवादी विचार समाजमा फैलाउँछन् । यसैलाई उनीहरू प्रजातन्त्र, स्वतन्त्रता र समानता ठान्छन् । साम्राज्यवादी देश र पुँजीवादी देशका शासकहरूले संसारमा आफ्नो प्रभाव बढाउन र समाजवादी विचार र सिद्धान्तलाई ओझेलमा पार्ने अनेक चलखेल, षड्यन्त्र र झूटको खेती गरेकै कारण कोरियाली जनताका प्रिय नेता किम जङ इलले कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका वरिष्ठ कर्मचारीहरूको भेलामा ‘आम जनतामा केन्द्रित हाम्रो समाजवाद कहिल्यै मर्दैन’ भनी मन्तव्य दिनुभएको थियो । उक्त मन्तव्यलाई नेपाल कोरिया मैत्री सङ्घले प्रिय नेता किम इल जङको ५० औँ जन्म दिनको अवसरमा एक कृति १९९२ मा प्रकाशित गरेको थियो ।
समाजवाद मानव इतिहासमा सबै शोषक, सामन्त, प्रतिक्रियावादी, साम्राज्यवादी, विस्तारवादी शासकहरूको समाजभन्दा भिन्न प्रकारको सामाजिक व्यवस्था हो । समाजवादी पक्षका शक्तिहरू वर्गशत्रुविरुद्ध लड्छन्; लड्न जनतालाई तयार गर्छन् या सचेत र सङ्गठित गर्छन् । प्रजग कोरियाले व्यापक जनताको इच्छा र समयको आवश्यकता पूरा गर्न समाजवादको स्रोत जनताको समर्थन र विश्वासलाई आत्मसात गरेको छ । यसकारण, प्रजग कोरियाले आम जनतामा केन्द्रित समाजवादको अवधारणा ल्याएको हो । आम जनतामा केन्द्रित समाजवादको बाटो तयार गर्न प्रजग कोरियाका महान् नेता किम इल सङले जुछे विचारधाराको अवधारणा ल्याउनुभएको थियो । यस विचारधाराले व्यापक जनतालाई समाजको गतिको जुछे (हाँक्ने शक्ति) मानेको छ । आम जनताले नै समाजको गतिलाई अघि बढाउँछन् ।
काम नगरी खाइरहने शोषकवर्गले मालिकको स्थान लिन्छ । यसरी मालिकको स्थानको समाजलाई अन्त गर्ने समाज नै समाजवादी समाज हो । समाजवादले श्रमिकवर्गका आकाङ्क्षा, माग र आवश्यकताको प्रतिनिधित्व गर्छ या प्रतिबिम्बित गर्छ । प्रजग कोरियाले साम्राज्यवादविरोधी राष्ट्रिय मुक्ति क्रान्ति, सामन्तवादविरोधी जनतान्त्रिक क्रान्ति र समाजवादी क्रान्ति गरेको थियो । जुछे विचारधाराले मजदुरवर्गलाई मात्र होइन किसानवर्ग, बुद्धिजीवीवर्ग र अरु व्यापक जनसमुदायलाई पनि क्रान्तिलाई हाँक्ने शक्तिको रूपमा विश्लेषण गरेको छ । मजदुरवर्गको साथै किसानवर्ग पनि क्रान्तिलाई हाँक्ने शक्तिको मुख्य तत्व हो, किसानवर्ग क्रान्तिको प्रेरक शक्ति हो । क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूप्रति सही तरिकाले व्यवहार गर्नु जरुरी छ । महान् नेता किम इल सङले बुद्धिजीवीहरूलाई पनि क्रान्तिको जुछे (हाँक्ने शक्ति) को अङ्ग र एक प्रमुख शक्ति ठान्नुभएको थियो ।
शोषकवर्ग भनेको समाजको गतिको जुछे (हाँक्ने शक्ति) होइन; यो त प्रतिक्रियावादी शक्ति हो । जुछे विचारधाराले पछाडि परेका व्यापक जनतालाई एकत्रित पारेर क्रान्तिको बाटोलाई मजबुत पार्छ । तर, पुँजीवादी समाज व्यक्तिवादमा शासित हुन्छ; व्यक्तिवादी धारणाले सामाजिक असमानता बढाउँछ; गरिब र धनीवर्गको बिचको गहिराइ या खाडल बढाउँछ । एउटा मुलुक र राष्ट्रलाई अर्काे मुलुक र राष्ट्रले प्रभुत्व जमाउने, आक्रमण गराउने र संरचना ध्वस्त पारेर त्यो देशलाई कमजोर पार्ने र हतियार बेचेर धनी बन्ने लालसा भएका देशका शासकहरूलाई संसारसामु उदाङ्ग्याउने काम समाजवादी देशहरूले नै गर्ने हो; गर्नुपर्छ । साम्राज्यवादी शक्तिहरू मिलेको गठबन्धनले व्यापक जनताको स्वाधीनतालाई कुल्चने दुष्कार्य गरिरहेको बेला साम्राज्यवादविरोधी शक्तिहरू एक ठाउँमा उभिनु स्वाभाविक छ; अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक छ । यो आवश्यकताको बोध समाजवादी देशका नेताहरूले गर्छन्; गरिरहेका छन् । यसैको परिणाम आज संसारमा साम्राज्यवादविरोधी शक्ति विश्वव्यापी हुँदै छ; बलियो हुँदै छ । ती शक्तिहरूले मात्र साम्राज्यवादीहरूको हस्तक्षेप र आक्रमणको विरोध गर्छन् ।
प्रजग कोरियाको समाजवाद आम जनतामा केन्द्रित छ । समाजवाद व्यापक जनताको निम्ति हो । व्यापक जनताको हितको निम्ति हो । आम जनतामा केन्द्रित समाजवादको निर्माण गर्न क्रान्तिकारी पार्टी चाहिन्छ; क्रान्तिकारी सिद्धान्त चाहिन्छ । प्रजग कोरियाका महान् नेता किम इल सङले प्रतिपादन गर्नुभएको जुछे विचारधारा क्रान्ति र निर्माणसम्बन्धी सिद्धान्त, रणनीति र कार्यनीति श्रमिक आम जनतामा केन्द्रित क्रान्तिकारी सिद्धान्त हो । संसारकै शक्तिशाली देश अमेरिकाले कुनै पनि बेला प्रजग कोरियामा आक्रमण गर्नसक्ने भएकोले प्रजग कोरियाले आम जनतालाई आन्दोलित बनाउन, आवश्यक परेको बेला एकगठ भई प्रत्याक्रमण गर्न सरकार, पार्टी, सेना, जनता सबै एक ढिक्का बनाइराख्न नै आम जनतामा आधारित समाजवादको अवधारणा ल्याइएको हो; जुछे विचारधारा प्रतिपादन गरिएको हो; सन्गुनको नीति ल्याइएको हो ।
समाजवादी शक्तिले साम्राज्यवाद र पुँजीवादको जगै पल्टाउने भएको हुनाले साम्राज्यवादी शक्तिहरू जहिल्यै समाजवादको विरोधमा लडिरहन्छन्; उनीहरू समाजवादी देशलाई माथि उठाउँदैनन्; साम्राज्यवादी र प्रतिक्रियावादीहरू श्रमजीवीवर्ग या व्यापक जनताको विपक्षमा हुन्छन्; उनीहरू व्यापक जनतालाई उठाउँदैनन् । त्यसैले, उनीहरूको प्रजातन्त्र जनविरोधी प्रजातन्त्र हो, उनीहरूको स्वतन्त्रता मनपरीतन्त्र हो; उनीहरूको न्याय र समानता अल्पमत वर्गको निम्ति हो । साम्राज्यवादी र पुँजीवादीहरू पुँजीवादी संसदीय व्यवस्थालाई या पुँजीवादी बहुदलीय व्यस्थालाई ‘प्रजातन्त्र’ भन्छन् । राज्यले मजदुर वर्गीय पार्टीको पथप्रदर्शनमा केन्द्रिकृत नेतृत्व दिएमा सच्चा प्रजातन्त्रको अनुभूति गर्न सकिन्छ । समाजवादी समाजमा राज्यले प्रत्येक व्यक्तिको जीवनको लागि उत्तरदायित्व बोकेको हुन्छ । तर, साम्राज्यवादी र पुँजीवादीहरू वर्गीय पार्टीले नेतृत्व गरेको राजनीतिक सङ्गठनभित्रको राजनीतिक जीवनको स्वतन्त्रतामाथि ‘बन्देज’ बनाउँछन् ।
शोषण र दमनबाट मुक्त नयाँ समाजको चाहना गर्ने जनताले सबभन्दा मुख्य कुरा उत्पादनको साधनको स्वामित्व लिन चाहेका हुन्छन् । उत्पादन–साधनको स्वामित्व आम जनतासित रहने समाजवादी अर्थतन्त्रको प्रबन्ध पनि जनताले नै गर्नुपर्ने हुन्छ । समाजवादी समाजले श्रमिक जनतालाई श्रमको पूर्ण अधिकार प्रदान गरेको हुन्छ । जनतालाई न्यायपूर्ण तथा समृद्ध भौतिक जीवन प्रदान गर्न समाजवादी आर्थिक जीवनको प्रमुख आवश्यकता हो ।
पुँजीवादी मुलुकहरूले श्रमिक जनतालाई कठोर शोषण गरेर, विश्वका मुलुकलाई औपनिवेशिक लुट गरेर भौतिक समृद्धि प्राप्त गरेका छन् । तर, समाजवादी मुलुकहरूले त्यस्तो काम कहिल्यै गर्दैनन् । समाजवादी समाजमा जनताले स्वाधीन प्राणीहरूलाई चाहिने कम्युनिस्ट नैतिक गुण प्राप्त गरिसकेका हुन्छन् । मजदुरवर्गीय पार्टीले जनताको सेवा गर्ने आफ्नो अभिभारा पूरा गर्ने हो भने लक्ष्यअनुसार निरन्तर नलागी सुखै छैन । प्रजग कोरिया ‘शिक्षाको देश’ त्यसै भएको होइन । क्युवा ‘बहादुरहरूको देश’ त्यसै भएको होइन । किनभने, क्रान्तिकारी सङ्गठन र अनुशासन मजदुरवर्गीय पार्टीको प्राण हो, शक्तिको स्रोत हो । अतः साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी, पुँजीवादीहरूको समाजवादविरोधी प्रचार र कामलाई समाजवादी पक्षधर शक्तिहरूले विफल पार्नुपर्छ । संसारका मुलुकहरूले समाजवादको झन्डा फरफराइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *