चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
राजनीतिज्ञहरू कल्पनाशील र दूरगामी दृष्टि राखेर काम गर्ने भएमा देश विकास हुन समय लाग्दैन । संसारको सबैभन्दा ठुलो देश सोभियत सङ्घले यो कुरा पुष्टि ग¥यो । युरोपकै सबभन्दा पछाडि परेको सोभियत सङ्घमा १९१७ को समाजवादी क्रान्तिपछि लेनिन र स्तालिनको नेतृत्वमा योजनाबद्ध विकासका कामहरू भए । पुँजीवादी देशले २–३ वर्ष लगाएर गरेको विकास समाजवादी सोभियत सङ्घले ३०–४० वर्षमा गरेर देखायो । यो तत्कालीन सोभियत नेताहरूमा भएको दूरदर्शिताको परिणाम हो । समाजवादी विचारले नै त्यो सम्भव भएको हो । चीनमा पनि माओ त्सेतुङको नेतृत्वमा समाजवादी क्रान्ति भयो । त्यही जगमा आधुनिक चीनको विकास भएको छ । अहिले चीन संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको रूपमा अगाडि बढेको छ ।
लेनिनले एकपटक भन्नुभएको थियो, विद्युतीकरण बराबर समाजवाद । समाजवादी क्रान्तिपछि स्तालिनको नेतृत्वमा सोभियत सङ्घमा व्यापक मात्रामा विद्युत्को विकास भयो । त्यसले तीव्र्रगतिमा उद्योगधन्दाको विकास गर्यो । संसारका विकसित भनिएका देशहरूलाई सोभियत सङ्घ चुनौतीको रूपमा देखापर्यो । त्यसकारण, युरोपका एक विद्वान् एच.जी. वेल्सले लेनिनलाई क्रेमलिनको स्वप्नद्रष्टा भनेर चित्रण गरे ।
‘सय वर्षपछिको भक्तपुर’ को चर्चा गर्दा हामीले त्यस्तै कल्पनाशिलता देख्न सक्छौँ । पुस्तकमा ५० वर्ष पहिलेको नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था बुझ्न सक्छौँ भने ५० वर्षपछिको नेपाल कस्तो हुन्छ भने अनुमान भेटाउन सक्छौँ साथै सय वर्षपछिको भक्तपुर दृश्य पनि त्यसमा देख्न सक्छौँ ।
५० वर्ष पहिले भक्तपुरका सडकहरूमा कुनै ढलको व्यवस्था थिएन । पानी पर्नासाथ सडक नै ढल बन्थ्यो । फोहर बगेको पानीमा केटाकेटीहरू खेलेर रमाउने गर्थे । २०५९ सालमा पुस्तक तयारीको समयलाई विचार गर्दा त्यो वि.सं. २००९÷१० सालतिरको नेपालको अवस्था अनुमान गर्न सकिन्छ ।
त्यतिबेला महेन्द्र राजमार्ग बनिसकेको थिएन । तराईका जिल्लाहरूमा जाने सडक सुविधा थिएन । विराटनगर पुग्न पनि भारतीय भूमिको प्रयोग गर्नुपथ्र्यो । जनकपुर जयनगर रेल प्रयोगको विकल्प समेत थिएन । त्रिभुवन राजपथ भर्खर बन्दै थियो । भारतले नेपालको उत्तरी सीमामा सैनिक चेक पोष्टहरू राखेको थियो । तराईका जिल्लाहरूमा नेपाली रूपैयाँभन्दा भारतीय रूपैयाँको कारोबारको चलन थियो अथवा काठमाडौँ र तराई धेरै टाढा थियो । त्यहाँका मानिसहरूले प्रायः भारतीय सामानहरू नै बढी प्रयोग गर्थे । त्यतिबेलाको नेपालको विविध अवस्थाबारे पुस्तकमा चित्रण गरिएको हुँदा पहिलेको नेपाल बुझ्न पनि यो पुस्तक अति उपयोगी छ ।
भारत त्यतिबेला बेलायत र फ्रान्सभन्दा विकासमा निकै पछि थियो भने नेपालभन्दा भारत धेरै कुरामा अगाडि थियो । पुस्तकमा नेपाललाई अरु देशहरूसँगको तुलनात्मक अवस्था पनि प्रस्तुत गरिएको छ ।
नेताहरू राम्रा भए वा शासक दलका नेताहरूमा दूरदृष्टि भएमा छोटो समयमै देशको विकास गर्न सकिने कुरा लेखक यसरी व्यक्त गर्नुहुन्छ, “देशको राजनीति ठीक ठाउँमा छ भने अर्थात् सत्तामा पुगेका पार्टी र नेताहरूमा दूरदृष्टि छ भने विराटनगरमा चिया, राजविराजमा बिहानको खाना खाएर साँझ भक्तपुरमा खाना खान आइपुग्न सक्छौँ ।” (पेज नंं ४६)
पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माण र त्रिभुवन राजपथ निर्माण सम्पन्न भएपछि त्यो सबै साकार भइसकेको छ । जुम्ला, हुम्ला, मुगुमा गाडी जाने मोटर सडक बन्ने, रारा र मानसरोवर पुग्ने पनि लेखमा उल्लेख गरिएको पाइन्छ । मुगु जिल्लाको रारा तालसम्म अहिले मोटर बाटो पुगिसकेको छ । हवाईजहाजको सुविधा भए पनि मानसरोवर पुग्न बाटो हालसम्म बन्न सकेको छैन । ५० वर्ष पहिलेको नेपालभन्दा धेरै क्षेत्रमा नेपाल अगाडि बढिसकेको छ ।
लेख तयार गरिएको समय अहिले २२ वर्ष भइसकेको छ । त्यतिबेलाको कल्पनाअनुसार त्यो आजभन्दा ७२ वर्षअघिको नेपालको अवस्था थियो । अहिले देश डिजिटल युगमा प्रवेश गरिसकेको छ । सबैको हातहातमा मोबाइल भइसकेको छ । विश्वका कुनै ठाउँमा भएको घटना एकै क्षणभित्र हेर्न सकिने भइसकेको छ । आइटीको विकासले विश्वलाई अत्यन्त सानो बनाइदिएको छ ।
‘५० वर्षपछिको नेपाल’ शीर्षक लेखमा एक इमानदार कर्मचारी र भ्रष्ट व्यक्तिबिचको तुलना गरिएको पाइन्छ । भ्रष्ट मान्छेका छोराछोरीहरू कतिले आत्महत्या गर्ने, घृणित जीवन बिताउने र विदेश पलायन हुनेजस्ता नकारात्मक पात्रको रूपमा प्रस्तुत गरिएको छ भने इमानदार व्यक्तिको जीवन गौरवपूर्ण हुने बताइएको छ । त्यसमा भनिएको छ, देशद्रोहीहरूका छोराछोरीहरू या त त्यस्तै भ्रष्ट भई नरकको जीवन बिताउने छन् वा सङ्गत र पढाइले राम्रो भएपछि आमाबाबुका काला कर्तुतहरू थाहा पाएर बुढालाई एक्लै छाडेर जानेछन् । त्यसका खराब छोराछोरीहरू कतिले आत्महत्या गर्नेछन्, कोही त्यस्तै नराम्रा अपराधहरूमा फोहरको कीराजस्तै घृणित जीवन बिताउने छन् र विदेश गएपछि फर्किने छैनन् । मर्ने बेलामा ती विश्वासघातीहरू पश्चाताप, अपराधबोध र धुनै नसक्ने पापको टीको लगाएर कीरा फट्याङ्ग्रासरह गौरवहीन मृत्यु गर्छन् । (पेज नंं ५४)
५० वर्ष अवधिलाई पनि लेखकले दुई भागमा विभाजन गरिएको बुझ्न सकिन्छ । पहिलो २५ वर्षमा नेपालमा उदारीकरणको प्रभाव बढ्दै जाने र राज्यको स्वामित्वमा रहेका उद्योग धन्धाहरू एक–एक गरी निजीकरण हुँदै जाने तथा प्रकृतिको वरदान स्वरूप प्राप्त हाम्रा नदीनालाहरू पनि एक–एक गरी भारतीय सरकारको नियन्त्रणमा जाने सम्भावना कोरिएको पाइन्छ । अहिले हामीले त्यही कुरा भोगिरहेका छौँ । अहिले सरकारको स्वामित्वमा कुनै पनि उद्योगहरू छैन भन्दा फरक पर्दैन । सबै नै कोडीको मूल्यमा निजी कम्पनीहरूलाई बेचिसकेको छ । नेपालको वायु सेवा निगमसमेत भारतीय एकाधिकार कम्पनीको नियन्त्रणमा जाने देखाइएको छ । अहिले भारतबाट आउने हवाईजहाजहरूमा भारतीय सेना बसेर आउने चलन सुरु भएको छ ।
पछिल्लो २५ वर्षमा भने उज्यालो भविष्यको आशा देखाइएको छ । त्यतिबेलासम्ममा नेपालमा थुप्रै विश्वविद्यालय र अस्पतालहरू खुल्नेछन् । चिनियाँबाहेक वार्षिक २५ लाखभन्दा बढी पर्यटक नेपाल आउनेछन् । उत्तरी क्षेत्रमा फलफूल, जडिबुटी, माछा, पशुधनको प्रशोधनका केन्दहरू बन्ने छन् । लुम्बिनी, जनकपुरजस्ता ठाउँहरू धार्मिक पर्यटकहरूको गन्तव्य बन्ने छन् ।
सरकारले उत्पादनमूलक कुटिर उद्योगहरूलाई प्राथमिकता दिनेछ । २० वर्षमा देशको तस्बिर फेरिने र ५० वर्षमा देशको नक्सा नै फेरिनेछ । जनताको जीवन शैलीमा ठुलो परिवर्तन आउनेछ । यो आशालग्दो तस्बिर पनि ‘५० वर्षपछिको नेपाल’ लेखमा लेखकले स्पष्ट पार्नुभएको छ । उहाँले निराशा होइन आशाका थुप्रै ठाउँहरू देखाउनुभएको छ ।
‘सय वर्षपछिको भक्तपुर’ को अध्ययनले हामी सबैलाई भक्तपुरको पुनःनिर्माणको लागि घच्घच्याएको छ । त्यसैलाई मार्गदर्शक मानेर भनपाले काम गर्दै आएको छ । २०७२ सालको भूकम्पले १३० भन्दा बढी सम्पदाहरूमा क्षति पु¥याए पनि त्यसलाई पुनःनिर्माणको एउटा अवसरको रूपमा लिएर काम गर्दै छौँ । विभिन्न सम्पदाहरू गरी हालसम्म १९० वटा सम्पदाहरू पुनःनिर्माण सम्पन्न भइसकेको छ भने १५ भन्दा बढी निर्माणाधीन छन् ।
शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, विकास निर्माण, सीपमूलक तालिम आदि दिएर भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल बनाउने कार्यलाई सार्थक बनाउन हामी निरन्तर लाग्दै छौँ । प्राचीन शैलीमा घर बनाउनेलाई अनुदान, डकर्मी–सिकर्मी तालिम दिएर हरेक युवालाई सीपयुक्त बनाउने प्रयास जारी छ ।
पुस्तकको अध्ययनपछि सय वर्षपछिको भक्तपुरको मात्र होइन ५० वर्षपछिका नेपालको सम्भावनाका धेरै पक्ष पनि पुस्तकमा स्पष्ट पार्नुभएको छ । त्यसैले अध्यक्ष रोहितलाई भक्तपुरको मात्र होइन देशकै स्वप्नद्रष्टा भन्न कुनै अप्ठेरो मान्नुपर्दैन ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैशाख १३ गते सम्पदा दिवसको अवसरमा आयोजित भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणमा ‘सय वर्षपछिको भक्तपुर’ विषयक प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)
सम्पदा पुनः निर्माण र जीर्णोद्धार स्थानीय उपभोक्ता समितिमार्फत गर्न जोड
‘२०७२ सालको भूकम्पपश्चात् पुनःनिर्माणको एक दशकको पुनरावलोकन’ विषयक अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
नेपालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्प आज १० वर्ष पूरा भयो । २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट प्रभावित १४ वटा प्रमुख जिल्लामध्ये भक्तपुर पनि एक हो । भूकम्पको कारण भक्तपुरका धेरै नागरिकको ज्यान जानुका साथै यहाँ झन्डै आठ हजार निजी घरमा आंशिक र पूर्ण क्षति पुगेको थियो । यहाँका प्रसिद्ध पाँचतले मन्दिर, भैरवनाथको मन्दिर, वत्सला मन्दिरलगायत १३० वटाभन्दा बढी सम्पदाहरूमा पूर्ण र आंशिक क्षति पुगेको थियो । त्यतिबेला सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माण गरी भक्तपुरलाई पुरानै अवस्थामा पु¥याउनु हामी सबैको लागि ठुलो चुनौती थियो ।
सांस्कृतिक नगर, नाचगानको राजधानी र जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुरका सांस्कृतिक धरोहरहरू पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरवासी एकजुट भएर लाग्दै छौँ । पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिको नारालाई मूर्त रूप दिन पहल गरिरहेका छौँ । सम्पदा पुनःनिर्माण र जीर्णोद्घार स्थानीय उपभोक्ता समितिमार्फत गर्नमा जोड दिँदै छौँ ।
सम्पदा पुनःनिर्माणको काम ठेक्कामार्फत गराइएमा सम्पदाको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वमा असर पर्नेबारे हामी सचेत छौँ । ठेकेदारहरूले सम्पदाको मौलिकताभन्दा नाफालाई बढी प्राथमिकतामा राख्छन् । यसले सम्पदाको गुणस्तरीयतामा प्रश्न उठिरहेको छ । सम्पदाको मौलिकता जोगाउन, गुणस्तरीय निर्माण गर्न र कम लागतमा छिटो छरितो निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समिति नै राम्रो र भरपर्दो विकल्प भएको हाम्रो अनुभव छ ।
भूकम्पपछि भक्तपुरको पुनःनिर्माणको लागि जर्मनी सरकार केएफडब्लुमार्फत सहयोग गर्न तयार थियो । भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि १ करोड युरो (१ अर्ब २० करोड रुपैयाँ) सहयोग गर्नेसम्बन्धी नेपाल सरकार र जर्मनी सरकारबिच सम्झौता पनि भयो । तर हामी आफ्नै प्राविधिक जनशक्ति, स्थानीय स्रोत र साधनहरूको अधिकतम प्रयोग गरी पुनःनिर्माण गराउन चाहन्थ्यौँ । विभिन्न प्राविधिक कारणले गर्दा त्यो सहयोग स्वीकार गर्न सकिएन । यद्यपि, भक्तपुर नगरपालिकाले विदेशीको सहयोगविना नै हालसम्म ४ वटा मठ, ४६ वटा मन्दिर, ६२ वटा पाटी, १४ वटा द्योछेँ, ४ वटा प्रवेशद्वार, १८ वटा पोखरी, ९ वटा इनार, ९ वटा सत्तल, ९ ढुङ्गेधारा र अन्य १५ वटा गरी १९० वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण सम्पन्न गरिसकेको छ भने दर्जनौँ सम्पदाहरू अहिले निर्माणाधीन अवस्थामा छन् । केही प्राविधिक समस्या परेकाबाहेक अधिकांश निजी घरहरूको पुनःनिर्माण कार्य पनि सम्पन्न भएको छ ।
जनस्तरबाट सम्पदा पुनःनिर्माण हुँदा उल्लेख्य आर्थिक सहयोग, जिन्सी र श्रमदान पनि प्राप्त हुने गरेको छ । एउटै सम्पदा पुनःनिर्माणको लागि पनि लाखौँ मात्र होइन अझ एक करोडभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको उदाहरण पनि हामीसँग छ । ङातापोल्हँ जीर्णोद्धारको क्रममा ४,२०० भन्दा बढी जनताले श्रमदान गरे, १५।१६ लाख आर्थिक सहयोग र त्यतिकै जिन्सी सहयोग प्राप्त भएको थियो भने वाकुपति चाँगुनारायण मन्दिरमा सुनको जलप लगाउने कार्यमा १ करोडभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको थियो । प्रायः सबैजसो सम्पदा पुनःनिर्माणमा जनताको उल्लेख्य सहयोग प्राप्त हुँदै आएको छ । यसलाई जनताले सम्पदाप्रतिको अपनत्व ग्रहण गरेको अर्थमा हामीले बुझेका छौँ । हरेक सम्पदा पुनःनिर्माणमा पारदर्शितालाई ध्यान दिएका छौँ ।
प्रसिद्ध थन्थु दरबार, छुमा गणेश द्यो छेँलगायतका सम्पदाहरू माटो जोडाइबाटै पुनःनिर्माण भइरहेका छन् भने लक्ष्मीनरसिंह मन्दिर हालै पुनःनिर्माण सम्पन्न भएको छ ।
पुरातात्विक महत्वलाई बचाइराख्न विवादित घरहरू नपाले नै पुरानै शैलीमा निर्माण गरी लागत घरधनीबाट असुल गर्ने नीतिअनुसार भक्तपुर नपाले काम गरिरहेको छ । त्यसैगरी यहाँको मौलिकता बचाइराख्न मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई अनुदानको व्यवस्था गर्दै आएका छौँ ।
मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा योगदान गर्ने अग्रज सांस्कृतिक गुरुहरूको सम्मान, भक्तपुरको कला संस्कृति र इतिहाससम्बन्धी गोष्ठी, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा नियमितरूपमा भूकम्पसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना पनि गर्दै आएका छौँ ।
भक्तपुरको मौलिकता बचाइराख्न पुरानो सहरको सीमाङ्कन गरी यहाँको घरजग्गा स्थानीय जनताबिच मात्रै किनबेच गर्न सकिने नीति निर्माण ग¥यौँ तर सर्वोच्च अदालतको रोकपछि हामी त्यसबाट पछि हट्नुपर्यो । विश्व सम्पदाहरूको संरक्षण गर्ने हो भने राज्यले नै संरक्षणको लागि विशेष कानुन निर्माण गर्नु आवश्यक छ ।
भक्तपुरको अत्यन्त महत्वपूर्ण जगन्नाथ क्षेत्र, ९९ चोक, साकोठालगायत पुरातात्विक महत्वका विषयहरूमा उत्खनन् गर्नुपर्ने आवश्यकता छ । पुरातत्व विभागले त्यस्ता ठाउँहरूलाई प्राथमिकतामा राखेर उत्खनन्मा ध्यान दिने अपेक्षा गर्दछौँ ।
भक्तपुर दरबार क्षेत्रमा अवस्थित कला सङ्ग्रहालय रहेको न्ह्यकं झ्या दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने संस्कृति मन्त्रालय, भक्तपुर नगरपालिका र पुरातत्व विभागबिच सहमति भइसकेको थियो । तर युनेस्कोको अनुमति लिनुपर्ने भन्ने विषयले त्यो काम अगाडि बढ्न सकेन । यस्ता काममा मन्त्रालयले सहजीकरण गरी दिएको भए राम्रो हुने थियो ।
गुठी संस्थानको भवन ३५ फिट मात्रै उचाइ राखेर पुरानो स्वरुप नै समाप्त हुने गरी पुरातत्वले नक्सा स्वीकृति ग¥यो । नगरपालिका स्वयम्ले त्यसको पहल गरेर पुरातत्व विभागसम्म पुगेर पुरानै शैलीमा निर्माणको लागि नक्सा स्वीकृति ग¥यो ।
भक्तपुर पर्यटकीय केन्द्रको रूपमा विकास हुँदै छ । नेपाल आउने विदेशी पर्यटकहरूमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ । गएको आ.व. मा सार्क र गैरसार्क मुलुकका गरी जम्मा २ लाख ४६ हजारभन्दा बढी पर्यटकहरूले भक्तपुर भ्रमण गरेका थिए भने चालु आ.व. को बितेको ९ महिनामा सार्क र चीनका गरी ८१,८४४ र गैरसार्क देशका १,०३,७०४ गरी १ लाख ८५ हजार ५४८ जनाले भक्तपुर भ्रमण गरिसकेका छन् । हाम्रो सम्पदाको महत्व अझ बढ्दै गएको छ । हाम्रो सम्पदा संरक्षणले देशको पर्यटन उद्योगलाई थप टेवा पु¥याउने विश्वास छ ।
अन्त्यमा, सम्पदाको मौलिकता संरक्षणको लागि संस्कृति मन्त्रालय, पुरातत्व विभाग र स्थानीय तह एक भएर लाग्नु आवश्यक छ । भूकम्प पछिको पुनःनिर्माणसँगै भूकम्प पूर्व तयारी गर्नु पनि उत्तिकै आवश्यक छ । ‘२०७२ सालको भूकम्पपश्चात् पुनःनिर्माणको एक दशकको पुनरावलोकन’ विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र) तेस्रो वार्षिक बैठकको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
(भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्पपश्चात् पुनःनिर्माणको एक दशकको पुनरावलोकन, अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply