युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
भक्तपुर, २१ वैशाख । विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको २०७ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान किसान पार्टी २ वडा एकाइ समितिको आयोजनामा आइतबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “माक्र्स विश्वविद्यालयका शिक्षक भएर नयाँ पुस्तालाई शिक्षित, सचेत र सङ्गठित गर्न चाहनुहुन्थ्यो । प्रतिक्रियावादीहरूले उहाँलाई शिक्षक बन्न दिएनन् । उहाँले पत्रिकामा आफ्नो विचार प्रकाशित गरेर नयाँ पुस्तालाई तयार गर्नुभयो । पत्रिका प्रकाशन बन्द गर्दै प्रतिक्रियावादीहरूले उहाँलाई देश निकाला गरे । उहाँले प्रवासमा पनि मजदुर सङ्गठन गर्न छोड्नुभएन । जीवनको अन्तिम घडीसम्म उहाँले मजदुरवर्गको निम्ति समय लगाउनुभयो ।”
सचिव सुवालले भन्नुभयो, “मानिसको पहिलो गुरू आमा, बुबा र परिवारका सदस्य हुन् । परिवारका सदस्य सुसंस्कृत भए नयाँ पुस्ता पनि सुसंस्कृत हुनेछ । विद्यालय र विश्वविद्यालयका शिक्षकहरू सुसंस्कृत भए विद्यार्थीहरू सुसंस्कृत हुनेछन् । सांस्कृतिक स्तर उठेकाहरू व्यक्तिगत स्वार्थमा लाग्दैनन् ।”
सचिव सुवालले भन्नुभयो, “विवाह, परिवार र व्यक्ति सम्पत्तिसँगै समाजमा वर्ग विभाजन भएको हो । वर्गीय समाजमा अशान्ति, हिंसा युद्ध हुनेछन् ।”
उहाँले भन्नुभयो, “दोस्रो विश्व युद्धपछि संरा अमेरिकाले खुला बजारको नीति लियो । त्यसबेला अमेरिकासँग प्रशस्त उत्पादन थियो । अहिले संसारका अन्य देशहरूमा उत्पादन बढ्यो । अमेरिका संसारको सामानमा भन्सार शुल्क बढाएर संरक्षणवादमा लागेको छ । अमेरिकाको यो संरक्षणवादी नीतिले अमेरिकी जनताकै जीवन कष्टकर हुनेछ । किनभने, अमेरिका पुँजीवादी देश हो । पुँजीपतिवर्गले आफू काम गर्दैन, अरूलाई काम लगाएर नाफा खान्छ ।”
सचिव सुवालले भन्नुभयो, “अमेरिकी लगानी भएको अन्तर्राष्ट्रिय मुद्राकोषले चीनलाई उत्पादनमा सरकारको संलग्नता बढाउन दबाब दियो । चीनमा उत्पादन बढ्नुको कारण सरकारको सहभागिता हो । अमेरिकाका राष्ट्रपति ट्रम्प र सरकारी दक्षता विभागको प्रमुखमा उनले नियुक्ति गरेका एलन मस्क दुवै पुँजीपतिवर्ग हुन् ।”
भारत र अमेरिकाको तुलनामा कृषि, प्रविधि, उत्पादनलगायतमा चीन अगाडि बढेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालमा शासक दलहरूको नाम फरक भए पनि काम एउटै पुँजीवादी नै हुन् । नेमकिपाबाहेक संसद्मा भएका सबै दलहरू सरकारमा गए । परिणाम देश र जनताको २७ खर्ब रूपैयाँ ऋण पुग्यो ।”
उहाँले भन्नुभयो, “शासक दलका नेताहरूको सांस्कृतिक स्तर उँचो भएन । प्रजातन्त्रको नाममा दिल्ली सम्झौता गरेको नेपाली काङ्ग्रेसले राणालाई प्रधानमन्त्री बनाएर आफूहरू मन्त्री भए ।”
उहाँले भन्नुभयो, “०४६ सालपछि आफूलाई कम्युनिस्ट दाबी गरेको माले (हालको एमाले) नेकाको नेतृत्वमा मन्त्री बन्न गयो । २०५१ साल यता सशस्त्र द्वन्द्वमा लागेको दाबी गरेको माओवादी, नेका र एमालेसँग सरकारमा गयो । २०७९ सालयता रास्वपासमेत नेका, एमाले र माओवादीसँग सरकारमा गयो । सरकारमा गएका दलहरू गाँसेगुसे एकैनासे पुष्टि भयो । यतिबेला नेपाली जनता शासक दलहरूबाट भएको पटक पटकको विश्वासघातबाट सचेत हुनु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “राजतन्त्रले सामन्तवर्गको प्रतिनिधित्व गर्छ । अहिले नेपालमा राजतन्त्रको कुरा गर्नु सानो बेलाको लुगा ठुलो हुँदा ठीक नहुनेजस्तै हो ।”
नेपाल कर्मचारी समाजका जीपी लासिवाले कार्ल माक्र्सको जीवनी र जीवन सङ्घर्षबारे जानकारी गराउँदै माक्र्सको जीवन सङ्घर्ष क्रान्तिकारीहरूको लागि मार्गदर्शन भएको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका इ. सुनिल दुवालले माक्र्सवादबारे सङ्क्षिप्तरूपमा जानकारी गराउँदै समाज र प्रकृतिको विकाससम्बन्धी नियमहरूको अध्ययन नै माक्र्सवाद भएको बताउनुभयो ।
“माक्र्सवादको सार भनेको सर्वहारावर्गको हुकुम अर्थात् सर्वहारावर्गको नेतृत्वमा शासन सत्ता कायम हुनु हो”, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रत्नकाजी नातरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।
Leave a Reply