भर्खरै :

समाजवाद स्थापनाका आधारहरू तयार गर्न मजदुरलाई प्रशिक्षित गर्नुपर्ने

समाजवाद स्थापनाका आधारहरू तयार गर्न मजदुरलाई प्रशिक्षित गर्नुपर्ने

ललितपुर, २१ वैशाख । नेपाल मजदुर किसान पार्टी ललितपुरको महालक्ष्मी नगरमा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डङ्गोलले वैज्ञानिक समाजवादसम्म पुग्न विश्वका मजदुरहरू एक हुनुपर्ने बताउँदै समाजवाद नआएसम्म बहुसङ्ख्यक मजदुरहरूको हित नहुने भएकोले काम गरिखाने सम्पूर्ण मजदुरलाई समाजवाद स्थापनाका आधारहरू तयार गर्नुपर्नेबारे प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
उहाँले कम्युनिस्ट नामधारी पार्टीहरूले जनतालाई राजनैतिक रूपले सचेत गराउनु भन्दा पुँजीवादी सरकारमा गएर व्यक्तिगत स्वार्थ पूरा गर्ने काम गर्दै आएकोले देश ऋणमा डुबेर परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय श्रमिक दिवस नारामा मात्र सीमित नगरी कामदारवर्गको योगदान र भूमिकाबारे चिन्तनशील हुनुपर्ने बताउनुभयो ।
नेपाल कर्मचारी समाजका जीपी लासिवाले मजदुरहरूको हितमा काम गर्न विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूको अध्ययन गरी प्रशिक्षित गर्नुपर्नेमा जोड दिँदै एक्काइसौँ शताब्दी मजदुर आन्दोलन र समाजवादको युग हुने बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादले करको नाममा व्यापार युद्ध सुरु गर्नु पुँजीवाद र समाजवादबिचको लडाइँ भएको र यसमा पुँजीपतिहरूको हार निश्चित भएको चीनको अरू देशहरूसँगको मित्रवत व्यवहारबाट प्रमाणित हुने बताउनुभयो ।
उहाँले हालसम्म सरकारमा गएका दलका मन्त्रीहरूको भ्रष्ट आचरण, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको पिछलग्गू भएको कारण देशमा काण्डै काण्ड मच्चिरहेको र उद्योग तथा कलकारखानाहरू सबै निजीकरण गरी युवाहरूलाई विदेशीको दास सरह काम गर्न जानुपर्ने बाध्यता सृजना गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिका सचिव महन्त महर्जनले सन् १८७१ मा कामदारवर्गको पहिलो राज्यसत्ता प्राप्त गरेको पेरिस कम्युन र सन् १९१७ को रुसी अक्टोबर क्रान्तिबारे अध्ययन गरेर कामदार जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले हरेक मजदुर आन्दोलन वर्गसङ्घर्षको लडाइँ भएको बताउँदै उहाँले मजदुरसँग हार्नलाई बाँधेको सिक्रीबाहेक केही नभएको तर जित्नलाई सारा संसार भएकोे बताउनुभयो ।
कार्यक्रममा रमिला महर्जन, चन्द्रबहादुर महर्जन, रूपा महर्जन, सुजिता महर्जन र कृष्ण महर्जनले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे चर्चा गर्नुका साथै यसबाट सिकेर सङ्गठन विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *