क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
बजारमा गणतन्त्र कि राजतन्त्रको बहस चल्दै छ । तर, विद्यमान शासक दल र कथित गणतन्त्रवादी बुद्धिजीवीहरू गणतन्त्रका भेदबारे चर्चासम्म गर्न तर्सन्छन् । बुद्धको पालामा पनि गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा मन्थन हुन्थ्यो । दास प्रथा भएको गणतन्त्र कि मानिसहरूबिच आपसमा मानवीय सम्मान भएको गणतन्त्र भन्ने विषयमा छलफल हुन्थ्यो । २६ सय वर्षअगाडि बुद्धकालीन सामाजिक, आर्थिक र राजनीतिक विषयमा जानकारी दिने धेरै प्रकाशनहरू छन् । तीमध्ये ऐतिहासिक उपन्यासहरू आचार्य चतुर्सेनको ‘वैशालीकी नगरवधु’ र राहुल सांकृत्यानको ‘सिंह सेनापति’ बारेमा यहाँ सङ्क्षिप्त तुलनात्मक अध्ययन गरिएको छ । एकै समयकाल र एकै लिच्छवी गणराज्यमा केन्द्रित भई लेखिएका ती दुवै ऐतिहासिक उपन्यासहरूको मौलिक भिन्नता र समानताबारे यहाँ अन्वेषण गरिएको छ ।
परिचय :
आचार्य चतुर्सेनद्वारा सन् १९३९ देखि १९४७ मा लेखिएको र सन् १९४९ मा प्रकाशित ‘वैशालीकी नगरवधु’ उपन्यास ऐतिहासिक र प्रामाणिक दस्ताबेजको आधारमा सिर्जना गरिएकोे दाबी छ । उपन्यास वैशालीकी प्रसिद्ध र शक्तिशाली नगरवधु अम्बपालीको जन्म, हुर्काइ, विद्रोह, प्रतिज्ञा र प्रवज्यासम्मका घटनामा केन्द्रित छ । केन्द्रीय पात्र नगरवधु अम्बपालीको जीवन कालका चर्चित व्यक्तित्वहरू बुद्ध, महावीर वद्र्धमान जैन, राजा बिम्बिसार, अमात्य आर्य वर्षकार, चिकित्सक जीवक, राजा प्रसेनजित, राजकुमार विडुडभ, बन्धुल मल्ललगायतको प्रसङ्गअनुसार भूमिका उल्लेख गरिएको छ । उपन्यासका पात्रहरूले भारतीय उपमहाद्वीपको मगध, वज्जी गणतन्त्रदेखि गङ्गा नदीको किनारै किनार दायाँबायाँका मैदानी राज्यहरू सँगसँगै उत्तरपश्चिम तक्षशिलासम्मको भूगोल चर्चेको पाइन्छ ।
सन् १९५१ मा प्रथम संस्करण प्रकाशित भएको राहुल सांकृत्यानद्वारा लिखित ‘सिंह सेनापति’ उपन्यासको वास्तविक लेखक आफू नभएको र आफूले सम्पादन मात्र गरेको दाबी स्वयम् राहुलले उपन्यासको ‘विषय प्रवेश’ खण्डमा गरेका छन् । वैशालीको प्रजातन्त्र र तात्कालीन मानिसहरूबारे राहुल निकै चासो राख्थे । राहुल बिहान बाँझो खन्ने नित्य व्यायाम गर्थे । विहार, छपरा जिल्लाको साथीको घरमा बस्दा बाँझो खन्ने नियमित व्यायामको क्रममा तीन फिट गहिराइबाट राहुलले केही पुरातात्विक माटोका भाँडाहरू भेटाए । ती वस्तुहरू चार सयदेखि ६ सय वर्ष पुरानो हुनुपर्ने राहुलले अनुमान गरे । खाल्डो खन्दै जाने क्रममा पन्ध्र फिटभन्दा गहिरोमा पुगेपछि डेढ फिट लम्बाइ र डेढ फिट चौडाइ तथा एक इन्च मोटाइ भएको इँटामा अक्षर कुँदिएको भेटाए । दुवैतर्फ सो¥ह सो¥ह पङ्क्ति ब्राह्मी लिपि कुँदिएका ती इँटाहरू इँटा नभई पुस्तकका पाना थिए । इँटामा कुँदिएको सबै पङ्क्तिहरू अनुवाद गरेपछि राहुलले दाबी गरे कि उक्त पुस्तकका ग्रन्थकार वैशाली प्रजातन्त्रका महान सेनापति सिंह नै हो । साढे दुई हजार वर्ष पुरानो उक्त ग्रन्थलाई जस्ताको तस्तै राहुलले ‘सिंह सेनापति’ शीर्षक दिएर हिन्दीमा अनुवाद गरी प्रस्तुत गरेको उपन्यासको ‘विषय प्रवेश’ खण्डमा प्रस्ट पारेका छन् । राहुलको दाबीमा कुनै शङ्का भए, ती सो¥ह सय इँटा पटना सङ्ग्रहालयमा गई हेर्न सकिने पनि सुझाव दिएका छन् ।
सिंह सेनापति उपन्यास वैशालीका एक सेनापति सिंह तक्षशीलामा अध्ययन गर्न गएको, तक्षशीलाबाट फर्केपछि वैशालीमा उनको भव्य स्वागत भएको, मगधसँग वार्तामा गएको र मगध युद्धमा विजय पाएको घटनामा केन्द्रित देखिन्छ । साथसाथै सेनापति सिंहका समकालीन बुद्ध, महावीर जैन, अम्बपाली, राजा बिम्बसार, अमात्य वर्षकार, बन्धुल मल्ल, कुटदन्त ब्राह्मणलगायत पात्रहरूको भूमिका उल्लेख गरिएको छ । उपन्यासका पात्रहरूले ‘वैशालीकी नगरवधु’ मा जस्तै भारतीय उपमहाद्वीपको मगध, वज्जी गणतन्त्रदेखि गङ्गा नदीको किनारै किनार दायाँबायाँका मैदानी राज्यहरू सँगसँगै उत्तरपश्चिम तक्षशिलासम्मको भूगोल चर्चेको पाइन्छ । ती राज्यहरूमा भएका राजतन्त्र र राजाहरूको चरित्र तथा गणराज्य र गणतन्त्रका नेताहरूको चरित्रबारे विभिन्न दृष्टिकोण मुखरित भएको पाइन्छ ।
वैशालीकी नगरवधु र सिंह सेनापतिका केही भिन्नताहरू :
वैशाली नगरवधु उपन्यासमा मुख्य पात्र अम्बपाली हो भने सिंह सेनापतिमा मुख्य पात्र सिंह हो । वैशालीकी नगरवधु तेस्रो पुरुषमा लेखिएको छ भने सिंह सेनापति प्रथम पुरुष भाषाशैलीमा लेखिएको छ ।
एउटा बगैँचाको आँपको बोटमुनि फालिएकी अम्बपालीलाई वैशालीका एक वृद्ध सैनिकले भेटाएका थिए । वैशालीलगायत वज्जी गणतन्त्रमा विचित्रको कानुन थियो । जो कन्या सर्वाधिक सुन्दरी हुन्थिन्, तिनलाई कुनै एक पुरुषको पत्नी हुन नदिई नगरवधु बनाउने चलन थियो । तिनीमाथि गणराज्यका सबै पुरुषको समान अधिकार रहन्थ्यो । तिनलाई ‘जनपद कल्याणी’ पद दिइन्थ्यो । परम रूपवती अम्बपाली ‘जनपद कल्याणी’ हुन चाहिनन् अर्थात् नगरवधु बन्न मानिनन् । अम्बपाली एक सैनिक हर्षदेवसँग प्रणयसूत्रमा बाधिन चाहिन् । तर, अम्बपाली १८ वर्ष भएपछि वैशालीको विधानअनुसार तिनलाई नगरवधु बनाउने कि कुलवधु बनाउने भन्ने विषयमा संथागार (संसद्) मा बहस भयोे । वैशालीका युवाहरू अम्बपालीलाई नगरवधु बनाउन ज्यान दिन पनि तयार भए, तरबार चम्काउन तयार भए । संथागारको बहुमतले अम्बपालीलाई नगरवधु बनाउने प्रस्ताव पारित ग¥यो । गणपतिलाई भन्दा बढी वैभव र सुविधा चाहिने अम्बपालीले अनेक असम्भव सर्त राखिन् । तथापि, अम्बपालीले पाएको सात दरबार (सप्त प्रासाद) परिसरमा सुरक्षा जाँच गर्न नपाउने सर्तबाहेक उनका हर सर्त मान्न संथागर तयार भयो । राज्यकोषबाट अकुत धन सम्पत्ति अम्बपालीले पाइन् । अम्बपाली नगरवधु बन्न बाध्य भइन् । अम्बपालीले महिला अस्मितालाई अपमान गर्ने घृणित कानुन भएको वैशाली गणराज्य नै ध्वस्त पार्ने प्रतिज्ञा गरिन् ।
वैशालीकी नगरवधु उपन्यासमा एकपछि अर्को रहस्य खुल्दै पाठकलाई बाँधिराख्न सफल छ । अम्बपालीको जन्मबारे रहस्यलाई रोमाञ्चक ढङ्गबाट प्रस्तुत गरिएको छ । वैशाली गणराज्यको छिमेकी मगध अधिराज्यका सम्राट बिम्बिसार, अमात्य आर्य, वर्षकार र आर्य माताङ्गी तीन जना बाल्यकालकै साथी थिए । तीन नै जना दरबारमै हुर्के । समयक्रममा आर्य माताङ्गीले एक बालकको जन्म दिइन् । गैरवैवाहिक सम्बन्धबाट जन्मेको बच्चा भएकोले जङ्गलमा फालियो । एक जना वैद्य राजपुरुषले भेटाएर पालन पोषण गरे । तक्षशिलामा शस्त्र तथा शास्त्र विधामा निपुण भइ आए । तिनै व्यक्ति वैशालीसँगको युद्ध लड्न मगधको सेना प्रमुख बने । बिम्बिसार आर्य माताङ्गीप्रति मोहित भएको देखेर वर्षकारले बिम्बिसारलाई यो राज्य सबै उनको भए पनि माताङ्गी आफ्नो भएको र आँखा नलाउन चेतावनी दिए । तर, वर्षकारको बुबाले वर्षकारको विवाहअघि र आफू मरेको तीन वर्षपछि हेर्नु भनी छोडी गएको चिर्कटो हेर्दा वर्षकार र माताङ्गी दाजु बहिनी भएको गुप्त कुरा थाहा पाए । माताङ्गीको गर्भबाट जन्मेको अर्को बालिका पनि फालियो । जो पछि वैशालीको नगरवधु बनिन् ।
मगध सम्राट बिम्बिसारलाई वैशालीमाथि आक्रमण गर्नुको एक प्रमुख उद्देश्य धर्तीकै अप्रतिम सुन्दरी अम्बपाली प्राप्ति गर्नु थियो । वैशाली र मगध युद्धको क्रममा मगध राजा बिम्बिसार गुप्तवास गए । उनी गुप्त मार्गबाट अम्बपालीको दरबारमा पुगे । मगध सेनाले राजा बिम्बिसारलाई सकुशल उद्धार गरी ल्याए तर जब सेना प्रमुख सोमप्रभले बिम्बिसार र अम्बपालीको मिलनको कथा थाहा पाए । सोमप्रभले बिम्बिसारको छातीमा टेकी हत्या गर्न तरबार उज्याएको थियो । ठीक त्यही समयमा आर्य माङ्गीले सोमप्रभलाई बिम्बिसार आफ्नै पिता भएको चिनाइन् । हतप्रभ बिम्बिसारलाई अम्बपाली पनि आफ्नै छोरी भएको खुलासा गरिन् । तर, अम्बपाली वर्षकारको तर्फबाट जन्मेको थाहा पाएपछि बिम्बिसारले ठुलै पापबाट मुक्त भएको ठाने ।
वैशालीकी नगरवधु उपन्यास रहस्यले भरिपूर्ण छ । सैनिक र वैधानिक शक्तिभन्दा कुट, छल नै राज्य शक्तिको प्रमुख स्रोत भएको वैशालीकी नगरवधुले आधार लिएको पाइन्छ ।
सिंह सेनापतिका नायक सिंह एक सैनिकको छोरा थियो । सिंहकी आमाले अर्को पुरुषसँग विवाह गरिन् । सौतेली बुबाले पनि सिंहलाई पारिवारिक माया दिए । १८ वर्षको उमेरमा सिंह छ महिना लगाएर तक्षशिलामा पुगे । आचार्य बहुलाश्वको समीपमा शस्त्र र शास्त्रको ज्ञान हासिल गरे । सिंहको तीक्ष्ण बुद्धि र सौर्य साहसबाट प्रभावित बहुलाश्वले आफ्नै छोरी रोहिणी विवाह गरिदिए । आठ वर्षपछि श्रीमती र तक्षशीलाका केही जवानसँगै सिंह वैशालीमा फर्किँदा अनुपम स्वागत समारोह भयो ।
सिंह सेनापतिमा तक्षशीलालाई आदर्श गणराज्यको रूपमा व्याख्या गरिएको छ । आचार्य बहुलाश्वलाई राजतन्त्र र सम्राटको राज्य विस्तार मन पर्दैन । गणराज्यमा पनि आर्थिक असमानता देखिनु र मानिस मानिसबिच भेदभाव देखिनु आचार्य बहुलाश्व विकृति ठान्थे । वैशालीमा आएपछि बहुलाश्वकी छोरी अथवा सिंहका श्रीमतीले घरकै दासहरूलाई अदास बनाउँदा भएको संवादले गणराज्यहरूबिचकै चेतना र नीतिको भिन्नतालाई उजागर गर्छ ।
सिंह सेनापतिमा पनि जनपद कल्याणी र स्वयम् अम्बपालीबारे प्रसङ्गहरू छन् । एउटा जनपदमा, एक समयमा एक जना मात्र जनपद कल्याणी हुने भनिए पनि पूर्वजनपद कल्याणी भामा र बहालवाला जनपद कल्याणी क्षमाको चर्चा अम्बपालीसँगै तुलना गरिएको पाइन्छ । अम्बपालीलाई जनपद कल्याणी बन्न कतै बाध्य पारेको कतै सन्दर्भ छैन बरु अम्बपाली जस्तो मुलायम भएर बस्ने होइन, देशको लागि जनपद कल्याणीलगायत अन्य महिलाहरूले पनि पुरुष सरह सेना भएर युद्धमा लड्न सक्षम हुनुपर्छ भन्ने अभ्यास गरिएको पाइन्छ । मगधसँग युद्धमा महिलाहरू पनि पुरुष भेषमा सहभागी भएको मात्र होइन, मौकामा उचित प्रहार गरेर शत्रुबाट सिंहलाई बचाउने रोहिणीको रणकुशलता पनि प्रदर्शन गरिएको पाइन्छ ।
सिंह सेनापतिमा रहस्य, कुट र छलभन्दा पनि सैनिक सामथ्र्य र स्वतन्त्र तथा सहज पारिवारिक सम्बन्धबाट नै राज्यको रक्षा गर्न सकिन्छ भन्ने धारणालाई प्राथमिकता दिएको पाइन्छ ।
वैशालीकी नगरवधु र सिंह सेनापतिका केही समानताहरू :
दुवै उपन्यास एकै समयकाल र भूगोलमा आधारित भएर लेखिएको कारण धेरै सन्दर्भहरूमा समानता पनि पाइन्छ । तात्कालीन समाजको सांस्कृतिक पक्षहरू र व्यक्तित्वबारे पनि समानता पाइन्छ ।
दुवै उपन्यासमा बुद्ध, जैन, बन्धुल मल्ल, प्रेशनजित राजाहरूबारे चरित्र चित्रणमा समानता पाइन्छ । साथसाथै तात्कालीन समाजमा पाहुनालाई सत्कार गर्न गाईको मासु खाने विषय समानरूपमा प्रस्तुत गरिएको पाइन्छ । बाहुनलाई दुई उद्देश्यले गाई दान दिने गरेको पाइन्छ : एक खानको लागि, दुई धनको लागि । खानको लागि वत्सरी गाई अधिक मिठो मानिदो रहेछ । बाहुनले पाउने गाई आफैमा धन हो । बाहुनले दान पाएको गाई बेच्न मिल्छ । साथसाथै गाईको सिङमा अनेक सुनका गहनाले सजाएर दान दिने गरिन्छ । उपन्यासमा गौहत्याको प्रसङ्ग आजको हिन्दू धर्मविपरीत भएको हुँदा राहुलले विषय प्रवेशमै सिंह सेनापतिको मौलिक रचना हेर्न पटना सङ्ग्रहालय जान सुझाव दिएका थिए । गौहत्याको विषयमा आचार्य चतुर्सेनले कुनै स्पष्टीकरण दिएका छैनन् । बरु, बौद्ध साहित्यको त्रिपिटकमै कुटदन्त सुत्तमा सात सय गाई, सात सय गोरु, सात सय बोका, सात सय भेँडालगायत अन्य पशुपन्छी पनि सात सात सयका दरले बलि दिएर यज्ञ गर्न लागेको अवस्थामा बुद्धले पशुबलि दिएर मोक्ष प्राप्ति हुने होइन भनी रोकेको प्रसङ्ग पढ्न पाइन्छ ।
निष्कर्ष :
वैशालीकी नगरवधु र सिंह सेनापति दुवै उपन्यासले बौद्धकालीन समाजको चित्रण गरेको पाइन्छ । राजतन्त्रात्मक व्यवस्थाभन्दा गणतन्त्रात्मक व्यवस्था प्रजातान्त्रिक हुने र गणतन्त्रात्मक व्यवस्थामा पनि पूर्वतिर मानिस मानिसबिच भेद भएकोमा चिन्ता गरिएको पाइन्छ । दुवै उपन्यासमा जनपद कल्याणी व्यवस्थाबारे चर्चा गरिएको पाइन्छ । वैशालीका लिच्छवी र पछि मल्लहरू पनि वज्जी गणराज्यबाट काठमाडौँ उपत्यकामा आएको देखिएको हुँदा हाल काठमाडौँ उपत्यकामा रहेको कुमारी प्रथा त्यही जनपद कल्याणी पदको परिमार्जित निरन्तरता हो कि भन्ने अध्ययनको विषय बनेको छ । काठमाडौँ उपत्यकाको ‘जनपद कल्याणी’ लाई रजस्वला भएपछि पदबाट बिदा दिने प्रचलन वैशाली वा अन्य वज्जी गणतन्त्रको परम्परासँग मेल खाँदैन । सम्भवतः भारतका ती गणतन्त्रहरूको सुधारिएको धार्मिक भावना, करुणा र दैवी दृष्टिकोणबाट ओतप्रोत भएको अनुमानबारे थप अध्ययन र छलफल आवश्यकता छ ।
Leave a Reply