ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
सुनसरी, २८ वैशाख । नेपाल खड्गी सेवा समिति धरानको आयोजनामा आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले समाजमा बसोबास गर्ने मानिसहरूको प्रगति के–कति भयो भन्ने कुरा त्यहाँको संस्कृतिको विकासले झल्काउने विचार व्यक्त गर्नुभयो ।
उहाँले नेवारहरू एउटा निश्चित जाति नभई समुदाय रहेको बताउँदै हरेक जातिजातिका मानिसले समाजको निम्ति केही न केही योगदान गरेको हुन्छ भन्नुभयो ।
जसरी शरीरका अङ्गले काम गरेको हुन्छ त्यसरी नै समाजलाई विभिन्न जातजाति, भाषा र संस्कृतिले जीवन्त राख्ने गरेको उहाँले बताउनुभयो ।
हामीले आफ्नो पेसा सँगसँगै नयाँ पुस्तालाई देश विदेशको अवस्थाबारे जानकारी दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
उहाँले समग्र देश विकास गर्न सबै जातिको उत्तिकै भूमिका रहने हुँदा राजनीतिकरूपमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजूले नेपाल मजदुर किसान पार्टीले जातीयतालाई कहिल्यै प्राथमिकता नदिएको चर्चा गर्दै पार्टीले वर्गीय आन्दोलनलाई अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्ने कार्यको प्रशंसा गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेमकिपा कोसी प्रदेशका सदस्य सुनिल शाक्यले पार्टीको निर्देशनअनुसार विभिन्न जिल्लाका जनतासँग पार्टी कार्यक्रम र देशको राजनीतिक अवस्थाबारे अन्तरक्रिया गर्ने निर्णय भएअनुसार काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा खड्गी समाजका पूर्वअध्यक्ष हरि शाहीले समाजको तर्फबाट स्वागत गर्नुभयो भने समाजका अध्यक्ष मनिष खड्गीले कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।
Leave a Reply