भर्खरै :

नर्सहरूको मूल्याङ्कन बिरामीहरूप्रति गरिने उनीहरूको व्यवहारबाट हुने

नर्सहरूको मूल्याङ्कन बिरामीहरूप्रति गरिने उनीहरूको व्यवहारबाट हुने

भक्तपुर, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस (२०२५ मे १२) कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नर्सहरूको मूल्याङ्कन बिरामीहरूप्रति गरिने उनीहरूको व्यवहारमा हुने बताउनुभयो । नर्सिङ पेसामा सिद्धान्त र व्यवहारमा एकरूपता कायम भएन भने सफल हुन नसक्ने बताउँदै उहाँले सङ्कटको समयमा मानिसको मूल्याङ्कन हुने हुँदा सङ्कटमा खटिनेहरूकै सही मूल्याङ्कन हुने बताउनुभयो । नर्सहरूलाई जनताको सेवा र हितको लागि सरल, नम्र व्यवहारले काममा लाग्न प्रेरित गर्दै प्रमुख प्रजापतिले नर्सिङ पेसा सामाजिक सेवासँग जोडिएको पेसा हो भन्नुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले दिवस मनाउनुको उद्देश्यमाथि प्रस्ट पार्दै चिकित्सक तथा नर्सहरूले आफ्नो सामाजिक दायित्व र नैतिकताको ख्याल गरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।
जस्तोसुकै परिस्थितिमा जनताको सेवा गर्ने भावनाले आफ्नो पेसाको पनि सम्मान हुने बताउँदै उहाँले आफ्नो जिम्मेवारीबोधलाई कहिल्यै पनि बिर्सन नहुने बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले प्रत्येक वर्ष करिब एक हजार नर्सहरू बिदेसिने गरेको बताउँदै युवाहरू बाध्यताभन्दा पनि रहरले भन्दा पनि रोजगारी र देखासिकीको लागि विदेश जाने प्रचलन बढिरहेको बताउनुभयो ।
नर्सिङ पेसामा आबद्धहरूले आफ्नो पेसाप्रति इमानदार र नयाँ प्रविधिहरूको समयअनुसारको प्रयोग गर्न जान्नुपर्ने कुरा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले राख्नुभयो ।
कार्यक्रममा नर्सिङ विभागका विभागीय प्रमुख ईश्वरी डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो । नर्सिङ तेस्रो वर्षका उपप्राध्यापक कृष्णशोभा प्रजापतिले नर्सिङ दिवससम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो भने नर्सिङ दोस्रो वर्षका विद्यार्थीहरूले नर्सिङ दिवससम्बन्धी तयार पारेका कविताहरू पनि वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *