भर्खरै :

सङ्काराको बाटो पछ्याउँदै इब्राहिम त्राओरे

सङ्काराको बाटो पछ्याउँदै इब्राहिम त्राओरे

क्याप्टेन इब्राहिम त्राओरेलाई संसारमा धेरैले चिन्दैनन् । सन् २०२२ यता उनी बुर्किना फासोका अन्तरिम राष्ट्रपति हुन् । खासमा उनी हाम्रो युगका अग्लो कदका व्यक्ति हुन् । मूलधारे मिडियाले उनीबारे उति बोलेको छैन । तर, उनले विश्वका धेरै शक्तिशाली व्यक्तिको ध्यान आफूतिर तानिसकेका छन् । खासगरी अफ्रिकीहरू आज उनलाई ध्यान दिएर हेर्दै छन् । अफ्रिकी नेता मात्र होइन बुर्किना फासोलाई तखतमा राख्दै आएका अमेरिका, फ्रान्स र बेलायत जस्ता महाशक्ति देशले पनि बुर्किना फासोतिर हेर्दै छन् । नवनेता त्राओरेको भिजन (कल्पनाशीलता) का कारण तिनीहरूको स्वार्थमा धक्का पुगेको छ ।
उनी एउटा सानो नगरमा जन्मेका थिए । गाउँको नाम थियो बोन्दोक्वे । खानलाउन पुग्ने परिवार थियो । सानै उमेरदेखि उनी शारीरिक र मानसिक दुवै हिसाबले प्रतिभाशाली थिए । आफ्नो नम्र स्वभावले उनले शिक्षकहरूलाई पनि प्रभावित पारेका थिए । आज पनि उनमा त्यो गुण पाइन्छ । सन् २००६ मा उनी ओगादुगु विश्वविद्यालयमा भर्ना भए । त्यहाँ उनले भूगर्भशास्त्रमा स्नातक गरे । यो विषयले आज पनि उनलाई राष्ट्रपतिको जिम्मेवारी पूरा गर्न सघाइरहेको छ । यही विषयका कारण अर्थशास्त्रमा उनको रुचि बढ्दै गयो । त्यसपछि उनले आफ्नो राजनीतिक कौशलको विकास गर्न थाले । उनले एक मुसलमान विद्यार्थी सङ्गठन तथा एक माक्र्सवादी सङ्गठनमा साहसी र मुखर भूमिका खेले । माक्र्सवादी सङ्गठनको नाम थियो ‘बुर्किनाबे विद्यार्थीको राष्ट्रिय सङ्गठन’ (आनेब) । भनिन्छ यो माक्र्सवादी सङ्गठनमा उनको बलियो मनोबल र नम्र मिजासले फल्नेफुल्ने मौका पायो । यसैकारण उनी आफ्ना सहपाठी साथीहरूको हकहितका सच्चा पहरेदार बने र अन्ततः विद्यार्थी निर्वाचनमा विजयी भए ।
स्नातकको पढाइ सकेर त्राओरे सन् २००९ मा सेनामा भर्ती भए । छोटो समयमै एकपछि अर्को पदोन्नति हासिल गर्दै गए । सेनामा उनको प्रभाव बढ्दै गयो । सुरुमा उनलाई एक अफ्रिकी देश मोरक्कोमा लडाकुविमान खसाल्ने तालिम लिन पठाइयो । त्यसपछि उनलाई बुर्किना फासोको उत्तरी भागमा तैनाथ थलसेनाको छाउनीमा पठाइयो । त्यहाँ उनले आतङ्कवादी गतिविधि अचाक्ली बढेको आफ्नै आँखाले देखे । सन् २०१४ मा उनी लेफ्टिनेन्ट पदमा बढुवा भए । यसपछि उनी संयुक्त राष्ट्रसङ्घको शान्ति सेना ‘मिनुस्मा’ मा संलग्न भए र माली युद्धमा भाग लिए । युद्धमा उनले सातथरी आतङ्कवादप्रतिरोधी मिसनमा भाग लिए । यही बेला उच्च नेतृत्व क्षमता र वीरता देखाएको हुनाले उनले धेरै प्रशंसा पनि पाए । मालीमा लामो समयदेखि गृहयुद्ध चलिरहेको छ । उत्तरी भेग आजावदमा बस्ने तुरेग जातिका जनताले अलग्गै देशको माग राख्दै माली सरकारविरुद्ध मुक्ति सङ्घर्ष गरिरहेका छन् । यस गृहयुद्धका कारण भेगीय अस्थिरता बढ्दै छ । यही धमिलो पानीमा माछा मार्न त्यहाँ आतङ्ककारी जत्थाहरूको ओइरो लाग्ने गरेको छ । यो अनुभव त्राओरेको लागि महत्वपूर्ण पाठ भयो । आतङ्ककारीहरूले प्रयोग गर्ने दाउपेचबारे उनी जानकार भए । पश्चिम अफ्रिकाका साहेल क्षेत्रमा मौलाउँदै गएको इस्लामवादी आतङ्कवादको सामना गर्ने उनको तयारी यहीबाट सुरु भयो । ‘मिनुस्मा’ मा काम गर्दै थिए । बुर्किना फासोमा जिहादी आक्रमण बढ्न थाल्यो । त्यो लडाइँमा सघाउन त्राओरेलाई स्वदेश डाकियो । सन् २०१९ मा जिबो भन्ने ठाउँमा ‘ओताप्वानु आक्रमण’ भयो । यही शैलीमा देशको उत्तरी भूभागमा अन्य आतङ्कवादविरोधी कारबाहीहरू भए । त्राओरेले ती कारबाहीमा भाग लिए । यसपछि सन् २०२० मा उनले क्याप्टेन पद हासिल गरे । सन् २०२१ को अन्त्यतिर एउटा जिहादी समूहले इनाता नामक स्थानको प्रहरी चौकी ध्वस्त पा¥यो । हमलामा ४९ प्रहरी र ४ सर्वसाधारणको मृत्यु भयो । जनता परिवर्तनको माग लिएर सडकमा उत्रे । यही बेला त्राओरेमा परिवर्तन देखाप¥यो । सरकारमाथि उनको विश्वास र भरोसा हराउँदै गयो । सरकारले उनका सैनिकहरूलाई पनि राम्रो तलब–सुविधा पु¥याउन सकेन । विश्वविद्यालयमा पढ्दा जस्तै उनले सैनिकहरूको पक्ष लिए । सहकर्मी सैनिकले उनलाई आफ्नो प्रवक्ता चुने । राजनीतिक नेतृत्वसँग सैनिकहरूको दीनदशा जाहेर गर्न उनलाई राजधानी पठाइयो । खासमा बुर्किना फासोले सरकार मृत्युसøयामा थियो । त्यहाँका नेताहरूले लन्डन र पेरिसमा बस्ने मालिकहरूसँग घाँटी जोडिसकेका थिए । त्यसैले आतङ्कवादविरोधी सङ्घर्षमा उनीहरूले सेनालाई ढाडस दिन सकेनन् । तपाइँ आफै कल्पना गर्नुस्, तपाइँ देश र जनताको लागि लड्न र मर्न जानुहुन्छ तर सुटबुटमा ठाँटिने राजधानीबासी नेताहरू सत्ता हात पार्न कहिले स्थानीय अधिकारीलाई ‘सुटकेसभरि पैसा’ खुवाउँछन् त कहिले विदेशमा बस्ने मालिकहरूसँग सत्ताको लागि मोलतोल गर्छन् । कुन देशभक्तले पचाउला यस्तो कुरा ?
यस्तै विषम परिस्थितिमा सैनिक विद्रोह गर्नुबाहेक अर्को बाटो देखिएन ।

नक्कली विद्रोह सक्कलीमा फेरियो
अनि भयो सन् २०२२ जनवरीमा सैनिक विद्रोह । विद्रोहका नाइके थिए पौल–हेनरी सान्दोगो दामिबा । उनी त्राओरेका साथी र सहकर्मी थिए । विद्रोहका सुरुका दिनमा त्राओरे उनको समर्थनमा थिए । तर, ९ महिनापछि सेप्टेम्बरसम्म आइपुग्दा पनि लडाइँमा उति प्रगति देखिएन । अबको लडाइँ देशको लागि थियो । बुर्किना फासोको ४० प्रतिशत भूभाग इजइज–साहेललगायत विभिन्न आतङ्कवादी सङ्गठनको कब्जामा थियो । दामिबाको आठ महिने कार्यकालमा २०० भन्दा बढी हवाइ हमला र सैन्य कारबाही गरियो । ती कारबाहीमा परेर झन्डै १३ सय सैनिकको मृत्यु भयो भने सेनाका २० भन्दा बढी छाउनी ध्वस्त भए । आतङ्ककारी गतिविधिहरू घट्नुको साटो झन् बढेर गए । दामिबानजिक रहेर काम गर्ने अधिकारीहरूले उनी संवाद र सम्झौतालगायत उपायबाट युद्धको राजनीतिक समाधानमा बढी केन्द्रित भएको महसुस गरे । संवाद वा सम्झौता कोसित गर्ने ? चरमपन्थीहरूमध्ये कसलाई विश्वास गर्ने ? समस्या यहाँनिर थियो । यसबाट दामिबासँग नै कसैले सम्झौता गरेको वा उनी समयको माग सम्बोधन गर्न असफल भएको देखियो । आतङ्ककारीहरूसँगको लडाइँमा दामिबा प्रभावकारी नै सिद्ध भएका थिए । खासगरी सैन्य कारबाही सञ्चालनमा उनी दक्ष थिए । यहाँनिर एउटा प्रश्न उठ्छ – नेता भएपछि उनी किन फेरिए ?
दामिबाले पेरिसको इकोल सैन्य केन्द्रमा तालिम लिएका थिए । त्यही राष्ट्रिय कन्जर्भेटोयरमा उनले स्नातकोत्तर गरे । सन् २०१०–२० बिच उनले बेलाबेला अमेरिकाबाट सैन्य तालिम लिइरहे । तालिम लिएपछि मात्र उनी बुर्किना फासो फर्किन्थे । यही बेला उनी सन् २०१०–२० सञ्चालित ‘फ्लिन्टलक संयुक्त परस्पर तालिम’ मा सहभागी भएका थिए । सन् २०१३ मा उनले अमेरिकाको विदेश मन्त्रालयले प्रायोजन गर्ने ‘अफ्रिकी आकस्मिक कारबाही तालिम तथा सहायता’ कोर्स गरेका थिए । सन् २०१३ र २०१४ मा उनले सैन्य गुप्तचरीको आधारभूत अफिसर कोर्स गरे । सन् २०१८ र २०१९ मा उनले बुर्किना फासोमै तालिम लिए । यसमा अमेरिकी रक्षामन्त्रालयको एउटा टोली पनि संलग्न थियो । अमेरिका र फ्रान्सले नेतृत्व गरेको जी–५ समूहको कार्य अवधिमा साहेल क्षेत्रलाई आतङ्ककारीहरूले भताभुङ्ग पारे । यो सन् २०१४–२३ को कुरा हो । यति हुँदाहुँदै पनि दामिबाले जी–५ समूहलाई देशबाट हटाउन खोजेनन् । यी तथ्यकै भरमा उनलाई गद्दार करार गर्न सकिन्न । यद्यपि, धेरै प्रश्न उठाउन सकिन्छ । प्रश्न गर्ने र जवाफ खोज्ने जिम्मा पाठकलाई !
पश्चिम अफ्रिकाभरि लगालग सैनिक विद्रोह भए । ओगादुगु, नियामे (निजर) र बामाको (माली) जस्ता राजधानीका सडकहरूमा जनता हर्षबढाइँमा उत्रेको देखियो । उनीहरू परिवर्तनको आशाले उत्साहित भए । जुलुस र प्रदर्शनहरूमा राष्ट्रपति पुटिनको समर्थनमा रुसी झन्डाहरू देखिन थाले । त्राओरे यसबाट अलग थिएनन् । विश्वका धनकुवेर शासकहरूविरुद्ध युक्रेनमा रुसले लडेको देखेर पश्चिम अफ्रिकी देशका सबै जनता एकढिक्का बनेको देखियो । सन् २०२२ सेप्टेम्बरमा बुर्किना फासोमा अर्को सैनिक विद्रोह भयो । यहाँनिर प्रकट भए क्याप्टेन इब्राहिम त्राओरे । उनी आगो र भाँडभैलोले घेरेको राजनीतिको अखडामा पसे । त्यो बेला उनी जम्मा ३४ वर्षका थिए । तर, सुल्झाउनुपर्ने गम्भीर समस्याहरूको चाङ थियो । राष्ट्रपतिको रूपमा पाउने तलब अस्वीकार गरेर उनले तुरुन्तै आफ्नो स्वाभिमान देखाए । उनले सेनाको कमान्डरकै ज्यालामा गुजारा चलाए । यही सिलसिलामा उनले नयाँ सरकारका मन्त्रीहरूको ज्यालामा ३० प्रतिशत कटौती गरे भने कर्मचारीहरूको ज्याला ५० प्रतिशत बढाए । यसलाई सत्तामा पकड भन्ने मिल्दैन । बरु देशको लागि ठोस योजना र भिजन बनाएको एक व्यक्तिको काम थियो यो । बुर्किना फासोको हितमा उनले गरेको पहिलो दूरदर्शी काम यही थियो । त्यसपछि आफ्नो छरछिमेकका लागि उनले ‘आएस’ (साहेल क्षेत्रका बुर्किना फासो, निजर र मालीको नवनिर्मित गठबन्धन) बनाए । साहेल क्षेत्रबाट आतङ्कवादको नामनिसान मेट्न यो गठबन्धन बनाइएको थियो ।
बुर्किना फासो कसरी शान्ति, सुरक्षा तथा समृद्ध अर्थतन्त्रको बाटोमा कसरी हिँड्यो ? यसमा त्राओरेको नेतृत्वले हासिल गरेका उपलब्धिहरू सारमा यस्ता छन् ः
१. सन् २०२३ फेब्रुअरीमा राष्ट्रपति त्राओरेले बुर्किना फासोबाट फ्रान्सेली सेनालाई निकाला गरे । त्यो सेनाले स्थानीय विद्रोहीहरूलाई सघाइरहेको थियो । त्यो बेला त्राओरेले भने, “हामी अन्य सम्भावनाहरूतिर हेर्दै छौँ किनभने हामी जीत–जीतमा आधारित साझेदारी चाहन्छौँ ।”
२. सन् २०२३ अप्रिलमा उनले सेनालाई समर्थन गर्न जनपरिचालन आह्वान गरे । सन् २०२२ अक्टोबर–नोभेम्बरमा ‘स्वेदश रक्षाबल’ मा भर्ती खुल्यो । ९० हजार स्वयंसेवक भर्ती भए । लक्ष्य खालि ५० हजारको थियो । त्राओरेको नेतृत्वमा सैन्य रणनीतिमा ‘रक्षाबल’ को भूमिका बढेको छ । अब यो सहायक बल मात्र होइन, आतङ्कवादविरुद्ध यसले देशव्यापी भूमिका पाएको छ ।
३. सन् २०२३ जुलाई २९ को दिन त्राओरेले बुर्किनाबे जनताले रुसको समर्थन गर्ने घोषणा गरे । रुस–अफ्रिका शिखर बैठक भर्खर टुंगिएको स्थितिमा त्यो भनाइ आएको थियो । साथै त्राओरेले रुसी राजदूतावास पुनः खोल्नका लागि पत्राचार गरे । सन् १९९२ मा बन्द भएको रुसी दूतावास सन् २०२३ डिसेम्बरमा पुनः खोलियो ।
४. सन् २०२३ सेप्टेम्बरमा उनले एउटा ठूलो घोषणा गरे । बुर्किना फासो, माली र निजरले ‘सहेल देशहरूको गठबन्धन’ (आएस) गठन गरे ।
५. परम्परागत बुर्किनाबे पोशाकलाई प्रवद्र्धन गर्दै उनले अदालतहरूमा लगाइने बेलायती पोशाकमा प्रतिबन्ध लगाए ।
६. त्राओरे राष्ट्रपति बनेको दुई वर्ष मात्र पुगेको छ । तर, यसबिच बुर्किना फासोको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा उल्लेख्य बढोत्तरी आएको छ । ‘जीडीपी’ १८ अर्ब ८० करोडबाट बढेर अहिले २२ अर्ब १० करोड पुगेको छ ।
७. सुरुमै उनले अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्कजस्ता बहुराष्ट्रिय दाताहरूको सहयोग अस्वीकार गर्ने साहस देखाए । उनले प्रस्ट शब्दमा भने, “अफ्रिकालाई विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, युरोप वा अमेरिका चाहिँदैन ।” यसरी उनले आर्थिक स्वाधीनतामा प्रतिबद्धता जनाए । यो अभिव्यक्तिमा बुर्किनाबे नेता सङ्काराको झल्को मिल्छ । सन् १९८४ अक्टोबर ४ को दिन राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै सङ्काराले यही विचार व्यक्त गरेका थिए ।
८. सन् २०२३ नोभेम्बरमा बुर्किना फासोको मन्त्रिपरिषद्ले देशको पहिलो सुन प्रशोधन केन्द्र निर्माण गर्ने निर्णय ग¥यो । यो केन्द्रले १०० नयाँ प्रत्यक्ष र ५ हजार परोक्ष रोजगारी सिर्जना गर्नेछ । साथै यसले दिनको झन्डै ४ सय किलो सुन उत्पादन गर्नेछ । यसको बजार मूल्य दैनिक ४ करोड १५ लाख डलर हुनेछ ।
९. सन् २०२४ फेब्रुअरीमा त्राओरेले साना निजी सुन उत्पादकको निर्यातपत्र निलम्बन गर्ने आदेश दिए । यो अवैध कारोबार बन्द गर्न चालिएको कदम थियो । विश्व स्वर्ण परिषद्ले जारी गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा बुर्किना फासो विश्वको १३ औँ ठूलो सुन उत्पादक देश बन्यो । प्रतिवर्ष उसको कूल सुन उत्पादन झन्डै १०० टन छ । यसको मूल्य ६ अर्ब डलर हुन्छ ।
१०. सन् २०२४ मार्चमा बुर्किना फासो र रुसले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगमा साझेदारी गर्ने मार्गचित्रमा सही गरे । यस दिशामा रुसको आणविक ऊर्जा कम्पनी ‘रोसातोम’ ले बुर्किनाबे सरकारसँग काम गर्दै छ । आणविक ऊर्जा केन्द्र निर्माण सम्झौता गर्न अगस्तमा सो कम्पनीको विज्ञ टोली बुर्किना फासो पुग्यो ।
११. सन् २०२४ अगस्तमा बुर्किना फासोले दुई सुन खानीलाई झन्डै ८ करोड डलर दिएर राष्ट्रियकरण ग¥यो । गत वर्ष बुङ्गु र वाग्नियन खानीलाई लन्डनमा सूचीकृत एन्डित्र माइनिङले लिलियम माइनिङलाई ३० करोड डलरमा बेचेको थियो । अगस्त २७ मा ती खानी बुर्किनाबे सरकारले खरिद ग¥यो ।
१२. सन् २०२४ अगस्तमा बुर्किना फासोले आफ्नो पहिलो औषधि उत्पादन केन्द्रको स्थापना ग¥यो । यसले जेनेरिक औषधि उत्पादन गर्ने तय भएको छ । यसको नाम प्रोफार्मा राखिएको छ भने यसलाई एक स्वतन्त्र स्पेनी संस्थाले इजाजतपत्र दिएको छ । यसले ५०० एमजी प्यारासिटामोल, मांसपेशी शिथिल बनाउने फ्लोरोग्लुकिनोलको उत्पादन थाल्दै छ । यसका साथै यसले झाडापखालाको उपचारमा प्रयोग हुने सुन र जिङ्कको घोल पनि प्रयोग गर्नेछ । प्रोफार्माका विशेष निर्देशक आर्मेल कोएफेले भने, “आज हाम्रो उत्पादन स्थानीय आवश्यकता पूरा गर्न र आपत्कालीन समयमा हुने समस्यालाई थेग्न पुग्छ ।” उत्पादन गर्नुपर्ने रसायनहरूको सूची देखाउँदै उनले भने, “खासगरी मलेरिया उन्मूलन गर्नमा प्रयोग हुने औषधिको उत्पादन बढाइनेछ ।”
१३. सन् २०२४ अगस्तमा मोरक्कोको कम्पनी ‘सिमाफ’ ले बुर्किनाबे राजधानी ओगादुदुमा नयाँ उद्योग खोल्यो । यो अफ्रिकी देशहरूसँग ‘जीत–जीत’ को सिद्धान्तमा आधारित सहकार्यको नतिजा हो । यो लगानीले स्थानीय उत्पादकहरूको क्षमता अभिवृद्धि गर्नेछ । साथै, मोरक्को र बुर्किना फासोबिच प्रविधि हस्तान्तरण तथा ज्ञान आदानप्रदानको प्रक्रिया सहज बन्नेछ । दक्षिणी गोलाद्र्धका देशहरूबिच यसप्रकारका सहकार्यले अफ्रिकी अर्थतन्त्रलाई दीर्घकालमा गएर फाइदा पुग्नेछ ।
१४. सन् २०२४ नोभेम्बर र डिसेम्बरमा सरकारले दुइटा कम्पनीमार्फत टमाटरको प्रशोधन गर्न सहजीकरण ग¥यो । यी पूर्वाधारबाट प्रतिघन्टा ११ टनका दरले गोलभेडा प्रशोधन गर्न मिल्छ । एउटा उद्योगको लागत ८९ लाख डलर छ । त्यसले १ हेक्टर भूमि ओगटेको छ । प्रतिदिन त्यसले १०० टन गोलभेडा (प्रतिघन्टा ५ टन) प्रशोधन गर्छ । यो पूर्वाधारले १०० वटा प्रत्यक्ष रोजगारी पैदा गरेको छ भने १५ सत्न्दा बढी परोक्ष रोजगारी सिर्जना गरेको छ । यससँगै कामको आकार पनि बढ्दै जानेछ । यसबाट पहिलो वर्ष मात्र ७ अर्ब फ्राङ्कोफेन वा १ करोड २१ लाख डलर आमदानी भयो । सन् २०२२ मा मात्र बुर्किना फासोमा ३ लाख साढे १३ हजार टन ताजा गोलभेडा उत्पादन भयो । यद्यपि स्वदेशी प्रशोधन क्षमता कम हुनाले त्यो वर्ष २३ हजार ६ सय टन गोलभेडा आयात गर्नुप¥यो ।
१५. सन् २०२५ फेब्रुअरीमा नयाँ पिठो पिस्ने मिलको स्थापना भयो । त्यसले २२० टन पिठो र ८० टन चोकर उत्पादन गर्छ । त्यस मिलको उद्घाटन गामपेला भन्ने स्थानमा गरिएको थियो । घरेलु अर्थतन्त्रलाई टेवा दिने र गहुँको आयात घटाई आत्मनिर्भरता बढाउने उद्देश्यले त्यस मिलको स्थापना गरिएको थियो । २ करोड ३६ लाख डलर लागतमा जिदनाबा समूहले मौलिन डबर स्टार मिलको निर्माण ग¥यो । बुर्किना फासोलेले सन् २०२३ मा २ लाख ७० हजार ३ सय टन गहुँ र १६ हजार ७ सय टन पिठो आयात गरेको थियो । त्यहाँ अहिलेसम्म गहुँ उत्पादन भएको छैन । सरकारले गत अक्टोबरमा देशका ५ हजार हेक्टर भूमिमा अन्न खेती गर्ने घोषणा गरेको छ । सन् २०२४–२०२५ को सिजनमा खाद्य सुरक्षा बढाउने र आयातमाथिको निर्भरता घटाउन यो योजना अघि सारिएको हो ।
१६. उत्पादन बढाउन र ग्रामीण जनताको समर्थन लिन त्राओरेले जनतालाई ४ सय ट्रयाक्टर, २३९ हाते हलो, ७१० मोटर पम्प र ७१४ मोटरसाइकल बाँडेका छन् । उन्नत बिउबिजन र अन्य कृषि उपकरणमा पहुँचले कृषि उपज बढाउने सोचिएको छ । यसले गर्दा टमाटर उत्पादन सन् २०२२ मा ३ लाख १५ हजार टन भएकोमा सन् २०२४ मा बढेर ३ लाख ६० हजार पुगेको छ । कोदो उत्पादन सन् २०२२ मा ९ लाख ७ हजार टन थियो भने सन् २०२४ मा ११ लाख टन पुग्यो । सन् २०२२ मा २ लाख ८० हजार टन धान उत्पादन भएकोमा सन् २०२४ मा ३ लाख २६ हजार टन पुग्यो ।
१७. सन् २०२५ मार्चमा बुर्किना फासामा नयाँ सिमेन्ट कारखाना (सिसिनोब) को स्थापना भयो । त्यसले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्न सक्छ । यो कारखाना बुर्किना फासो र चीन दुवैलाई लाभ दिने गरी निर्माण गरिएको छ । आफ्नो आधिकारिक सामाजिक सञ्जालमा त्राओरेले पोस्ट गरे, “आज सन् २०२५ मार्च २० गते हामीले लाओङ्गोमा एउटा सिमेन्ट प्लान्ट सिसिनोबको उद्घाटन ग¥यौँ । यसको दैनिक उत्पादन क्षमता २ हजार टनको छ । यसले हाम्रो देशका सयौँ कलिला युवाहरूलाई रोजगारीको अवसर दिनेछ ।”
१८. कुदुगु नामक स्थानमा फासो फानी नामक कपडा उद्योग पुनः सुचारु भएको छ । यसलाई आजभोलि सोफिटेक्स भनिन्छ । कुनै बेला यो देशको औद्योगिक सान बनेको थियो । यो अप्रिलमा त्यसले काम गर्न थालेको छ । यस्तै अन्य दुई आर्थिक क्षेत्रमा थप दुई कपास प्रशोधन केन्द्रको स्थापना गरिएको छ । सो केन्द्रमा अत्याधुनिक उपकरणहरू जडान गरिएको छ । धेरै वर्षदेखि बुर्किना फासोले कच्चा कपासको झन्डै ९५ प्रतिशत बिनाप्रशोधन निर्यात गर्दै आएको थियो ।
१९. सन् २०२५ मा राष्ट्रपति इब्राहिम त्राओरेले देशभरि २ सय मस्जिद निर्माण गर्ने साउदी अरबको प्रस्ताव अस्वीकार गरे । यसको साटो उनले पाठशाला, अस्पताल र रोजगारीमूलक उद्योगलगायत पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न साउदी अरबसँग अनुरोध गरे । देशको दिगो विकासका लागि यी चीज निकै महत्वपूर्ण हुने उनले बताए ।
२०. आधारभूत पूर्वाधार विकासको क्षेत्रमा त्राओरे सरकारले नयाँ सडक निर्माण गर्ने, भएका सडक चौडा बनाउने र ग्राभल सडकलाई स्तरोन्नति गर्ने काम अघि बढाइरहेको छ । नयाँ ‘ओगादुदु–दोन्सिन’ विमानस्थल पनि निर्माण हुँदै छ । यसको काम २०२५ सम्ममा सम्पन्न भइसक्ने छ । यसले वर्षमा १० लाख यात्रुलाई थेग्न सक्नेछ ।
जाग्दै छ सङ्काराको भावना
इब्राहिम त्राओरे पश्चिमा देशहरूका लागि खतरा हुन् । किनभने, उनी अफ्रिकी एकताका सच्चा हिमायती हुन् । उनी आतङ्कवादलाई परास्त गर्न चाहन्छन् । उनी देशको सच्चा र टिकाउ सार्वभौमिकताको पक्षमा छन् । उनी सीमा सुरक्षा चाहन्छन् । सङ्काराले जस्तै त्राओरेले स्वदेशी अर्थतन्त्र ब्युँताउन चाहन्छन् र यसको थालनी उनले गरी पनि सकेका छन् । यसको लागि उनले देशको उत्पादक शक्ति निर्माणमा ध्यान दिँदै छन् । माथिको चर्चाबाट यही कुरा पुष्टि हुन्छ । पुस्तौँपुस्तादेखि देशमा जरा गाडेको भ्रष्टाचारका कारण देशका प्राकृतिक स्रोतसाधन कौडीको मूल्यमा बिक्दै थिए । त्राओरे यसलाई उल्ट्याउँदै छन् । उनी देशको शिक्षा व्यवस्थाको गुणवत्ता उकास्ने सपना देख्दै छन् । सबै बुर्किनाबे जनता लेखपढ गर्ने वा हिसाब–किताब राख्ने सामान्य साक्षर बनेको देख्न मात्र चाहेका होइनन् उनले । उनी वैज्ञानिक तथा सांस्कृतिक रूपमा नै बुर्किनाबे जनता उकासिएको हेर्न चाहन्छन् ।
इब्राहिम त्राओरेको योजना सफल हुनै बाँकी छ । तर यही सपनाका कारण उनी अफ्रिकामाथि हैकम र नियन्त्रण कायम गर्न चाहने जोकोहीका आँखाका कसिङ्गर बन्न पुगेका छन् । उनलाई मार्न १८ भन्दा बढी हत्या–प्रयास भइसकेको छ । यसले उनको लोकप्रियता बढाएको छ । उनी अफ्रिकी युवाका मुटुका ढुकढुकी बनिसकेका छन् । उनलाई मार्ने प्रयासबाट यथास्थितिका पुजारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकिएको स्पष्ट भएको छ । अहिले इन्टरनेटको पहुँचमा हुने अफ्रिकाका सबै युवायुवतीलाई त्राओरेको बारेमा थाहा छ । अफ्रिकी युवाहरू उत्साहित मात्र छैनन्, त्राओरेको समर्थनमा उभिएका छन् । हालै मात्र घानाका नयाँ राष्ट्रपति जोन माहामाले एउटा प्रदर्शन आयोजना गरे । माहामा पनि अफ्रिकी एकताका पक्षधर हुन् । जुलुसमा अफ्रिकाका धेरै नेता सहभागी थिए । त्यहाँ भीडले त्राओरेलाई फिल्मी नायकलाई जस्तै हर्षोल्लासका साथ स्वागत ग¥यो । उनको उपस्थितिमा मानिसहरू अत्यन्त रमाइरहेका थिए ।
विश्वले हेर्नलायक एउटा नायक पाएको छ, एउटा तारा पाएको छ । यो ताराको उदयसँगै एउटा भुइँदेशले आकाश छुनेछ ।
यसबारे सङ्काराले कविताको लयमा भनेका थिए –
क्रान्तिकारीहरू पनि मान्छे हुन्, त्यसैले मारिन सक्छन् । तर, तिनको विचार मारिन सक्दैन कहिल्यै ।
लाग्छ त्राओरे पनि त्यही झिल्कोबाट धपधपी बलिरहेका छन् । उनले यो संसारलाई एक–अफ्रिकाको दूरदर्शी र कल्पनाशील विचारले उज्यालो बनाइरहून् । एक–अफ्रिकाको भावनाले अफ्रिकी युवाहरू एकताबद्ध भइरहून् ।

(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *