भर्खरै :

स्याङ्जामा नेमकिपाको भूमिकाबारे अन्तरक्रिया

स्याङ्जामा नेमकिपाको भूमिकाबारे अन्तरक्रिया

स्याङ्जा, ३० वैशाख । स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं ३, फूलबारीमा मङ्गलबार स्थानीय जनतामाझ नेपाल मजदुर किसान पार्टीको भूमिकाबारे अन्तरक्रिया सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले शासक दलहरूको अकर्मण्यताको कारण नेपाली युवाहरू वैदेशिक रोजगारीको नाममा विदेशी भूमिमा श्रम–पसिना बगाउन बाध्य भएको चर्चा गर्दै नेपाली युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त गरी हाम्रो भूमि हराभरा पार्नु जरुरी रहेको औँल्याउनुभयो ।
उहाँले सन् १८१६ को सुनौली सन्धिपश्चात् नेपाल–भारत–बेलायतबिचको त्रिदेशीय सन्धिले नेपाली युवालाई ‘गोर्खाभर्ती’ मार्फत अङ्ग्रेज र भारतको भाँडाको सिपाहीँ बनाउनु गलत रहेको उल्लेख गर्दै गोर्खाभर्ती खारेज गरेर नेपाली युवालाई आफ्नै देशको सार्वभौमिकता रक्षार्थ खटाउनु जरुरी रहेको बताउनुभयो ।
“युवालाई स्वदेशमै रोजगारी, शिक्षा, स्वास्थ्य निःशुल्क, उत्पादनका साधनहरू राष्ट्रियकरण गरेर आर्थिक समानतामा आधारित समाज स्थापनार्थ नेपाल मजदुर किसान पार्टी सङ्घर्षरत छ,” उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका शिवजी त्वायनाबासुले सरकारले जनतासँग उठाएको करको सही सदुपयोग गरे जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने धारणा राख्दै नेपाल मजदुर किसान पार्टी भ्रष्टाचार अत्त्यको निम्ति क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *