भर्खरै :

के नेपाल सुन्दर छ ?

के नेपाल सुन्दर छ ?

फेसबुकमा धेरै व्यक्तिले आफू घुम्न गएको ठाउँको सुन्दर फोटोहरू हाल्दा सेतो हिमाल, हरियो वन, नदीको सौन्दर्य देख्नेहरूले ती ठाउँको फोहोर र विरूपता पक्कै देखे होलान् तर, फेसबुकमा विरूप धरतीको फोटोचाहिँ आउन्न  ।
राराको सौन्दर्यबाट पर्यटनको विकास भनेर विचार गर्नेहरूले, काठमाडौँ उपत्यका मन्दिरहरू घुम्दा, भगवानलाई बेस्सरी अक्षता र फूल कोच्दा त्यो कुहिएर फोहोर भएको, दुर्गन्धित भएको देख्दा मनमा लाग्छ, के यही हो मन्दिरको सौन्दर्य ? जनकपुरमा जानकी मन्दिर भनेर गर्व गर्नेहरूले जानकी मन्दिरको फोहोर आँगन, हिलोधुलोले भरिपूर्ण जनकपुरबारे किन नसोचेका होलान् ? मलाई आश्चर्य लाग्छ । अहिले यदि जानकी जनकपुर आइन् भने यिनले के ठान्ने थिइन् होला ? मनमनै म कल्पना पनि गर्छु ।
जनकपुर त पुग्ने तीर्थयात्रीलाई भनेर शौचालय बनाउने ठाउँ वा कतै अन्य सुविधा छ कि छैन भनेर कसैले ध्यान दिएको नदेख्दा लाग्छ, किन यति अपवित्र बनाइएको जानकीको प्रसिद्ध सहर ?
गुजरातबाट नेपालमा पशुपतिको दर्शन गर्न आएकी पल्लवी पटेलले मसँग भनेकी थिइन्, “कस्तो फोहोर गरेर राखेको मन्दिर वरिपरिका स्थान र सहरहरू ? यहाँ नगरपालिका छैन ? तिम्रो घरतिर जाँदा पनि प्लास्टिक र कागजको थुप्रो ठाउँठाउँमा छ, थापाथलीको नदी त ढल भएको रहेछ !’ पशुपतितिर जाँदा त्यहाँको दुर्गन्धले उनी अस्तव्यस्त भएकी थिइन् । “तिमीहरू कसरी यस्तो ठाउँमा शव पोल्छौ ? शवको अपमान गरेजस्तो लाग्दैन ?” उनले मलाई सोधिन् । मलाई थाहा थियो कि पल्लवीले सही कुरा गरेकी थिइन् । म के नै भन्न सक्थेँ र ! अन्य पर्यटकले पनि मनमा त यस्तै सोच्दा होलान्, तर भन्दैनन् वा भनेर सुनाउने मान्छे पाउँदैनन् ।
नेपालगञ्ज, विराटनगर र वीरगञ्ज ३ वटै ठाउँमा ठूलाठूला व्यापारी घराना छन् । लाखौँ मानिस आउने–जाने गर्छन्, ठुला होटेल खोलिएका छन्, तर ३ वटै ठाउँ अति फोहोर छन् । पान खाएर थुकेका भित्ता, खकारले भरिएको फुटपाथ, कुनाकुनामा थुप्रिएका फोहोर, नालीको पिसाबले दुर्गन्धित कुनाहरू हेर्दा कसले भनिरहला नेपाल सुन्दर छ भनेर !
नेपालको जुनसुकै कुनामा पुगेपछि मेरा आँखा त्यहाँका हिमाल र हरियोपनभन्दा त्यहाँको फोहोरमा पर्न जान्छ । चाहे लुम्बिनी होस् वा सुदूरपश्चिमका क्षेत्र । स्याङ्जाको सिरुवारीको प्रसिद्धि सुनेर त्यहाँ जाँदा देखेँ, केही घर वरपर सफा छ ।
तर, सिरुवारी गाउँ त फोहोर नै रहेछ, कसैले पनि सिरुवारीको सौन्दर्यबारे कुरा गर्दा गाउँको फोहोरका विषयमा कुरा गर्दैनन् । सायद फोटो पनि खिच्दैनन् होला !
किन सबै धार्मिक पर्यटकीय र आर्थिक कारोबार हुने ठाउँमा सामान्य सफाइको समेत कसैले वास्ता गर्दैन ? सफाइ नभए कसरी सुन्दरता हुन्छ ? हिमालको स्तुति गर्नेहरूले धरती फोहोर भएर विरूप भएको किन नदेखेका होलान् ? मेरा कतिपय विदेशी साथी हिमाल देखेर मन्त्रमुग्ध हुँदा म भन्छु– “प्रकृतिले हामीलाई सुन्दर हिमाल त दिएको छ, तर हामीले नेपालको धरतीलाई कुरूप पार्दै लगेका छौँ। सफाइ गर्नतिर हामी कोही पनि लाग्दैनौँ, फोहोर गर्न हामी खप्पिस छौँ । हामी घर सफा राख्छौँ र घरको फोहोर लगेर सडकमा फाल्छौँ, नदीनालामा फ्याक्छौँ। त्यसैले तिमीहरू हिमालतिर मात्रै हेर । नेपालको धरती हेरे तिमीहरूको मनको नेपालप्रतिको सुन्दरता धुमिल हुन सक्नेछ ।”
हिमालहरू– मनास्लु, लोत्से, गौरीशङ्करको सौन्दर्य अवर्णनीय छ, तर के गर्नु त्यहाँबाट नजर झुकाएर धरतीमा हेर्दा फोहोरले दिक्क भइन्छ । स्वयम्भू, बौद्ध र लुम्बिनी फोहोर छ, पशुपति गुह्येश्वरी फोहोर छ । गोसाइँकुण्ड जाने यात्री जति उत्साहका साथ त्यहाँ जान्छन्, त्यहाँ वरिपरि फोहोर देखेर त्यति नै दिक्क मानेर फर्कन्छन् ।
तीर्थ जाँदा मन प्रसन्न भएर भने के फाइदा भयो र ? तीर्थ जाँदा त्यहाँको फोहोरले मनमा आएको उत्साहलाई भरंग पार्छ भने प्रश्न उठ्दैन त के नेपाल साँच्चै नै सुन्दर छ ?
भृकुटीमण्डप वरिपरिका क्याम्पस अगाडि, अस्पताल छेउछाउ जताततै फोहोरको थुप्रो छ । तर पनि नेपालको सौन्दर्यको व्याख्या गरेर हामी कहिले थाक्दैनौँ । ठुला नारा लगाउने विद्यार्थीका आँखामा ती फोहोर पर्दैनन् ? किताबमा स्वच्छता छ । सडक, पार्क, स्कूल, मन्दिरमा भने स्वच्छताशून्य छ ।
कुनै पर्यटक आएर फोहोर नदी, प्लास्टिकका थुप्राहरूको फोटो खिचेर ‘यस्तो छ नेपालको कुरूपता’ भनी फेसबुक र युट्युबमा हालिदियो भने के होला ? बसबाट पोको फ्यालेको तस्बिर, स्कुल र अस्पतालको फोहोर आँगन र शौचालयको फोटो खिचेर साथीहरूलाई इमेल पठायो भने ?
पर्यटकले भरिपूर्ण पोखरा होस् वा धरान सबै ठाउँ फोहोर छ, सफाइको व्यवस्थापनबारे कोही उत्सुक हँुदैन ।
ठाउँठाउँमा महोत्सव गर्नेहरूले कार्यक्रम सकिएपछि फोहोर गरेर छोडेको चउर सफा गर्ने कसले होला ? महोत्सवको बेलामा पनि जथाभावी खाएर फ्यालेका खानेकुराका प्याकेट, प्लास्टिक र कागजका बट्टा छरिएका हुन्छन्, तिनलाई कुल्चेर सबै जना हिँडिरहँदा पनि कसैले वास्ता गर्दैनन् । महोत्सव हुँदा कसले विचार गर्छ, सफाइको उत्सव पनि गर्नुपर्छ भनेर ~ महोत्सवमा कतिपय नेतालाई १० किलोको माला चढाउँछन् आयोजकहरू । पछि त्यही माला कुहिएर गन्हाउँदा चाहिँ कसैलाई वास्तै हुँदैन ।
टुँडिखेलमा कुनै खेल र कार्यक्रम सकिएपछि त्यो ठाउँ कागज, बदाम र सुन्तलाको बोक्राले भरिन्छ । पाटन वा भक्तपुरको जात्रापछि त्यो ठाउँ हेरिनसक्नु हुन्छ । कुनै भोज भएको ठाउँमा कार्यक्रम सम्पन्न भएपछि कागजका प्लेट, प्लास्टिकका गिलास, मासुका टुक्रा, आलुको अचार जताततै छरिएको हुन्छ । यस्तो अवस्थामा ‘नेपाल सुन्दर छ, पर्यटकलाई लोभ्याउँछ’ भनेर कति लेखिरहने ? कति सुनिरहने र सुनाइरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *