भर्खरै :

निओ फ्युजन स्कूलबाट निःशुल्क तालिम सुरु हुने

निओ फ्युजन स्कूलबाट निःशुल्क तालिम सुरु हुने

भक्तपुर, ३ जेठ । निओ फ्युजन स्कूल अफ कम्प्युटर इनाचोबाट सञ्चालन हुने निःशुल्क तालिमहरू आइतबारबाट सुरु हुने भएको छ ।
विगत १८ वर्षदेखि निओ फ्युजन स्कूल अफ कम्प्युटरले ‘सबल भक्तपुर योग्य भक्तपुर’ को नाराका साथ विविध सीपमूलक तालिमहरू दिँदै आइरहेको निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले बताउनुभएको छ । भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा परिचालित भइरहेकोमा यस किसिमको तालिमले एक दरिलो इँटा थप्ने प्रयास गरेको बनमाला बताउनुहुन्छ ।
युवा तथा विद्यार्थी लक्षित सीप विकास गर्न नेपाल सरकारको तालिम प्रदायक संस्थामा सम्बन्धन प्राप्त गरी स्वरोजगारी बनाउने उद्देश्यले आफ्नै लगानीमा निःशुल्क तालिमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
चित्रकला, मूर्तिकला, काष्ठकला, बुटिक, लिपि, इन्टेरियर डिजाइन, डिजिटल फोटोग्राफी, मोबाइल फोटोग्राफी, भिडियोग्राफी, नाटक, नृत्यकला, सङ्गीतमा गितार, किबोर्ड, धिमे बाजा, धाँ बाजा, बाँसुरी र तबला, पत्रकारिता, स्क्रिन प्रिन्ट, स्काउट, ब्युटिपार्लर, मोबाइल मर्मत, हाउस वाइरिङ र उद्घोषण आदि तालिम सञ्चालनमा रहेका छन् ।
यस वर्षका विद्यार्थीहरूलाई खुला तालिमको आवेदन आह्वान गरिएकोमा बाँसुरी बाजामा १८ जना, ब्युटी पार्लरमा ८५ जना, धिमे बाजामा २६ जना, डिजिटल फोटोग्राफीमा २३ जना, चित्रकलामा ४६ जना, उद्घोषणमा १४ जना, इन्टेरियर डिजाइनमा ३८ जना, मोबाइल फोटोग्राफीमा ३९ जना, स्काउट (रोभर÷रेञ्जर) मा २४ जना, बुटिकमा १० जना, नृत्यकलामा २७ जना, धाँबाजामा ६५ जना, गितारमा ८६ जना, हाउस वाइरिङमा २२ जना, मोबाइल मर्मतमा ९२ जना सहभागी हुने भएका छन् । एसईई तथा दस जोड दुईका विद्यार्थीहरूको लागि तालिम फलदायी र मार्गनिर्देशन हुने जनाइएको छ । तालिम आइतबारबाट सुरु हुने जनाइएको छ । तालिम साउन महिनासम्म निरन्तर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *