भर्खरै :

बेलायती प्रधानमन्त्रीको जातिवादी चरित्र

  • जेष्ठ ४, २०८२
  • पिटर ओबोर्न
  • विचार
बेलायती प्रधानमन्त्रीको जातिवादी चरित्र

कियर स्टार्मर बेलायती प्रधानमन्त्री बनेको झन्डै एक वर्ष बित्यो । उनले लेबर पार्टीलाई बेलायतको आधुनिक इतिहासमै सबैभन्दा ठुलो विजय दिलाएका थिए ।
स्टार्मरको विजयको कारण सजिलै बुझ्न सकिन्छ । १४ वर्षदेखि बेलायतले चरम ¥हास र निरासा झेलिरहेको थियो । पालैपालो अनुदार दलका भ्रष्ट र अयोग्य सरकारले यो अवधिमा बेलायतमा शासन गरिरहे । बेलायती जनताले स्टार्मरको लेबर पार्टीले देशमा शिष्टता, इमानदारी, प्रशासनिक चुस्तता र राष्ट्रिय गरिमा पुनःस्थापित गर्ने आशा गरे ।
त्यो आशा पूरा भएन । दस महिनापछि स्टार्मर कसैले नरुचाउने सरकारका अत्यन्त अलोकप्रिय नेता बनिसकेका छन् । अलोकप्रियता उनको घाँटीघाँटी आइसकेको छ ।
पर्यवेक्षकहरू स्टार्मरले आफ्नै निर्वाचन क्षेत्र होलबर्नमा पुनः विजयी हुन नसक्ने आकलन गरेका छन् । लेबर दललाई अर्कोपल्ट जिताउन सक्ने कुरा त परको भयो । लेबर दलका सांसदहरूमा पनि खुसियाली छैन । केही सांसदले त स्टार्मर अर्को निर्वाचनसम्म टिक्न सक्नेमै आशङ्का गरेका छन् ।
यसप्रकारको पतनको कारण खोज्न धेरै मेहनत गर्नुपर्दैन । स्टार्मरले जनसाधारणको जीवनमा नयाँ रौनक ल्याउने वाचा गरेका थिए । त्यो वाचाको उल्टो उनी पालैपालो विभिन्न सानातिना काण्डमा मुछिँदै गए । उनले गलत निर्णयहरू गरे भने खराबमा जनतालाई अभावको खाडलमा जाँक्ने काम गरे ।
उनी पनि बोरिस जोनसनजस्तै बेइमान साबित भए । यही तथ्यबाट धेरै कुरा खुल्छ । लेबर दलले उचित आर्थिक व्यवस्थापन बिउँताउन सकेको छैन । उसले बेलायतको गतिहीन अर्थतन्त्रमा कुनै उत्साह जगाउन सकेको छ । अभागी विदेशमन्त्री डेभिड ल्यामीलाई सतही भन्न सकिन्छ भने यस्तो स्थितिमा पनि इजरायललाई हतियार बोच्ने स्टार्मरको जोडबल बुझिसाध्य छैन ।
यो हप्ता युरोपमा देखिएको बसाइँसराइको चोट अध्ययन गर्न लायक छ । यो घटनाबाट स्टार्मर किन खराब प्रधानमन्त्री हुन् भन्ने पुष्टि हुन्छ ।
गम्भीर जनाउ व्यवस्थामा गम्भीर सकस परेको छ । आप्रवासनबारे श्वेतपत्र जारी गर्नुपर्ने थियो । गृहसचिव वेट्टे कुपरको प्रस्ताव पूर्णतः अविश्वासिलो पनि छैन ।
मुख्य समस्या स्टार्मर हुन् । आप्रवासीहरूलाई लक्षित गरेर उनले ल्याएका नयाँ नीतिहरूलाई सही ठह¥याउन उनी बरोबर बेइमान, सनकी, ज्वलनशील र जातिवादीजस्ता शब्दको प्रयोग गरे ।
प्रधानमन्त्री स्टार्मरले पत्रकारहरूसँग भने, “मैले यो निर्णय गरेँ किनभने यो सही छ, किनभने यो स्पष्ट छ र किनभने यही मेरो विश्वास छ ।” तर, हालसालै उनले आफूले बोलेभन्दा ठीकविपरीत काम गरे ।
पाँच वर्षअघि उनी लेबल दलको नेतृत्वका लागि लडे । त्यसबेला स्टार्मरले जोड दिँदै भनेका थिए, “हामीले आप्रवासीहरूलाई फाइदा पुग्ने गरी काम गर्नु छ ।” बेलायतले आप्रवासीहरूलाई ‘बलिको बोको’ बनाउन नहुने र बेलायतका सार्वजनिक सेवा संस्थानहरू बिफल हुनुमा ‘यहाँ आउने आप्रवासीहरूको दोष छैन’ भनेका थिए ।
अहिले स्टार्मरले इनोक पावेलको भाषा बोल्दै छन् । इनोक पावेलले सन् १९६८ तिर बेलायती राजनीतिमा कुख्यात जातिवादी लाइन घुसाएका थिए । त्यति बेला पावेलले आप्रवासनले बेलायतलाई ‘परचक्रीहरूको टापु’ बनाएको दाबी गरेका थिए ।
विश्व कसरी चल्छ भन्ने अनुभव नभएका भर्खरका ठिटाठिटीले आफ्नो विश्व दृष्टिकोणबारे पुनर्विचार गर्नु सही पनि हो । तर, स्टार्मरले साठी वर्ष नाघिसकेका छन् । उनलाई विषयवस्तुको राम्रै जानकारी छ । यसकारण, उनले बेलायतका जल्दाबल्दा समस्याबारे अहिले आएर नितान्त फरक विचार अघि सार्नु आफैमा गम्भीर चेतावनी पनि हो ।
लेबर दलको नेतृत्वको रूपमा अघि सर्दा स्टार्मरले जनतासँग आकर्षक वाचा गरेका थिए । उनले अध्ययन शुल्क रद्द गर्ने, धेरै कमाउने धनाढ्यहरूमाथि लगाइने करको दर बढाउने, ‘रेल, हुलाक, ऊर्जा र पानी’ लाई पुनः सरकारी स्वामित्वमा ल्याउने, मानवअधिकारलाई विदेश नीतिको केन्द्रमा राख्ने र खुला बसाइँसराइ गर्ने जनताको हकको प्रतिरक्षा गर्ने वचन दिएका थिए । उनले जोड दिएर लेबर दलका लोकप्रिय नेता जेरेमी कोर्बिनलाई आफ्नो मित्र भनेका थिए ।
परिस्थिति बदलिँदा मान्छेको विचारमा के परिवर्तन आउँदो रहेछ भनी हेर्नु जायज पनि छ । यसबाट व्यक्तिको नैतिक बल र बौद्धिक क्षमता प्रकट हुन्छ । स्टार्मरको समस्या ठुलो छ किनभने उनले परिस्थिति बदल्न सकेका छैनन् ।
पाँच वर्षअघि स्टार्मरले सार्वजनिक सेवाहरू पुनः राष्ट्रियकरण गर्ने मुद्दा लिएका थिए । आज पुनः राष्ट्रियकरणको मुद्दा झन् टड्कारो बनेको छ । धनाढ्यहरूबाट धेरै कर असुल्ने पाँच वर्षअघिको उनको नारा लागु गर्नुपर्ने स्थिति हो । खुला बसाइँसराइको आर्थिक र मानवीय तर्क पनि आज अझ सशक्त भएर आएको छ । तर, यति नै बेला स्टार्मर ती आवश्यकताको घाँटी निमोठ्न उद्यत छन् । आज गाजामा दिनदहाडै नरसंहार चलिरहेको बेला मानव अधिकारले धेरै अर्थ राख्छ । यस्तो स्थितिमा पनि स्टार्मरले किन त्यसलाई आफ्नो विदेश नीतिको केन्द्रमा राख्दैनन् ?
खतरनाक शैली खासमा अडानका हिसाबले स्टार्मर हुल्याहा हुन् । उनमा कुनै विश्व दृष्टिकोण, सङ्गति र बौद्धिक विश्लेषणको क्षमता छैन । हाम्रो युगका ठुला मुद्दाहरूबारे उनको विचार जतिबेला पनि बदलिन सक्छ । पिपलपाते शैलीमा उनी आफ्नो विचार फेरिरहन्छन् ।
जिम्मेवार पदमा बसेको जुनसुकै व्यक्तिको व्यवहारमा यस्तो अस्थिर ढर्रा देखिएपछि जो पनि आत्तिन्छ । अझ प्रधानमन्त्री जस्तो व्यक्तिमा यस्तो अस्थिरता देखिनु झन् झस्काउने र डरलाग्दो पनि हुन्छ ।
तर, स्टार्मरको राजनीतिक र नैतिक ढुलमुलका पछाडि एउटा स्थिरता र सङ्गति पनि छ । खोज पत्रकार तथा भ्रष्टाचारविरोधी अध्येता पाउल होल्डेनको एउटा शक्तिशाली र सूचनामूलक पुस्तकमा स्टार्मरको यो पक्षबारे विस्तृतरूपमा व्याख्या गरिएको छ । पुस्तक यही वर्ष सार्वजनिक हुँदै छ ।
पुस्तकको नाम हो – घोटाला ः कियर स्टार्मर, लेबर दल र बेलायती प्रजातन्त्रको सङ्कट । पुस्तकमा होल्डेनले स्टार्मरको अचाक्ली निरस राजनीतिमा रस भर्ने वा सङ्गति थप्ने कोसिस गरेका छैनन् । त्यो एउटा असम्भव काम हो । तर, होल्डेनले चित्तबुझ्दो गरी के तर्क राखेका छन् भने स्टार्मरको बौद्धिक र नैतिक असङ्गतिलाई गहिरिएर नियाल्ने हो भने त्यहाँ टिठलाग्दो सङ्गति देखिन्छ ।
होल्डेनले बुझेअनुसार स्टार्मरको कुनै निश्चित मूल्यमान्यता छैन । उनी आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई हेरेर आफ्नो मूल्यमान्यता तय गर्छन् । लेबर दलको नेतृत्व छनोट हुने बेला स्टार्मरकी मुख्य प्रतिद्वन्द्वी थिइन् रेबेका लङ–बेली । लङ–बेली वामपन्थी खेमाकी नेतृ थिइन् । त्यो बेला स्टार्मरले लङ–बेलीका वामपन्थी नीतिहरूको नक्कल गरे । दलको प्रमुख नेताको रूपमा स्थापित भइसकेपछि स्टार्मरलाई ऋषि सुनकको टोरी (अनुदार) दललाई परास्त गर्नुपर्छ भन्ने थाहा थियो । त्यसैले उनी बिस्तारै दक्षिणपन्थी खोमातिर ढल्किँदै गए ।
अहिले स्टार्मर बेलायतको प्रधानमन्त्री पदमा आसीन छन् र अर्को निर्वाचनतिर आँखा लगाउँदै छन् । आउँदो निर्वाचनमा उनले रिफर्म दलका नेता नाइजेल फाराजलाई खतराको रूपमा मडारिरहेको देख्दै छन् । लङ–बेलीलाई निस्तेज पार्न वामपन्थी नीतिहरूतर्फ ढल्केका स्टार्मरले अब फाराजविरुद्धको लडाइँमा चरम दक्षिणपन्थी बाटो लिने होल्डेनको आकलन छ । फाराज जातिवादी पावेलका राजनीतिक उत्तराधिकारी हुन् । त्यसैले उनलाई परास्त गर्न पावेलकै भाषा बोल्नुपर्ने स्टार्मरलाई थाहा छ ।
मैले होल्डेनको पुस्तकको पाण्डुलिपी पढेको छु । पुस्तकले निकै सुन्दर शैलीमा स्टार्मरको चित्रण गरेको छ । पाँच वर्षको छोटो अवधिमै एक सम्मानित वामपन्थीबाट बेलायती राजनीतिको जातिवादी दक्षिणपन्थमा फड्को मार्ने स्टार्मरको लङ–बेलीदेखि फाराजसम्मको यात्रालाई पुस्तकले मजाले केलाएको छ । यसैकारण, स्टार्मरको लेबर दलले जातिवादी मतदाताहरूको सानो समूहको मत हात पार्न दक्षिणपन्थी केमी बादेनोखको टोरी दल र फाराजको रिफर्म दलसँग चुनावी तालमेलसमेत ग¥यो ।
बेलायती जनताको जीवनमा इमानदारी, शिष्टता र मानवीयता छर्ने मुद्दा बोकेको अघि बढेको राजनीतिक दलको मुटुमै एउटा ठुलो चिरा परेको छ ।
(पिटर ओबर्न ख्यातिप्राप्त पत्रकार हुन् । उनका विश्लेषणात्मक लेख रचनाले धेरै पुरस्कार पनि हात पारेका छन् । उनको पछिल्लो पुस्तक थियो – अब्राहमको भाग्य ः इस्लामबारे पश्चिमा बुझाइ किन गलत छ ?)
स्रोत :  मिडल इस्ट आइ
अनुवाद : गणेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *