सरकार देश र जनताप्रति जिम्मेवार हुनुपर्ने
- असार ११, २०८३
३ जेठ २०८२ को ‘राजधानी’ मा एउटा समाचारको शीर्षक थियो – ‘पाकिस्तानको दुर्दशा र थोरै चीनको समेत फजिहत ।’ यस समाचारका लेखक हुन् – सम्पादक सरोज मिश्र ।
छिमेकी देशहरू भारत र पाकिस्तानबिचको युद्ध नेपाली जनतामात्रै होइन दक्षिण एसियाली देशहरू र कुनै पनि एसियाली छिमेकी देश र क्षेत्रको बिचमा युद्ध होस् भन्ने चाहँदैनन् भनी बुझ्नु सरल विषय हो । ती दुई छिमेकी देशको युद्धले त्यस क्षेत्रकै पर्यटन उद्योगमा मात्रै क्षति हुने होइन कि आ–आफ्ना देशको बजार मूल्य पनि बढ्नेछ र युद्धरत देशहरूमा छिमेकी देशहरूको आवतजावत बन्द हुँदा सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्नेछ ।
यसकारण, हालको ‘भारत–पाकिस्तान युद्ध’ मा नेपाली जनता खुसी हुने कुरै भएन । तर, ‘राजधानी’ को त्यस समाचारको टिप्पणीमा भनिएको छ – ‘… आजका मितिमा हामी चीनसमेत चिनियाँ जे एफ १७ ले खोजी खोजी राफेल नष्ट गरेपछि भारत युद्धविराम गर्न बाध्य भएको विश्लेषण गर्ने विद्वानसमेत छन् ।’ यीचाहिँ चीनभक्तिमा होसै गुमाइसकेका भारतीय विस्तारवादविरोधी अगग्रामी राष्ट्रवादी हुन् ।
यहाँ प्रश्न उठ्नु स्वाभाविक छ कि ‘अग्रगामी राष्ट्रवादी’ को हुन् ? हिजोसम्म नेपालमा ‘राष्ट्रवादी’ को अर्थ राजावादी वा सङ्कीर्ण राष्ट्रवाद र अन्धराष्ट्रवादी’ विचारलाई प्रतिगामीको अर्थमा लिने गरिन्थ्यो । तर, समाचारमा प्रयोग गरिएको ‘अग्रगामी’ राष्ट्रवादको अर्थ के हो भनी प्रश्न गर्न पाए पाठकहरूलाई बुझ्न सजिलो हुन्थ्यो ।
“पाकिस्तानको दुर्दशा र थोरै चीनको समेत फजिहत’ शीर्षकमा लेखकले प्रयोग गरेको वाक्यांश ‘थोरै चीनको समेत फजिहत’ ले पाठकहरूलाई दक्षिण एसियाको अन्तर्राष्ट्रिय परिवेशलाई अझ धमिल्याउने खालका शब्दहरू प्रयोग त भएका होइनन् भन्नेबारे घोत्लिनुपर्ने स्थिति छ ।
भारत र पाकिस्तानको युद्धबाट कुनै छिमेकी देश खुसी नहुनेबारे माथि प्रस्टै भइसकेको छ । यसकारण, ‘थोरै चीनको समेत फजिहत’ के ‘राजधानी’ का सम्पादक अलि ‘थोरै’ खुसी हुनुभएको अर्थ त लाग्दैन ?
वर्तमान ‘इजरायली आक्रमण र प्यालेस्टिनी युद्ध’ र ‘युक्रेन–रूस युद्धबाट छिमेकी देशहरू कुनै देश वा व्यक्ति खुसी भएको हामी पाठकहरूलाई थाहा छैन । त्यस्तै ‘पाकिस्तान र भारतको युद्ध’ मा दुवै देशको जनधनको क्षति र तनावमा किन छिमेकीहरू खुसी हुने ? एकले अर्काे देशमा ध्वंश हुने हतियार प्रयोग गर्दा खुसी हुने कस्ता छिमेकी होलान् ¤? यसकारण भन्ने गरिन्छ, चिताउनु भनेको राम्रो चिताउनुपर्छ ।
धेरै क्षति नभएकोमा ‘थोरै चीनको समेत ‘फजीहत’ शब्द र आशय पनि छिमेकीहरूले ताली बजाउने खालको अभिव्यक्ति पूर्णरूपले भलाद्मीपन झल्कँदैन ।
फजीहत अरबी शब्द हो र त्यसको हिन्दी अर्थ हो – अपमान, बेइज्जती, दुर्दशा, दुर्गति आदि । के यो युद्धमा भारतको ठुलो क्षति होस् भनी छिमेकीले चाहेको आरोप लाग्दैन ? जुन पूर्णरूपले खोटपूर्ण छ ।
नेपाली शब्दकोषअनुसार ‘फजित’ (अ. फजीहत) को अर्थ गर्न थालेको काम असफल भएर हुने बेचैनी† हैरानी† कुनै आपत्ति आइलाग्ने अवस्था, सङ्कट, चारित्रिक वा क्रियात्मक गल्तीले गर्दा हुने बदनामी, अबगाल आदि हुन् ।
यसको अर्थ हो – धमिलो पानीमा माछा मार्ने काइदा ¤ कोरोना, इजरायल–प्यालेस्टिन युद्ध र युक्रेन–रूस युद्धले नै धेरै देश र जनताको जन–धनको क्षति भएको थियो । त्यसको बाछिटाले अनेक देश र जनता प्रत्यक्ष र अप्रत्यक्षरूपले पीडित छन् । भारत र पाकिस्तान युद्धले छिमेकीहरू खुसी हुनुपर्ने कुनै कारण देखिन्न । आशा गरौँ, खराब नचिताऔँ र पीडित जनताले थप दुःख भोग्न नपरून् !
Leave a Reply