भर्खरै :

इच्छाराज तामाङलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सर्वोच्चबाट सदर

इच्छाराज तामाङलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सर्वोच्चबाट सदर

काठमाडौँ, ४ जेठ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका इच्छाराज तामाङको कसुर सर्वोच्च अदालतबाट सदर भएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश सदर गरेको हो । उक्त आदेश सर्वोच्चको शुक्रबारको इजलासले गरेको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार ‘कानुनबमोजिम’ गर्न आदेश दिएको हो । ‘कानुनबमोजिम गर्नु भनेको पहिले जे आदेश भएको छ । त्यसअनुसार अघि बढ्नु भनेर आदेश भएको हो, पाण्डेले भन्नुभयो ।
यसअघि विशेष अदालतले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले २०८० माघ ७ गते तामाङलाई दोषी ठहर गरेको थियो । सोही इजलासले माघ २१ गते सजाय निर्धारण गरेको थियो ।
उनीसँगै विशेष अदालतले सिर्जना शाक्य तामाङलाई पनि बिगो रकम एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद ठहर गरेको थियो ।
प्रतिवादी केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर भएको थियो । इच्छाराज, सिर्जना, केशवलाल, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत गर्ने फैसला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *