अथातो घुमक्कड–जिज्ञासा घुमक्कडी : मानव सभ्यताको अदृश्य मेरुदण्ड
- बैशाख ३, २०८३
आयुर्वेदलाई विश्वको प्राचीन चिकित्सा पद्धति मानिन्छ । विश्वमा विकास भएको चिकित्सा प्रणालीकै जननीको रूपमा मानिने आयुर्वेदलाई नेपालको मौलिक एवम् प्राचीन चिकित्सा प्रणाली पनि भनिन्छ ।
नसर्ने रोगहरू नियन्त्रणका लागि आयुर्वेद चिकित्सा प्रभावकारी मानिए पनि सरकारले भने त्यसलाई उचित ध्यान नदिएको सम्बन्धित विज्ञहरूको गुनासो छ । यसबारे व्यापक अध्ययन अनुसन्धान हुनुपर्ने हो तर त्यो हुन सकेको छैन । पहिले प्राकृतिक वस्तुबाट उपचार गर्ने धेरै तरिकाहरू थिए । त्यो मौलिक विधि सरकारको बेवास्ताले अहिले हराउँदै गएको छ ।
यसको विकास नेपालमा लिच्छविकालमा भएको मानिन्छ । नेपालमा वि.सं. १७२६ मा सिंहदरबार वैद्यखाना स्थापना भएको इतिहास छ । त्यतिबेला औषधि उपचारमा सबैको पहुँच थिएन । राजा, महाराजा र पहुँचवाला व्यक्तिहरूका लागि मात्र उपचारको व्यवस्था भएकोमा विस्तारै गाउँ गाउँमा पाइने जडीबुटीबाट औषधि उत्पादन हुन थालेसँगै उपचार पनि सर्वसाधारण जनताको पहुँचमा पुगेको इतिहास पढ्न पाइन्छ ।
नेपाल प्राकृतिक दृष्टिले अत्यन्त धनी देश हो । यहाँ सयौँ प्रकारका जडीबुटीहरू पाइन्छन् । अध्ययन र अनुसन्धानको अभावमा त्यसको राम्रो प्रयोग हुन सकिरहेको छैन । भारतलगायतका अन्य देशहरूले हाम्रा जडिबुटीहरू निकै सस्तोमा किनेर त्यसको प्रशोधन गरी औषधिको रूपमा फेरि महँगोमा हामीलाई नै बेच्ने गर्छन् । हामीले ५ रुपैयाँमा बेचेको त्यही जडिबुटी प्रशोधन पछि ५०० रुपैयाँमा हामीलाई नै किन्न बाध्य बनाइरहेको छ । नेपालमा पाइने सबै जडीबुटीको संरक्षण र त्यसको प्रशोधन गरेर औषधि उत्पादन गर्नेतर्फ ध्यान दिने हो भने त्यसबाट राज्यले मनग्य आम्दानी गर्नसक्छ । जडिबुटी उद्योगको विकास गर्न सकिए धेरै प्रकारको औषधिमा हामी विदेशीको भर पर्नुपर्ने छैन । राम्रो सम्भावना हुँदा हुँदै पनि अहिले आयुर्वेद चिकित्सा सरकारको प्राथमिकतामा नपरेको कारण दिनप्रतिदिन यो पतनोन्मुख अवस्थामा छ ।
अहिले सिंहदरबार वैद्यखाना आफ्ना कर्मचारीहरूलाई तलब खुवाउनसमेत मुश्किल भएको र पर्याप्त बजेटको अभावमा अस्तित्वको लडाइँमा रहेको समाचारमा आइरहेको छ । नेपालमा आयुर्वेदिक अस्पताल र उपचार केन्द्रहरू नभएको भने होइन तर त्यसको लागि सरकारले उचित बजेटको व्यवस्था नगरेको कारण ती केन्द्रहरूले राम्रो सेवा दिन सकिरहेका छैनन् ।
भक्तपुरमा पनि जिल्ला आयुर्वेद केन्द्र छ । त्यसले भक्तपुरका जनताको सेवा दिइरहेको छ । भक्तपुर नपाभित्र भनपा ६ चोछेँमा रहेको नागरिक आरोग्यले उपचार सेवा प्रदान गरिरहेको छ । प्रदेशअन्तर्गत सञ्चालित त्यस केन्द्रमा न पुग्ने गरी कर्मचारी दरबन्दी न औषधिको लगि बजेटकै व्यवस्था छ । सबै स्थानीय तहले नै गर्ने हो भने प्रदेशअन्तर्गत भन्नुको के अर्थ रह्यो ? आर्थिक वर्ष सुरु भएको ४÷५ महिना नहुँदै डाक्टर साहेबहरू औषधि छैन, बजेट छैन भन्नुहुन्छ । हामीले नगरभित्रको नागरिक आरोग्य केन्द्रलाई सक्दो सहयोग गर्दैै आएका छौँ । आयुर्वेद सेवाप्रति जनताको विश्वास पनि बढ्दै गएको छ । तर, सबै स्थानीय तहले यस्तो सहयोग गर्न सक्दैन । त्यस्तो बेला के केन्द्रहरू बन्द गर्ने ? औषधिको लागि बिदेसिने पैसा कम गर्ने हो भने सक्दो मौलिक उपचार विधिलाई प्राथमिकतामा राखिनुपर्छ । यो सङ्घ र प्रदेश सरकारमा बस्नेहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो ।
२०८१ चैत १५ गते राजावादीहरूको आन्दोलनमा जडीबुटीस्थित औषधि कारखानामा आगो लगाइयो । दर्जनभन्दा बढी गाडी ध्वस्त पारियो । आन्दोलन कोटेश्वरमा थियो तर, जडिबुटी औषधि कारखानामा आगो लगाइयो । यो देशको सम्पत्ति ध्वस्त पार्ने उद्देश्यले नियोजित रूपमा गरिएको आगलागी हो भन्ने कुरामा कुनै शङ्का गर्नुपर्ने कारण देखिंँदैन । तर आश्चर्यको कुरा के हो भने भाटभटेनीमा आगो लगाउनेहरू एक एक गरी पक्राउ पर्ने तर जडिबुटी कारखानामा आगो लगाउनेहरू कोही पनि पक्राउ नपर्ने यो कस्तो प्रहरी अनुसन्धान हो ? तिनीहरू पक्राउ परेका भए उसका मालिकहरू को को हुन् ? जनतालाई थाहा हुने थियो ।
एकै दिन न देश बन्छ न त देश डुब्छ नै । देश डुबाउन चाहनेहरूले त पहिले हर चिजमा परनिर्भर बनाउँदै लान्छन् । नेपालको लागि वार्षिक कति औषधिको आवश्यकता पर्छ त्यसको सम्पूर्ण हिसाब भारतसँग छ । नेपालमा औषधि कारखानाहरू राम्रोसँग चले भने उसको औषधि बिक्री कम हुन्छ । नाफासँग सम्बन्धित भएकोले उसले नेपालको कुनै पनि औषधि कारखाना राम्रोसँग चल्न दिनेछैन । चाहे सिंहदरबार वैद्यखाना होस् या नेपाल जडिबुटी कारखाना होस् वा अन्य । त्यसलाई बन्द गर्न तिनीहरू अनेकौँ षड्यन्त्र गरिरहन्छन् । नेपाल जडिबुटी कारखाना त्यसैको एक उदाहरणमात्र हो । धेरैलाई रोजगारी दिएर सञ्चो उत्पादनमा प्रख्याती कमाएको कारखाना अब भग्नावशेषमा परिणत भएको छ । त्यो निजीकरण गरेर अकुत नाफा कमाउनेहरूले गराएको पनि हुनसक्छ । आगजनीमा कसको हात थियो भन्ने कुरा अनुसन्धानबाट पत्ता लाग्ने नै छ । जे होस् अब नेपाल औषधिमा पूरै परनिर्भर हुने अवस्थामा पु¥याइएको छ । औषधिका लागि नेपालको पैसा महिनाको अरबौँ बाहिरिरहेको छ । अब झन् बढ्ने निश्चित छ ।
मानिसलाई स्वस्थ राख्न व्यायाम राम्रो विकल्प हो । भक्तपुर नगरपालिकाले नगरका ठाउँ ठाउँमा व्यायामशालाहरूको व्यवस्था गरेको छ । हाल नगरका २३ ठाउँमा व्यायामशालाहरू सञ्चालनमा छन् भने टोल टोलमा छिकोङ व्यायामको पनि प्रशिक्षण दिइरहेको छ । अब क्रमशः विद्यालयहरूमा पनि प्रशिक्षकको व्यवस्था गर्दै जाने तयारी गरिरहेका छौँ । यी सबैको उद्देश्य एउटै हो, सबै नगरवासीहरूलाई स्वस्थ राख्ने ।
आयुर्वेदलाई नेपालको पर्यटनसित कसरी जोड्ने भन्ने नै आजको कार्यक्रमको मुख्य उद्देश्य हो । नेपालमा पर्यटनको आशातीत प्रगति हुन सकेको छैन । यो वर्ष नेपाल पर्यटन बोर्डले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा मुस्किलले ११ लाख पुग्ने सम्भावना छ । यसको मुख्य कारण सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराख्नु र जिम्मेवारीपूर्वक काम नगर्नु नै हो ।
उदाहरण धेरै टाढा जानु पर्दैन, नारायणगढ– बुटवल सडक खण्ड र नागढुङ्गा–मुग्लिन सडकको दुरवस्था नै काफी छ । ती सडक खण्डको काम भइरहेको वर्षाँै भइसक्यो† अहिलेसम्म सकिएको छैन । एक घण्टाको बाटोमा चार पाँच घण्टा बिताउनुपर्ने अवस्था छ । त्यसमा पनि भारतीयहरू चढेको गाडी दुर्घटनापश्चात् भारतीय पर्यटकहरूको सङ्ख्या ह्वात्तै घट्यो । अझ १५ दिनमा दुईवटा हवाईजहाज दुर्घटनाले आन्तरिक र बाह्य पर्यटनमा ठुलो असर पारेको छ ।
नेपालको प्राकृतिक सौन्दर्य, विश्व सम्पदामा सूचिकृत सम्पदाहरू, गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतको बारेमा उचित मात्रामा संसारभर प्रचारप्रसार हुन सकेको छैन । भारतले अन्तर्राष्ट्रिय जगतमा बुद्ध भारतमा जन्मेको भनेर भ्रम फैलाएको छ । त्यसलाई चिर्न पनि सरकार सफल भएको छैन । संसारका विभिन्न देशका गाइड बुकहरूमा त्यही लेखिराखेको हुँदा पथप्रदर्शकहरूले त्यही नै बताउने भए । यस्तो कार्यमा नेपाल सरकारले विभिन्न देशका राजदूतहरूमार्फत सच्याउन लगाउनु पर्छ । अहिले नेपालसँग जोडिएको तिब्बतमा मात्र वर्षको ५ करोड पर्यटक आउने गरेको तथ्याङ्क छ । त्यसको ५ प्रतिशतमात्र नेपाल आउने वातावरण तयार गर्न सकेको भए कति पर्यटकहरू आउँछन् । त्यहाँ आउने प्रायः पर्यटकहरू बौद्ध धर्मावलम्बीहरू हुने गरेको बताइन्छ । के उनीहरूलाई लुम्बिनी ल्याउने वातावरण बनाउन सकिँदैन ?
पहाडमा टे«किङ जाने रुट सुरक्षित छैन । अझ टे«किङ रुटमै पक्की सडक बनेपछि वा कतिपय ठाउँमा सहज पहुँचको लागि केबुलकारको विकासले भ्रमण समय निकै छोटिएको भन्ने कुरा आएको छ । सडक बनाउँदा ट्रेकिङ बाटो सुरक्षित गरी बनाएको भए पर्यटनको दृष्टिले देशकै निम्ति फाइदा हुने थियो । पर्यटकहरूको लागि सुरक्षा पहिलो सर्त हुुने भएकोले उनीहरूको जीवन सुरक्षाको सुनिश्चितता भएमा पर्यटन क्षेत्रबाट नेपालले मनग्य आम्दानी गर्नसक्छ ।
नेपालमा चिनियाँ पर्यटकहरू बढ्दै छन् । यो वर्ष चीनले २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्यो । त्यसको उद्घाटन भक्तपुरमा भयो तर सरकारले त्यसप्रति खासै चासो दिएको पाएनौँ । विदेशी पर्यटकहरूमा चिनियाँ पर्यटककेन्द्रित कार्यक्रम बनाउन सकेकोे भए धेरै चिनियाँहरू नेपाल आउने सम्भावना छ । संसारमा सबभन्दा बढी भ्रमण गर्नेमा अहिले चिनियाँहरू रहेको देखाइएको छ । प्रत्येक वर्ष ११ करोड चिनियाँ नागरिकहरूले विभिन्न देश भ्रमण गर्ने गरेको अनुमान छ । चीनले नेपाललाई आफ्ना नागरिकहरू घुम्न जाने गन्तव्यमा नेपाल पनि राखेको छ । हवाई भाडा निकै महँगो भएकोले चिनियाँहरू नेपाल पुग्नुभन्दा थाइल्यान्ड, मलेसिया, माल्दिभ्स पुग्ने गरेको पाइन्छ । यस्ता विषयहरूमा सरकारले ध्यान दिनु पर्छ । पर्यटनको विकास गर्ने भनेर चर्को चर्को कुरा गरेर मात्र केही हुनेछैन ।
चीनको सहयोगमा बनेको पोखरा एयरपोर्ट अझै नियमित सञ्चालनमा आउन सकेको छैन । चीनसँग खरिद गरेका विमानहरू र सहयोग स्वरूप प्राप्त विमानहरूबारे विभिन्न भ्रम फैलाई लिलाम गर्नुपर्ने अवस्थामा पु¥याइएको छ । यस्तो अवस्थामा चीन सरकार र त्यहाँका पर्यटकहरूको विश्वास कसरी जित्न सकिन्छ ? नेपालले चीन र भारतका पर्यटकहरूलाई केन्द्रित गरेर योजना तयार गर्न सकेको खण्डमा अरु देशका विदेशीहरू नआए पनि त्यति धेरै फरक नपर्ने गरी पर्यटनको विकास गर्न सकिन्छ ।
अहिले भारत र पाकिस्तानको युद्ध हुने सम्भावना छ । अन्तर्राष्ट्रिय घटनाले पनि नेपालको पर्यटन क्षेत्र निकै प्रभावित हुनसक्ने भएकोले आन्तरिक पर्यटन विकासको लागि पर्यटन व्यवसायीहरूको ध्यान जानु जरुरी छ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा २०८२ वैशाख ३१ गते सम्पन्न स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि होटल, होमस्टे सञ्चालकहरूका लागि अभिमुखीकरण’ कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply