क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
संस्कृतबाट ग्रन्थ सुरु गरेकोमा पाठकहरूले रिसाउनु हुँदैन । आखिर हामी एउटा ‘शास्त्र’ लेख्न गइरहेका छौँ, त्यसैले शास्त्रको परम्परालाई त मान्नैपर्छ । शास्त्रहरूमा ‘जिज्ञासा’ त्यस्तो कुराको लागि हुनुपर्छ भनिएको छ, जुन श्रेष्ठ होस् र व्यक्ति एवं समाज दुवैका लागि परम हितकारी होस् ।
व्यासले आफ्नो शास्त्रमा ‘ब्रह्म’ लाई सर्वश्रेष्ठ मानेर उसैलाई जिज्ञासाको विषय बनाए । व्यासका शिष्य जैमिनीले ‘धर्म’ लाई श्रेष्ठ माने । पुराना ऋषिहरूसँग मतभेद राख्नु हाम्रा लागि पापको कुरा होइन† आखिर छ वटा शास्त्रका रचयिता छ आस्तिक ऋषिहरूमध्ये आधाले त ब्रह्मलाई वास्तै नगरी पन्छाइदिएका छन् ।
मेरो बुझाइमा संसारको सर्वश्रेष्ठ वस्तु ‘घुमक्कडी’ (फिरन्तेपन/भ्रमणशीलता) हो । घुमक्कड (फिरन्ते) भन्दा ठुलो व्यक्ति र समाजको हितकारी अरू कोही हुन सक्दैन ।
भनिन्छ, ब्रह्मले सृष्टिको उत्पत्ति, पालन र विनाश गर्ने जिम्मेवारी आफ्नो काँधमा लिएका छन् । पैदा गर्नु र नाश गर्नु टाढाका कुरा हुन्, तिनको यथार्थता सिद्ध गर्न न प्रत्यक्ष प्रमाण सहायक हुन सक्छ, न त अनुमान नै । हो, संसारलाई ‘धारण’ गर्ने (थामिराख्ने) कुरा त पक्कै पनि न ब्रह्मको हातमा छ, न विष्णुको, न त शङ्करको नै । संसार दुःखमा होस् वा सुखमा– जस्तोसुकै समयमा पनि यदि यसले सहारा पाउँछ भने, त्यो घुमक्कडहरूबाटै पाइन्छ ।
प्राकृतिक आदिम मानिस परम घुमक्कड थियो । खेतीपाती, बगैँचा र घर–दैलोको बन्धनबाट मुक्त ऊ आकाशका चराहरूझैँ पृथ्वीमा सधैँ विचरण गरिरहन्थ्यो । जाडोमा ऊ यो ठाउँमा हुन्थ्यो भने, गर्मीमा त्यहाँबाट दुई सय कोस टाढा पुग्थ्यो ।
आधुनिक कालमा घुमक्कड (फिरन्ते) हरूको कामको महत्वबारे बताउनु आवश्यक छ, किनकि मानिसहरूले घुमक्कडहरूका कृतिहरू चोरेर र तिनलाई बङ्ग्याएर आफ्नै नाममा प्रकाशित गरे । यसले गर्दा संसारलाई यस्तो लाग्न थाल्यो कि वास्तवमा ’तेलीको कोलको गोरु’ (एकै ठाउँमा सीमित रहने व्यक्ति) हरूले नै संसारमा सबैथोक गर्छन् ।
आधुनिक विज्ञानमा चाल्र्स डार्विनको स्थान निकै उच्च छ । उनले प्राणीहरूको उत्पत्ति र मानव–वंशको विकासमा मात्र अद्वितीय खोज गरेनन्, बरु सबै विज्ञानहरूले उनबाट सहयोग प्राप्त गरे । भन्नुपर्दा, सबै विज्ञानहरूले डार्विनको प्रकाशमा आफ्नो दिशा बदल्नुप¥यो । तर, के डार्विनले ‘घुमक्कडी’ को व्रत नलिएको भए आफ्ना यी महान् आविष्कारहरू गर्न सक्थे ?
म मान्दछु, पुस्तकहरूले पनि केही हदसम्म घुमक्कडी (भ्रमण) को रस प्रदान गर्दछन् । तर जसरी फोटो हेरेर तपाईँ हिमालयका सल्लाका घना वन र सेता हिउँका मुकुट पहिरेका शिखरहरूको सौन्दर्य, तिनको रूप र तिनको बास्नाको अनुभव गर्न सक्नुहुन्न, त्यसरी नै यात्रा–संस्मरणहरू पढेर तपाईँले एक घुमक्कडले प्राप्त गर्ने त्यो आनन्दको थोपा प्राप्त गर्न सक्नुहुन्न । यात्रा–साहित्यका पाठकहरूका लागि बढीमा यति मात्र भन्न सकिन्छ कि अन्यहरूको तुलनामा उनीहरूले थोरै प्रकाश पाउँछन् र साथै यस्तो प्रेरणा पनि पाउन सक्छन्, जसले स्थायी त नभए पनि केही दिनका लागि उनीहरूलाई घुमक्कड बनाउन सक्छ ।
घुमक्कड किन दुनियाँको सर्वश्रेष्ठ विभूति हो ? किनभने उसैले आजको संसार बनाएको हो । आदिम–मानिस एउटै ठाउँमा नदी वा पोखरीको किनारमा तातो मुलुकमा मात्र बसिरहेको भए, उसले संसारलाई अगाडि लैजान सक्ने थिएन । मानिसको घुमक्कडीले धेरैपटक रगतको नदी बगाएको छ, यसमा कुनै सन्देह छैन र हामी घुमक्कडहरूले रगतको बाटो समातून् भन्ने कदापि चाहँदैनौँ तर घुमक्कडहरूका ताँतीहरू आउने–जाने नगरेका भए, सुस्त मानव–जातिहरू सुतिरहन्थे र पशुभन्दा माथि उठ्न सक्ने थिएनन् ।
आदिम घुमक्कडहरूमध्ये आर्य, शक र हूणहरूले के–के गरे, आफ्ना रक्तरञ्जित बाटाहरूद्वारा मानवताको मार्गलाई कसरी प्रशस्त गरे, यसलाई इतिहासमा हामीले त्यति स्पष्ट वर्णन गरिएको पाउँदैनौँ । तर, मङ्गोल–घुमक्कडहरूका चामत्कारिक कार्यहरूलाई भने हामी राम्ररी जान्दछौँ । बारुद, तोप, कागज, छापाखाना (प्रेस), दिशासूचक यन्त्र (कम्पास) र चस्मा– यिनै ती चिजहरू थिए, जसले पश्चिममा विज्ञान–युगको आरम्भ गराए । यी चिजहरूलाई त्यहाँ पु¥याउने मङ्गोल घुमक्कडहरू नै थिए ।
कोलम्बस र भास्को–डि–गामा दुई घुमक्कड नै थिए, जसले पश्चिमी देशहरूका लागि अगाडि बढ्ने बाटो खोले । अमेरिका धेरैजसो निर्जनजस्तै थियो । एसियाका कूपमण्डुकहरू (सङ्कुचित विचार भएकाहरू) ले घुमक्कड–धर्मको महिमा बिर्सिए, त्यसैले उनीहरूले अमेरिकामा आफ्नो झन्डा गाडेनन् । दुई शताब्दी अघिसम्म अस्ट्रेलिया खाली नै थियो । चीन र भारतलाई आफ्नो सभ्यताबारे ठुलो गर्व छ, तर उनीहरूलाई त्यहाँ गएर आफ्नो झन्डा गाड्नुपर्छ भन्ने बुद्धि आएन । आज आफ्नो ४०–५० करोड जनसङ्ख्याको भारले भारत र चीनको भूमि थिचिएको छ तर अस्ट्रेलियामा एक करोड मानिस पनि छैनन् ।
आज एसियालीहरूका लागि अस्ट्रेलियाको ढोका बन्द छ, तर दुई शताब्दी पहिले त्यो हाम्रो हातको कुरा थियो । किन भारत र चीन अस्ट्रेलियाको अपार सम्पत्ति र असीमित भूमिबाट वञ्चित रहे ? यसकारण कि उनीहरू घुमक्कड–धर्मबाट विमुख थिए, उनीहरूले त्यसलाई बिर्सिसकेका थिए ।
हो, म यसलाई ‘बिर्सनु’ नै भन्छु, किनकि कुनै समय भारत र चीनले ठुलठुला र प्रख्यात घुमक्कडहरू पैदा गरेका थिए । ती भारतीय घुमक्कडहरू नै थिए, जसले दक्षिण–पूर्वमा श्रीलङ्का, बर्मा, मलाया, जाभा (यवद्वीप), थाइल्याण्ड (स्याम), कम्बोडिया (कम्बोज), चम्पा, बोर्नियो र सेलिबिज मात्र होइन, फिलिपिन्ससम्म धाबा बोलेका थिए । एक समय त यस्तो देखिन्थ्यो कि न्युजिल्यान्ड र अस्ट्रेलिया पनि ‘बृहत्तर भारत’ को अङ्ग बन्न लागेका छन्† तर ए ‘कूपमण्डुकपन’ (सङ्कुचित सोच), तेरो सत्यानाश होस् !
यस देशका बुद्धुहरूले समुद्रको नुनिलो पानी र हिन्दू–धर्मको ठुलो दुस्मनी छ, त्यसलाई छुने बित्तिकै यो नुनको पुतलीझैँ पग्लिएर जानेछ भनेर उपदेश दिन सुरु गरे । यति बताइसकेपछि, समाजको कल्याणका लागि ‘घुमक्कड–धर्म’ कति आवश्यक कुरा हो भनेर के भनिरहनु पर्ला र ? जसले यो धर्मलाई अपनायो, त्यो जाति वा देशले चारै फल (धर्म, अर्थ, काम र मोक्ष) प्राप्त ग¥यो† जसले यसलाई तिरस्कार ग¥यो, उसका लागि नर्कमा पनि ठाउँ छैन । आखिर घुमक्कड–धर्मलाई बिर्सिएकै कारण हामीले सात शताब्दीसम्म ठक्कर खाइरह्यौँ, जो आए पनि हामीलाई लात हानेर गए ।
सायद कसैलाई शङ्का होला कि मैले यस शास्त्रमा जुन तर्कहरू दिएको छु, ती सबै लौकिक (सांसारिक) तथा शास्त्र–बाहिरका हुन् । ल ठीक छ, त्यसो भए धर्मबाटै प्रमाण लिनुहोस् । संसारका अधिकांश धर्मनायकहरू घुमक्कड नै थिए । धर्माचार्यहरूमध्ये आचार–विचार, बुद्धि, तर्क तथा सद्वदयतामा सर्वश्रेष्ठ रहेका बुद्ध ‘घुमक्कड–राज’ थिए । यद्यपि, उनी भारतभन्दा बाहिर गएनन्, तर वर्षाका तीन महिनाबाहेक एकै ठाउँमा बस्नुलाई उनी पाप ठान्दथे ।
उनी आफैँ मात्र घुमक्कड थिएनन्, बरु सुरुवातमा नै उनले आफ्ना शिष्यहरूलाई भनेका थिए– “चरथ भिक्खवे !” जसको अर्थ हो– “भिक्षुहरू हो ! घुमक्कडी (भ्रमण) गर ।” बुद्धका भिक्षुहरूले आफ्नो गुरुको शिक्षालाई कति माने, के यो बताइरहनु आवश्यक छ र ? के उनीहरूले पश्चिममा म्यासेडोनिया र इजिप्टदेखि पूर्वमा जापानसम्म, उत्तरमा मङ्गोलियादेखि दक्षिणमा बाली र बाङ्काका टापुसम्मलाई पैतालाले नापेर राखिदिएनन् र ? जुन ‘बृहत्तर भारत’ का लागि हरेक भारतीयलाई उचित गर्व छ, के त्यसको निर्माण यिनै घुमक्कडहरूको चरण–धुलिले गरेको होइन र ?
केवल बुद्धले मात्र आफ्नो घुमक्कडीबाट प्रेरणा दिएका होइनन्, बरु घुमक्कडहरूको यति ठुलो प्रभाव बुद्धभन्दा एक–दुई शताब्दी पहिले नै थियो, जसकै कारण बुद्धजस्ता ‘घुमक्कड–राज’ यस देशमा जन्मिन सके । त्यस समयमा पुरुषमात्र होइन, स्त्रीहरूसमेत जम्बु–वृक्षको हाँगा लिएर आफ्नो प्रखर प्रतिभाको कौशल देखाउँदै, पछि कुवाका भ्यागुताहरू (सङ्कुचित सोच भएकाहरू) लाई पराजित गर्दै सारा भारतभरि मुक्त भएर विचरण गर्ने गर्दथे ।
कोही–कोही महिलाहरू सोध्छन् – के स्त्रीहरूले पनि घुमक्कडी (भ्रमण) गर्न सक्छन् ? के उनीहरूले पनि यस महाव्रतको दीक्षा लिनुपर्छ ? यस विषयमा त छुट्टै अध्याय नै लेखिनेछ, तर यहाँ यति भन्नु पर्याप्त छ कि, घुमक्कड–धर्म ब्राह्मण–धर्मजस्तो सङ्कुचित धर्म होइन, जसमा स्त्रीहरूका लागि स्थान नहोस् । स्त्रीहरूले यसमा त्यति नै अधिकार राख्छन्, जति पुरुषले राख्छन् । यदि उनीहरू आफ्नो जन्म सफल पारेर व्यक्ति र समाजका लागि केही गर्न चाहन्छन् भने उनीहरूले पनि दुवै हात फैलाएर यस धर्मलाई स्वीकार गर्नुपर्छ ।
घुमक्कडी–धर्म छुटाउनका लागि नै पुरुषले नारीको बाटोमा धेरै बन्धनहरू लगाएका हुन् । बुद्धले पुरुषहरूका लागि मात्र घुमक्कडी गर्ने आदेश दिएका थिएनन्, बरु स्त्रीहरूका लागि पनि उनको त्यही उपदेश थियो ।
भारतका प्राचीन धर्महरूमध्ये जैन धर्म पनि एक हो । जैन धर्मका संस्थापक श्रमण महावीर को थिए ? उनी पनि ‘घुमक्कड–राज’ नै थिए । घुमक्कड–धर्मको आचरणमा सानादेखि ठुलासम्म सबै बाधाहरू र उपाधिहरूलाई उनले त्यागिदिएका थिए– घर–दैलो र श्रीमती–सन्तान मात्र होइन, उनले वस्त्रको समेत त्याग गरेका थिए ।
“करतलभिक्षा, तरुतल बास” (हत्केलामा भिक्षा, रूखमुनि बास) तथा ‘दिगम्बर’ (आकाश नै वस्त्र भएको अवस्था) लाई उनले यसैकारण अपनाएका थिए, ताकि निद्र्वन्द्व विचरणमा कुनै बाधा नहोस् । श्वेताम्बर–बन्धुहरू ‘दिगम्बर’ भनेकोमा रिसाउनुपर्दैन । वास्तवमा हाम्रा वैशालीका ती महान् घुमक्कड केही कुरामा दिगम्बरहरूको कल्पनाअनुसार थिए भने केही कुरामा श्वेताम्बरहरूको उल्लेखअनुसार । तर, यसमा त दुवै सम्प्रदाय र बाहिरका मर्मज्ञहरू पनि सहमत छन् कि भगवान् महावीर दोस्रो वा तेस्रो होइन, प्रथम श्रेणीका घुमक्कड थिए । उनी आजीवन घुमिरहे । वैशालीमा जन्म लिएर विचरण गर्दागर्दै उनले पावामा आफ्नो शरीर त्यागे ।
बुद्ध र महावीरभन्दा बढी कसैले त्याग, तपस्या र सद्वदयताको दाबी गर्छ भने, म उसलाई केवल ‘दम्भी’ (घमण्डी) भन्नेछु । आजभोलि कुटी वा आश्रम बनाएर तेलीको गोरुझैँ कोलमा बाँधिएका कतिपय मानिसहरू आफूलाई अद्वितीय महात्मा भन्छन् वा चेलाहरूलाई भन्न लगाउँछन्; तर, म त भन्छु–घुमक्कडी त्यागेर नै महापुरुष बन्न सकिन्थ्यो भने त यस्ता मानिसहरू गल्ली–गल्लीमा देखिने थिए । म जिज्ञासुहरूलाई यस्ता बाहिर मात्र चमक भएका महात्मा र महापुरुषहरूको चक्करबाट जोगिन सावधान गराउन चाहन्छु । उनीहरू स्वयं त तेलीका गोरु हुन् नै, अरूलाई पनि आफ्नै जस्तो बनाइराख्नेछन् ।
बुद्ध र महावीरजस्ता सृष्टिकर्ता ईश्वरलाई नमान्ने महापुरुषहरूको घुमक्कडीको कुरा सुनेर अरू मानिसहरू ईश्वरको भरोसामा गुफा वा कोठाभित्र बसेर नै सबै सिद्धिहरू प्राप्त गरे वा गर्न सक्छन् भनेर मानिहाल्नु हुँदैन । त्यस्तो हुन्थ्यो भने, साक्षात् ब्रह्मस्वरूप शङ्कराचार्य किन भारतका चारै कुनाको खाक छान्न (धुलो उडाउन) हिँड्थे र ? शङ्करलाई शङ्कर कुनै ब्रह्माले बनाएका होइनन्, उनलाई महान् बनाउने यही ‘घुमक्कडी धर्म’ नै थियो ।
शङ्कर निरन्तर घुमिरहे– आज केरल देशमा थिए भने केही महिनापछि नै मिथिलामा, अनि अर्को वर्ष कश्मीर वा हिमालयको कुनै अर्को भागमा पुग्थे । शङ्कर तन्नेरी उमेरमै शिवलोक सिधारे (मृत्यु भयो), तर आफ्नो छोटो जीवनमा उनले तीनवटा ‘भाष्य’ मात्र लेखेनन्; बरु आफ्नो आचरणबाट अनुयायीहरूलाई घुमक्कडीको यस्तो पाठ सिकाएर गए, आज पनि त्यसको पालन गर्नेहरू सयौँ भेटिन्छन् ।
भास्को–डि–गामा भारत पुग्नुभन्दा धेरै पहिले शङ्करका शिष्यहरू मस्को र युरोपसम्म पुगेका थिए । उनका साहसी शिष्यहरू भारतका चार धामबाट मात्र सन्तुष्ट थिएनन्, बरु उनीहरूमध्ये कतिले त गएर बाकु (रुस) मा धूनी जगाए । एकजनाले त भ्रमण गर्दै भोल्गा नदीको तटमा ‘निज्नीनोवोग्राद’ को महामेला देखे । त्यसपछि के चाहियो र, केही समयका लागि उनी त्यहीँ डटिएर बसे र इसाईहरूका बिचमा कैयौँ अनुयायीहरू पैदा गरे, जसको सङ्ख्या भित्रभित्रै बढ्दै यस शताब्दीको सुरुसम्ममा केही लाखसम्म पुगेको थियो ।
रामानुज, मध्वाचार्य र अन्य वैष्णवाचार्यका अनुयायीहरूले मलाई क्षमा गरून्, यदि मैले उनीहरूले भारतमा ‘कूप–मंडूकता’ (सङ्कुचित सोच) फैलाउन ठुलो सक्रियता देखाए भनेँ भने । रामानन्द र चैतन्य महाप्रभुको भलो होस्, जसले हिलोबाट कमल (पकबाट पङ्कज) बनेर आदिकालदेखि चल्दै आएको महान् घुमक्कड–धर्मको पुनः स्थापना गरे, जसको फलस्वरूप प्रथम श्रेणीका त होइनन् तर द्वितीय श्रेणीका धेरै घुमक्कडहरू उनीहरूका बिचमा पनि जन्मिए ।
ती बिचराहरू बाकुको त्यो ठुलो ज्वालामाईसम्म कसरी जान सक्थे र ? उनीहरूका लागि त मानसरोवरसम्म पुग्न पनि मुस्किल थियो । आफ्नै हातले खाना बनाउनुपर्ने, मासु–अण्डाले छोएमा पनि धर्म जाने, हाड तताउने ठन्डीमा पनि हरेक पटक पिसाब फेरेपछि बरफ जस्तो पानीले हात धुनुपर्ने र हरेकपटक दिसा गरेपछि स्नान गर्नुपर्ने नियम त यमराजलाई निम्तो दिनु जस्तै हुन्थ्यो । त्यसैले, ती बिचराहरूले निकै डराइ–डराइ मात्र घुमक्कडी गर्न सक्थे ।
यसमा कसको असहमति हुन सक्छ र– चाहे शैव हुन् वा वैष्णव, वेदान्ती हुन् वा सदान्ती, सबैलाई अगाडि बढाउने काम केवल घुमक्कड–धर्मले नै गरेको हो ।
महान् घुमक्कड–धर्म अर्थात् बौद्ध धर्मको भारतबाट लोप हुनु नै हाम्रो देशमा ’कूप–मण्डूकता’ (सङ्कुचित सोच) हावी हुनुको कारण थियो । सात शताब्दी बिते, र यी सात शताब्दीहरूमा दासता र परतन्त्रताले हाम्रो देशमा खुट्टा भाँचेरै डेरा जमायो† यो कुनै आकस्मिक कुरा थिएन । तर, समाजका अगुवाहरूले मानिसहरूलाई जति नै कुवाको भ्यागुता बनाउन खोजे पनि, यस देशमा समय–समयमा यस्ता वीर पुत्रहरू जन्मिरहे, जसले कर्मपथतर्फ सङ्केत गरे ।
हाम्रो इतिहासमा गुरु नानकको समय धेरै टाढाको होइन, तर उनी आफ्नो समयका महान् घुमक्कड थिए । उनले भारत–भ्रमणलाई मात्र पर्याप्त ठानेनन् र इरान तथा अरबसम्मको यात्रा गरे । घुमक्कडी कुनै ठुलो ‘योग’ भन्दा कम फलदायी छैन र यसले मानिसलाई एक नम्बरको निर्भीक (निडर) बनाइदिन्छ ।
घुमक्कड नानक मक्कामा गएर काबातिर खुट्टा फर्काएर सुते । मुल्लाहरूमा त्यति सहिष्णुता भइदिएको भए त मानिस भइहाल्थे नि ! उनीहरूले आपत्ति जनाए र खुट्टा समातेर अर्कोतिर फर्काउन खोजे । तर, उनीहरूले यो देखेर ठुलो आश्चर्य माने कि– जतातिर घुमक्कड नानकको खुट्टा घुमिरहेको छ, काबा पनि त्यतैतिर घुमिरहेको छ । यो हो चमत्कार ! आजका सर्वशक्तिमान्, तर कोठाभित्र थुनिएर बस्ने महात्माहरूमा कोही यस्तो छ, जसले नानकले जस्तो हिम्मत र चमत्कार देखाउन सकोस् ?
धेरै शताब्दी अघिका कुरा छोड्नुहोस्, यस देशबाट स्वामी दयानन्द बिदा भएको अझै एक शताब्दी पनि बितेको छैन । स्वामी दयानन्दलाई ‘ऋषि दयानन्द’ कसले बनायो ? त्यही घुमक्कडी धर्मले । उनले भारतका धेरैजसो भागहरूको भ्रमण गरे; पुस्तक लेख्दै र शास्त्रार्थ गर्दै उनी निरन्तर भ्रमण गरिरहे ।
शास्त्रहरू पढेर काशीका ठुलठुला पण्डितहरू ‘महा–महा–मण्डूक’ (परम सङ्कुचित) बन्नमा मात्र सफल भइरहे, त्यसैले दयानन्दलाई मुक्त–बुद्धि र तर्क–प्रधान बनाउने कारण शास्त्रभन्दा बाहिर कतै खोज्नुपर्ने हुन्छ । त्यो कारण हो – उनको निरन्तरको घुमक्कडी धर्मको सेवन । उनले समुद्र यात्रा गर्न र द्वीप–द्विपान्तरहरूमा जानका विरुद्ध दिइने जति पनि थोत्रा तर्कहरू थिए, ती सबैलाई टुक्रा–टुक्रा पारेर उडाइदिए । उनले बताए कि मानिस ‘स्थावर’ (एकै ठाउँमा रहने वनस्पति जस्तो) वस्तु होइन, ऊ त ‘जङ्गम’ (हिँडडुल गर्ने) प्राणी हो । हिँड्नु मानिसको धर्म हो† जसले यसलाई छोड्यो, ऊ मानिस हुने अधिकारी छैन ।
बीसौँ शताब्दीका भारतीय घुमक्कड (भ्रमणशील व्यक्तित्व) हरूको चर्चा गरिरहनु आवश्यक छैन । यति लेखेपछि संसारमा कुनै अनादि सनातन धर्म छ भने, त्यो ‘घुमक्कड धर्म’ नै हो भन्ने प्रस्ट भयो होला । तर, यो कुनै सङ्कुचित सम्प्रदाय होइन† यो आकाशजस्तै महान् छ र समुद्र जस्तै विशाल छ । जुन धर्महरूले धेरै यश र महिमा प्राप्त गरेका छन्, त्यो केवल घुमक्कड धर्मकै कारणले हो ।
प्रभु ईसा (जिसस) घुमक्कड थिए र उनका अनुयायीहरू पनि त्यस्तै घुमक्कड थिए, जसले ईसाको सन्देशलाई संसारको कुना–कुनामा पु¥याए । यहुदी पैगम्बरहरूले घुमक्कडी धर्मलाई बिर्सिए, जसको फल उनीहरूले शताब्दीयौँसम्म भोग्नुप¥यो । उनीहरूले जानीजानी आफ्नो चुल्होबाट टाउको बाहिर निकाल्न चाहेनन् । घुमक्कड–धर्मको यस्तो भारी अवहेलना गर्नेको जस्तो गति हुनुपर्ने थियो, उनीहरूको त्यस्तै गति भयो । हातबाट चुल्हो पनि छुट्यो र सारा संसारभरि घुमक्कडी गर्न बाध्य भए, जसले पछि उनीहरूलाई ‘मारवाडी सेठ’ बनायो; वा यसरी भनौँ कि घुमक्कडी–धर्मको एउटा सानो छिटा मात्र पर्नाले मारवाडी सेठहरू भारतका यहुदी बने ।
जसले यस धर्मको अवहेलना ग¥यो, उसले रगतको आँसु बगाउनुप¥यो । अहिले यी बिचराहरूले ठुलो कुर्बानी (बलिदान) पछि र दुई हजार वर्षको घुमक्कडीको अनुभवको बलमा फेरि आफ्नो स्थान प्राप्त गरेका छन् । आशा छ, स्थान प्राप्त गरेपछि उनीहरू फेरि चुल्होमा टाउको हालेर बस्ने बन्ने छैनन् । अस्तु ।
सनातन–धर्मबाट पतित भएका यहुदी जातिले महान् पापको प्रायश्चित वा दण्ड घुमक्कडीकै रूपमा भोग्नुप¥यो र अहिले आएर उनीहरूले खुट्टा टेक्ने ठाउँ पाएका छन् । आज भारत अडानमा छ । यसले यहुदीहरूको भूमि र राज्यलाई स्वीकार गर्न तयार छैन । जब ठुला–ठुलाले स्वीकार गरिसकेका छन् भने, कति दिनसम्म यो हठधर्मी चल्ला र ? तर, विषयान्तर नभई हामीले के भन्नु थियो भने– यो घुमक्कडी धर्म नै हो, जसले यहुदीहरूलाई व्यापारमा कुशल र उद्योगमा निपुण मात्र बनाएन, बरु विज्ञान, दर्शन, साहित्य, सङ्गीत सबै क्षेत्रमा चम्किने मौका दियो ।
पहिले यस्तो सोचिन्थ्यो कि व्यापारी र घुमक्कड यहुदीहरू युद्ध–विद्यामा कच्चा निस्कनेछन्; तर उनीहरूले पाँच–पाँचवटा अरबी साम्राज्यहरूको सारा फूर्तीलाई धुलोमा मिलाएर पछारिदिए र सबैले नाक रगडेर उनीहरूसँग शान्तिको भिक्षा मागे ।
यति भनेपछि अब यसमा कुनै सन्देह रहेन कि संसारमा घुमक्कड–धर्मभन्दा ठुलो अर्को कुनै धर्म छैन । ‘धर्म’ भन्नु पनि एउटा सानो कुरा हो, यसलाई घुमक्कडसँग जोड्नु त “महिमा घट्यो समुद्रको, रावण बस्यो छिमेकमा” (महिमा घटो समुद्र की, रावण बसा पडोस्) भनेजस्तै हुनेछ ।
घुमक्कड हुनु मानिसका लागि परम सौभाग्यको कुरा हो । यस मार्गले आफ्ना अनुयायीलाई मरेपछि पाउने कुनै काल्पनिक स्वर्गको प्रलोभन दिँदैन; यसको लागि त भन्न सकिन्छ– “कस्तो गज्जबको नगद व्यापार छ, यो हातले ले, त्यो हातले दे ।” घुमक्कडी त्यही व्यक्तिले गर्न सक्छ, जो निश्चिन्त छ । कुन साधनहरूले सम्पन्न भएर मानिस घुमक्कड बन्ने अधिकारी हुन सक्छ, त्यो अगाडि बताइनेछ तर घुमक्कडीका लागि चिन्तामुक्त हुनु आवश्यक छ र चिन्तामुक्त हुनका लागि घुमक्कडी पनि आवश्यक छ । यी दुवै एक–अर्कामा आश्रित हुनु कुनै दोष होइन, बरु गहना (भूषण) हो ।
घुमक्कडी भन्दा ठुलो सुख अरू कहाँ मिल्न सक्छ र ? आखिर चिन्ताहीन हुनु नै त सुखको सबैभन्दा स्पष्ट रूप हो । घुमक्कडीमा कष्टहरू पनि हुन्छन् तर त्यसलाई भोजनमा खुर्सानीजस्तै सम्झनुहोस् । यदि खुर्सानीमा पिरोपन भएन भने, के कुनै खुर्सानीप्रेमीले त्यसलाई हात लगाउला र ? वास्तवमा, घुमक्कडीमा कहिलेकाहीँ हुने ती तीता अनुभवहरूले यसको रसलाई झन् बढाइदिन्छन्, ठीक त्यसरी नै जसरी कालो पृष्ठभूमिमा चित्र अझ बढी निखारिएर आउँछ ।
व्यक्तिका लागि घुमक्कडी (भ्रमणशीलता) भन्दा ठुलो अर्को कुनै ‘नगद धर्म’ छैन । जातिको भविष्य घुमक्कडहरूमा नै निर्भर गर्दछ, त्यसैले म भन्छु कि हरेक तरुण र तरुणीले घुमक्कड–व्रत ग्रहण गर्नुपर्छ । यसका विरुद्ध दिइने सबै प्रमाणहरूलाई झूटो र व्यर्थ सम्झिएर सामना गर्नुपर्छ । माता–पिताले विरोध गर्छन् भने उनीहरूलाई बुझाउनुपर्छ कि उनीहरू पनि प्रह्लादका माता–पिताका ‘नयाँ संस्करण’ हुन् । इष्ट–मित्रले बाधा उत्पन्न गर्छन् भने सम्झाउनुपर्छ कि उनीहरू ‘दिवान्ध’ (दिउँसै नदेख्ने) हुन् ।
यदि धर्म–धर्माचार्यहरूले केही उल्टोपाल्टो तर्क दिन्छन् भने बुझ्नुपर्छ कि यिनै ढोँग र ढोँगीहरूले संसारलाई कहिल्यै सरल र साँचो मार्गमा हिँड्न दिएका छैनन् । राज्य र राजकीय नेताहरूले आफ्ना कानुनी अड्चनहरू हाल्छन् भने, हजारौँपटक अनुभव गरिएको कुरा यो हो कि– महानदीको वेगलाई जस्तै घुमक्कडको गतिलाई रोक्ने कोही पनि यस संसारमा जन्मिएको छैन । ठुलठुला र कठोर पहरा भएका राज्य–सिमानाहरूलाई घुमक्कडहरूले आँखामा छारो हालेर पार गरेका छन् । मैले स्वयं यस्तो एक पटकभन्दा बढी गरेको छु । (मेरो पहिलो तिब्बत यात्रामा अङ्ग्रेजहरू, नेपाल–राज्य र तिब्बतका सीमा–रक्षकहरूको आँखामा छारो हालेर जानु परेको थियो ।)
सङ्क्षेपमा हामी यो भन्न सक्छौँ कि यदि कुनै तरुण–तरुणीले घुमक्कड–धर्मको दीक्षा लिन्छन् – म यो अवश्य भन्छु कि यो दीक्षा त्यही व्यक्तिले लिन सक्छ, जसमा प्रचुर मात्रामा हरेक प्रकारको साहस छ– भने उनले कसैको कुरा सुन्नु हुँदैन । न त आमाका आँसुको पर्वाह गर्नुपर्छ, न बुबाको डर र उदासीको; न भूलवश विवाह गरी ल्याइएकी श्रीमतीको रुवावासीको फिक्री गर्नुपर्छ, न त कुनै तरुणीले आफ्ना अभागी श्रीमान्को विलापको । बस, शङ्कराचार्यका शब्दहरूमा यति मात्र बुझ्नुपर्छ– “निस्त्रैगुण्ये पथि विचरतः को विधिः को निषेधाः” (अर्थात्, गुणहरूभन्दा माथि उठेर यस मार्गमा हिँड्नेका लागि न कुनै नियम हुन्छ, न कुनै बन्धन) ।
मेरा गुरु ‘कपोतराज’ को वचनलाई आफ्नो पथप्रदर्शक बनाउनुपर्छ :
“सैर कर दुनिया की गाफिल, जिंदगानी फिर कहाँ ?
जिंदगी गर कुछ रही तो नौजवानी फिर कहाँ ?”
(अर्थात्, ए वेपरवाह मन ! यो संसारको सयर गर, यस्तो जीवन फेरि कहाँ पाइन्छ र ? यदि जीवन बाँचिएछ नै भने पनि यो जवानी फेरि कहाँ फर्केर आउँछ र ?)
संसारमा मनुष्य–जन्म एकपटक मात्र हुन्छ र जवानी पनि एकपटक मात्र आउँछ । साहसी र मनस्वी तरुण–तरुणीहरूले यो अवसर गुमाउनु हुँदैन । कम्मर कस भावी घुमक्कडहरू हो ! संसार तिमीहरूको स्वागतका लागि आतुर छ ।
(राहुल सांकृत्यानको कृति ‘घुमक्कड शास्त्र’ बाट अनुदित)
– ‘दायित्वबोध’ बा
Leave a Reply