भर्खरै :

साम्राज्यवादविरुद्ध चीनको इतिहास

  • जेष्ठ ६, २०८२
  • रामरतन चौधरी
  • विचार
साम्राज्यवादविरुद्ध चीनको इतिहास

इतिहासमा चिनियाँ जनताले साम्राज्यवादी देशहरूको बर्बर हमला र अत्याचार सहनुपरेको थियो । साम्राज्यवादी देशहरूले चीनलाई लुट्नसम्म लुटे । सन् १८४० मा चीनले बेलायतद्वारा लादिएको ‘अफिम युद्ध’ झेल्नुप¥यो । बेलायत, फ्रान्स र अमेरिकाले अक्टोबर १८५६ मा चीनको उत्तर र दक्षिणी भूभागमा आक्रमण गरे । त्यसलाई चिनियाँ इतिहासमा ‘दोस्रो अफिम युद्ध’ भनिन्छ ।
सन् १८६० जुलाई र अगस्तमा बेलायत, फ्रान्स र अमेरिकीहरू मिलेर चीनको साङ्घाई क्षेत्रमा आक्रमण गरे । त्यसपछि छिङ् सरकार येनसिन सन्धि (त्चभबतष्भक या त्ष्भलतकष्ल) गर्न बाध्य भयो । उक्त सन्धिका कारण चीनको १० वटा नयाँ बन्दरगाहमा विदेशीले खुला प्रवेश पाए । विदेशीको निम्ति पारवहन कर हट्यो । व्यापारको नाममा विदेशीहरूले चीनमा मनपरी ढङ्गले लुट्ने छुट पाए । विदेशीले चीनको धर्म–संस्कृतिविपरीत क्रिश्चियन धर्म प्रचार गर्ने र चर्च बनाउने छुट पनि पाए । छिङ् वंशको नेतृत्वमा रहेको चिनियाँ सरकारले २० लाख सुनको इँटा वा मुद्रा क्षतिपूर्ति दिन बाध्य भयो । यसले चीनलाई कमजोर बनायो ।
सन् १९०० जुन १६ को दिन बेलायत, संरा अमेरिका, फ्रान्स, जर्मनी, रुस, जापान, इटाली, अस्ट्रिया र हङ्गेरी मिलेर चीनमाथि पुनः हमला गरे । ती साम्राज्यवादी देशहरूले चिनियाँ छोरीचेली बलात्कार गर्नुका साथै ठुलो सङ्ख्यामा चिनियाँ जनताको हत्या गरे । साम्राज्यवादीहरूले पेइचिङमा हमला गर्दा असङ्ख्य पुस्तक, चित्र, अमूल्य ऐतिहासिक दस्तावेज र स्मारकहरू ध्वस्त पारे । चिनियाँ जनताको सम्पत्ति लुटपाट गरे । साम्राज्यवादीहरूले चीनलाई अर्ध–उपनिवेश र अर्ध सामन्ती राज्यमा परिणत गरे । उनीहरूले चीनको भूभाग टुक्रा टुक्रा पारेर नियन्त्रणमा लिए । जारकालीन रुसले उत्तर–पूर्वी चीनको तीन प्रान्त कब्जा ग¥यो । बेलायतले हङकङ लियो भने अन्य साम्राज्यवादी देशहरूले मकाउ, ताइवानलगायतका टापु र खाडीहरू हात पारे ।
यस्तो जर्जर अवस्थामा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको उदय भयो । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै देशभित्रका प्रतिक्रियावादी र विदेशी साम्राज्यवादीहरूको सामना ग¥यो । प्रतिक्रियावादी र साम्राज्यवादविरुद्ध लड्न चिनियाँ कम्युनिस्ट पार्टीले सशस्त्र सङ्घर्षको बाटो अपनायो । क्रान्ति, निर्माण र सुधारको समयमा जनताको सशस्त्र सेनाले अनेकौँ बाधा, अड्चन पार गरेर असाधारण उपलब्धि हासिल ग¥यो । त्यसैको फलस्वरुप आज चीन विश्व शक्तिको रूपमा उदाउँदै छ ।
एउटा बलियो देशलाई बलियो सैनिक शक्ति चाहिन्छ । बलियो सैन्य शक्तिले मात्रै देशको सुरक्षा गर्न सक्ने तथ्यलाई चिनियाँ कम्युनिस्ट पार्टीले राम्ररी बुझेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महान् नेता माओ त्सेतुङले एकपल्ट भन्नुभयो, “राजनैतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ ।” माओले यही तथ्यलाई आत्मसात गर्दै सन् १९२७ अक्टोबरमा सियाङ्सी प्रान्तको सानवानमा क्रान्तिकारी सेनाको पुनःसङ्गठन गरी सिङगाङ पहाडमा क्रान्तिकारी आधार बनाउनु भएको थियो ।
जनगणतन्त्र चीनको संविधान, १९८२ को धारा २९ मा उल्लेख छ, “जनगणतन्त्र चीनको सशस्त्र सेना जनताप्रति बफादार छ । सशस्त्र सेनाको काम राष्ट्रिय सुरक्षालाई बलियो पार्नु, विदेशी आक्रमणलाई रोकेर मातृभूमिको रक्षा गर्नु, जनताको शान्तिपूर्ण श्रमलाई जोगाउनु, राष्ट्रिय पुनः निर्माणमा सहभागी हुनु एवम् जनताको सेवामा कठोर मिहेनत गर्नु हो । राज्यले राष्ट्रिय रक्षा क्षमता बढाउन सशस्त्र शक्तिहरूलाई क्रान्तिकारीकरण, आधुनिकीकरण तथा नियमिततालाई बलियो बनाउँछ ।” यसले चीनमा जनसेनाको भूमिका उजागर गर्छ ।
सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय समिति र केन्द्रीय सैनिक आयोगले चीनको राष्ट्रिय सुरक्षाको निम्ति प्रतिभाशाली सेना बनाएर सैन्य आधुनिकीकरण गर्ने रणनीतिक योजना बनायो । चिनियाँ कम्युनिस्ट पार्टीले प्रस्तुत गरेको चौधौँ पञ्चवर्षीय योजना (सन् २०२१–२०२५) मा शताब्दी लक्ष्य प्राप्त गर्न सशस्त्र बलको विकास गर्ने लक्ष्य लिइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०२७ सम्ममा सशस्त्र बलको शताब्दी लक्ष्य पूरा गर्ने, सन् २०३५ सम्म राष्ट्रिय रक्षा र २१ औँ शताब्दीको मध्यसम्ममा सेनालाई विश्वस्तरीय सशस्त्र बलमा रुपान्तरण गरेर युद्धभूमिको आवश्यकताअनुसार सेनालाई बलियो बनाउने नीति लिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सेनाको मनोबल बढाउने र सेनालाई चुस्त दुरुस्त राख्ने उपाय अपनाउँदै छ । चीनमा सैन्य कर्मचारीका पतिपत्नीहरूलाई उनीहरूको तैनाथीवरपर रोजगारी प्रदान गर्ने, उनीहरूका बालबच्चालाई शिक्षामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने नीति लिएको छ । सेनामा चिनियाँ कम्युनिस्ट पार्टीप्रतिको राजनीतिक निष्ठालाई बलियो पारेर उनीहरूको क्षमता अभिवृद्धि गर्न विज्ञान र प्रविधिसँग जोड्ने तालिमलाई पनि जोड दिइएको पाइन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको भनाइअनुसार चीन कहिल्यै पनि विस्तार र प्रभूत्व तथा शक्ति राजनीतिमा विश्वास गर्दैन । तर, देशभित्रका प्रतिक्रियावादी र साम्राज्यवादीहरूको कुदृष्टिबाट चिनियाँ विशेषता सहितको समाजवादलाई विकास र संरक्षण गर्न सैन्य शक्तिलाई बलियो बनाउनु चिनियाँ कम्युनिस्ट पार्टीको बाध्यता हो ।
पार्टी, देश र जनताप्रति समर्पित सेनाले मात्र चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश्यलाई परिपूर्ति गर्नसक्ने चीनका नेताहरूले बुझेका छन् । यसकारणसेनालाई पार्टी र राज्यप्रति पूर्ण बफादार बनाउन राजनीति र प्रतिबद्धतासम्बन्धी शिक्षा दिने नीति चिनियाँ कम्युनिस्ट पार्टीले लिएको देखिन्छ । हरेक हिसाबले क्रान्तिकारी र आधुनिक नियमित सेना निर्माण गर्न चीनले चिनियाँ विशेषतासहितको समाजवादी कानुनलाई अवलम्बन गरेको छ । सेनालाई समाजवादी कानुनअनुसार कडा अनुशासनमा राखिन्छ ।
चिनियाँ जनसेनाले देशमा सामाजिक स्थिरता कायम राख्ने भूमिका निर्वाह गर्दछ । विकास निर्माणको काममा स्थानीय सरकारलाई सहयोग गर्ने, सबै किसिमका आपतकालीन अवस्थाहरूलाई तुरुन्तै र प्रभावकारी रूपमा सम्हाल्ने जिम्मेवारी चीनको जनसेनाले वहन गर्दछ । राष्ट्रिय सुरक्षा र स्थिरता कायम राख्दै पार्टी र जनताले सुम्पेका सबै अभिभारा पूरा गर्न चीनको जनसेना निरन्तर प्रयासरत छ । चिनियाँ कम्युनिस्ट पार्टीले सेनालाई अग्रभागमा राखेर चीनको विकास निर्माण र सार्वभौमिकता रक्षा गर्ने सङ्कल्प गरेको छ ।
चिनियाँ विशेषतासहितको समाजवादलाई गन्तव्यमा पु¥याउने बाटो सहज छैन । चीनसामु गम्भीर चुनौती, जोखिम, कठिनाइ र समस्याहरू आगामी दिनमा पनि आइरहनेछन् । इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्व वीर जनसेनाले चिनियाँ जनतालाई दुःखबाट बाहिर निकालेको थियो । यसर्थ राष्ट्रिय कायाकल्पको चिनियाँ सपना साकार पार्न चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनसेनालाई बलियो बनाउन खोज्नु उपयुक्त नै हो ।
(-XI Jinping The Governance Of China II, IV, चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू र जनगणतन्त्र चीनको संविधान, १९८२ मा आधारित)
२०८२ जेठ ४ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *