नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
यो आलोचना कार्ल माक्र्सले सन् १८७५ को मे महिनामा लेख्नुभएको थियो । त्यो महिनाको सुरुतिर उहाँले लेखेको पत्रमा आधारित दस्तावेज थियो – गोथा कार्यक्रमको आलोचना । पत्र लेखिएको थियो जर्मनीको ‘सामाजिक जनवादी मजदुर पार्टी’ (एसडिएपी) लाई । त्यो पार्टीसँग माक्र्स र फ्रेडरिक एँगेल्सको घनिष्ट सम्बन्ध थियो । ‘गोथा कार्यक्रम’ को नाउँमा पत्रको शीर्षक तोकिएको थियो । जर्मनीको गोथा नगरमा हुन गइरहेको पार्टी अधिवेशनमा पार्टीको घोषणापत्रको रूपमा प्रस्ताव गरिएको कार्यक्रम थियो – गोथा कार्यक्रम । त्यो अधिवेशनमा ‘एसडिएपी’ ले ‘आम जर्मन मजदुर सङ्घ’ (एडिएभी) सँग एकाकार हुने योजना बनेको थियो । ‘एडिएभी’ मा फर्डिनान्ड लासालका अनुयायीहरू थिए । अधिवेशनबाट दुई सङ्गठन एकीकृत भएर एउटै पार्टी बनाउने सोचिएको थियो ।
मेको महिना छ । ‘गोथा कार्यक्रमको आलोचना’ यही महिना ठिक १५० वर्षअघि कार्ल माक्र्सले लेख्नुभएको थियो । यसमा माक्र्सले क्रान्तिकारी रणनीतिको विस्तृत चर्चा गर्नुभयो । ‘सर्वहारा वर्गको हुकुम’, ‘पुँजीवादबाट साम्यवादबिचको सङ्क्रमणकालको चरित्र’ र ‘अन्तर्राष्ट्रवादको महत्व’ – यी तीन विषयलाई राम्ररी केलाउनुभयो ।
लासाल समाजवादी अभियन्ता र राजनीतिज्ञ थिए । उनी राज्यसत्तालाई कुनै सामाजिक वर्गविशेषको रचना नभै ‘जनताको’ अभिव्यक्ति मान्थे । उनले ‘राज्य समाजवाद’ अपनाए र ट्रेड युनियनमार्फत मजदुरहरूले गर्ने वर्गसङ्घर्षलाई अस्वीकार गरे । बरु उनले माल्थसको सिद्धान्तकै शैलीमा ‘ज्यालासम्बन्धी फलामे नियम’ अघि सारे । अर्थतन्त्रभित्र निर्वाहको तहभन्दा बढी ज्याला बढाएमा जनसङ्ख्या बढ्नेछ† कामको लागि झन् धेरै मजुदरबिच प्रतिस्पर्धा हुन्छ र परिणाम ज्याला पुनः तल झर्छ भन्ने तर्क थियो उनको । माक्र्स र एँगेल्सले धेरै अघिदेखि ज्यालाको यो सिद्धान्तको खण्डन गरिसक्नुभएको थियो ।
‘एसडिएपी’ ले पार्टी एकीकरणका लागि मस्यौदा गरेको कार्यक्रमको एक प्रति टिप्पणीको लागि माक्र्सलाई पठायो । माक्र्सले त्यो कार्यक्रममा लासालको बलियो प्रभाव देख्नुभयो । त्यसैले उहाँले त्यसको आलोचना लेख्नुभयो । तर पनि सन् १८७५ को मे महिनामा गोथा सहरमा अधिवेशन गरी ‘जर्मनीको सामाजिक जनवादी पार्टी’ (एसपिडी) गठन भयो । अलिकति थपघट गरेर गोथा कार्यक्रम सर्वसम्मतिले पारित भयो । माक्र्सको आलोचनात्मक पत्र धेरै पछि सन् १८९१ म एँगेल्सले प्रकाशित गर्नुभयो । त्यो वर्ष ‘एसपिडी’ ले नयाँ कार्यक्रम अङ्गीकार गर्ने मन बनाएको घोषणा गरेपछि एँगेल्सले माक्र्सको आलोचना प्रकाशित गर्नुभएको थियो । अन्ततः सन् १८९१ मा एर्फट कार्यक्रम आयो । यसको मस्यौदा कार्ल काउत्स्की र एडवर्ड बर्नस्टीनले गरेका थिए । यो कार्यक्रम गोथा कार्यक्रममय थियो । एर्फट कार्यक्रम माक्र्स र एँगेल्सको विचारनजिक थियो ।
गोथा कार्यक्रमको आलोचनामा माक्र्सले लासालको विचारको खण्डन गर्नुभयो । जनताको स्वामित्व (सरकारीकरण) र माल उत्पादनको उन्मूलनको साटो लासालले ‘सरकारी सहायता’ को कुरा गरेका थिए । यसको आलोचना गर्नुका साथै माक्र्सले श्रमजीवी वर्गको राजनीतिक पार्टीबारे लासालले कतै उल्लेख नगरेको औँल्याउनुभयो । उहाँले लेख्नुभयो, “यो असाध्यै महत्वपूर्ण कुरा हो किनभने सर्वहाराहरूको सच्चा वर्गीय सङ्गठनको नाताले पार्टीले पुँजीविरुद्ध दैनिक लडाइँ लड्छ ।”
गोथा कार्यक्रममा उल्लेख गरिएको ‘स्वतन्त्र जनताको राज्य’ को विषयमा माक्र्सले आपत्ति जनाउनुभयो । माक्र्सले लेख्नुभयो, “राज्य एउटा सङ्क्रमणकालीन निकाय मात्र हो । सङ्घर्ष र क्रान्तिमा शत्रुको शक्तिलाई तल पार्न त्यसको उपयोग गरिन्छ । (त्यसैले) स्वतन्त्र जनताको राज्य भन्नु मुर्खता मात्र हो । स्वतन्त्रताको कुरा उठ्यो कि राज्यको अस्तित्व नै हराउँछ ।” पुँजीवादपछिको समाजमा राज्यको प्रकृति यस्तो हुनेछ भनेर माक्र्स र एँगेल्सले प्रस्ट पार्नुभयो । सामाजिक जनवाद र स्तालिनको ‘राज्य समाजवाद’ लाई पनि यही कसीमा राखेर हेर्नुपर्छ ।
साम्यवादका दुई चरण
माक्र्स र एँगेल्सले आफूलाई जहिल्यै समाजवादका पुराना रूपभन्दा फरक कम्युनिस्ट भनिरहनुभयो । उहाँले सरल शब्दमा साम्यवादको परिभाषा दिनुभयो । साम्यवाद भनेको ‘विनिमय मूल्यमा आधारित समाज व्यवस्था र उत्पादन पद्धतिको विघटन’ हो भन्नुभयो । पुँजीवादले उत्पादक (श्रम) र उत्पादनमाथिको नियन्त्रणलाई अलग बनाएकोमा त्यसबाट पार पाउनु नै साम्यवादको सबैभन्दा आधारभूत विशेषता हो । (माक्र्सको आलोचनाको सार यही थियो ।) यसलाई उल्ट्याउनुको अर्थ श्रमशक्तिलाई वस्तु बनाउने परिपाटीको अन्त्य हो । साम्यवादी वा भनौँ ‘संयोजित’ उत्पादन योजनाबद्ध हुनेछ । उत्पादकहरू वा समुदाय आफैले उत्पादनको संयोजन गर्नेछन् । ज्यालादारी श्रम, बजार र राज्यबिच ‘तर मार्ने’ बिचौलिया वर्गको कुनै भूमिका रहनेछैन ।
गोथा कार्यक्रमको आलोचनामा माक्र्सले पुँजीवादी उत्पादन पद्धतिपछि आउने साम्यवादका दुई खुड्किलाको खाका कोर्नुभएको छ । साम्यवादको पहिलो खुड्किलोबारे माक्र्स लेख्नुहुन्छ, “यहाँनिर एउटा यस्तो साम्यवादी समाज भेटिनेछ जसको विकास आफ्नै जगमा होइन, बरु त्यो पुँजीवादी समाजबाट जन्मेको हुनेछ । त्यसकारण, हरेक कोणबाट अथवा आर्थिक, नैतिक र बौद्धिक हिसाबले त्यसमा पुरानो समाजको गर्भका दाग र टाटा लागेका हुनेछन् ।”
माक्र्स लेख्नुहुन्छ, “यसरी नै एक उत्पादकले समाजलाई जे दिएको थियो, त्यसको फल (केही कम) प्राप्त गर्छ । उसले समाजलाई निश्चित श्रम दिन्छ । उदाहरणको रूपमा सामाजिक कार्यदिन सबैको अलग–अलग कार्यघन्टाको योग हो । एक उत्पादकको निश्चित श्रमकाल सामाजिक कार्यदिनकै हिस्सा हुन्छ । त्यो श्रमकाल नै सामाजिक कार्यदिनमा उसको हिस्सा हो ।”
माक्र्स थप लेख्नुहुन्छ, “एक मजदुरले (साझा कोषमा संगाल्न निश्चित श्रम घटाएपछि) यति–यति श्रम गरेको छ भनेर समाजबाट एउटा निस्सा पाउँछ । यही निस्साका आधारमा उसले उपभोगका साधनको सामाजिक भण्डारबाट आफूले गरेको श्रम बराबरको साधन लिन्छ । समाजलाई उसले (एउटा रूपमा) जति श्रम दिएको थियो, उसले त्यति नै (अर्को रूपमा) प्राप्त गर्छ । (प्रकृतिसँगै) श्रम पनि सदैव आधारभूत ‘धनको साधन’ हो । त्यसैले, श्रमकाल ‘विनिमय मूल्यको उन्मूलन गरे पनि (धनको) उत्पादन लागतको (महत्वपूर्ण) नापो हो ।”
साम्यवादको तल्लो खुड्किलोमा पनि बजार, विनिमय मूल्य र पैसा हुन्न । नयाँ समाजको तल्लो चरणबारे माक्र्स लेख्नुहुन्छ, “सामाजिक आपूर्तिस्थलबाट आफ्नो श्रमकाल बराबरको उपभोग्य सामान झिक्न उत्पादकहरूले कागजको भौचर लिन सक्छन् । तर, यी भौचर पैसा होइनन् । यिनलाई लेनदेनमा प्रयोग गर्न मिल्दैन ।” श्रम–निस्सा नाटकघरको टिकट जस्तै हो । यिनलाई एकचोटि मात्र प्रयोग गर्न मिल्छ ।
साम्यवादको पहिलो खुड्किलोमै पनि अधिकांश सामाजिक उत्पादनलाई व्यक्तिले गर्ने र निस्साको रूपमा रहने श्रमकाल अनुसार पूर्ण वितरण गरिन्न । बरु त्यसमा साझा प्रयोगको लागि ‘सुरुदेखि नै’ केही कटौती गरिन्छ । (शिक्षा, स्वास्थ्य, सहुलियत र पेन्सन जस्ता) सामाजिक सेवाको क्षेत्र फेलिँदै जानेछ । यसको खर्च त्यही कटौती गरिएको कोषबाट पूर्ति गरिनेछ । यो कोष उत्पादकहरूबिच वितरण गर्नुअघि जम्मा हुने कूल उत्पादनबाट खडा गरिन्छ । यसरी माक्र्स भन्नुहुन्छ, “अलग व्यक्तिको रूपमा उत्पादकलाई जेबाट वञ्चित गरिएको थियो, त्यसले उसलाई समाजको एक सदस्यको रूपमा प्रत्यक्ष वा परोक्ष लाभ दिन्छ ।”
यसखाले सामाजिक उपभोगबारे माक्र्स भन्नुहुन्छ, “(त्यो उपभोग) आजको समाजमा भन्दा बढी हुनेछ र नयाँ समाजको विकाससँगसँगै त्यो बढ्दै जानेछ ।” प्रविधिको तीव्र विकासका कारण श्रमको दिन घट्दै जानेछ । साथमा श्रमको निस्साको उपादेयता कालान्तरमा खुम्चिँदै जानेछ ।
माक्र्स लेख्नुहुन्छ, “(अन्ततः) कम्युनिस्ट समाजको उच्च चरणमा श्रमविभाजनको चङ्गुलमा परेको व्यक्तिको दासत्वका साथै त्यसबाट जन्मिने मानसिक र शारीरिक श्रमबिच हुने द्वन्द्व हराएर जानेछ । श्रम जीवन चलाउने साधन मात्र होइन जीवनको मूल चाहना नै बनेपछि र साझा धनका सम्पूर्ण मुहान छेलोखेलो बग्न थालेपछि मात्र पुँजीवादी अधिकारको साँघुरो घेरा छिचोलिनेछ र समाजले झन्डामा आफ्नो मूलमर्म लेख्नेछ – सबैबाट उसको क्षमताअनुसार, सबैलाई उसको आवश्यकताअनुसार ¤”
सङ्क्रमण
गोथा कार्यक्रमको आलोचनाबाट हामीले पुँजीवाददेखि साम्यवादमा जाने बेलाको सङ्क्रमणकालीन अर्थतन्त्र पनि पहिल्याउन सक्छौँ । एउटा राजनीतिक सङ्क्रमणको अवधि हुन्छ । त्यसमा राज्य ‘सर्वहारा वर्गको (क्रान्तिकारी) हुकुम’ मा सीमित हुन्छ । सर्वहारा वर्गको हुकुम (अधिनायकत्व) आजभोलि चलनचल्तीमा रहेको ‘प्रजातन्त्र’ भन्दा बिरानो देखिन्छ । तर, माक्र्स र एँगेल्सको लागि हुकुम (अधिनायकत्व) को अर्थ श्रमजीवी वर्गले राज्य र अर्थतन्त्र मुठ्ठीमा लिने प्रक्रिया सिवाय केही थिएन ।
‘सर्वहारा वर्गको हुकुम’ शब्दावली एक कम्युनिस्ट पत्रकार जोसेफ वेडेमेयरले सन् १८५२ मा प्रयोग गरेका थिए । जर्मन भाषाको पत्रिका टर्न–जाइटुङ पत्रिकामा ‘सर्वहारा वर्गको हुकुम’ शीर्षकको वेडेमेयरको लेख छापिएको थियो । सोही वर्ष माक्र्सले उनलाई एउटा पत्र लेख्नुभएको थियो । पत्रमा लेखिएको थियो, “मभन्दा धेरै अगाडि पुँजीवादी इतिहासकारहरूले विभिन्न वर्गबिच हुने यो सङ्घर्षको ऐतिहासिक विकासको वर्णन गरिसकेका थिए । पुँजीवादी अर्थविद्हरूले पनि आफ्ना आर्थिक विश्लेषणहरूमा यसको चर्चा गरिसकेका थिए । मेरा तीन योगदान रहे । पहिलो, विभिन्न वर्गको अस्तित्व उत्पादनको विकासक्रममा निश्चित ऐतिहासिक चरणसँग मात्र जोडिएको हुन्छ भनी देखाउनु । दोस्रो, वर्गसङ्घर्षले सर्वहारा वर्गको हुकुमतर्फ नै लग्छ भनी देखाउनु । तेस्रो, यो हुकुम आफैमा समस्त वर्गको उन्मूलन र वर्गविहीन समाजतर्फको सङ्क्रमण मात्र हुन्छ भनी देखाउनु ।”
पुँजीवादसँग ‘प्रजातन्त्र’ को पासो हुन सक्छ । खिया लागिसकेको मताधिकार र निर्वाचित नेताहरू हुन सक्छ । यथार्थ केलाउने हो भने यो प्रजातन्त्र पुँजीको हुकुम (अधिनायकत्व) मात्र हो । पुँजीवादी प्रजातन्त्र वित्तीय पुँजीको शासन हो र हो ‘प्रजातान्त्रिक’ सङ्घसंस्थानमाथि ठूला धनकुवेरहरूको नियन्त्रण । सर्वहारा वर्गको हुकुमको अर्थ बहुमत श्रमजीवी जनताको प्रजातान्त्रिक शासन हो । त्यसमा श्रमजीवी जनता पुँजीबाट निर्देशित हुने छैनन्† उल्टो पुँजीलाई नै निर्देश गर्नेछन्† तखतमा राख्नेछन् ।
सर्वहारा वर्गको हुकुम कस्तो होला भनी सोध्दा माक्र्स र एँगेल्स दुवैले भन्नुभयो – पेरिस कम्युन जस्तो । सन् १८९१ मा ‘फ्रान्समा गृहयुद्ध’ (सन् १८७२) मा टिप्पणी गर्दै एँगेल्सले भन्नुभयो, “यो हुकुम कस्तो होला हेर्न चाहनुहुन्छ महाशय ? पेरिस कम्युनलाई हेर्नुस् ¤ त्यो थियो सर्वहारा वर्गको हुकुम ।”
एँगेल्सको भनाइमा भ्रष्टाचार हटाउन कम्युनले दुइटा नीति अपनायो । पहिलो, त्यसले सबै प्रशासनिक, न्याययिक र शैक्षिक पदमा सरोकारवाला सबैबिच निर्वाचन गराएर पदाधिकारी छनोट ग¥यो । मतदातालाई कुनै पनि बेला आफूले छनोट गरेको प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार पनि दियो । दोस्रो, उच्च–निम्न जुन तहको कर्मचारी भए पनि कम्युनले तिनलाई एक आम मजदुरले पाउने ज्यालाभन्दा बढी तलब दियो । सँगै, प्रतिनिधिमूलक निकायमा अधिकारीहरूलाई बाध्यकारी जनादेश दिनुका साथै खुट्टा–तानातान र करियरमुखी प्रवृत्तिले टेक्नै नपाउने गरी प्रभावकारी गजबार हालियो ।
निर्वाचित व्यक्तिले मतदाताले भन्दा बढी कमाउनु हुँदैन भन्ने एँगेल्सको दोस्रो सिद्धान्त थियो । यो भ्रष्टाचार रोक्ने विधि बन्न सक्छ । यसको अर्थ के पनि लाग्छ भने दक्ष श्रमिकले अदक्ष मजदुरले भन्दा बढी कमाउनुपर्छ भन्ने सिद्धान्त खासमा थोत्रो पुँजीवादी उत्पादन सम्बन्धले थोपरेको सिद्धान्त हो । मजदुरहरू आन्तरिक गुणका कारण वा शिक्षा व्यवस्थाका कारण दक्ष हुन्छन् । (यी दुवै गुणका लागि तिनलाई अलग्गै पुरस्कृत गर्नुपर्दैन ।) फोहर फाल्ने मजदुर र अर्थतन्त्रका प्रोफेसर, दुवैजना समाजका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
साम्यवादमा सङ्क्रमण हुने श्रमजीवी वर्गको राज्यमा सुरुदेखि नै यी प्रावधान हुनु अनिवार्य छ । अर्को महत्वपूर्ण पक्ष के भने त्यस राज्यमा राज्यसत्ता (सेना, प्रहरी, कर्मचारीतन्त्र) उत्तरोत्तर ‘ओइलाउँदै’ जानुपर्छ । यस सम्बन्धमा माक्र्सले पुँजीको काम (नियन्त्रण र निगरानी) गर्ने र श्रमको काम (श्रम प्रक्रियाको संयोजन र तालमेल) गर्ने पक्षबिच प्रस्ट रेखा कोर्नुभएको छ । माक्र्सले वाद्यवादन (अर्केस्ट्रा) सँग यसको तुलना गर्नुभएको छ । वाद्यवादनमा सङ्गीत निर्देशकले सङ्गीतकारहरूबिच संयोजनको काम गर्छ । संयोजनको काम गर्नेहरू र श्रम प्रक्रियाको तालमेल मिलाउनेहरू (चल्तीको अर्थमा) व्यवस्थापक होइनन् । तिनीहरूले सुरक्षा र निगरानी गर्दैनन् । तिनीहरू पुँजीको पक्षमा लागेर श्रमजीवीहरूको शोषण गर्ने पुँजीका दलाल होइनन् । बरु, तिनीहरू श्रमजीवीहरूको समूहका सदस्य हुन् । संयोजनको काम गर्ने र श्रम प्रक्रियाको तालमेल मिलाउनेहरू पुँजीवादी उत्पादन सम्बन्धका व्यवस्थापकभन्दा ठिक विपरीत हुन्छन् ।
सङ्क्रमणकालीन अर्थतन्त्रमा उत्पादनले उपभोग मूल्यको उत्पादन बढाउनुपर्छ । यसको अर्थ असल मजदुरहरूले आफ्नो आवश्यकता परिपूर्ति गर्नका लागि उत्पादन गर्ने निर्णय लिन्छन् । उदाहरणको लागि, हातहतियारमा नभई वातावरण जोगाउन लगानी गरिन्छ । यसको लागि योजना बनाउनुपर्छ र यो प्रजातान्त्रिक निर्णय प्रक्रियाबाट सम्भव हुन्छ । यसको लागि उत्पादनका साधनहरूमा साझा स्वामित्व हुनुपर्छ† लगानीको क्षेत्रमा प्रजातान्त्रिक तवरले निर्णय लिनुपर्छ । त्यस्तै, प्रत्येक श्रमिकको क्षमताको पूर्ण विकास हुने गरी विभिन्न श्रम प्रक्रियाहरूमा प्रविधिको छनोट गर्नुपर्छ ।
समाजवाद/साम्यवादमा सङ्क्रमण गर्दै जाँदा कामदार वर्गको प्रजातन्त्रका मुख्य विशेषता यिनै हुन्छन् । यी सिद्धान्त फस्टाउँछन् कि हराउँछन् भन्ने कुराले त्यो समाज समाजवाद/साम्यवादतर्फ जाने हो वा त्यसबाट टाढिँदै जाने हो भन्ने टुङे लाग्छ ।
अन्तर्राष्ट्रवाद
सर्वहारा वर्गको हुकुम एउटा राष्ट्र–राज्यबाट सुरु हुन सक्छ । तर, त्यसले साम्यवादतर्फ फड्को मार्न सक्दैन । अर्थात्, राज्यसत्ता ओइलाएर ‘बन्दोवस्ती’ तर्फ लाग्न सक्दैन । त्यसको लागि त्यो हुकुम विश्वका प्रमुख अर्थतन्त्र हुँदै विश्वभरि फैलिनुपर्छ र अन्ततः विश्वभरि फैलिनुपर्छ । जसरी कुनै बेला पुँजीवादी उत्पादन पद्धति फैलिएको थियो ।
साम्यवादी उत्पादन पुँजीवादबाट झर्ने फल मात्र होइन । भर्खर निर्वाचित समाजवादी सरकारले केही ऐनकानुनमा सही धस्काउँदैमा साम्यवादी उत्पादन पद्धति स्थापित हुँदैन । यसको लागि माक्र्स भन्नुहुन्छ, “एकपछि अर्को ऐतिहासिक प्रक्रिया छिचोल्दै परिस्थिति र मानिसहरूलाई रूपान्तरण गर्दै लामो सङ्घर्ष चलाउनुपर्छ ।” यस्तो रूपान्तरित परिस्थितिको अर्थ “वितरण प्रणालीमा परिवर्तन मात्र होइन, बरु उत्पादनको नयाँ सुगठन वा भनौँ उत्पादनका सामाजिक रूपहरूको रिहाइ, विद्यमान वर्गचरित्रको परित्याग तथा तिनको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तादात्म्य पनि हो ।” यसको अर्थ साम्राज्यवादको अन्त्य हुनुपर्छ । त्यसलाई प्रजातान्त्रिक योजना निर्माण तथा साझा स्वामित्वमा आधारित राष्ट्रहरूको एकता वा सङ्गठनले विस्थापित गर्नुपर्छ ।
यिनै दायराभित्र रहेर चीन अहिले ‘समाजवादतर्फ’ लाग्दै छ । चीन एउटा सङ्क्रमणकालीन अर्थतन्त्र हो । त्यसलै ऊ समाजवादतर्फ जान सक्दैन किनभने त्यहाँ ‘गोथा कार्यक्रमको आलोचनामा’ उल्लेख भए अनुसारको श्रमजीवी वर्गको प्रजातन्त्र छैन र अर्कोतर्फ उसलाई साम्राज्यवादले घेराबन्दीमा पारेको छ । ऊ अहिले ‘पासोमा परेको सङ्क्रमण’ मा छ भन्दा हुन्छ । ‘पासोमा परेको सङ्क्रमण’ सोभियत सङ्घमा जस्तो उल्टिन पनि सक्छ । त्यसबाट जोगिन र समाजवादतर्फ लम्किन चीनले आफ्नो उत्पादकत्व बढाएर मूल साम्राज्यवादी देशहरूको स्तरमा पु¥याउनुपर्छ । यति गरेपछि कार्यघन्टा घटेर जान्छ† सामाजिक आवश्यकताबिच देखिने अभाव हट्छ† त्यसपछि ज्यालादारी श्रम र मौद्रिक विनिमयको अन्त्य हुन्छ । तर, यी कुरा प्रमुख साम्राज्यवादी देशहरूमा श्रमजीवी वर्गको क्रान्ति नभई सम्भव छैन । त्यहाँ क्रान्ति भए मात्र सङ्क्रमणकालीन अर्थव्यवस्था स्थापित हुन सक्छ । तब त्यो अर्थव्यवस्थाभित्र उत्पादनमा प्रजातान्त्रिक तवरले योजना निर्माण हुन सक्छ र उत्पादनको वितरण नाफाका लागि नभै सामाजिक आवश्यकता परिपूर्तिका लागि विश्वव्यापी बन्न सक्छ ।
१५० वर्षअघि माक्र्सले एउटा पत्रको रूपमा लेख्नुभएको थियो – गोथा कार्यक्रमको आलोचना । सन् २०२५ मा त्यसमा अभिव्यक्त विचार अझ प्रस्ट र सान्दर्भिक बनेका छन् । पुँजीवादको विकल्पको रूपमा साम्यवादलाई बुझ्न ‘गोथा कार्यक्रम’ झन् बढी सामयिक र मार्गदर्शक बन्दै छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply