भर्खरै :

कर्णालीमा छैन सरकार ?

  • जेष्ठ ७, २०८२
  • अरुणा उप्रेती
  • विचार
कर्णालीमा छैन सरकार ?

कर्णालीमा झन्डै ४० प्रतिशत जनता गरिब ?
कर्णालीले कहिले सुखका दिन देख्ने होला ?
कर्णालीको स्वास्थ्य समाचार बडो अनौठो गरी आउँछ । कहिले कुनै सरुवा रोगमार्फत, कहिले एचआईभी जस्ता रोगमार्फत, कहिले खुला दिसामुक्त जिल्ला भएर र कहिले फोहोर पानीको सङ्क्रमण भएर । मानौँ, कर्णाली भन्नु रोग, भोक र शोकको क्षेत्र हो ।
एकपल्ट मैले पनि स्वास्थ्यकर्मीको नाताले जिल्ला भ्रमण गर्ने मौका पाएको थिएँ । त्यसमध्ये खुला दिसामुक्त गरिएको कालीकोटमा शौचालय त रहेछन् । तर, त्यहाँ पानी हुँदो रहेनछ । खुला दिसामुक्त योजना अन्तरगत गैरसरकारी संस्थाहरूले शौचालय त बनाए तर शौचालयसँगै त्यहाँ पानीको व्यवस्था हुनुपर्छ भन्ने कुरा सायद योजना बनाउनेले थाहा पाएन । घर–घरमा शौचालय छन् तर त्यहाँ शौच कमै गरिन्छ । पानी नभएका कारण त्यहाँका शौचालय बसिसक्नु छैन ।
सरकारी तथ्याङ्कअनुसार कर्णालीमा ७८ प्रतिशतले शुद्ध पानी पिउँछन् भन्ने देखाउँछ । तर, यथार्थमा त्यस्तो छैन । कर्णालीका कतिपय गाउँमा शुद्ध पानी त परको कुरा, अशुद्ध पानी पनि पिउन कठिन छ । बिहानभरी लगाएर डोकोमा ल्याएको पानी अशुद्ध हुन्छ र यही अशुद्ध पानी पिएकै कारण बालबालिकाहरू कुपोषणको सिकार हुन्छन् । शिक्षित मानिसलाई अशुद्ध पानीले रोग निम्त्याउँछ भन्ने थाहा भए पनि कुपोषण पनि बढाउँछ भन्ने सायदै थाहा होला !
सरुवा रोग र कुपोषण लाग्ने कर्णालीका स्वास्थ्य चौकीमा सरकारले यसबाट लड्न भिटामिन, क्याल्सियम, प्रोटिनका कुरा गरे पनि शुद्ध पानी नपिएसम्म स्वास्थ्यमा सुधार आउँदैन भन्ने सामान्य जानकारी भएको देखिँदैन । रोग लाग्ने बित्तिकै ह्वारह्वार्ती ‘बालभिटा’ र बनिबनाउन पौस्टिक दिए पनि वर्षाँैं अशुद्ध पानी पिएको शरीरमा त्यसले खासै फरक पर्दैन भन्ने जानकारीको सर्वथा अभाव छ । यसले जतिसुकै स्वास्थ्यसम्बन्धी काम गरे पनि ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ कर्णालीमा घुम्दै सरुवा रोग आइपुग्छन् ।
नेपाल सरकारले अहिलेसम्म नबुझेको कुरा के भने रक्तअल्पता अर्थात् रगतको कमी भएकी आमाबाट जन्मेको शिशुमा नै रोगसँग लड्ने शक्ति कम हुन्छ । आमाबाट दूध नपाउँदा वा घरमा पोषणयुक्त खाना नपाउँदा बच्चा झन् कुपोषित हुन जान्छ । सरुवा रोग लागेर ठीक भयो भने पनि ऊ कमजोर, पिलन्धरे हुन्छ । यो अवस्थामा कुनै समस्या आउनेबित्तिकै झाडा पखाला, खोकी लागेर, पानी शरीरमा नभएर वा निमोनिया भएर मृत्यु हुन्छ । कतिपय कर्णालीको घरमा बालबालिकाको मृत्यु हुँदा राष्ट्रिय तथ्याङकमा समेत आउँदैन ।
पञ्चायत कालमा कर्णालीको विकास भन्नु नै चामल बाँड्ने काम थियो । त्योबेला यस्तो लाग्थ्यो मानौँ, कर्णाली र चामल एक अर्काका पूरक हुन् । २०४६ सालपछि कर्णालीको केही भागमा बाटो पुगे† गाडीहरू पुगे । अब चामलभन्दा रोग र महामारीको समाचारले ढाक्न थालेको छ । एकजना स्वास्थ्यकर्मी र नागरिक भएका नाताले मलाई सधैँ अनौँठो लाग्छ, सरकारहरूले कर्णालीमा यति धेरै समस्या किन छ भनेर किन विचार गरेका छैनन् ? अध्ययन अनुसन्धान भएको छैन ? त्यसलाई कसरी कम गर्ने भन्ने कुराको सही निक्र्यौल गरेका छन् ?
सञ्चारमाध्यमहरूका मुख्य समाचार ‘कर्णालीमा सरुवा रोगका कारण …मान्छेको मृत्यु’ देखिनु सायद कुनै नौलो कुरा होइन । किनभने, दोस्रो दिन सञ्चारमाध्यममा अर्को समाचार देखिन्छ, ‘कर्णालीमा हेलिकप्टरबाट डाक्टर र औषधी पठाइयो’ । तेस्रो दिन कर्णालीका सांसद र सरकारका स्वास्थ्य मन्त्रीहरूबिच बहस सुरु हुन्छ । स्वास्थ्य मन्त्रीले ‘कर्णालीमा उपचार व्यवस्था गर्न सरकार लागेको’ बताउँछन् ।
कर्णालीले कहिले सुखका दिन देख्ने होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *