भर्खरै :

कर्मचारी, शासक … र ‘युनियन’

 
क्रिश्चिना नेपालीहरू विभिन्न वर्ग र पेशामा विभाजित छन्, त्यस अनुसार मानिसको दृष्टिकोणमा पनि एकरुपता छैन । पेशा एउटै भए पनि विचारमा भिन्नता पनि देखिन्छ । त्यसको कारण संगत, संगठन, पारिवारिक पृष्ठभूमि, अध्ययन, छरछिमेकी आदिमा भर पर्छ । एउटा उखान छ – तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोरोको संगत हेर्नु ।
संगतले राम्रो र सम्पन्न परिवारका छोराछोरी समेत बिग्रेका छन् भने संगतले नै गरिबका छोरा–छोरी समेत अध्ययनमा अब्बल भएका र सुसंस्कृत व्यक्ति भएका छन् । सांस्कृतिक स्तर नभएका संगतलेसुसंस्कृत परिवारका छोराछोरीसमेत दुव्र्यसनी (चुरोट, जाँड–रक्सी, लागु पदार्थ सेवन गर्ने), अशिष्ठ, गैर–जिम्मेवार, अध्ययनमा बेवास्ता र काममा लगन नभई डुलिखाने स्वभावका युवा समूह समाजमा देखिंदैछन् ।
देश र जनताप्रति जिम्मेवारी अनुभव गर्ने र निःस्वार्थ रुपले जनताको सेवा गर्ने भावनाले निर्माण भएको संगठनमा लागेका युवा सचेत हुन्छन् भने खाली पैसा कमाउने, अरुलाई ठग्ने, पदमा बसेका मानिसहरूको चाकडी र चुगली गरेर व्यक्तिगत फाइदा लिई अरुलाई नोक्सान हुने काम गर्ने उद्देश्यले बनेको संगठनमा लागेका व्यक्तिहरू निश्चय पनि दुष्ट भइ निस्कने छन् ।
आफूले गरेर अरुलाई अप्ठेरो नहोस् भनी सचेत नागरिक भावना भएको परिवारको पृष्ठभूमि भएको, छरछिमेकी, टोल र गाउँका जनतासँग असल व्यवहार गर्ने र अध्ययनशील परिवार र साथीहरूसँग उठबस भएका युवाहरूमा समाजप्रति उत्तरदायी देखिन्छन् ।
फरक फरक मनोवृत्तिका कर्मचारी
केही मानिसहरू माथि उल्लेख भएका विभिन्न प्रकारका संगतको कारण अध्ययनको समयदेखि नै आफ्नो जीवनको उद्देश्य नै कर्मचारी हुने बनाएका हुन्छन् । त्यसमा पनि उत्तम, मध्यम र अधम खालका मनोवृत्तिका हुन्छन् । आफ्नो योग्यताअनुसार, पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने, देश र जनताको हितमा ऐन–कानुनभित्र बसेर विना कुनै भेदभाव र एक देशभक्तको रुपमा काम गर्ने कर्मचारीहरू पनि छन् । मन्त्री वा आफूभन्दा माथिल्ला तहका व्यक्तिहरूले अनाधिकार र गर्नै नहुने काम गर्न लागेमा वा आफूलाई समेत त्यस्ता काम गर्न लगाउन खोजेमा त्यस्ता काम गर्नुको सट्टा त्यसबारे असहमति राखेर जागिर समेत छोड्न तयार रहने कर्मचारी उत्तम हुन् ।
मध्यम कर्मचारी
आफ्नो अधिकार र कर्तव्यभित्र बसेर देश र जनताको हितमा पक्षपात नगरी आफूलाई प्राथमिकता नदिई काम गर्ने मध्ययम दर्जाका कर्मचारी हुन् । आफ्नो बुद्धि र बलले भ्याएसम्म देश र जनताको हितलाई प्राथमिकतामा राखी काम गर्ने कर्मचारी यही दर्जामा पर्दछन् । लोभलालच, घूस, क्रम मिची आफ्नो पदोन्नतिमात्रै खोज्ने, अरुलाई कुल्चेर आफू माथि जाने जस्ता दुष्ट्याइँ मनमा समेत राख्दैनन् र अलि पैसा बढी आउने, घूस खान पाउने, सहुलियत बढी पाउनेजस्ता कार्यालय, विभाग, जिल्ला र क्षेत्र छानीछानी चिनेजानेका वा माथिल्ला पदका भ्रष्टहरूलाई चाकडी–चुगली गरी कर्मचारी समाजमा गन्हाउने काम मध्यम दर्जाका कर्मचारीहरूले गर्दैनन् । यस्ता कर्मचारी झण्डै आधा छन् ।
अधम कर्मचारी
विद्यार्थीकालदेखि नै दुष्ट स्भाव भएका, कामचोर, सजिलैसित धेरै पैसा कमाउने उद्देश्य राखेका, देश र समाजप्रति गम्भीर नभई जनताको हितबारे कहिल्यै चिन्तन नगर्ने राम्रो संगत र समाज नदेखेका, आफूलाई मात्रै केन्द्रविन्दुमा राखेर, तन–मनमै खाली पैसा कमाउने, राम्रो वा नराम्रो हरेक उपायबाट आफ्नो मात्रै फाइदा हेर्ने, द्रव्यपिशाचको प्रवृत्ति भएका र जहाँ फाइदा, तुरुन्तै उतैतिर पल्टिने, दहीचिउरे र पिपलपाते अधम खालका कर्मचारी छन् । नोकरीमा प्रवेश गर्न पाएको छैन खाली वीरगञ्ज भन्सार, त्रिभुवन विमानस्थलको भन्सार, माल अड्डा, म्यानपावर कम्पनी, कालाबजारी, स्वार्थी, गुण्डा र अपराधीहरूसँग संगत गरेर पैसा कमाउने संगतमा पुग्न खोज्ने, ठेकेदार, घर–जग्गा व्यापारी दलालजस्तो छिट्टै पैसा कमाउने गिरोहहरूसँग साँठगाँठ गर्ने कर्मचारीहरू नेपालमा झण्डै २० प्रतिशत पाइएको अनुमान गर्छन् । सजिलो काम र दुःखै नगरी पैसा कमाउने गलत सोच खचाखच भरेको मानिस अल्छी र ठगमा गनिन्छन् । मानिसहरू सोच्छन् – पढेलिखेका, एमए र पीएचडी डिग्री हासिल गरेका राम्रा हुन्छन् । तर सत्य त्यो पनि होइन । सावाँ–अक्षर नै नचिन्ने मानिसले बिगार गरे २–४ मुक्का र थप्पड मार्छन्, २–४ जनालाई साना–तिना बिगार गर्छन् । तर धेरै पढे–लिखेकाहरूले सादा कागजमा हस्ताक्षर गराई सिधासादा जनताको घर–खेत लिन्छन् र शून्य थपेर दुःख दिन्छन् । अनेक सम्बन्धबाट महत्वपूर्ण ठाउँमा पुगी अरुको अहित हुने काम गर्छन्, ‘स्वयम्कर निर्धारण’ जस्ता कर प्रणालीको उपाय देखाएर १० करोड कर तिर्नुपर्ने व्यापारी वा उद्योगपतिलाई २–४ लाख रुपैयाँ तिरे पुग्ने चोरबाटो देखाई देशलाई लुट्ने काम गर्छन् । यी सबै उधम काम हुन् र यस्ता कर्मचारी पनि उधम हुन् ।
कर्मचारी ‘युनियन’
पूँजीवादको विकास सँगै शोषणका रुपहरू पनि फेरिंदै गए, दिन र हप्ताको काम र उत्पादनको मात्राअनुसारको ज्याला, कामको गुण र मात्राअनुसारको ज्याला तथा सेवा र अनुसन्धानको क्षेत्रको विकासले कामको स्तर र ज्याला, मेहनत, तलब, भत्ता, पारिश्रमिक र पारितोषिक आदि जटिल हुँदै जान्छ । विश्वविद्यालयहरू पनि शोषणकै थलोमा फेरिन्छन् – पूँजीवादी व्यवस्थामा विद्यावारिधिका छात्र–छात्राहरू, शोधकर्ता वा अन्वेषक, स्कलरहरू समेत आफ्ना अनुसन्धानबाट प्राप्त परिणामको उचित ज्याला र मूल्य पाउँदैनन् । यसरी पूँजीवादी समाजमा वैज्ञानिक, अर्थशास्त्री र विद्धानहरू समेत ज्यामीको तहमा पुग्छन् । साधारणतया कर्मचारी प्रवृत्तिको अर्थ –१० बजेदेखि ४ बजेसम्म कार्यालयमा बसेर सुविस्ताको काम गरे पुग्ने, पेन्सन, भत्ता, अन्य सुविधा र बिदा पाउने, भनसुन गरेर काठमाडौं आउन पाएमा घर बनाई छोरा–छोरीलाई पार लगाउन पाउनेजस्ता आफ्नै बारेमा मात्रै सोच्ने चिन्तन हो । तर असल कर्मचारीहरू भने आफ्नो पदअनुसारको अध्ययनलाई चालु राखेर पनि योग्य बन्ने र देश र जनताको हितलाई प्राथमिकता दिन्छन् । केही अधम र व्यक्तिगत महत्वाकांक्षी कर्मचारीहरु युनियन खोलेर, शासक राजनैतिक दलका नेताहरुलाई घुस खुवाई, गुप्त विषयहरु बताइ तथा अनेक सहुलियत दिएर खुशी पार्छन् र ‘नमस्ते’, ‘जय नेपाल’ र ‘लाल सलाम’ भन्दै चाकडी गरी आफ्नो पार्टीको मानिस टोपल्दै नाजायज फाइदा लिन खोज्छन् । सिंहदरवारमा बस्ने शासक वर्गका सहयोगी कर्मचारीतन्त्र कहिल्यै पनि मजदुर होइनन्, यसकारण सिंहदरवारका कर्मचारी ‘युनियन’ साधारण मजदुर युनियन होइनन् बरु सम्भ्रान्त वर्गभित्रै एउटा अंग हो, किनभने ती सिंहदरवारका कर्मचारीहरू ठूलो आर्थिक चलखेल गर्न पाउने ठाउँमा सरुवा हुन्छन्, साधारण कर्मचारी, ज्यामी वा जनताले नपाउने सुविधाहरू पाउँछन् । यसकारण ‘युनियन’ को शब्दबाट साधारण जनता भ्रममा पर्नुहुन्न । ‘कर्मचारी युनियन’ को नाममा अहिले देशका सिंहदरवारका कर्मचारीहरूको एक सम्भ्रान्त वर्ग तयार भइसकेको छ । विदेशको गैर–सरकारी संस्थाको कारण देशभरिको प्रशासन यन्त्र लथालिंग पार्ने कर्मचारीतन्त्र तयार गरिंदैछ । विभिन्न देशको असन्तोष, विद्रोह, सैनिक विद्रोह र सफल क्रान्तिको अध्ययनले देशको वर्तमान स्थितिले दुईटा परिणाम आउनेछ– पहिलो, सैनिक शासनको सम्भावना, दोस्रो व्यक्ति हत्याको आतड्ढवादबाट सुरु भई दीर्घकालमा समाजमा आमूल परिवर्तन हुने क्रान्तिमा पर्दापण । त्यसको पहिलो सिकार कर्मचारीतन्त्र नै हुनेछ । क्रान्तिको लक्षण देख्ना साथै माथिल्लो अधम कर्मचारीहरू विदेश भाग्नेछन्, आधाभन्दा बढी कर्मचारी घरघरमा मारिनेछन् र अरु बाँकी अदालती कारबाहीमा पर्नेछन् । असल कर्मचारी बाँच्ने र सहयोगी हुनेछन् र मध्यम दर्जाका कर्मचारीहरू तालिमद्वारा सामान्य नागरिकसरह देश र जनताको सेवामा समर्पित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *