एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
जन्मभूमिको महत्व
जन्मदाताको माया ममता
प्राणभन्दा प्यारो ठान्छ जसले
उही एक सचेत मानव ।
आफ्नोभन्दा सबैको निम्ति
जीवन अर्पण जसले गर्छ
तिनीहरूको योगदान बलिदानी
समर्पण, त्याग, तपस्याबाट
प्रेरणाको लायक भविष्यमा
उसैको इतिहास कोरिन्छ ।
भावी पुस्ताको उत्प्रेरणा खातिर
जीवनी पनि उसैको लेखिन्छ,
पढाइन्छ पनि
यो संसारको हितको निम्ति
हरदम हरपल जीवन समर्पित
मभन्दा हामी भनी
मनमा राख्नेको
स्वर्णक्षरले जीवनी कोरिन्छ
भविष्यका पथप्रदर्शक
महान् गुरू ठान्छ उसैलाई ।
सारा जनले खाइ नखाई
रगत पसिनाको कमाइ
झ्वाम पार्नेहरू
देश र जनताको हितविपरीत
विदेशीको इच्छाबमोजिम
सन्धि सम्झौता गर्ने
जघन्य अपराधीहरूले
खै कस्तो इतिहास कोर्ने हुन् ?
जीवनी लेख्नु इतिहास कोर्नु
सजिलो कहाँ हुन्छ र ?
कसैको निगाहमा तथास्तु भनी
पक्कै हुने होइन
मनको लड्डु घ्युसँग खाएजस्तै
सोचेजस्तो सजिलो कहाँ छ र ?
Leave a Reply