भर्खरै :

गाजाको मशहर पुस्ता

  • जेष्ठ १०, २०८२
  • नोवार नाबिलदाइब
  • विचार
गाजाको मशहर पुस्ता

युद्धले हैरान भए, पट्यार लागे म सुत्न जान्छु ।
अनि त्यो दिन म एकाबिहानै उठेँ । उठ्दा जताततै बमबारी चलिरहेको थियो । मलाई फेरि पट्यार लागेन । विस्फोट एकदम नजिक भएको रहेछ । धमाकाले मेरो कान खायो । केही मिनेटमा बहिरोझैँ भएँ । कानभित्र भवँरा कराएजस्तो लाग्यो । त्यो गुन्जन पूरै दिमागभरि फैलियो ।
बमबारीपछि म तीन चरणबाट गुज्रेँ ।
सुरुमा म सन्न भएँ र तर्सेर ट्वाल्ल परेँ । रन्थनिएको थिएँ । उभिएँ तर उभिन सकिन । बसिहालेँ । किनभने, मेरो खुट्टाले शरीरको भार थेग्नै सकेन । के भएको हो, बुझ्न खोजेँ । तर, दिमाग रक्षात्मक हुन्छ नि । त्यसले मलाई केही बुझ्न दिएन ।
दोस्रो चरणमा हाँसो मजाक भयो । तनावलाई हलुका बनाउन खोज्यौँ । ‘चट्याङ परेजस्तो बमबारी है’ भन्यौँ । कोठामा सानी बहिनी थिई । उसलाई ‘कारको टायर पड्केको हो’, ‘बेलुन फुटेको हो’ भन्यौँ ।
कुरैकुरामा पछि ‘बमबारी भनेको ठुलो कुरै होइन’ भनी स्वाङ पा¥यौँ ।
तेस्रो बिर्सिने चरण थियो । केही भएकै थिएन जस्तो गरेँ । कत्ति पनि फरक नपरेको स्वाङ पारेँ ।
मशहर
धेरै समय म यही बसेँ । (गाजाको) मशहर टोलमा ।
मशहर गाजाको खाँटी शब्द हो । दरिद्र वा अभागी हुन्छ यसको अर्थ । सुन्दै हरघडी कुनै दुर्भाग्यले पछ्याइरहेझैँ लाग्छ । मेरी आमा ‘हामी मशहर पुस्ता हौँ’ भनिरहनुहुन्छ । ‘हामी जीवन ढलेपछि जन्मेका हौँ’ भन्नुहुन्छ । प्यालेस्टिनीहरूलाई त यो शब्द एकदम सुहाउँछ । किनभने, युद्ध र पीडाले हामीलाई कहिल्यै छोडेन ।
बिच मार्चमा इजरायलले युद्धविराम भङ्ग ग¥यो । युद्ध फर्किहाल्यो । साँच्चै भन्ने हो भने युद्धमा कहिल्यै विराम लागेको थिएन । इजरायलका ड्रोनहरू उडिरहन्थे । ‘युद्धविराम’ भरि उसले आक्रमण चालु राखेको थियो । त्यसमा १ सत्न्दा बढी मान्छे मारिएका थिए ।
युद्धविराम भङ्ग भए लगत्तै यातनामयी साइरनहरू बज्न थाले । भुइँ थर्किन थाल्यो । मशहर फेरि फर्कियो । महिना दिनमै १९ सत्न्दा बढी मान्छे सहिद भए । फेरि उही रित सुरु भयो ।
इजरायलले अल–मुखबरात क्षेत्रका बासिन्दालाई घर खाली गरेर जान भन्यो; निकाला आदेश जारी ग¥यो । यो क्षेत्र गाजा सहरमै पर्छ । म यही बस्छु । आमा र भाइसँग । निकाला आदेश आएपछि घर छोडेर हामी अल–नासिरतिर लाग्यौँ । यो गाजा सहरकै अर्को टोल हो । त्यहाँ हाम्रा काका बस्नुहुन्छ ।
मलाई त्यो टोल हाम्रो भन्दा फरक लागेन । मशहर जताततै छ । हाम्रो टोलमा जताततै झोला र बिस्तराका पोका देखियो । आ–आफ्नो जीवनलाई झोलामा बोकेका मानिसहरू उदास थिए । अल–नासिरमा मानिसहरू भागिरहेका थिएनन् । तर, तिनीहरू हतास थिए । बजार–बजार भौतारिँदा पनि केही हात लाग्थेन । बजार रित्तो थियो ।
त्यही दिन हामी आफ्नो सानो घर फर्कियौँ । अल–मुखबरातमा । किनभने, अर्को ठाउँमा फेरि जीवन सुरु गर्न सकिन्न भन्ने भइसकेको थियो ।
ताअक्लोम
अल–मुखबरात ध्वस्त भइसकेको ठाउँ हो । मान्छेभन्दा बढी त भत्केका घरका भग्नावशेष नै छन् । भग्नावशेषको धुलोले आकाश पनि मैलो छ । हामीले घरलाई राम्रो र सफा बनाउने प्रयास ग¥यौँ । भग्नावशेषहरू हटायौँ । हामीले फूल रोप्यौँ । वरिपरि भेटेका घाँस बटुलेर सजायौँ ।
यसलाई हामी ‘ताअक्लोम’ भन्छौँ । खराब समयमा जे हात लाग्छ, त्यसकै भरमा बाँच्नु र त्यसको बानी पार्नुलाई यही भन्छौँ हामी । सके यसलाई नक्कल पनि भन्न सकिन्छ ।
फोटोकारिता पनि ‘ताअक्लोम’ नै हो । यसैले मलाई बचाइराखेको छ । मलाई सद्धे र जीवित राखेको छ । एकपछि अर्को ठाउँ सर्दै जाँदा मैले धेरै फोटो खिचेको छु । जति बिग्रे–भत्केको भए पनि नयाँ ठाउँको सौन्दर्यको प्रशंसा गर्न खोज्छु । खासमा म लेन्सबाटै बाँचिरहेको छु । हेर्न चाहेको चीज मात्र हेर्दै छु ।
‘ताअक्लोम’ को मेरो तरिका यस्तै छ ।
गाजा एउटा सानो सहर हो । जेलिएको छ तर नडग्ने खालको छ । सबथोक मिलेको उत्कृष्ट छैन । यसमै यसको सौन्दर्य लुकेको छ । मिनेटपिच्छे तपाईँ यसलाई गाली गर्नुहुन्छ, दुत्कार्नुहुन्छ । तर, छोड्दा मन कटक्क खान्छ । बाक्लो बमबारी छ । छोड्न मन लाग्छ आजभोलि ।
कहिलेकाही सोच्छु, गाजा सहरमा अब एउटै सौन्दर्य बाँकी छ । दिमागमा रचिने सौन्दर्य । हेराइले लेखिने सौन्दर्य । आफ्नो मन आफै थप्थपाउने तरिका हो यो ।
मसँग सामसुङको फोन छ । यसैले फोटो खिच्छु । यसले मलाई गाजाको सौन्दर्य हेर्न सघाएको छ । यसबाट हेर्ने बानी पार्नुभयो भने, नजिकबाट नियाल्न अभ्यस्त हुनुभयो भने हेराइको सीमा नै हुन्न ।
आजभोलि मैले अर्कै सौन्दर्य फेला पारेको छु । सौन्दर्य अलि पीडादायी छ । यो मान्छेको दीनहीन दशामा लुकिबसेको छ । यसले मेरो मुटु चिराचिरा पार्छ । ‘अल–फजा’ हुन्छ, छटपटी हुन्छ । खप्नै नसकिने शोक र सन्ताप हुन्छ ।
(लेखक गाजाका लेखक तथा फोटोग्राफर हुन् ।
स्रोत : इलेक्ट्रोनिक इन्तिफादा । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *