यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पत्रकार समाज नेपालले प्रकाशन गरेको अध्यक्ष रोहितका सङ्कलित अन्तर्वार्ता ‘समय र विचार’ भाग–२ पुस्तक पढ्ने अवसर पाएँ । अग्रज नेता एवं हामी सबैका अभिभावक तथा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिकलगायत अन्य आम सञ्चारमाध्यम र विभिन्न समय र घटनाक्रमको बारेमा दिनुभएको अन्तर्वार्तालाई यस पुस्तकमा समावेश गरिएको छ । पुस्तकमा २०७६ सालदेखि २०८१ सालसम्मको अन्तर्वार्ता समावेश भएको यस पुस्तकमा मैले २०७८ सालको देउवा नेतृत्वको र नयाँ पुस्ता नामक दुई अन्तर्वार्तामा केन्द्रित रहेर आफूले बुझेका केही कुराहरू राख्दै छु ।
सर्वोच्चको आदेश परमादेशबाट बनेको देउवा नेतृत्वको गठबन्धन सरकारलाई यहाँले कसरी लिनुभएको छ भन्ने प्रश्नको उत्तरमा अध्यक्ष रोहितले अदालतले राजनीतिक विषयमा हात हाल्न नहुने र राजनीतिक निर्णय सर्वोच्चले गर्न नहुने धारणा राख्नुभएको छ । कहीँ नभएको जात्रा हाडीगाउँमा भनेझैँ देउवा नेतृत्वको गठबन्धनलाई सर्वोच्च अदालतको चोलेन्द्र शमशेरको टोलीले सरकार चलाउन आदेश दिएको थियो । अदालतले प्रधानमन्त्री घोषणा गरेको थियो जबकि संसद् विघटन भएपछि चुनावमा जानुपथ्र्यो र प्रधानमन्त्रीको टुङे लाग्थ्यो । अदालतले प्रधानमन्त्री घोषणा गर्नु गलत भएको उहाँले बताउनुभएको छ । त्यतिखेरको त्यो एउटा गलत निर्णयले आजसम्म पनि कुनै राजनीतिक घटना परिघटना भएमा जुनसुकै व्यक्ति सिधै सर्वोच्चमा गएर रिट हाल्ने नजिर बसेको छ ।
एमाले विभाजन गराउन प्रचण्डले चलखेल गरेको र एमाले विभाजन गराउन प्रचण्डलाई अर्काले जागिर दिएको हो त भन्ने प्रश्नमा उहाँले चाणक्य भनेको कुटिल राजनीति हो† राजनीतिमा चाणक्य कहिले मर्दैन किनकि गुप्तचर लगाएर वा अन्य कुनै माध्यमबाट विभिन्न उपाय लगाई आफू अनुकूल नतिजा ल्याउने नीति यसभित्र पर्ने बताउनुभएको छ । यसरी नै प्रचण्डलाई छिमेकीले हतियार, तालिम र बास आदिको बन्दोबस्त गरेर एमाले विभाजन गर्न प्रयोग गरेको हामी यहाँ बुझ्न सक्छौँ । यही कुरा नेमकिपामा लागु भएको छ कि छैन भन्ने प्रसङ्मा उहाँले एमाले, काङ्ग्रेस मिलेर नेमकिपा फुटाएको उदाहरण दिनुभएको छ । जुम्लामा काङ्ग्रेसले प्रतिनिधिसभाका सदस्य भक्तबहादुर रोकाया र दैलेखमा विनोद शाहीलाई पैसाले किनेको र कालीकोटमा नेमकिपाका कार्यकर्ताहरूलाई माओवादीले घेरा हालेर लगेको कुरा उल्लेख छ । यस सन्दर्भबाट हामी धनदौलतका लागि सिद्धान्त र आफ्नो स्वाभिमान दाउमा राख्न नहुने बुझ्न सक्छौँ ।
अहिलेको प्रणालीले जनतालाई सेवा नदिएको र कम्युनिस्ट आन्दोलन कुन चरणमा पुगेको छ भन्ने प्रसङ्मा उहाँले समाज रूपान्तरण प्रक्रियामा ऐतिहासिक समय लाग्न सक्ने बताउनुभएको छ । यो हाम्रो अन्नबाली जस्तो ६/६ महिना वा कुनै निश्चित समयमा नहुने र त्यसका लागि धेरै समय लाग्ने उहाँले उल्लेख गर्नुभएको छ । समाजमा इन्जिनियरको भूमिकाबारे उहाँले विदेशबाट सिकेर आफ्नै देशमा जनताको सेवा गर्ने भावनालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ । नेपाली समाजमा स्वार्थी, आत्मकेन्द्रित र सिद्धान्तहीन राजनीति गर्ने अगुवाहरूको कारण पुरानादेखि नयाँ पुस्तामा असन्तुष्ट रहेको विचार राख्दै उहाँले नयाँ पुस्ताले नकारात्मक कामबाट शिक्षा लिएर पूर्वाधार विकासका झूटा आश्वासन र विदेशी दबाबको कारण भए गरेका सबै प्रकारका अनियमितताको पोल खोल्नुपर्ने विचार राख्नुभएको छ ।
उहाँले भारतमा २ सय वर्ष बेलायती उपनिवेशवादी कब्जा भएजस्तै, सिक्किम भारतको उपनिवेश भएजस्तै नेपालमा एमसीसीे लागु भएपछि नेपाल भारत र अमेरिकाको दोहोरो उपनिवेश बन्ने छ । सार्वभौमिकतालाई रकमसँग तुलना गर्नु हुँदैन । आवश्यक परेमा पूर्वाधार बनाउन नेपाली जनता सक्षम भएको कुरा उल्लेख छ । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विदेशी सहयोग रोकेर एमसीसी पनि एकपक्षीय रूपमा हाललाई बन्द गरेका छन् । हिजो सडकमा एमसीसी चाहिँदैन भनी आन्दोलन गर्ने नेपाली सत्तासीनहरू सदनमा व्याख्यात्मक टिप्पणी भनेर सुटुक्क पास गर्ने दुईजिब्रेहरूको चरित्रबारे उदाङ्गो पारिएको छ । आफ्ना सन्तान दर सन्तानलाई सात पुस्तासम्म बसी बसी खान पुग्ने अकुत धन कमाउन पाए उनीहरू आफ्नो जीवन सफल भएको ठान्छन् । देशको, स्वाभिमान, सार्वभौमसत्ता र अखण्डताप्रति उनीहरूको केही सोच छैन । यो विडम्बनाको कुरा हो ।
अन्तर्वार्तामा धेरैमा सन्दर्भ उल्लेख गरिएको छ । कुनै कुनैमा उल्लेख नहुँदा अन्तर्वार्ता कुन प्रसङ्को हो ? बुझ्न अलि कठिन लाग्यो । किनकि नेपालमा यति धेरै राजनीतिक घटनाक्रम फेरिन्छ कि याद गरेर साध्य नै हुँदैन । आज सुत्दा एकजना प्रधानमन्त्री हुन्छ भने भोलि बिहान उठ्दा सत्ता परिवर्तन भएर अर्कै भइसकेको हुन्छ ।
दक्षिणपन्थी, वामपन्थी, फासीवाद, नवउदारवाद आदि कुरामा हामीलाई कहिलेकाहीँ अन्योल हुने हुँदा हामीलाई जान्न बुझ्न र पढ्नका लागि सिद्धान्त र वादहरूका बारेमा पत्रकार समाज नेपालले एउटा छुट्टै पुस्तक प्रकाशन गर्न पाए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्यो ।
२०७६ देखि २०८१ सम्मका अन्तर्वार्तालाई क्रमैसँग शीर्षक दिएर पृष्ठ सङ्ख्या उल्लेख गरिएको यो पुस्तक छ भागमा विभाजित छ । यस्तो बोझिलो पुस्तक प्रकाशनमा ल्याउने पत्रकार समाज नेपाललाई धन्यवाद दिन चाहन्छु ।
Leave a Reply