भर्खरै :

युनुस पदबाट हट्नु हुन्न

युनुस पदबाट हट्नु हुन्न

ढाका, २३ मे (एएफपी) । बङ्लादेशका मुहम्मद युनुसलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण सुनिश्चित गर्न अन्तरिम नेताका रूपमा पदमा ‘रहन आवश्यक’ रहेको युनुसका एक मन्त्रिमण्डल सदस्य तथा विशेष सल्लाहकारले शुक्रबार बताएका छन् ।
गत वर्ष जन विद्रोहपछि सत्ता सम्हाल्नुभएका ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले दलहरूले उहाँलाई समर्थन नदिए पदबाट राजीनामा दिने धम्की दिनुभएको एक राजनीतिक सहयोगी र उहाँको कार्यालयका स्रोतहरूले बताएका छन् ।
सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि करिब १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र राजनीतिक अशान्तिमा छ र यहाँ दलहरूले विभिन्न माग राखी सडकमा प्रदर्शन गरिरहेका छन् ।
युनुसका विशेष सल्लाहकार तथा हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रमुख फैज अहमद तैयबले फेसबुकमा एक पोस्टमा भन्नुभयो, “बङ्लादेश र शान्तिपूर्ण लोकतान्त्रिक सङ्क्रमणका लागि प्रोफेसर युनुस कार्यालयमा रहन आवश्यक छ । मुख्य सल्लाहकारले राजीनामा दिनु हुनेछैन, उहाँ सत्ताका लागि लालायित हुनुहुन्न ।”
यस हप्ता बङ्लादेशको राजनीतिक सङ्कट बढेको छ । प्रतिद्वन्द्वी दलहरूले राजधानी ढाकाको सडकमा विभिन्न प्रतिस्पर्धी मागका साथ प्रदर्शन गरिरहेका छन् ।
शक्तिशाली बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) का हजारौँ समर्थकले बुधबार ढाकामा पहिलोपटक अन्तरिम सरकारविरुद्ध ठुलो मात्रामा विरोध प्रदर्शन गरेपछि युनुसले राजीनामा दिने धम्की दिनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *