यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले शिक्षा र प्राविधिक क्षेत्रमा मात्र होइन कृषिमा पनि परिवर्तन ल्यायो । प्रजगको सरकारले पहिले नै खाद्यमा आत्मनिर्भर बनाउने आधार तयार गरेको थियो । कोरियाली जनताले हरेक वर्ष कृषि उत्पादन बढाउने काम गरे । कृषि उत्पादन बढाउने काममा कृषि कामदार, मजदुर, प्राविधिक, कर्मचारी, जनसेनाका सिपाही, अधिकृत, विद्यार्थी, युवाहरूको महत्वपूर्ण योगदान छ । कृषि उत्पादन वृद्धि गर्न कोरियाली सरकारले कृषि कामदारहरूलाई वैज्ञानिक र प्राविधिक ज्ञान दियो । यसको कारण धान उत्पादन बढ्यो । कृषिका लागि भौतिक र प्राविधिक आधार तयार गरियो । कृषि विज्ञान र प्रविधिशास्त्रको ज्ञान नभइकन कृषिलाई उन्नत बनाउन सकिँदैन र उत्पादन बढ्दैन । सरकारले जल नियन्त्रण गर्ने काम ग¥यो† बालीलाई सुहाउने गरी रासायनिक मल, झार मार्ने र कीरा मार्ने औषधिको विकास ग¥यो । विज्ञान र प्राविधिक ज्ञान दिन नै कृषि आयोग, प्रान्तीय कृषि अर्थतन्त्र समिति, जिल्ला सहकारी खेत प्रबन्ध समितिको व्यवस्था गरियो ।
पूर्वी समुद्र किनारका इलाकामा तुसारो लाग्थ्यो र घाम राम्रो लाग्दैनथ्यो । त्यसबाट हुने नोक्सान रोक्न सिलिकन मल र उचित मात्रामा फोस्फेट मल हाल्ने काम गरियो । कृषि कामदारहरूमा विज्ञान र प्रविधिको ज्ञान बढाउन सहकारी खेतमा कृषि विज्ञान र प्रविधिशास्त्रसम्बन्धी प्रचार कक्ष खोल्ने काम गरियो । विज्ञान र प्रविधिसम्बन्धी विभिन्न पुस्तक र सामग्रीहरूको व्यवस्था गरियो । खेतीका उन्नत अनुभवको आदान–प्रदान मात्र होइन कृषि संस्थानले गरेका वैज्ञानिक प्रयोगसम्बन्धी सामग्री प्रदान गरियो ।
समाजवादी कृषि प्रणालीलाई नयाँ चरणमा अघि बढाउन देशमा कृषिमा सिँचाइ र विद्युतीकरणमा ध्यान दिइयो । कृषिमा यान्त्रीकरण गरियो । देशको लागि आवश्यक रासायनिक मल, बीउ र कृषि औषधिको व्यवस्था गरियो । राज्यले सहकारी खेतलाई रासायनिक मल, कृषि औषधि र विभिन्न उत्पादनका साधनहरू वितरण ग¥यो । कृषिमा सही योजनाको निम्ति चाहिने विविध सामग्रीहरूको तयारी गरियो । सहकारी खेतमा राम्रो योजना बनाउन र राम्ररी बाली उब्जाउन प्रत्येक जग्गाको माटोको विश्लेषण गरियो । भविष्यमा खेती योजनालाई चाहिने विविध सामग्री तयार गरियो । सबै खेती कार्य सही ढङ्गले गर्न र सहकारी खेतको लागि आवश्यक सामान पूर्ति गरी सहयोग गर्ने काम गरियो ।
खेतको उत्पादनको बन्दोबस्त गर्न ग्रामीण क्षेत्रमा पनि प्राविधिक क्रान्ति ल्याइयो । ठीक समयमा, ठीक माटोमा, ठीक बाली लगाउने काममा प्रोत्साहन गरियो । कृषि प्रणालीलाई प्रशासनिक तरिकाले होइन; औद्योगिक तरीकाबाट विकास गर्ने विधि अपनाइयो । हरेक खेतीको काम समयमा गर्नुपर्छ । खेती याममा गरिएन भने उत्पादन घट्छ । समयमा मल राखिएन भने उत्पादन घट्छ । ठीक समयमा, ठीक माटोमा, ठीक बाली लगाउने सिद्धान्त पालना गर्न कर्मचारीतन्त्र त्यागनुपर्ने हुन्छ । उत्पादनलाई व्यवस्थित गर्न सङ्गठनात्मक निर्देशन पालना गर्नुपर्ने हुन्छ । कृषि उत्पादनमा सङ्ठनात्मक नेतृत्व भन्नुको अर्थ श्रमको राम्रो बन्दोबस्त गर्नु हो; आवश्यक बस्तुको आपूर्ति गर्नु हो; भूमि प्रशासन र जल नियन्त्रणको सुनिश्चित गर्नु हो । नेतृत्ववादी कृषि कामदारहरूले कृषि उत्पादनका सबै एकाइहरूलाई ठीकसित बन्दोबस्त र निर्देशन गरेर श्रमको राम्रो बन्दोबस्त गरेका हुन्छन् । जमिनको संरक्षण र जल नियन्त्रण भएपछि बाली उत्पादन बढ्नेछ ।
कोरियाली सरकारले जोड दिएको अर्को पक्ष जग्गाको अझ राम्ररी उपयोग गर्नु हो । खेती याग्य जग्गा सीमित भएको तर जनसङ्ख्या वर्षैपिच्छे वृद्धि हुने भएकोले पनि जग्गाको उपयोगिता बढाएर उत्पादन बढाउनुपर्ने हुन्छ । कोरियाली सबै जनतालाई पर्याप्त तरकारी आपूर्ति गर्न तरकारी बालीको पनि व्यवस्था गरियो । त्यसको लागि प्रान्त प्रान्तमा तरकारी खेती गरियो । सुर्ती खेतीलाई पनि वैज्ञानिक ढङ्गले व्यवस्थापन गरियो । सरकारले अन्नबाली लगाउने जग्गा बढाउनुभन्दा धेरै उब्जनी हुने बाली लगाउने क्षेत्र बढाइयो । अन्न कम उब्जनी हुने पहाडी भिरालो जग्गालाई गरामा परिणत गरेर खेती गर्न सहज बनाइयो । भिरालो जग्गालाई उब्जनी योग्य बनाएर राम्रो उत्पादन गरियो । भूमिको उपभोग गरी राम्ररी खेती गरियो भने उत्पादन बढ्छ र देशको आवश्यकता पूरा गर्न सकिन्छ । खेती राम्रो गर्न नसकेर अरु मुलुकबाट खाद्यान्न आयात गर्ने देशले देशको स्वाधीनताको रक्षा गर्न सक्दैन; आफ्नो भूमिका पनि खेल्न सक्दैन । नेपाल अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर नहुनुको कारण खेती गर्ने प्रणाली, उत्पादन बढाउने, भू–उपयोग गर्ने र आवश्यक मल, बीउ, सामग्री उत्पादनमा चासो नराख्नु नै हो । नेपालका शासकहरूले कृषिको उत्पादन बढाउने, कृषकहरूको जीवन स्तर उठाउनेतर्फ पाइला हालेकै छैनन् । सरकार जमिनदार, पुँजीपति, सामन्तको स्वार्थ पूरा गर्न र विदेशीहरूको इसारामा लागिरहेको कारण देशले विकास गर्नसकेन ।
प्रजग कोरियाले धेरै समयदेखि अथक मेहनत गरेको कारण खाद्यान्नमा आत्मनिर्भर भएको हो र स्वाधीनताको रक्षा दरोसित गर्न सकेको हो । खाद्यान्नको आवश्यता पूरा गर्न सरकार अघि सरेकै कारण प्रजग कोरियामा लामो समयदेखि सामान आयात–निर्यातमा साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले रोके पनि खाद्यान्नमा खासै समस्या नभएको हो । अमेरिकाको त्यो प्रतिबन्धले पनि प्रजग कोरियाले देशलाई खाद्यान्नलाई आत्मनिर्भर बनाउने थप प्रेरणा मिल्यो । यसले देशको स्वाधीनतालाई सुढृढ पार्न र सार्वभौमिकता दरोसित कायम राख्न थप बल पु¥यायो ।
११ जनवरी १९७९ मा प्रजग कोरियामा राष्ट्रिय कृषि सम्मेलन भएको थियो । उक्त सम्मेलनमा प्रजग कोरियाका महान् नेता किम इल सङले दिनुभएको भाषणलाई नेपाल कोरिया मैत्री सङ्घ काठमाडौँले पुस्तिकाको रूपमा प्रकाशित गरेको थियो । ‘हाम्रो समाजवादी कृषिलाई नयाँ चरणमा अघि बढाऔँ’ भन्ने पुस्तिका १९७९ मै प्रकाशित भएको थियो । आज भन्दा ४६ वर्षअघि नै प्रजग कोरियामा कृषि प्रणालीलाई व्यवस्थित गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने सोचको विकास भएको थियो । सरकार, पार्टी, जनता, सेना, कर्मचारी सबै मिलेमा संसारलाई चिनाउने काम गर्न सक्छ भन्ने कुरा प्रजग कोरियाले सिकाएको छ ।
Leave a Reply