भर्खरै :

राजनीतिको हतियार बनाइएको इतिहास

  • जेष्ठ १०, २०८२
  • राम पुनियानी
  • विचार
राजनीतिको हतियार बनाइएको इतिहास

भारतमा नयाँ शिक्षा नीति २०२० बिस्तारै लागु गरिँदै छ । यो नीतिमा धेरै विषय छन् । खासगरी भारतीय ज्ञान व्यवस्था र भारतीय परम्परा यसमा समावेश छ । इतिहासको पाठ्यक्रमबाट दिल्ली सल्तनत र मुगल शासनको कुरा हटाइएको छ । सात शताब्दीको इतिहासलाई विस्मृतिमा हुत्याइएको छ । जुन कोणबाट हेरे पनि सात शताब्दी लामो समय हो ।
‘द इकोनोमिक्स टाइम्स’ ले लेख्यो, “पहिले ‘एनसीआरटी’ (राष्ट्रिय अनुसन्धान तथा तालिम परिषद्) ले पाठ्यक्रमबाट मुगल र दिल्ली सल्तनतको केही हिस्सा काटेको थियो । त्यस बेला तुगलक, खिल्जी, माम्लुक र लोदीका साथै मुगल सम्राटहरूको पालामा हासिल भएका उपलब्धिहरूको दुई पेज लामो तालिकालाई पाठ्यक्रमबाट हटाएको थियो । यो काँटछाँट सन् २०२२–२३ मा कोडिभ–१९ को महामारीको बेला गरेको थियो । नयाँ पाठ्यपुस्तकमा त तिनको नामधरी हटाइएको छ ।”
७ कक्षाको पुस्तकबाट दिल्ली सल्तनत र मुगल शासकहरूको सन्दर्भ हटाइएको छ । साथै, अन्य पुस्तकबाट पनि मुस्लिम शासनको कुरा मेटिएको छ । कतिसम्म भने मुम्बई (१९९२–९३) को हिंसा, गुजरात हिंसा (२००२), नाथुराम गोड्से (गान्धीको हत्यारा) का प्रसङ्गहरू सबै हटाइएका छन् । नाथुराम गोड्से राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का तालिम प्राप्त प्रचारक थियो । उसले गान्धीको हत्या गरेपछि ‘आरएसएस’ माथि प्रतिबन्ध लागेको थियो । यो कुरा अहिले पाठ्यपुस्तकबाट हटाइएको छ । कुम्भ मेला र दिल्ली रेल स्टेसनमा भएको भागदौडका कारण धेरै सर्वसाधारणको मृत्यु भयो । यी विषय पनि पाठ्यपुस्तकबाट हटाइएका छन् ।
‘विद्यार्थीको बोझ घटाउने’ नाममा कोभिड–१९ को महामारीताका पाठ्यक्रम काँटछाँटको काम सुरु भयो । त्यसपछि पाठ्यक्रमलाई ‘तर्कसङ्गत बनाउने’ नाममा यसलाई चालु राखियो । हिन्दूवादी विचारधारालाई असजिलो हुने विषय मेट्नु नै यसको खास तात्पर्य थियो ।
मुसलमान समुदायलाई दानवीकरण गर्ने र तिनीहरूविरुद्ध घृणा फैलाउने बदनियत राखेर मुगलहरूलाई भारतीय इतिहासका क्रूरतम खलनायकको रूपमा प्रस्तुत गरियो । अलाउद्दीन खिल्जीजस्ता सुरुका राजाहरूसमेत हिन्दूत्व भाष्यको मारमा परेका छन् । मुसलमान राजाहरूले हिन्दू मन्दिरहरू भत्काउन लगाएको कथाकै वरिपरि मुसलमानहरूलाई दानवीकरण गर्ने गरिन्छ । तर, वस्तुनिष्ठ इतिहासकारहरूले यसको खण्डन गरेका छन् । मुसलमान राजाहरूले तरबारको डर देखाएर इस्लाम धर्मको प्रचार गरे भन्नु हिन्दूत्व भाष्यको दोस्रो स्तम्भ हो । यो पनि पूर्णतः निराधार दाबी हो किनभने इस्लाम धर्म अङ्गीकार गर्ने चलन अरबका मुसलमान व्यापारीहरूको सामाजिक सम्बन्धका कारण सुरु भएको थियो । पछि, भारतका धेरै तथाकथित तल्लो जातिका मानिसले जातप्रथाको मार खप्न नसकेर इस्लाम धर्म अपनाएका थिए ।
हिन्दूत्व विचारधाराले यस अवधिलाई अन्धयुगको रूपमा प्रचार गर्ने गर्छ । कताकति ‘हिन्दूविरुद्ध होलोकस्ट’ भनेको पाइन्छ । राजा–रजौटाको युग युद्धैयुद्धले भरिएको छ । यसका आफ्नै राजनीतिक कारण छन् । राजाहरू आफ्नो शासन फैलाउन चाहन्थे । त्यस क्रममा धेरै मानिस मार्थे । त्यसलाई हिटलरको ‘होलोकस्ट’ (यातनागृह) सँग तुलना गर्नु वाहियात हो । खासमा हिन्दूत्वको विचारधारा आफै साम्प्रदायिक इतिहासकारिताबाट सुरु हुन्छ । यो इतिहासकारिता बेलायतको ‘फुटाएर शासन गर्ने’ नीतिको झड्केलो सन्तान हो । उपनिवेशवादी इतिहास लेखनमा प्रत्येक राजालाई धर्मसँग जोडिन्थ्यो र तिनलाई खास धर्मावलम्बीको प्रतीकको रूपमा प्रस्तुत गरिन्थ्यो ।
हिन्दू साम्प्रदायिकहरूले त्यो इतिहासकारिता नक्कल गरे । तिनीहरूले मुस्लिम र क्रिश्चियनलाई हिन्दूहरूलाई ‘सताउने विदेशी’ भने । यसको जवाफमा मुस्लिम साम्प्रदायिक इतिहासकारले मुसलमानहरूलाई शासक र हिन्दूहरूलाई रैतीको रूपमा प्रचार गरे । उनीहरूले मुसलमानहरूलाई भारतको जायज शासक बने ।
साम्प्रदायिक इतिहासकारिताबाट बेलायती शासनलाई फाइदा भयो । यसले बेलायतलाई भारत–पाकिस्तान विभाजन गर्न सघायो । सावरकरले भारतमा दुई राष्ट्र छन् भने । जिन्नाहले मुसलमानहरूको लागि अलग्गै देश पाकिस्तानको माग राखे । पाकिस्तान सुरुदेखि नै मुस्लिम साम्प्रदायिकताको चङ्गुलमा प¥यो । त्यहाँका पाठ्यपुस्तकमा आठौँ शताब्दीमा मोहम्मद बिन कासिमबाट पाकिस्तानको सुरुआत भएको लेखियो । आज त्यहाँ इतिहासका पुस्तकबाट हिन्दू शासकहरूको नाम हटाइएको छ । मुस्लिम साम्प्रदायिकताले हिन्दूहरूविरुद्ध घृणा फैलाउन पाठ्यपुस्तकको प्रयोग ग¥यो । हिन्दू राजा र संस्कृतिको नामसम्म लिइएन ।
पछिल्ला तीन दशकमा (मोदी) भारत पाकिस्तानको बाटोमा हिँड्दै छ । लाग्छ, पाकिस्तानी नीतिको नक्कलमा कुनै कसर बाँकी राखिएको छैन । पाकिस्तानी कवि फामिदा रियाजले यसमा जोड दिएकी छिन् । हिन्दूत्ववादीहरूले भारतमा बाबरी मस्जिद भत्काएपछि उनले लेखिन्, “लौ तिमी पनि हामीजस्तै ठहरियौ, अहिलेसम्म कहाँ लुकेका थियौ !”
भारतको शिक्षा व्यवस्थामा हिन्दूत्ववादी विचारधाराले पकड जमाउनुअघि ‘आरएसएस’ का शाखाहरूमा समाजको साम्प्रदायिक सोच फैलाइन्थ्यो । शाखा बौधी, एकल विद्यालय र शिशु मन्दिरमा साम्प्रदायिक शिक्षा दिइन्थ्यो । यसपछि मूलधारे मिडिया र सामाजिक सञ्जाल पनि हिन्दूत्वको सेवामा हाजिर भयो ।
वास्तवमा संस्कृति निरन्तर विकासको प्रक्रियामा हुन्छ । हिन्दूत्वको रजगज चलेको अवधिमा इतिहासमा धेरै सामाजिक परिवर्तन भइरहेका थिए । वास्तुकला, आहार, पहिरन र साहित्यमा मात्र होइन धर्ममा पनि मेलजोड बढ्दै थियो । भक्ति र सुफीजस्ता परम्पराको विकास हुँदै थियो । यही अवधिमा शिख धर्म उदाएको र फस्टाएको थियो ।
अहिले यो राजनीतिक विचारधाराले बाटो बदल्दै छ । मुस्लिम शासकहरू इतिहासमा हराइसके । अब कसरी मुसलमानहरूलाई दानवीकरण गर्ने त ? अब औरङ्गजेब वा बाबरको ठाउँमा कसलाई राख्ने त ? नयाँ दाउपेच कसरी बनाउने ?
इतिहाससँग राष्ट्रवादको पुरानो साइनो छ । जर्मन सामाजिक मनोविद एरिक फर्मले भनेका छन् – राष्ट्रवादलाई इतिहास त्यस्तै हो जस्तो एक अफिमचीका लागि अफिमको बोट । सन् १९९८ मा भारतीय जनता पार्टी सत्तामा आयो । त्यस यता त्यसका नेता कार्यकर्ताले लगातार ‘शिक्षालाई गेरुवाकरण’ गर्दै गए; हिन्दूवादी विचारधाराले लिपपोत गर्दै गए । उनीहरूले इतिहासलाई ‘गौरवशाली र वीर’ हिन्दू राजा तथा ‘दुष्ट र आक्रामक’ मुसलमान राजाबीचको द्वन्द्वको रूपमा पेस गरे । उनीहरूले अहिलेसम्म वामपन्थी इतिहासकारहरूले इतिहास लेखेको र तिनले खालि दिल्ली सल्तनतलाई केन्द्र बनाएको आरोप लगाए । ती इतिहासकारलाई मुस्लिमपक्षीय भनियो । खासमा कुनै राजवंशले जति समय शासन ग¥यो त्यसकै आधारमा पाठ्यक्रममा तिनको वर्णन गरिएको थियो ।
सन् १९८० को दशकमा छापिएका इतिहासका पाठ्यपुस्तकमा मुसलमान राजाका साथै हिन्दू राजाहरूको पनि राम्रै चर्चा हुन्थ्यो । कुरा धर्मवरिपरि केन्द्रित थिएन । बरु विभिन्न समुदायको समग्र जीवनचर्याको तस्बिर हुन्थ्यो । तिनको व्यापार, संस्कृति र साहित्यको वर्णन हुन्थ्यो ।
यो कुरा अझै पनि सान्दर्भिक छ । भारतको भविष्यलाई राजा–महाराजा वा ‘राजाकेन्द्रित इतिहास’ तर्फ लग्नु छैन । बरु समाजका विभिन्न हिस्सामा ध्यानकेन्द्रित गर्न जरुरी छ । इतिहासका पाठ्यपुस्तकमा अझै पनि दलित, महिला, आदिवासी र शिल्पकर्मीहरूले उचित स्थान पाएका छैनन् । तिनलाई समेट्नुपर्छ ।
(लेखक पुनियानी मानव अधिकार अभियन्ता हुन् । उनी आईआईटी बम्बईमा प्राध्यापन गर्छन् ।)
स्रोत : न्युजक्लिक
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *