भर्खरै :

इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर कारागार चलान

इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर कारागार चलान

पोखरा, १२ जेठ । पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।
सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो ।
नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जीबी राईसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए । ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि उनी दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए ।
सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
दिल्लीबाट ल्याएर बागलुङ पठाइएका मेयर नेपाली जिल्ला अदालत बागलुङको आदेशले कारागारमा छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरूद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो ।
नेपालीलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा पनि ठगी अभियोग छ । सूर्यदर्शनको उपाध्यक्ष रहेका बेला नेपालीको खातामा सहकारीबाट ७७ लाख ५० हजार रुपैयाँ अनधिकृत रूपमा गएको र उक्त रकम अहिलेसम्म फिर्ता नगरेको सरकारी वकिलले पेस गरेको जाहेरीमा उल्लेख छ ।
सूर्यदर्शन सहकारीको मुद्दामा गत बिहीबार जिल्ला अदालतका न्यायाधीश कृष्णजङ् शाहले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *