भर्खरै :

विद्यालयमा आइतबारको बिदा हटाइनुपर्छ

विद्यालयमा आइतबारको बिदा हटाइनुपर्छ

वि.स. २०८२ फागुन २१ गते भएको संसदीय निर्वाचनमा झण्डै २/३ सांसदहरू विजय भएपछि बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रीपरिषद्ले सरकारी कार्यालयलगायत शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । अमेरिका र इजरायलको इरानसँग युद्ध भएको कारण पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा वृद्धि भयो । नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हुँदा पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले आइतबार बिदा दिएको हो भनी आइतबार बिदाको कारण सार्वजनिक गरेको थियो ।
तर, शिक्षा र स्वास्थ्य क्षेत्रमा आइतबार बिदा गर्दा पर्न सक्ने दूरगामी असरबारे सरकारले सरोकारवाला र विज्ञहरूसँग कुनै छलफल गरेको देखिँदैन । स्वास्थ्य क्षेत्रमा आइतबार बिदा नगर्ने कुरा सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरूले आफूहरूलाई पनि अन्य राष्ट्रसेवक कर्मचारीसरह सेवा–सुविधा र बिदा चाहिन्छ भनी आन्दोलन गरे । सरकारले स्वास्थ्य क्षेत्रमा पनि आइतबार बिदा ग¥यो । यसरी, सबै क्षेत्रमा साताको दुई दिन बिदा गर्ने सरकारी नीति स्पष्ट भयो ।
नेपालको संविधान २०७२ मा विद्यालय शिक्षाको कक्षा १२ सम्मको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । त्यसैले, नगरपालिका र गाउँपालिकाहरुले सङ्घीय सरकारको विद्यालयमा आइतबार बिदा दिने निर्णयअनुसार बिदा नगरी विद्यालय सञ्चालन गरेका छन् । स्थानीय तहले सरोकारवालाहरूकै सहमतिमा आइतबार बिदा नगरेको बुझिएको छ । अभिभावक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, समाजसेवी, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समितिलगायतका सरोकारवालाहरूले आइतबारसमेत बिदा दिँदा विद्यालय सञ्चालन हुने दिन वार्षिक ४०–४५ दिन घट्न जाने हुँदा विद्यार्थीहरूको पठनपाठनको दिन घट्छ र पढाइ स्तर र उपलब्धि वृद्धि हुँदैन, घट्ने सम्भावना हुन्छ । त्यसैले, आइतबार बिदा नगरिकन विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने राय सुझाव दिइएको थियो ।
सुरुमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आइतबार बिदाको कारण बताउने सरकारले केही दिनपछि विद्यालयको शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु गर्ने होइन, वैशाख १५ गतेबाट सुरु गर्ने र वैशाख २१ गतेदेखि मात्र पढाइ सञ्चालन गर्ने अर्काे निर्णय सार्वजनिक ग¥यो । धेरै स्थानीय तहले शैक्षिक क्यालेन्डर वैशाख महिनाअघि नै तयार गरिसकेको हुँदा वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गरे ।
शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फाराममा समेत शैक्षिक सत्र २०८३ को अवधि २०८२ साल वैशाख १ गतेदेखि २०८३ साल वैशाख १४ गतेसम्म लेख्नुपर्ने सूचना जारी भयो । सबै शिक्षकहरूले त्यसै गरे । अब प्रश्न उठ्छ, सरकारले २०८२ सालको एसईई परीक्षाको परीक्षाफल चाँडै प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरायो र परीक्षाफल पनि चाँडै प्रकाशित भयो तर शैक्षिक सत्र १ वर्ष १४ दिन किन बनायो ? त्यसैगरी अब शैक्षिक सत्र २०८३ चैत मसान्तसम्म भए २०८३ को शैक्षिक सत्र ११ महिना १६ दिनको मात्र हुने भएन र ? किन यस्तो गर्दै छ ? सचेत नागरिकहरूले प्रश्न गर्न थालेका छन् ।
सरकार नयाँ पार्टी र नयाँ मानिसले चलाएको हुँदा अनुभव नभएको भन्ने हो भने रास्वपाका अध्यक्ष पहिले नै २/२ पटक गृहमन्त्री बनेकै हुन् । अन्य सांसदहरू पनि अनुभवी नै छन् । त्यसैले कतै जानाजानै सरकारले सार्वजनिक शिक्षा अथवा सरकारी लगानी भएको विद्यालय शिक्षालाई कमजोर बनाउन लागेको हो कि भन्ने शङ्का गर्ने स्थान छ ।
आइतबारसमेत बिदा दिँदा सामुदायिक विद्यालयमा के कति बिदा हुन्छ र पठन पाठन, परीक्षा तथा शिक्षकले लिने बिदा के कति हुन्छ भनेर विश्लेषण गर्दा निम्नानुसारको हुने देखिन्छ ।

तालिकामा दिएअनुसार आइतबार, शनिबार र सार्वजनिक बिदा कटाउँदा विद्यालय खोल्ने जम्मा दिन नै २२३ दिन हुन्छ । विद्यालयका शिक्षक कर्मचारीले ३० दिन वर्षे बिदा वा हिउँदे बिदा पाउँछन् । ५ दिन स्थानीय पर्व बिदा हुन्छ । यी दुई प्रकारको बिदा कटाउँदा विद्यालयमा काम गर्नुपर्ने दिन बढीमा १९८ दिन हुन आउँछ ।
विद्यालयमा शिक्षक कर्मचारीहरूले बिरामी बिदा वार्षिक १२ दिन, भैपरी आउने बिदा ६ दिन र पर्व बिदा ६ दिन गरी जम्मा २४ दिन पाउँछन् । बिरामी बिदा सञ्चित गर्न सकिने भएको हुँदा शिक्षक कर्मचारीले अनावश्यक रूपमा लिँदैनन् । तर, भैपरी आउने बिदा र पर्व बिदा सदुपयोग गर्ने शिक्षक–कर्मचारीहरू धेरै हुन्छन् । यी दुई प्रकारको बिदा समेत घटाउँदा एक जना शिक्षकले एक शैक्षिक सत्रमा जम्मा १८६ दिन मात्र काम गर्छन् । यदि बिरामी बिदा पनि सदुपयोग गरियो भने जम्मा १७४ दिन विद्यालयमा काम गर्छन् ।
विद्यालय सञ्चालन हुने १९८ दिनमा पनि विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा ७ दिन, द्वितीय परीक्षा ७ दिन र वार्षिक परीक्षा ७ दिन समेत गर्दा २१ दिन त परीक्षा नै हुने भयो । साथै एसईई दिने विद्यार्थीहरूको त बढीमा फागुन महिनासम्म मात्र पठन पाठन हुन्छ । तिनीहरूको थप २२ दिन पठनपाठन हुँदैन । चैत महिनाको अन्तिम हप्ताको ७ दिन परीक्षाफल र नयाँ शैक्षिक सत्रको लागि आवश्यक पर्ने हुँदा विद्यार्थीहरूले अध्ययन गर्न पाउने जम्मा दिन (१९८–२१–७ .१७०) १७० दिन मात्र हुन आउँछ । साथै एसईई दिने कक्षा १० का विद्यार्थीहरूको पठन पाठन जम्मा दिन १४८ दिन मात्र हुन आउँछ ।
यसरी सार्वजनिक विद्यालयमा शिक्षा नियमावलीअनुसार २२० दिन विद्यालयमा काम गर्ने दिन तोकिए पनि विद्यार्थीले पढ्न पाउने दिन १४८ दिनमा सीमित हुन जाने सम्भावना छ ।
विगत वर्षहरूमा आइतबारसमेत अध्ययन अध्यापन गर्दा पनि एसईईमा ७० प्रतिशतभन्दा कम परीक्षार्थीहरू सफल भएका थिए भने अब के होला ? त्यसैले यसतर्फ सरकारले पुनर्विचार गर्नुपर्दछ । अभिभावक, विद्यार्थी, शिक्षविद्, स्थानीय तहका जनप्रतिनिधिहरू शैक्षिक प्रशासनमा काम गर्ने कर्मचारीलगायत सबै सचेत नागरिकहरूको ध्यान जानुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *