भर्खरै :

श्रीलंकामा संकटकाल

दक्षिण एसियाली देश श्रीलंकामा दश दिनको लागि संकटकाल लागु गरिएको छ । एक जना बुद्धमार्गी मानिसको हत्यापश्चात भड्केको साम्प्रदायिक दंगा चर्केपछि सरकारले संकटकाल घोषणा गरेको हो । दंगामा हुलले मुसलमान धर्मावलम्बीहरुको पसल व्यवसायमाथि हमला भएको थियो ।
काण्डी जिल्लाको थेल्देनिया र पाल्लेकेले क्षेत्रमा आज स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गर्नुका साथै विशेष प्रहरीको बाक्लो परिचालन गरिएको छ । त्यहाँ हुलदंगाले दुई जना सर्वसाधारणको हत्या गर्नुका साथै स्थानीय अल्पसंख्यक समुदायका धनसम्पत्तिमा आगजनी समेत गरेको थियो ।
‘दंगा अन्य क्षेत्रमा नफैलियोस् भन्ने उद्देश्यले संकटकाल लागु गरिएको श्रीलंकाली सरकारका प्रवक्ता दयाश्री जयसेकाराले बताए ।
मन्त्रीमण्डलको बैठक बसेको राष्ट्रपतिको सचिवालयबाहिर आयोजित पत्रकार भेटघाटमा सामाजिक सशक्तिकरण मन्त्री एस बी देशानायकले संकटकाल घोषणाको सरकारी आदेश जारी भएको जानकारी दिए ।
‘स्थिति थप भयाबह नबनाउन भएको कानुनसमेत लागु नगरिएको आरोप छ । अहिले सुरक्षा स्थिति बलियो बनाउन हुल दंगा भएको क्षेत्रमा सुरक्षाबल परिचालन गरिएको छ ।’, मन्त्री देशानायकले भने ।
संकटकाल थप हुने वा नहुने कुराको निर्णय दश दिन पछि राष्ट्रपतिले गर्ने उनले जानकारी दिए । संकटकाल घोषणाले आजबाटै शुरु हुने भनिएको टी२० त्रिदेशीय क्रिकेट म्याच समेत प्रभावित हुन सक्ने बताइएको छ । भारतीय क्रिकेट टोली हाल सो म्याचमा भाग लिन कोलोम्बो पुगिसकेको छ ।
श्रीलंकामा मुसलमान धर्मावलम्बीहरुको जनसंख्या १० प्रतिशत छ भने बौद्ध सिंगालीहरुको जनसंख्या झण्डै ७५ प्रतिशत छ । १३ प्रतिशत जनसंख्याले भने हिन्दु धर्म मान्दै आएका छन् । श्रीलंकामा हालको जनसंख्या २ करोड १० लाख छ ।
हालैका केही वर्षदेखि श्रीलंकामा बौद्ध र मुसलमान धर्मावलम्बीहरुबीच बारम्बार झडप हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *