भर्खरै :

‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू’ भित्रको ‘ताइपिङ क्रान्ति’ अध्ययन गर्दा

  • जेष्ठ १४, २०८२
  • रामरतन चौधरी
  • विचार

ताइपिङहरूले आफ्नै न्यायपद्वति अपनाएका थिए । सरकारी आवासबाहिर सधैँ बाजाहरू झुन्ड्याइएका हुन्थे । अन्याय परेको व्यक्तिले स्वतन्त्र रूपले आफ्नो पीडा राखेर न्यायाधीशबाट न्याय माग्न सक्थे । अदालतमा मुद्दा चल्दा कुनै निजी वकिलको आवश्यकता थिएन । आफ्नो मुद्दाको बहस आफै गर्न सक्थे । यातना र क्रुर दण्डको अनुमति थिएन । कसैलाई पनि लुट र भ्रष्टाचार गर्ने छुट थिएन । ठूला भूमिपति र भ्रष्टहरूको धन सम्पत्ति खोसेर गरिबहरूलाई वितरण गरिन्थ्यो ।
चीनको आधुनिक राजनीतिक इतिहासमा ‘ताइपिङ क्रान्ति’ (सन् १८५१ र १८६४) एक महत्वपूर्ण घटना थियो । यो क्रान्तिलाई १९ औँ शताब्दीको संसारकै सबभन्दा ठुलो ‘किसान विद्रोह’ मानिन्छ । भियतनामको सीमानजिक गुआङसीबाट सुरु भएर पूर्वमा चीनको साङ्घाइ र उत्तरमा बेइजिङसम्म आगोजस्तै फैलिएर छिङ शासकलाई चुनौती दिएको थियो यो क्रान्तिले ।
१९ औँ शताब्दीको दौरान छिङ शासनकालमा चीनले प्राकृतिक प्रकोप, आर्थिक समस्या, अनिकाल, विदेशीको आक्रमण झेल्नु परेको थियो । छिङ राजवंशको शासनकालमा चिनियाँ जनता सामन्त, जमिनदार र विदेशी साहु–महाजन वा विदेशी पुँजीबाट समेत शोषणमा परेका थिए । चीनको करिब ७०–८० प्रतिशत भूमि चीनका अल्पसङ्ख्यक भूमिपतिहरूको हातमा थियो । बहुमत किसान भूमिहीन थिए । किसानहरूमाथि करको भार भने धेरै थियो । यस्तो जटिल परिस्थितिमा ताइपिङ विद्रोहका क्रान्तिकारीहरूले सामाजिक न्याय र प्रगतिको लागि लडेका थिए । क्रान्तिको सुरुआतमा थुप्रै सुधारका कामहरू पनि भए ।
सामान्य किसान परिवारका एक जना गाउँले शिक्षक होङ् सिउ क्वान (१८१४–१८६४) ले ताइपिङ विद्रोहलाई अगाडि बढाएका थिए । उनी पुराना साहित्य र संस्कारहरूको आलोचना गर्थे । राजा महाराजाहरूलाई ‘नर्कका राक्षस’ का रूपमा चित्रण गर्थे । कन्फ्युसियससम्बन्धी विषयको परीक्षामा पटक पटक अनुत्तीर्ण भएका होङ सिउ क्वान पछि प्रोटेस्टेन्ट ईशाई धर्ममा आकर्षित भए । त्यसपछि उनले सन् १८४३ मा गाउँको एउटा निजी विद्यालयमा कन्फ्युसियस स्मृतिको प्रस्तर–स्तम्भ पनि फुटाइदिएका थिए । उनले आफूलाई ‘स्वर्गको दिव्य प्रतिनिधि’ ठान्ने छिङ सम्राटको शासन समाप्त पारेर चीनमा ‘ताइपिङ अधिराज्य’ स्थापना गरी धर्तीमा ‘स्वर्ग’ लाई उतार्ने कल्पना गर्थे । होङ्ले आफैलाई ‘जिसस क्राइस्टको भाइ’ भएको घोषणा गरेका थिए ।
होङ सिउ क्वान (ज्गलन ज्कष्ग ऋजगबल) ले सन् १८५० जून जुलाईमा चीनका १० हजार पुरुष र महिलालाई सैनिक तालिम दिए । उनले ११ जनवरी १८५१ मा चीनको क्वाङ्सी (प्गबलनकष्) को चिनसिन (ऋजष्लतष्भल) गाउँमा ‘ताइपिङ स्वर्गीय अधिराज्य’ घोषणा गरे । उनले सुरु गरेको विद्रोहमा चीनका दरिद्र किसानहरू, शिल्पकर्मीहरू र दमनको सिकार भएका अल्पसङ्ख्यक जातिहरूबाट आएका जनता सहभागी थिए । ताइपिङ विद्रोहीहरू चारैतिर फैलिँदै गए । विनापारिश्रमिक स्वेच्छिक सेवा गर्ने ताइपिङ सेना बढ्दै गए । पछि ताइपिङ सेना १० लाखसम्म पुगेको थियो । महिलाहरू पनि लडाकु दस्तामा थिए । ताइपिङ किसान क्रान्तिपछि उनले १७ वटा प्रान्तहरूमा १४ वर्षसम्म करिब ३ करोड जनतामाथि शासन गरेका थिए ।
ताइपिङ किसान विद्रोहका क्रान्तिकारीहरूले पश्चिमबाट सिकेर चीनलाई आधुनिकीकरण गर्ने सोच राख्थे । उनीहरूले आफ्नो राजनीति तथा सामाजिक योजनामा इशाई नैतिकतालाई चिनियाँ किसानको समस्यासँग मिलाउने प्रयास गरेका थिए । उनीहरूले सन् १८५३ मा जारी गरेको भूमिसम्बन्धी कानुनमा “आकाशमुनिको सबै भूमि आकाशमुनिकै जनताले संयुक्त रूपमा खेती गर्न पाउनुपर्छ । कुनै एक क्षेत्रमा भोकमरी भए पर्याप्त अन्न भएको ठाउँबाट भोका जनतालाई खुवाउनको निम्ति अतिरिक्त अन्न पठाउनुपर्छ । भूमिमा सबैले खेती गर्नुपर्छ । अन्न सबैले खान पाउनुपर्छ । कपडा सबैले लगाउन पाउनुपर्छ । पैसा सबैले खर्च गर्न पाउनुपर्छ । मान्छेबिच कुनै असमानता हुनु हुँदैन । आकाशमुनिका सबै जनताले स्वर्गीय पिताले दिएको महान् खुसीको आनन्द लिन पाउनुपर्छ ।” भन्ने मान्यतालाई जोड दिएका थिए ।
ताइपिङ क्रान्तिकारीहरू परिवारको आकारअनुसार जमिनको वितरण गर्नुपर्ने मान्यता राख्थे । महिलालाई जमिनको अधिकारका साथै पुरुषसरह सामाजिक, राजनीतिक र आर्थिक समानता पनि दिइएको थियो । वेश्यावृत्ति, परस्त्री÷परपुरुष गमन, बालहत्या, दास निर्यातमा प्रतिबन्ध लगाइएको थियो । ताइपिङहरूले शासन चलाएको ठाउँमा महिलाहरू स्वतन्त्र रूपले हिँडडुल गर्न सक्थे । महिलाहरूलाई घोडा चढेर पनि विचरण गर्न पाउने अधिकार थियो । महिला सरकारी पदमा कर्मचारी र सेना पनि बन्न सक्थे जुन सामन्ती चीनमा थिएन ।
जनतामाथि छिङ सरकारले लगाएको भन्दा कम कर लगाइएको थियो । किसानलाई आफूले जोतेको जमिनको धनीपुर्जा दिइएको थियो । सामन्ती भूमि व्यवस्था उन्मूलन गरिएको थियो । जसको कारण किसानको जीवनमा निकै परिवर्तन भएको चर्चा चलेको थियो ।
ताइपिङहरूले आफ्नै न्यायपद्वति अपनाएका थिए । सरकारी आवासबाहिर सधैँ बाजाहरू झुन्ड्याइएका हुन्थे । अन्याय परेको व्यक्तिले स्वतन्त्र रूपले आफ्नो पीडा राखेर न्यायाधीशबाट न्याय माग्न सक्थे । अदालतमा मुद्दा चल्दा कुनै निजी वकिलको आवश्यकता थिएन । आफ्नो मुद्दाको बहस आफै गर्न सक्थे । यातना र क्रुर दण्डको अनुमति थिएन । कसैलाई पनि लुट र भ्रष्टाचार गर्ने छुट थिएन । ठूला भूमिपति र भ्रष्टहरूको धन सम्पत्ति खोसेर गरिबहरूलाई वितरण गरिन्थ्यो ।
सन् १८५३ को वसन्तमा ताइपिङ सेना चाङ जियाङ नदी क्षेत्रतिर अघि बढ्यो । त्यसबेला हङकङका प्रशासक सर जर्ज बोनह्यामले क्रान्तिलाई दबाउने योजना बनाएर दरबारसँग बक्सिस मागे । उसले बेलायती युद्धपोतहरूलाई साङ्घाइतिर चलान गरे । उसले क्रान्तिकारीहरूलाई रोक्न ग्रान्ड क्यानल र शक्तिशाली नदीलाई बन्द गरिदिए । तर, बेलायती युद्धपोत साङ्घाई पुग्नुभन्दा पहिले नै ताइपिङहरूले नानकिङ र झेन जियाङ नियन्त्रणमा लिए ।
ताइपिङ क्रान्तिकारीहरू विनाशकारी अफिमको व्यापारलाई रोक लगाउन दृढ थिए । विदेशीहरूलाई अफिम व्यापार गर्न छिङ सरकारले दिएको विशेषाधिकारलाई मान्यता दिन उनीहरूले अस्वीकार गरे । यसकारण दोस्रो अफिम युद्धपछि विदेशी शक्तिहरू क्रान्तिको विरोधमा खुलेर लागे । उनीहरूले आफ्नो दीर्घकालीन स्वार्थको निम्ति छिङ सरकारलाई सहयोग गरे । छिङ सरकारको सेनाको लड्ने कौशल बढाउन प्रशिक्षण दिए ।
सन् १८५४ मा क्रान्तिले नानकिङमा राजधानी स्थापित गरिसकेपछि ताइपिङ नेताहरू सुविधासम्पन्न जीवन अपनाउन र व्यक्तिगत सुखमा संलग्न हुन थाले । क्रान्तिका नेता होङले आफैलाई ‘दिव्य राजा’ घोषणा गरे । क्रान्तिकारीहरूमा पनि विश्वासघाती र महत्वाकाङ्क्षीहरू देखा परे । यही कमजोरीको फाइदा उठाउँदै शत्रुहरूले क्रान्तिकारीहरूभित्र मतभेद र मनमुटाव चर्काइदिए । विश्वासघातीहरू शत्रुहरूसित मिलेर आफ्नै सेनामा हत्याकाण्ड मच्चाए । अन्ततः ११६४ मा ‘दिव्य स्वर्गीय राज्य’ को राजधानी नानकिङ शत्रुले कब्जामा लिए ।
सन् १८६४ मा ताइपिङ विद्रोहमाथि दमन गरिँदा असङ्ख्य मानिसहरूको हत्या गरिएको थियो । बेलायती र फ्रान्सेली सेनाले ताइपिङ क्रान्ति दबाउन गैरसैनिक सामान्य जनताको पनि हत्या गरे । पश्चिमाहरूले चिनियाँ समुद्री डाँकुहरूलाई भाडामा लिएर तिनीहरूले ल्याउने प्रत्येक टाउकाको ६ डलर दिने घोषणा गरे । त्यसपछि डाँकुहरू टाउकाको खोजीमा प्रत्येक दिशातिर छरिए । डाँकुहरूले पुरुष, महिला, बच्चा, गर्भवती, वृद्धवृद्धा, अशक्तहरूको निर्मम हत्या गरे । ताइपिङ क्रान्तिकालमा करिब २ करोडदेखि ३ करोड मान्छेले ज्यान गुमाएको अनुमान गरिएको छ । यो क्रान्तिताका चीनको जनसङ्ख्या धेरै घट्यो । चीनको विशाल विशाल खेतका फाँटहरू वर्षौँसम्म बाँझै रहे । ताइपिङ क्रान्तिमा भएको दमनले चाङ जियाङ क्षेत्र र दक्षिण चीनका अरू क्षेत्रहरूमा विध्वंस निम्तिएको थियो ।
२०८२ जेठ ११ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *