नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर, १३ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी तोकिएको थियो । एमालेका अध्यक्ष केपी ओलीको सरकारका गृहमन्त्री रमेश लेखक नेपालीलाई भ्रमण प्रवेशाज्ञाबाट विदेश पठाउने क्रममा ४ अर्बभन्दा बढी भ्रष्टाचार काण्डमा परेको सार्वजनिक भयो । माओवादी (केन्द्र), रास्वपा र राप्रपाले संसद् अवरोध गरी गृहमन्त्री लेखकको राजिनामा मागेपछि संसद् बैठक आधा घण्टा स्थगित गरियो । अन्ततः अपराह्न ४ बजे बैठक १४ गते बिहान ११ बजेसम्म स्थगित गरियो ।
सरकारले खाडी देशहरू बहराइन, इराक, कतार, कुवेत, ओमन, साउदी अरेविया र संयुक्त अरव इमिरेट्सलगायतमा भ्रमण राहदानीमा पठाउने र पछि त्यहाँ अवैधरूपमा काम गराउनेतिर लाग्यो । यो एक प्रकारको ‘मानव तस्करी’ नै हो । यसरी लाखौँ सङ्ख्यामा गरिब नेपाली महिला पुगेको र उनीहरूमाथि शारीरिक शोषण गरिएको सार्वजनिक भयो ।
गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रमुखमा ‘आफ्ना मान्छे’ तीर्थराज भट्टराईलाई पठाएका थिए । भट्टराईले भ्रमण यात्रामा पठाइने नेपालीमध्ये खाडी मुलुकको लागि प्रतिव्यक्ति रु. ५० हजार र युरोपका देशमा प्रतिव्यक्ति रु. २–३ लाखसम्म लिने गरेको सार्वजनिक भयो । यसरी दिनको पचास लाख रुपैयाँ बढी उठ्ने रकम सरकारका कुन कुन नेताको हातमा पुग्ने हो, खोजी गर्नु जरुरी छ ।
यो ‘मानव तस्करी’ सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन प्रमुख भट्टराईलाई जवाफदेही बनाउने तयारी ग¥यो । यसको सुइँको पाएपछि गृहमन्त्री लेखकले भट्टराईलाई अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा सरुवा गरे । तत्पश्चात् ‘मानव तस्करी’ को जरा गृहमन्त्रीको सचिवालयसम्म पुगेको सार्वजनिक भयो ।
जेठ १२ गते नेकाका पदाधिकारीहरूको अनौपचारिक बैठक भयो । उक्त बैठकले गृहमन्त्री रमेश लेखक अध्यागमनको ‘मानव तस्करी’ भ्रष्टाचारमा दोषी नभएको निर्णय ग¥यो । यो निर्णय प्रम ओलीको निम्ति ‘फलामको चिउरा’ साबित भयो । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई ओलीको दोस्रो कार्यकालको सुरु २०७८ सालतिर नियुक्ति गरिएका हुन् । प्रम ओलीको ‘हरियो बत्ती’ बिना अख्तियार प्रमुख राईले गृहमन्त्री लेखकमाथि छानबिन गर्ने क्षमता राख्दैनन् । प्रम ओली सरकारको भरथेग नेका हो । नेकाले समर्थन फिर्ता लिनासाथ प्रम ओलीको सरकार ढल्नेछ ।
जेठ १३ गते संसद् बैठक सुरु हुनासाथ माओवादी केन्द्र, रास्वपा, राप्रपाका सांसदहरू आ–आफ्नो स्थानमा उठे । एमालेका सांसद सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्ने समय दिए । सांसद पुनले सम्पूर्ण प्रतिपक्षीको तर्फबाट बोलेको दाबी गर्दै ‘मानव तस्करी’ बारे छानविन सहज बनाउन गृहमन्त्री लेखकको राजिनामा जरुरी भएकोमा जोड दिए ।
तत्पश्चात् तीनओटै पार्टीका सांसदहरू पुनः उठे । सभामुख घिमिरेले रास्वपाका सांसद शिशिर खनाललाई बोल्न दिए । सांसद खनालले वर्तमान गृहमन्त्री लेखकले विपक्षी दलका प्रमुख सचेतकको हैसियतमा २०८० चैत ३ गते संसद्मा सहकारी ठगीको आरोप लागेका तत्कालीन गृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेको राजिनामा मागेको भनाइ दोहो¥याउँदै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् बैठक अघि बढ्न नसक्नेमा जोड दिए ।
राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङदेनले पनि बोल्न समय माग गरेका थिए । तर, उनले बोल्न पाएनन् । सभामुख घिमिरेले बैठक अगाडि बढाउन खोजेपछि रास्वपाका सांसदहरूले नारा लगाए – ‘मानव तस्करलाई कारबाही गर !’, ‘निष्पक्ष छानबिन गर !’, ‘गृहमन्त्री राजीनामा दे !’
बैठकमा सुरुदेखि नै गृहमन्त्री लेखक ‘मानव तस्करी’ बारे स्पष्टीकरण दिन संसद्मा उपस्थित थिए भने नेका सभापति देउवा नारा लाग्नु ठीक अगाडि संसद् बैठकमा पुगेका थिए । गृहमन्त्री लेखकको मुख अँध्यारो थियो भने अधिकांश नेका सांसदहरूको पनि मुख अँध्यारो थियो ।
नेकाका अर्का नेता एवम् सांसद शेखर कोइराला, नेका सांसद एवम् मेडिकल कलेज र अस्पताल व्यवसायी सुनिल शर्मा, नेका सांसद एवम् होटल व्यवसायी रमेश बजगाईँलगायतले गृहमन्त्री लेखकको राजीनामा मागिसकेका थिए ।
राप्रपाले सञ्चारमाध्यममा गृहमन्त्री लेखकसँगै प्रम ओलीको पनि राजीनामा माग्ने बतायो । अर्थमन्त्रीले जेठ १५ गते अपराह्न आब २०८२/८३ को बजेट संसद्मा प्रस्तुत गर्नेछन् । राप्रपाले त्यही दिन राजतन्त्र पुनःस्थापनाको माग गरी काठमाडौँ रत्नपार्कमा भेला राखेको छ । प्रम ओलीले जेठ १५ गते बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म काठमाडौँ एमालेको ‘कब्जा’ रहने उद्घोष गरेको सार्वजनिक भयो । एक संवैधानिक संस्था राष्ट्रिय मानव अधिकार आयोगले प्रम ओलीलाई ‘उत्तेजक अभिव्यक्ति’ नदिन सचेत गरायो ।
गएको चैत १५ गते काठमाडौँ तीनकुनेमा राजतन्त्र सममर्थकहरूको कार्यक्रममा प्रहरीको गोलीबाट सविन महर्जन र स्थानीयको घर आगलागीमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
नेकाका बालकृष्ण खाण गृहमन्त्री भएको बेला नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्ड भएको थियो । ‘मानव तस्करी’ मा अधिकांश गृहमन्त्रीहरूको संलग्नता भएको हुँदा अहिलेको संसद् अवरोध पनि अगाडिको जस्तै ‘फासफुस’ मा टुङ्गिने जनताको आशङ्का छ ।
नेका, एमाले, माओवादी, रास्वपा र राप्रपाले पालैपालो सरकार भागबन्डा गरेर खाँदै आएका हुन् । यसपटक पनि ‘काले काले मिलेर खाउँ भाले’ मा संसद् अवरोध टुङ्गिने
जनताको अनुमान रहेको छ ।
Leave a Reply